Skip to content


आँखा खोल्दा नखोल्दै एक प्रकारको अनौठो गन्धको आभास पाउँछु । पक्का म अस्पतालमा छु । आँखा खोलेपछि पहिलोपटक मेरो नजर भित्तामा टाँसिएको पोष्टरमा अल्झिन्छ – ” तपाईंको जीवन अमूल्य छ, अकालमा यसलाई नफालौँ ।” बल्ल थाहा पाएँ, मेरो प्रयास असफल भएछ । त्यसपछि मेरा आँखा पुग्छन – भित्ता र सिलिङको कुनामा रहेको माकुराको जालोमा । पुरा बनेको छैन, बन्दैछन । माकुरो जालो बनाउदै गर्दा खस्छ, ऊ फेरि नचढ्दै मलाई थाहा हुन्छ ऊ चढ्नेछ । मलाई झट्ट एउटा कथा याद आउँछ – “राजा ब्रुस र माकुरो” । आफूलाई राजा ब्रुससँग म तुलना गर्न चाहन्न । मेरो बेडमा एउटा किताब रहेछ – “संघर्षशील जीवनीहरू” ।

यो मेरो बुवाले यहाँ राख्नुभएको होला । उहाँ चाहनुहुन्छ हिटलर, क्युरी, मन्डेला र लिङ्कनको जीवनी पढेर मलाई पनि थाहा होस् कि प्रयास गरे जस्तोसुकै समस्याको पनि हल हुनसक्छ । म पत्याउन्न । यी मुट्ठिभरका सफल जीवनी हेरेर हामीले समस्यासँग जुध्न नसकी हार खाएका लाखौंँ बेखबर जिन्दगीहरूलाई बिर्सिरहेका हुन्छौँ । कसरी सम्झिने ? न उनीहरूका कथा लेखिए, न लेखिने नै छन् । के कहिल्यै मेरो कथा लेखिएला ? अर्थहिन अर्धमुस्कान सहित म किताब पल्टाउँछु । क्युरीले पैसाको अभावमा सडकबत्तीको तल बसेर पढिन् रे ! मैले अस्ति राती सडकबत्तीको तल तीन खाते बालकहरूलाई देखेकी थिएँ, फोहोर जम्मा पारेर खान सकिने (चपाएर निल्न मिल्ने) कुराहरू खोज्दै थिए । साँच्चै, क्युरी के खान्थिन होला ? माकुरो खस्छ, फेरि चढ्छ ।

एकपटक अतितका सम्झनाहरू फ्ल्यासब्याकझैं मेरो मष्तिकमा डुल्दछन । टाउको दुख्छ, चक्कर आउँछ, ओच्छ्यानमा पल्टन खोज्छु, तर कसैको काखमा पल्टिन पुग्छु ।

“सुष्मा … ” बुवाले मलाई मायालु आवाजमा बोलाउनुहुन्छ ।

मलाई बोल्न मनै लाग्दैन, बुवा पनि चुप लाग्नुहुन्छ । मलाई पोल्छ उहाँको मायाले ।

“सुत” उहाँ गाला सुमसुम्याउँदै भन्नुहुन्छ । म सुत्न चाहन्न, सपनामा भुवन आउँछ । मलाई माकुरो हेर्न मन लाग्छ ।

विपनामा आएको थियो ऊ, कक्षा आठमा । हेर्दाखेरी खासै राम्रो थिएन, तर अरुभन्दा केही फरक थियो, शायद । उमेर थिएन, चाहना थिएन तर पनि प्रेम बस्यो, कसरी म भन्न सक्दिन । यसमा मेरोभन्दा मेरा साथीहरूको चाहना धेरै थियो । एक प्रकारको चक्रब्युह जस्तो, पस्ने बेलामा सबैले सबैतिर ढोका देखाइदिए, निस्कने बेलामा … अंहँ, थाहा छैन अहिले त्यो ठाउँमा ढोका छ कि माकुराले जालो लगाइसक्यो । एक्कासि मेरो आँखा सिलिङ्मा पुग्छ, तर माकुरो खस्दैन, ऊ जालो बनाइरहन्छ । म मुस्काउँछु ।

अहिले आश्चर्य लाग्छ, म कसरी जानी-जानी समस्यातर्फ धकेलिएकिरहेछु । त्यसबेलामा दिमागी आँखा बन्द थियो, मनको आँखाले एउटै बाटो देखाउथ्यो । त्यस बाटोमा हिंड्दा अर्को बाटो पनि छ भन्ने कुराको रौं जति पनि भेउ पाइएन । त्यही बाटोमा हिंड्दै गर्दा अँध्यारो खाडलमा पुगेर बाटो बन्द भयो । भुवन साथमा छैन, कहाँ पुगेर पो उसले हात छोड्यो कुन्नि । एक्लो छु पेटमा गर्भ छ । अब कुनै पनि आँखाले कतै बाटो देखाएन । त्यही खाडल बाँकी छ । भएभरको साहस बटुलेर खाडलमा हामफाल्छु । तर कसैले बलियोसँग पछाडिबाट समात्छ ।

“छोरी, के भयो ? किन यसरी अत्ताल्लिएकी ?”

