Skip to content


उदाङ्गो आकाशमुनि
फुस्रो धरतीको ढाडमा
कुक्रुक्क ठडिएको बुढो पहाडजस्तै
जिन्दगीको पुछारतिर
यो थोत्रो ज्यान
टुक्रुक्क अडिएको बेला
के सुनाउँ केटा तँलाई मैले समयका कुथुनी ?
कुन दिन पहिरो आएर
खुत्रुक्क लडाउने हो!

उमेरमा, गड्गडाउँदै बादलजस्तै
सगरमापनि दौडियो
दाम्ला फुस्केका दुहुनाजस्तै
बगरमापनि दौडियो
असारे खहरेझैँ भेल्किएर तन्नेरी वैँश
पहाडका कोप्चा र टुडाँ हुँदै
बाढी, ढुङ्गा र मुढा हुँदै
मधेशका बलौटे फाँटहरूमा पनि बग्यो
रसँगै बगे
रहरहरु, आकंक्षाहरु, तृष्णाहरू,अनगिन्ती सपनाहरू
समुद्रको पिँधसम्म
कति त्यतै सागरका छालहरुसँगै मिसिएर गए
कति हिँड्दा हिँड्दै किनारमा खल्तीबाटै हराए
बचेका जति यै थोत्रो ज्यनसँगै फर्केर आए।

पिडौँला थाक्दासम्म पनि नथाक्ने मान्छेका रहरहरु!

तँ भन्लास्, तिमी दुःखको भाडो
केका लागि दौडियौ यसरी जिन्दगीभर ?
कुन सुखको खोजीमा ?
एक मुठी सास, एक मुठी गाँस
त्यही पनि थियो
यही पनि थियो

म भन्छु, ए अल्छीको लिँडो!
त्यसैपनि तेरो काठे ज्यान एकदिन हुने हो बुढो
लौ भन्
त्यो काठलाई
चुनौतीको छाल काट्दै
सपनाको बेगसँगै हुँइकिने नाउँ बनाउछस् कि
बनाउछस् त्यसलाई कुहिएको मुढो?

सुन्,
उमेर भैन्झेल
खुट्टाले टेकिन्झेल हिँड्
आँखाले भ्याएसम्म देख्
मगजले मानेसम्म लेख्
मान्छेका ढोंग अनि लुते नैतिकता थुक्दै जा
आवारा धुवाँ फुक्दै जा
अमृत मित्थ्या रैछ
जहर पिउँदै जा
रहर जिउँदै जा
अरु त के नै गर्न सक्छ र मान्छेको फिस्टोले!

उमेर सकिएपछि,
ई यसरी
समयले बालेर फालेको
चुरोटको ठुटोजस्तो भाको छु
आफ्नाले एस्ट्रेमा कोचेर राख्न खोज्छन्
भन्छन्, आफूले नसकेपछि
कि मर्न पर्यो कि अर्काको भर पर्न पर्यो
बुढो ज्यान एक्लै कसरी हुन्छ?
जता छन् सन्तान उतै खुरुखुरु सर्न पर्यो

अहँ!
सुन्दिन यिनका यस्ता हुतिहारा कुरा
म समयको खोप्चोबाट निस्किएर
जिन्दगीभर
खोलाजस्तै बगेको मान्छे
कसरी अटाउन सक्छु यिनका
पर्खालले घेरेका अँध्यारा कुँवामा?
बरु, ई यसरी
आफ्नै पिँढीको डिलमा
बुढो पहाडजस्तै ठडिरहन्छु
पहिरो नआएसम्म कसैले हल्लाउन सक्दैन मलाई!

Leave a Reply

Your email address will not be published. Required fields are marked *