मध्यमाञ्चल विकास क्षेत्रभित्र पर्ने जिल्लाहरूको नाम कसरी रहन गयो ?

नेपाललाई समानुपातिक विकास गराउने उद्देश्यले वि. सं. २०२९ सालमा ४ विकास क्षेत्रमा र पछि वि. सं. २०३७ सालमा सेती र महाकालीलाई सुदूरपश्चिमाञ्चल बनाई ५ विकास क्षेत्रमा विभाजन गरिएको हो । त्यसभन्दा अगाडि वि.सं. २०१८ वैशाख १ गते नेपालमा १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको हो ।
आज यस लेख मार्फत् मध्यमाञ्चल विकास क्षेत्रभित्र समाहित १९ जिल्लाहरूको नामाकरण के कसरी भयो भन्ने बारेमा जानकारी गराउँदैछु ।

१. धनुषा : रामचन्द्रले भाँचेको शिवधनुको एक भाग खसेको ठाउँ हुनाले धनुषा
नाम रहन गएको भनाई रहेको छ ।
यस्तै यहाँ धनुषको आकारको शिला देखिने यो स्थान एक धर्मस्थल मानिएको छ । यहाँ माघ महिनाको प्रत्येक आइतबारका दिन मेला लाग्ने गर्दछ । जनकपुरबाट ७ कोस उत्तरपूर्वी कुनामा चुरे डाँडाको फेदीमा यो स्थान पर्दछ । यसैको नामबाट जिल्लाको नाम पनि धनुषा रहन गएको भनाई छ ।
यस जिल्लाको क्षेत्रफल ११८० वर्ग कि. मी. रहेको छ भने ७,५४,७७७ जनसंख्या रहेको छ ।

२. महोत्तरी : महोदर पोखरी रहेको गाउँ हुनाले महोदरी गाउँ भन्ने नाम रहेको र त्यसैको अप्रभ्रंश भई महोत्तरी हुन गएको भनाई रहेको भएता पनि सो स्थान ज्यादै उत्तरमा पर्ने ठाउँ भएको हुनाले ‘महोत्तर’ नाम रहन गएको प्रतीत हुन्छ । जलेश्वरबाट करिब डेढ कोस टाढा पर्ने महोत्तरी गाउँको नामबाट नै यस जिल्लाको नाम पनि महोत्तरी राखिएको हो ।
१००२ वर्ग कि. मी. क्षेत्रफलमा विस्तारित यस जिल्लाको जनसंख्या ६,२७,५८० रहेको छ ।

३. सर्लाहीः पहिले यहाँ सालको जंगल प्रशस्त मात्र भएको र पछि सोही ठाउँमा बसाइएको धिमाल गाउँ हुनाले ‘साल–लाही’ नाम रहन गएको र पछि यस नाम अपभ्रंस भएर सर्लाही रहन गएको हो भने जिल्लाको नाम पछि यसैबाट रहेको भनाई छ ।
यस जिल्लाको क्षेत्रफल १२५९ वर्ग कि. मी.मा फैलिएको छ भने ७,६९,७२९ जनसंख्या रहेको छ ।

४. सिन्धुलीः माडी फाँटबा गढीतर्फ जाने बाटोमा रहेको सुरुङको आधारमा नेपालीमा ‘सुन्दरी’ भनिएको र त्यसैको अपभ्रंश भई ‘सिन्धुली’ नाम रहन गएको भनाई रहेको छ भने यस्तै एक अर्को कथनअनुसार उज्जैनबाट उत्तराखण्डमा तपस्या गर्न आएका सिन्धुल नाम भएका राजा सिद्ध भएको ठाउँ हुनाले ‘सिन्धुली’ भन्ने नाम रहन गएको भनाई रहेको पाइन्छ ।
तपस्वी राज सिन्धुलले सिद्धि प्राप्त गरेको तपोभूमिमा स्थापना भएको मानिने सिद्धेश्वरको देवालय सिन्धुलीगढीमा अवस्थित छ ।
२४९१ वर्ग कि. मी. क्षेत्रफलमा विस्तारित यस जिल्लामा २,९६,१९२ जनसंख्या रहेको छ ।

५. रामेछापः राजाले कुनै राम भन्ने व्यक्तिलाई दिएको बिर्ता हुनाले ‘राज छाप’ भन्ने नाउँ रहन गएको र पछि त्यसैको अपभ्रंश भई ‘रामेछाप’ हुन गएको भनाई रहेको छ ।
यस जिल्लाको क्षेत्रफल १४४६ वर्ग कि. मी. रहेको छ भने २,०२,६४६ जनसंख्या रहेको छ ।

६. दोलखाः किवंदन्ती अनुसार– गौरीशंकर हिमालमा तपस्या गरेको एक जोगीले शिवजीको वरदान पाएर खुशी हुँदै एकपल्टा सवैतिर चक्कर लगाएर आउँछु भनेर गएको तर दुई लाख पल्ट चक्कर मार्दापनि घुमीफिरी त्यहीँ मात्र पुग्ने भएकोले जति चक्कार लगाउँदा पनि पार हुन नसकिने ठाउँ भन्ने अर्थमा त्यसठाउँको नाम नै ‘दो–लखा’ रहन गएको भनाई छ । त्यसैबाट जिल्लाको नाम पनि दोलखा रहन गएको भनाई रहेको छ ।
२१९१ वर्ग कि. मी. क्षेत्रफलमा विस्तारित यस जिल्लाको जनसंख्या १,८६,५५७ रहेको छ ।

७. सिन्धुपाल्चोकः पहिलेका आठ वटा थुमहरू मध्ये सिन्धु थुम र त्यसको नजिका डाँडाको काखमा रहेको पाल्चोक थुमको संयुक्त नामबाट जिल्लाकोनाम ‘सिन्धुपाल्चोक’ रहन गएको हो ।
करिव २५४२ वर्ग कि. मी. क्षेत्रफलमा फैलिएको यस जिल्लाको जनसंख्या २,८७,७९८ रहेको छ ।

८. काभ्रेपलान्चोक : पनौतीका काभ्रे डाँडा र पलान्चोक डाँडाको मिलनको आधारमा ‘काभ्रेपलान्चोक’ नाम रहन गएको हो । पहिले पूर्व एक नम्बर चौताराबाट प्रशासित २८ मौजाहरूमध्ये काभ्रे र पलान्चोक भनिने दुई मौजाको आधारमा नै जिल्लाको नाम ‘काभ्रेपलान्चोक’ रहन गयो ।
यस जिल्लाको क्षेत्रफल १३९६ वर्गा कि. मी. रहेको छ भने ३,८१,९३७ जनसंख्या रहेको छ ।

९. ललितपुरः ललिताख्य भन्ने वन फाँडेर बसाइएको नगर हुनाले ‘ललितपत्तन’ भन्ने नाम रहन गएको र पछि सोहि पुरानो नाम ललितपत्तनको आधारमा ‘ललितपुर’ भन्ने नाउँ रहन गएको हो । एकअर्को कथनअनुसार ललित भन्ने ज्यापूले आसाम कामरूप कामाक्षबाट मत्स्येन्द्रनाथलाई बोकेर ल्याई स्थापना गरेको शहर भएको हुनाले सो ज्यापूको नामबाट ‘ललितपुर’ भन्ने नाम राखिएको कथन रहेको छ ।
यस जिल्लाको क्षेत्रफल ३८५ वर्ग कि. मी. मा फैलिएर रहेको छ भने ४,६८,१३२ जनसंख्या रहेको छ ।

