जिवन मेरो बसमा पार्यौ
अब के लान्छौ र चोरी
मनले प्यारी भनी सकेँ
मुखले भन्नु पर्छ र मोरी ।।१।।
मेरा लागि जन्म घर
छोडी कर्म घर सर्यौ,
मारे पाप पाले पुण्य
भनी मेरै भर पर्यौ ।।२।।
म नि कहाँ हाँस्न सक्छु
ती आँखामा आफु फोडी,
मनले प्यारी भनी सकेँ
मुखले भन्नु पर्छ र मोरी ।।३।।
जिन्दगीको आधा आधी
तिमी संगै काट्टी सकेँ
जवानीका माया प्रेम
संगै मिलि साट्टी सकेँ ।।४।।
कसरी म एक्लै हिडुँ
आफ्नै आधी अङग् छोडी,
मनले प्यारी भनी सकेँ
मुखले भन्नु पर्छ र मोरी ।।५।।
आफ्ना इच्छा रहर थाँती
पराइलाई मानेकी छौं,
छोरी बुहारी पत्नी आमा
बनी माया तानेकी छौं ।।६।।
हाँसो खुसी छाडी आफ्ना
दुःख पिडा राख्यौं सोरी,
मनले प्यारी भनी सकेँ
मुखले भन्नु पर्छ र मोरी ।।७।।
जिवन मेरो बसमा पार्यौ
अब के लान्छौ र चोरी
मनले प्यारी भनी सकेँ
मुखले भन्नु पर्छ र मोरी…………….दर्पण
