बच्चामा
कती सानो लग्थ्यो संसार।
घर अगाडिको डाँडो
देशको सिमाना जस्तो
पहिलोपल्ट
धाराको डिलमा उभिएर
घरको छानामाथी चङ्गा उडाउँदा
कती मज्जाले हाँसेको थिएँ म
पछी थाहा पाएँ,
चङ्गा अझै माथि उड्दो रहेछ
घरको धूरी भन्दा माथि
बाँसको घारी भन्दा माथि
खारबारी भन्दा माथि
बादलपारी भन्दा माथि
बच्चामा
कती सानो लाग्थ्यो संसार।
तर ठुला थिए सपनाहरु-
कहिले चित्त्र कोर्थें
मान्छे भन्थे- दा भिन्ची जस्तो
कहिले कविता लेख्थेँ
मान्छे भन्थे- देवकोटा जस्तो
कहिले पढ्थेँ बिज्ञानका कुरा
मान्छे भन्थे- न्यूटन जस्तो
पछी तिनै मान्छेहरु
सोध्न थाले-
कलेजमा के पढ्छस अब?
मलाई पढ्नु थियो सारा संसार
बढ्दै गर्दा
सिमाना लम्बिदै गए
अनि छोटिदै गए सपनाहरु ।।