“खै, नराम्रो सपना देखें ।” त्यस दिनदेखी मैले उहाँलाई ढाँट्न थालेँ जुन दिन भुवनले मलाई एउटा गुलाबको फुल दिएको थियो ।

“हरेश नखाऊ छोरी । म तिम्रो साथमा छु, तिमी अर्को पल्टमा पक्का पास हुन्छौ, नेपालीमा त हो फेल भएको । म्याथ, साइन्समा नम्बर राम्रो छ ।”

ओहो, मलाई एस एल सीमा नेपाली लागेको रहेछ । होसै छैन । धन्न उहाँको सहानुभूति छ । सहानुभूतिले मानिस बाँच्ने भए म क्युरी बन्थें हुँला । माकुरो खस्छ । बुवा उदाहरणको लागि माकुरो देखाउन खोज्नुहुन्छ, तर उहाँलाई शंका छ, उसले फेरि चढेर जालो बनाउला कि नबनाउला ? म निश्चिन्त छु, ऊ चढ्नेछ । माकुरो चढ्छ । बुवा उज्यालो मुखले मलाई हेर्नुहुन्छ, म आँखा चिम्लन्छु ।

भुवन एस एल सी पास भयो, म फेल भएँ । ऊ पढ्नको लागि विदेश गयो, समस्याको पोको म एक्लीलाई छोडेर । म सहाराविहीन भएर कसरी समस्या सँंग जुध्न सक्थेँ र ? बुवा मलाई हरेक पाइलामा साथ दिनुहुन्छ, तर म उहाँलाई कुन मुखले यो समस्याको विस्तार गरुँ ? उहाँको भावनामा चोट पुग्छ, उहाँको सपनामा तुषारो पर्छ । उहाँले हरेश खाएको मैले कहिल्यै देखेकी छैन, यसै कुराले उहाँलाई गलाए ? त्यसैले म चुप छु । उहाँलाई मुख्य समस्या के थाहा, मलाई हौसला दिइरहनुभएको छ – “तिमी अर्को पल्टमा पक्का पास हुन्छ्यौ ।” जुन कुरामा मलाई हौसला चाहिँदैन त्यसैमा उहाँ ढाढस दिनुहुन्छ । जुन कुरा मलाई गर्हौं लाग्छ, त्यो मैले एक्लै बोक्नुपर्छ । किन-किन मलाई उहाँसँग रिस उठ्छ । उहाँको मुखमा हेर्छु । उहाँ बिस्तारै मुस्काउनुहुन्छ, तर म हाँस्दिन । म उहाँलाई किताब दिंदै भन्छु –

“यो किताब लैजानु, मलाई टाउको दुख्यो ।”

“टाउको दुख्न बन्द भएपछि पढ ।”

“शायद दुख्न छोड्दैन अब ।”

“छोड्छ । अब तिमीले यस किताबबाट शिक्षा लिनुपर्छ । लिङ्कनले … “
म बीचैमा उहाँको कुरा काट्छु ।

” कति तपाईं लिङ्कन लिङ्कन भनिरहनुहुन्छ ? मलाई उनीहरूबाट केही चाहिँदैन । म जान्न चाहन्न क्युरीले कसरी नोबेल पुरस्कार जितिन् ? मलाई चहिँदैन उनीहरूका सफलताका कथाहरू । के तपाईं भन्न सक्नुहुन्छ उनीहरूका जीवनमा कुनै पनि समस्या यस्तो थिएन जुन समाधानको लागि बाँकी होस् ? लिङ्कनको किन हत्या भयो ? हिट्लरले किन आत्महत्या गरे ? मन्डेलाले किन तीन-तीन पटक विवाह गर्नुपर्‍यो ? संघर्ष र सफलता त देखाउने पाटा मात्रै हुन् ।”

म पहिलोपटक उहाँको अगाडि यसरी चर्किएकी थिएँ । उहाँ आँखामा आश्चर्य लिएर मेरो मुहारमा हेरिरहनुभएको थियो । शायद उहाँलाई शंका भयो, म उहाँकी छोरी हो कि होइन । ” यो जो बोलिरहेकी छे, के मेरै छोरी बोलिरहेकी छे ?” उहांको आँखामा यस्तै प्रश्न नाचेजस्तो लाग्यो मलाई । म फेरि चिच्याउँछु –

” अब के हेर्नुहुन्छ ? हो, म तपाईंँकै छोरी हुँँ । तपाईंकै छोरी हो त्यो जसले समस्यासँग जुध्न नसकी आत्महत्या गर्न खोजी । तपाईंलाई आश्चर्य लाग्यो होला हैन, मैले उसलाई यति कुराहरू पढाएँ, ऊ अँझै आफ्नो आवेशलाई वशमा राख्न सक्दिन भनेर ? हो, मैले बशमा राख्न सकिन आफूलाई, त्यसैले त आज मेरो पेटमा कसैको गर्भ छ । अँझ पनि तपाईं भन्न सक्नुहुन्छ ‘तिम्रो पेटमा जिसस छ’ भनेर ? मलाई “मेरी”बनाएर राख्न सक्नुहुन्छ ? अविवाहित छँदै बच्चा जन्माउन अनुमती दिनुहुन्छ ?”

उहाँ मूर्तिझैँ जड भएर एकोहोरो मलाई हेरिरहनुहुन्छ । म थाकेर सुस्ताउँछु । माकुरो खस्छ, अब ऊ फेरि चढ्नेछ । बिचरा म…। कुरो ।

http://yajjen.wordpress.com/

First published on : 2014-07-27 03:05:11 +0545

2 thoughts on “जीवन : माकुराको जालो”

  1. यजेन्द्र भाइको कथा राम्रो
    यजेन्द्र भाइको कथा राम्रो लाग्यो। शुभकामना ।

  2. यजेन्द्र

    धन्यवाद
    तपाईंहरु जस्ता अग्रज हरुले दिएको सुझावलाई मनन गर्दै अघी बढ्नेछु

    – यजेन्द्र अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *