Skip to content


नेपालमा अभिवादन गर्दा दुई हात जोडी नमस्कार गर्ने चलन पौराणिककालदेखि नै चल्दै आएको छ । यसरी दुई हात जोडी नमस्कार गर्दा आत्मादेखि नै समर्पित भएको ठानिन्छ । हुन त अहिले नेपालमा पनि पश्चिमी सभ्यताको प्रभावका कारण अभिवादनका क्रममा अङ्कमाल गर्ने, हात मिलाउने, अङ्ग्रेजी शब्दोच्चारण गर्ने चलन चल्न नथालेको होइन तर हाम्रो आफ्नै अभिवादन शैली भने नमस्कार गर्नु नै हो । यसैगरी नेपालमा पनि आफूभन्दा ठूलालाई अभिवादन गर्दा शिर निहुराएर वा पाउमा ढोगेर सम्मान गर्ने गराउने चलन पनि छ ।

थाइल्याण्डका जनता एक आपसमा भेट हुँदा झुकेर नमस्कार गर्दै स्थानीय भाषामा ‘सवाड्डी’ भन्दछन् । जापानीहरू आफूभन्दा ठूला र पाहुनाहरूलाई स्वागत गर्नुपर्दा आ-आफ्ना दुवै खुट्टा खुम्चाई निहुरी परी स्वागत गर्दछन् भने ग्रामीण क्षेत्रका वासिन्दाहरू आफूले लगाइराखेको जुत्ता फुकाली अलिकति झुकी आफ्नो दाहिने हात पाहुनाको देब्रे काँधमा राखी स्वागत गर्दछन् ।

मित्रराष्ट्र भारत र नेपालमा गरिने अभिवादन एकदम मिल्दोजुल्दो छ । मलेसियाका जनता एक आपसमा स्वागत वा अभिवादन टाउकोको कपाल सुँघेर गर्दछन् । युरोपेली राष्ट्रका जनता एक आपसमा भेट हुँदा ‘हेल्लो’ शब्द प्रयोग गर्दै एक आपसमा हात मिलाउँछन् र अङ्कमाल गर्दछन् । विश्वमा अभिवादनका लागि सबैभन्दा बढी प्रयोग हुने शब्द पनि ‘हेल्लो’ नै हो ।

तिब्बतीहरू एक आपसमा भेट हुँदा एक हातले आफूले लगाइराखेको टोपी शिरबाट झिक्दछन् भने अर्को हातले साथीको कान समाउँदै आफ्नो जिब्रो बाहिर निकाल्छन् । चिनियाँ जनता अभिवादनको समयमा आफ्नो टाउकोमा टोपी हुनु अनिवार्य ठान्दछन् भने चीनकै एक गाउँका मानिसहरू भने आफ्नो दुवै हात तल झारी एक अर्कासामु निहुरिन्छन् ।

म्यानमारका जनता भने अभिवादन गर्ने बेलामा दुवै हात जोडेर एक आपसमा म्वाई खान्छन् । इङ्ल्याण्ड तथा त्यस भेक वरिपरिका मानिसहरू प्रायः अङ्ग्रेजी नै बोल्दछन् । उनीहरू एक आपसमा भेट हुँदा हात मिलाउने गर्दछन् । त्यसैगरी स्पेनमा एक आपसमा भेट हुँदा अभिवादन स्वरूप ‘ओला’ शब्द प्रयोग गर्दछन् ।

सुमात्रा द्वीपका जनता एक आपसमा भेट हुँदा घुँडा टेकेर भुइँमा बसी आफ्नो साथीको देब्रे खुट्टा क्रमशः टाउको, निधार, छातीमा छुवाएर घुँडामा टाउको अड्याई एकछिन भुइँमा पल्टिन्छन् ।

दक्षिण अफ्रिकामा जुलु जातिका दुई मित्रहरू भेट हुँदा एक अर्काको टाउकोमा हात राखी झुक्छन् र झुकेको बेला अझ निहुरी परी ताली बजाएपछि एक आपसमा अभिवादन सकिन्छ । आफूले मान्नुपर्ने व्यक्तिलाई अभिवादन गर्दा उनीहरूले अगाडि निहुरेर जमिनलाई चुमेमा बढी सम्मान गरिएको ठानिन्छ तर अफ्रिकाकै पिग्मी जातिका मानिसहरू अभिवादन गर्दा भने एक अर्काको काँधमा फुकालेको लुगा राखिदिने चलन छ ।

खाडी मुलुकका मानिसहरू वा समस्त मुसलमानहरू एक आपसमा भेट हुँदा आफ्नो हात आफ्नै छातीमा राख्दै ‘सलाम वालेकुम’ भन्दै सम्बोधन गर्दछन् । यसरी सम्बोधन गरी एक आपसमा मित्रता बढाउन पाउँदा उनीहरू निकै गौरवान्वित ठान्छन् ।

आ-आफ्नो देश र संस्कृति अनुसार अभिवादन गर्ने शैली फरक फरक भए पनि मानमर्यादा र सम्मानको भावना भने एउटै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *