मृत्युशय्यामा पल्टेको उसले उसकी श्रीमतिलाई नजिक बोलायो र भन्योः
“म तिमीलाई सँधैको लागि छोडेर जाँदैछु; त्यसैले तिमी मेरो लागि आफ्नो सतित्व र प्रेमको एक अन्तिम प्रमाण देऊ, किनकि हाम्रो पवित्र धर्म अनुसार एक विवाहित पुरूषको मृतात्मा स्वर्गमा प्रवेश गर्नु अघि यो वाचा गर्नु पर्छ कि उसले आफ्नो जीवन भर कुनै पतीत नारीसँग साँठगाँठ गरेन। मेरो टेबलमा सिद्ध पुजारीद्वारा अभिमन्त्रित गरीएको एउटा रातो मैनबत्ति पाउनेछौ, जसको तिलस्मी अर्थ र महत्त्व छ। मेरो अगाडि वाचा गर कि जबसम्म त्यो मैनबत्ति रहन्छ, तिमी अर्को विवाह गर्ने छैनौ।”
उसले वाचा गरी र ऊ मऱ्यो। अन्तिम संस्कारको समयमा ऊ शव-पेटिकाको अगाडि उभीई। उसको हातमा एक रातो मैनबत्ति थियो जुन समयसँगै उसैको हातबाट जलेर समाप्त हुँदै थियो।
२०७१ श्रावण २८, सौराहा चौक
एम्ब्रोज बियर्सको लघुकथा The Crimson Candleको नेपाली अनुवाद
अनुवादकर्ताः एकदेव अधिकारी