१०. भक्तपुरः पहिले भक्तहरू बस्ने ठाउँ हुनाले संस्कृतमा यसको नाउँ ‘भक्त ग्राम’ राखिएको र त्यसैको अपभ्रंस भई भादगाउँ हुन गएको हो । सर्वप्रथम यहीँ नै हिन्दूधर्मावलम्बीहरूको बसोबास रहेको हुनाले यो ठाउँ भक्तग्राम भनिएको हो भन्ने अनुमान छ । लोक व्यवहारमा गाउँ कहलाउने भादगाउँका राजा तथा कविहरूले यसलाई भक्तपुर, भक्तपरी वा भक्त पत्तन इत्यादि लेखेका छन् । नेपाल भाषा (नेवारी) मा भादगाउँलाई ‘ख्वप’ भनिन्छ भने पछि नेपलीमा जिल्लाको नाम ‘भक्तपुर’ रहन गयो ।
११९ वर्ग कि. मी. क्षेत्रफलमा विस्तारित यस जिल्लाको जनसंख्या ३,०४,६५१ रहेको छ ।

११. काठमाण्डौः नेपाली प्राचीन शैलीमा काठ बढी हाली बनाइएको भव्य मण्डप रहेको शहर हुनाले काष्ठमण्डप नाउँ रहन गएको थियो । यसैको अपभ्रंस भई काठमाण्डौ नाम प्रचलित भयो ।
अर्को कथनअनुसार राजा गुणकामदेवले बागमती र विष्णुमतीको दोभानमा कान्तीश्वर महादेवको स्थापना गरी खड्गाकार नगर बसाएर त्यसैलाई राजधानी तुल्याएको हुनाले कान्तिपुर नाम रहन गएको हो । यसैको अपभ्रंस भई काठमाण्डौ रहन गएको र जिल्लाको नाम पनि यहि राखिएको हो ।
नेपालको राजधानी समेत रहेको यस जिल्लाको क्षेत्रफल ३९५ वर्ग कि. मी. रहेको छ भने १७,४४,२४० जनसंख्या रहेको छ ।

१२. नुवाकोटः त्रिशुली नदी र तादी नदीको बीचमा पर्ने डाँडाहरूमा धैबुङकोट, धादिङकोट, रामकोट, फिर्केपकोट, सल्यानकोट, भैरवकोट, मालाकोट, बेलकोट र सिमलकोट समेत ९ वटा कोट (किल्ला) हरूको केन्द्र स्थानमा निमार्ण गरिएको नयाँ कोट हुनाले संस्कृतमा ‘नवकोट’ भनिएको र त्यसैको अपभ्रंश भई नुवाकोट नाम रहन भएको हो भने जिल्लाको नाम समेत यही रहेको पाइन्छ ।
११२१ वर्ग कि. मी. क्षेत्रफलमा फैलिएर रहेको यस जिल्लाको जनसंख्या २,७७,४७१ रहेको छ ।

१३. रसुवा : नेपाली फौजको सहायतार्थ भोटे खोला र लिण्डे खोलाको घाँटीमा अवस्थित रसुवामा टाढा–टाढाका गाउँहरूबाट आएका मानिसहरूले घर लौरी सरकारी झारमा ढुङ्गा बोकेर गढी निमार्ण गरेको ठाउँ रसुवागढी भनिएको र यसैको नामबाट जिल्लाको नाम रसुवा राखिएको भनाई छ ।
यस जिल्लाको क्षेत्रफल १५१४ वर्ग कि. मी. मा फैलिएको छ भने ४३,३०० जनसंख्या रहेको छ ।

१४. धादिङः चेपाङ् भाषामा ‘धा’ को अर्थ ‘ज्वाला’ र ‘दिङ्’ को अर्थ ‘देवता’ हुन्छ । पहिले कुनै समयमा यहाँ ज्वालामुखी रहेको हुँदा ज्वालादेवी भन्ने अर्थमा ठाउँको नामनै ‘धादिङ’ रहन गएको होला । यस जिल्लाको झार्लाङ् क्षेत्रमा तातोपानीहरू र साल्बासमा ज्वालामुखीदेवीको मन्दिर पनि छ । पहिले लामिडाँडा, धादिङ र सल्यान ३ इलाका मिली हालको धादिङ जिल्ला बनेको छ ।
यस जिल्लाको क्षेत्रफल १९२४.६ वर्ग कि. मी. मा फैलिएको छ भने जनसंख्या ३,३६,०६७ रहेको छ ।

