मेरा लागि समानता
भाषाणको शब्द मात्रै हो।
धमिलो पानीमा डुबाएर टाउको
हे नारी र पुरुषवादीहरू हो
खोजिरहेछौ अनुहारको आकृति?
बलात्कारको अनौं समातेर
अधिकारको हलो जोत्ने
ए महिला,
बलात्कार फगत ‘लिङ्ग’को ब्यभिचार होइन
बलात्कार मानवीय अत्याचार हो।
छोरी बलात्कृत हुदाँ
जति रुन्छ आमाको मन
त्यति रुदैन होला बाबु झन् ?
बसको सिटमा
गर्वतीले बस्न नपाउँदा
पराई आईमाईभन्दा
दुख्छ बरु
पतिको छाती
फेरि कहाँबाट आयो महिला र पुरुषको कुरा?
‘सभ्यता?’को ईतिहासमा
हामीले सधैं टुक्रिन सिक्यौँ
आफ्ना आफ्ना किल्ला गाडेर पहिचानका
बेफ्वाँकका हुँकार गर्जिन सिक्यौँ ।
वाद र सिद्धान्तमा भुटेर दिमाग
नारा र बाजीमा चुटेर आवाज
धेरै ठटायौं हामीले
समानताको ढ्याङ्ग्रो ।
प्रकृतिले केवल अङ्ग अलग दिइन्
हामीले विचार अलग्यायौँ
प्रकृतिले केवल बान्कि फरक दिइन्
हामीले टुक्र्यायौं अस्तित्व ।
बाटोमा महिला देख्दा
आरक्षणको अनुहार देख्न्ने पुरुषले
सडकमा पुरुष देख्दा
हिंसा र ब्यभिचार देख्न्ने महिलाले
चोबेपछि कलम सन्क्रिणताको मसीमा
लेखिन्छन् ‘समानता-असमानता’का शब्द ।
म बाटोमा हिँड्दा
महिला र पुरुष देख्दिन
भोक यौटै
आहार यौटै
शरीर फरक
विचार यौटै
म फगत देख्छु
युवा र युवती ।
मेरा लागि समानता
भाषाणको शब्द मात्रै हो।
