हरिलाई घर्तीले सम्झाए “हेर त्यो घुस्यहा नेता हो उसको सँगत नगर्नु । ऊसँग पैसा त धेरै छ तर नैतिकता छैन ।”
केही दिनपछि हरि उही नेताको चम्चा भएर निस्क्यो तर घर्तीसँग उसले भुलेर पनि सँगत गरेन ।
फेरि श्यामलाई घर्तीले सम्झाए “हेर त्यो रेष्टुरेन्टमा लोडसेडिङ्ग भएको बेलामात्रै घ्इँचो लाग्छ । त्यो पनि जोडी–जोडीहरू मात्र त्यो बेला जान्छन् । तिमी त्यस्तोमा नलाग ल ?”
केही दिनपछि श्याम पनि सधैं जसो लोडसेडिङ्गको बेला जोडी फेरीफेरी त्यहीँ जान थाल्यो । अनि घर्तीलाई देखादेख हेराहेर हुँदा पनि भुलेर पनि बोल्न छोड्यो ।
यसरी घर्तीले जतिजतिलाई अर्ती उपदेश सम्झाउँदै गए त्यसको ठिक उल्टो हुन थाल्यो । यस्ता उदाहरणहरू बग्रेल्ती छन् घर्तीसँग तर घर्तीलाई आजकाल उदाहरण पनि भन्न मन छैन किनकि कसैलाई उपदेश दिएर भट्काउनु छैन उसलाई । तर तैपनि घर्तीलाई सधैं समाजको भलाइको चिन्ता छ त्यसैले भूलेर पनि ऊ उपदेश दिन थाल्छ । उसको उपदेशले समाज भट्किरहेछ जस्तो लाग्यो मलाई पनि ।
मैले भने “अर्ती भनेको घर्तीको पनि मान्नुपर्छ” भन्ने प्रख्यात उखान धेरैपटक पढेको थिएँ । आज म यसैलाई सम्झेर घोत्लिरहेँ । घोत्लिरहेँ ।
२०७१ श्रावण २० मङ्गलबार
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
www.bijusubedibijay.blogspot.com