१५. मकवानपुरः पाल्पाका राजा मुकुन्द सेन प्रथम (ई.सं. १५४०–१५७५) ले आफ्नो राज्य पूर्वमा दूधकोसीसम्म फैलाएर बसाएको शहर भएको हुनाले ‘मुकुन्दपुर’ नाउँ राखिएको र कालान्तरमा ‘माकन्दपुर’, मोकांपुर हुँदै मकवानपुर भनिन थाल्यो । यसै नामद्वारा जिल्लाको नाम पनि मकवानपुर रहन गएको हो ।
यस जिल्लाको क्षेत्रफल २४२६ वर्ग कि. मी. रहेको छ भने ४,२०,४७७ जनसंख्या रहेको छ ।

१६. रौतहटः भोजपुरी भाषामा ‘ग्वार’ वा ‘ग्वाला’ हरूलाई राउत भन्दछन् । ‘राउत’ अर्थात् ‘ग्वार’ वा ‘ग्वाला’ जातिको ‘हाट’ अर्थात् निवासस्था वा वस्ती भएको ठाउँ हुनाले ‘राउतहाट’ नाम रहेको र त्यसैबाट अपभ्रंश भएर रौतहट रहन गएको भनाई छ भने यसैको नामबाट जिल्लाको नाम नै रौतहट हुन गएको हो ।
११२६ वर्ग कि. मी. क्षेत्रफलमा विस्तारित यस जिल्लामा ६,८७,७०८ जनसंख्या रहेको छ ।

१७. बाराः उम्जन गाउँ अन्तर्गत पर्ने बारागढी भन्ने स्थानको नामबाट जिल्लाको नाम नै बारा रहन गएको हो । कुनैबेला बारागढी नै यस जिल्लाको सदरमुकामको रूपमा रहेको थियो ।
यस जिल्लाको क्षेत्रफल ११९० रहेको छ भने जनसंख्या ७,०१,०३७ रहेको छ ।

१८. पर्साः मकवानी राजा माणिक्य सेनले ई. सं. १७०७ मा महुवनमा पारसनाथ मठको मठ स्थापना गरेको ठाउँ हुनाले पारसनाथ रहन गएको र सोको छोटकरी रूप पारसको अपभ्रंश भई ‘पर्सा’ रहन गएको हो । यसै नामबाट जिल्लाको नाम पनि पर्सा रहन गएको हो ।
यस जिल्ला १३५३ वर्ग कि. मी. क्षेत्रफलमा फैलिएको छ भने ६,०१,०१७ जनसंख्या रहेको छ ।

१९. चितवनः सीताजीको वनवासकाल यहीँको जंगलमा व्यतीत भएकोले शुरुमा यसलाई ‘सीतावन’ भनिन्थ्यो र पछि आएर ‘चितवन’ रहन गएको हो भने अर्को कथनअनुसार कुनै समयमा असंख्य चितुवा पाइने घना जंगल रहेको ठाउँ हुनाले ‘चितुवा वन’ भनिएको यो ठाउँ विस्तारै रूपान्तर हुँदै ‘चितवन’ भनिन थाल्यो । यस्तै पुरानो नाम ‘चित्रवन’ को अपभ्रंश भई ‘चितवन’ नाम रहन गएको देखिन्छ । यसै नामबाट जिल्लाको नाम पनि रहन गयो ।
यस जिल्लाको क्षेत्रफल २२१८ वर्ग कि. मी. रहेको छ भने ५,७९,९८४ जनसंख्या रहेको छ ।

[email protected]

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *