पहाडको मुन्तिर खोला
वर्षौँदेखि गाइरहेछ
समयको गीत।
हिउँदे घाममा
अलिकति सुकेर
अलिकति झुकेर
ढुङ्गाको मुनि
अलिकति लुकेर
चार बिसे काटेकी बुढिया जस्तै
शान्त, स्थिर र मौनमौन
बेखबर होइन तर मौनमौन
दबेको स्वरमा
सुस्काउँछ खोला ।
असारे बादलमा कुर्लिदाँ पहरा
साउने झरिमा उर्लिदाँ छहरा
पहाडको छातीमा रसाएर यैवनपुष्प
उफ्रन्छ खोला कुर्कुरे वैश।
जवानीले मत्त षोडशीजस्तै
थोरै हडबडे
थोरै चञ्चल
थोरै मातेर
थोरै उच्शृङ्खल
जिस्किदैँ किनारका धानका खेतसँग
स्वरमा स्वर थप्दै
लयमा लय थप्दै
महिनौसम्म गाइरहन्छ खोला यौवनको रोदी ।
खै कसले हार्छ खै कसको जित ?
पहाडको मुन्तिर खोला
वर्षौँदेखि गाइरहेछ
समयको गीत।
सभ्यताको लामो पात्रोजस्तो
युग पुरानो मान्छेको इतिहास
बोकेर ढुङ्गाका कापमा
बगिरहेछ खोला-
मान्छेका साघुँरा सीमानापारी
मान्छेका साघुँरा जमानापारी ।
जसको प्रत्येक बहावसँगै बगिरहेछ
मान्छेका जन्म र मृत्युका मितिहरू
मान्छेसँगै उदाए र अस्ताएका रीति र थितिहरू
जसको प्रत्येक सुसाइमा सुनिन्छ-
जातो पिस्दा आमैले गाउने झ्याउरे पुराना
डोको बुन्दा बाले झिक्ने शिलोक साना
परदेशबाट फर्कदा दाइले गुनगुनाउने परदेशी गाना
तीजको बेला भाउजूले बिसाउने मनको वेदना।
जसको प्रत्येक भेल्कामा गर्जिन्छन-
घोडाको टाप र खुकुरीका धारका हुँकारहरू
राजाले जिते र रैतीले हारेका लडाइँ र संहारहरू।
शत्रुको नाममा मान्छेले मान्छेको शिर काट्दा मान्छेका जयजयकारहरू।
जसको प्रत्येक छालमा
तरङ्गित हुन्छ
मानव-हृदको झङ्कार
जसलाई एकतमास हेरिरहँदा
मानौ म रेटिरहेछु सारङ्गीको तार।
आफ्नै राग आफ्नै आलाप
बेप्रवाह आफ्नै प्रलाप
कलकल कलकल यौटै सङ्गीत।
पहाडको मुन्तिर खोला
वर्षौँदेखि गाइरहेछ
समयको गीत।
