जब म सानो थिएँ मलाई ला फोण्टेनको एक कथा कण्ठस्थ हुने गरी घोक्न लगाइन्थ्यो र त्यस कथाले दिने उपदेश राम्रोसँग बुझाइन्थ्यो। ती कथाहरूमध्ये एक थियो कमिला र फटेङ्ग्राको कथा जसको उपदेश यो हुन्थ्यो कि यो संसारमा परिश्रम पुरस्कृत हुन्छ र अल्छेपनले सजाय भोग्नुपर्छ। यो प्रशंसनीय कथामा (म माफी चाहन्छु कि म त्यही कुरा दोहोऱ्याउँदै छु जुन सबैले सम्मानपुर्वक, तर गलत तरिकाले बुझ्नुभएको छ) कमिला पुरा ग्रीष्म कठीन परीश्रम गर्दै हिउँदको लागि खानेकुरा जम्मा गर्दै बिताउँछ, जब कि फटेङ्ग्रो घाँसको त्यान्द्रोमा घाम तापेर गीत गाउँदै बिताउँछ। हिउँद आउँछ र कमिला आफूले जम्मा गरेको खानेकुरा खर्चँदै आरामसाथ जीवन यापन गरिरहेको हुन्छ, तर फटेङ्ग्रो भोको पेट लिएर कमिलासँग खानेकुराको याचना गर्छ। अनि त्यति बेला कमिला त्यहि पुरानो जवाफ दिन्छ –
‘गर्मीको समय भरी के गऱ्यौ र?’
‘समय कटाएँ, गीत गाएँ, दिनभरी, रात भरी।’
‘ए गीत गायौ। किन? अब जाऊ अनि नाच।’
म यसलाई मेरो प्रतिकुलताको कारण भन्न चाहन्न, तर मलाई किन हो, बचपनको सङ्गतको कारण या, मेरो नैतिकताको कारण, यो कथाको उपदेशसँग कहिल्यै पनि चित्त बुझेन। मेरो सहानुभुति जुनसुकै बेला पनि त्यहि फटेङ्ग्रो प्रति नै हुन्थ्यो अनि म जतिबेला पनि कमिला देख्थेँ मेरा खुट्टाले कुल्चिएको अवस्थामा मात्र देख्थेँ। समग्रमा (अनि मेरो आफ्नै अनुभवबाट पनि, मानव माथि कै अनुभव) मैले चातुर्य र बुद्धिमत्ताले मेरो यस उपदेश प्रतिको बिमतिलाई व्यक्त गर्न थालेँ।
मैले त्यो कथा फेरी सम्झेँ जब मैले जोर्ज रामसे लाई एक रेष्टुरेण्टमा हिजो मात्र एक्लै खाजा खाँदै गर्दा देखेँ। मैले आजसम्म कुनै पनि व्यक्तिको अनुहारमा त्यस्तो उदासीपन, उत्साहहीनता देखेको छैन जुन मैले उसमा देखेँ। ऊ शुन्यमा एकोहोरीएर हेरीरहेको थियो। उसलाई हेर्दा यस्तो लाग्थ्यो मानौँ पुरा विश्व ब्रम्हाण्डको भार आफ्नो काँधमा उठाई हिँडीरहेको छ। मलाई उसप्रति सहानुभुति जाग्यो – मैले शंका गरेँ उसको अभागी भाइले उसलाई फेरी दुःख दिन थाल्यो सायद। म ऊ भएतर्फ अगाडि बढेँ र हात मिलाउनको लागि अगाडि बढाएँ।
‘के छ खबर?’ मैले सोधेँ।
‘मेरो मूड खराब छ,’ उसले जवाफ फर्कायो।
‘फेरी टम कै कारण हो?’
उसले लामो सास फेऱ्यो अनि भन्यो –
‘अँ फेरी टम नै हो।’
‘उसको वास्ता किन गर्छौ नि अझै पनि? उसको लागि गर्नुपर्ने सम्पुर्ण सांसारिक कर्तव्य पुरा गरिसक्यौ। अब त यो बुझ्नु पऱ्यो नि उसको कुनै आशै छैन।’
मलाई लाग्छ प्रत्येक परिवारमा एक कुलाङ्गार हुन्छ। टम बिगत बीस वर्षदेखि उसको लागि घाँटीको हाड भएको थियो। उसले जीवन राम्रैसँग शुरूआत गरेको थियो – व्यापार गऱ्यो, घरजम गऱ्यो, दुई बालबच्चा भए। रामसे परिवार एक प्रतिष्ठीत परिवार मानिन्थ्यो र सबैलाई अनुमान तथा विश्वास गर्ने पर्याप्त कारण थियो कि टम रामसे पनि एक प्रतिष्ठीत जीवनवृतिमा लाग्नेछ। तर एकदिन, अचानक कुनै पुर्व सूचना बिना, उसले घोषणा गऱ्यो कि ऊ काम गर्न चाहँदैन र घरजम गरेर बस्न योग्य छैन। ऊ आफ्ना दिनहरू आनन्दमा बिताउन चाहन्थ्यो। ऊ कसैको एक सुन्ने पक्षमा थिएन। उसले श्रीमति र जागिर दुवै छोडेर आफूसँग भएको केही पैसाले दुई वर्षसम्म युरोपका बिभिन्न राष्ट्रहरूको राजधानीको घुमघाम गर्न थाल्यो। उसका करतुतहरूको हल्लाले उसका आफन्तहरूलाई अति नै बिस्मित बनाउँथ्यो। उसले अवश्य पनि बिलासीताका दिनहरू व्यतित गर्दै थियो। उनीहरू सोच्थे खर्च सकिए पछि के गर्छ होला। चाँडै नै थाहा पाए खर्च सकिए पछि ऊ सापटी माग्थ्यो। बेइमान थियो तर आकर्षक र वाक्चतुर थियो। मैले त्यस्तो अर्को मान्छे भेटेको छैन जसलाई केही पैसा सापटी दिन नाइँ भन्न सकिन्न। उसले आफ्ना साथी संगीहरूसँग राम्रै रकम उठाइरहेथ्यो। ऊ भन्ने गर्थ्यो पैसा आधारभूत आवश्यकताको लागि मात्र खर्चनु नीरस हुन्छ; बिलासीतामा खर्चेको पैसाको आनन्द बेग्लै हुन्छ। ऊ यसको लागि आफ्नो दाजु जोर्ज माथि निर्भर भयो। ऊ जोर्जलाई यी सबै कुरा गरेर समय खर्चनेवाला थिएन। जोर्ज गम्भीर पाराको व्यक्ति थियो र ऊ यस्ता प्रलोभन तर्फ उदासीन थियो। जोर्ज समाजमा प्रतिष्ठीत थियो। एक-दुई पल्ट टमले सुध्रने र नयाँ जीवन शुरू गर्ने बहानामा उसले केही ठूलै रकम उछिट्याइसकेको थियो र त्यो पैसाले मोटर र गर-गहना किनेर सिध्याएको थियो। जब परिस्थितीले बाध्य बनायो जोर्जले यो महसुस गऱ्यो कि उसको भाई अब कहिल्यै सुध्रने छैन र उसलाई सहयोग गर्नुबाट हात पनि झिक्न खोज्थ्यो, तर, टम रत्तीभर नडगी उसलाई ब्ल्याकमेल गर्ने गर्थ्यो। पेशाले सम्माननीय वकिल जोर्ज यो चाहन्थेन कि उसको भाइ उसको मनपर्ने रेष्टुराँमा बेयराको रूपमा वा ऊ जाने आउने क्लबको अगाडि ट्याक्सी ड्राइभरको रूपमा काम गरोस। टम भन्ने गर्थ्यो रेष्टुराँमा काम गर्नु वा ट्याक्सी चलाउनु राम्रै काम त हो, तर यदि जोर्जले एक-दुई शय पाउण्ड दिने हो भने परिवारको इज्जतको लागि भने पनि त्यो काम छोडन तयार छ। जोर्ज उसलाई पैसा दिँदै जान्थ्यो।
एकपटक झण्डै जेल परेन। जोर्ज साह्रै नै चिन्तित भयो। ऊ अब आपराधिक क्रियाकलापमा पनि बढ्न थालेको थियो। साँच्चै नै टम धेरै टाढा गइसकेको थियो। ऊ जङ्गली थियो, अविवेकी थियो, र स्वार्थी थियो, तर यति हदसम्म पहिले गिरेको थिएन कि कुनै अपराध नै गरोस। यदि त्यो केस अदालतमा गएको भए उसलाई सजाय हुने निश्चित थियो। तर कुनै दाजुले आफ्ने भाइ जेल गएको कसरि हेर्न सक्थ्यो होला र? त्यो व्यक्तिको नाम क्रोनसो थियो जसलाई टमले ठगेको थियो, आपराधिक प्रवृत्तिको थियो र कुनै पनि हालतमा त्यो केसलाई अदालतसम्म लैजान चाहन्थ्यो; ऊ भन्थ्यो अपराधीलाई सजाय हुनै पर्छ। यो केस मिलाउन जोर्जले ठूलो कठीनाईको सामना गर्नुपऱ्यो र केस मिलाउन पाँचसय पाउण्ड पनि तिर्नु पऱ्यो। ऊ त्यतिबेला रीसले आगो भयो जब उसले यो थाहा पायो कि पैसा हात पर्नासाथ टम र क्रोनसो सँगसँगै एकमहिनासम्म मोन्टे कार्लोमा रमझमको लागि गए।
बीस वर्षसम्म टम दौड्यो, जुआ खेल्यो, सुन्दर यौवनाहरूसँग प्रेमालाप गर्दै हिँड्यो, नाच्यो, सबै भन्दा महँगो रेष्टुराँमा खाना खायो, राम्रा पहिरनमा सजियो। ऊ सँधै बाकसबाट भर्खरै निकालिएको सामग्री जस्तै बनेर हिँड्यो। चालिस वर्षको भए पनि ऊ पैँतिस भन्दा माथिको कहिल्यै देखिन्नथ्यो। ऊ एउटा अति मिलनसार मित्र थियो। तपाईँलाई थाहा छ कि ऊ काम नलाग्ने मानिस हो तर पनि उसको सामीप्य सबैले आनन्द लिने गर्थे। मैले पनि बेला-बेलामा उसले गर्ने सहयोगलाई तिरष्कार गरिन र आफूलाई उसको ऋणी भएको नसोची उसलाई पचास पाउण्ड दिने गर्थिन। टमले सबैलाई चिनेको थियो र सबैले टमलाई चिनेका थिए। जो कोही पनि उसको क्रियाकलापलाई ठीक मान्थेन र उसलाई मन नपराउने पनि कोही थिएन।
बिचरा जोर्ज, उसको आलसी भाइ भन्दा एकवर्षमात्र जेठो, साठी वर्षको देखिन्थ्यो। उसले आफ्नो जीवनका पच्चीस वर्षमा कहिल्यै पनि कामबाट दुइ हफ्ता भन्दा लामो छुट्टी लिएको थिएन। सँधै बिहान अफिसमा नौ बजे पुग्दथ्यो र छ बजेसम्म अफिसमै हुन्थ्यो। ऊ इमान्दार, परीश्रमी र लायक थियो। ऊ आफ्नी प्यारी श्रीमतीको विश्वास तोडने सोचाई समेत कहिल्यै राखेन, आफ्ना चार छोराछोरीको लागि ऊ एक उत्कृष्ट बाबुको भूमिकामा रहिरह्यो। उसले आफ्नो आम्दानीको एक तिहाइ बचत गरि राखेको थियो र पचपन्न वर्षको उमेरमा सेवनिवृत भएर कुनै गाउँमा बसोबास गरेर गोल्फ खेल्न चाहन्थ्यो। उसको जीवन दोषरहित थियो। ऊ खुशी थियो कि ऊ बुढो हुँदैथ्यो तर टम पनि त बुढो हुँदै थियो। ऊ आफ्नो हात एकअर्कासँग रगडदै भन्ने गर्थ्यो –
‘टम युवावस्था र आकर्षक रहुञ्जेल त राम्रै होला, तर ऊ म भन्दा मात्र एक वर्ष मात्र कान्छो छ। चार वर्षमा ऊ पचास वर्षको हुनेछ। उसको जीवन त्यसपछि त्यति सरल हुनेछैन। त्यस बेला मसँग तीस हजार पाउण्ड हुनेछ जब म पचासको हुनेछु। पच्चीस वर्षदेखि म भन्दै आएको छु कि टमको जीवनको अन्त्य एक नालीमा हुनेछ। अनि बल्ल हेरौँला उसले त्यसलाइ कसरी हेर्ने छ। त्यतिखेर हेर्नु छ कि परिश्रमको कदर हुन्छ या अल्छेपनको।’
बिचरा जोर्ज! म उसप्रति सहानुभुति राख्दथेँ। म सोच्न थालेँ टम ले फेरी के नकाम गऱ्यो। जोर्ज साँच्चै नै हतोत्साहित देखिन्थ्यो।
‘थाहा छ अहिले के भयो?’ उसले मलाई सोध्यो।
म त्यो खराब भन्दा खराब घटना सुन्न तयार थिएँ। मलाई लाग्यो टम पुलिसको हात पऱ्यो होला। जोर्जलाई मुख फोर्न गाहारो भईरहेथ्यो।
‘तपाईँ यो अस्वीकार गर्नुहुन्न कि मैले मेरो पुरा जीवन परिश्रम, इज्जत, मर्यादा का साथ सिधा जीवन यापन गरेको छु। जीवन भरको परीश्रम मीतव्ययताको कारणले मैले केही धन संकलन गरेको छु जसको सहायताले म मेरो सेवानिवृत जीवन बाँच्न सक्नेछु। मैले जीवनभर आफ्नो कर्तव्य पुरा गरेर मेरो भाग्यले मलाई जता डोऱ्याउँछ उतैतिर लम्कँदै गएँ।’
‘सत्य कुरा।’
‘तपाईँ यो पनि अस्वीकार गर्नुहुन्न कि टम जीवनभर ऐयास, बदमास, बेइमान र नकच्चरो स्वभावमै आफ्नो जीवन जिउँदै गयो। उसमाथि न्याय भनेको त श्रम शिबिरमा दिनभरी पेलिनु मात्र हुनेथ्यो।’
‘त्यो पनि सत्य।’
जोर्जको अनुहार रातो हुँदै गयो।
‘केही हफ्ता अघि मात्र ऊ आमा भन्न सुहाउने एक आइमाईसँग प्रणय सुत्रमा बाँधियो। अनि अहिले ऊ मरी र उसलाई आफ्नो भएभरको सम्पत्ति छोडेर गई। पाँचलाख पाउण्डको जेथा, एउटा समुद्री याट, लण्डनमा एउटा घर र गाउँमा एउटा घर।’
जोर्ज रामसेले एक कसिलो मुक्का आफू अगाडिको टेबुलमा बजाऱ्यो।
‘यो अन्याय हो, म तपाईँलाई भन्दैछु, यो अन्याय हो, अन्याय।’
मैले आफूलाई रोक्न सकिन। म जोर्जको क्रुद्ध अनुहार देख्ने बित्तिकै कुर्सीमा पसारीएर मरी-मरी हाँस्न थालेँ। जोर्जले मलाई कहिल्यै माफ गरेन। तर अझै पनि टम ले मलाई उसको मेफेयरको आकर्षक घरमा खानाको लागि बोलाउँछ, आदतवश उसले मसँग सानो सहयोग माग्ने गर्छ, जुन म खुशीसाथ उसलाई सहयोग गर्ने गर्छु जुन एक सिक्का भन्दा बढि कहिल्यै हुँदैन।
२०७१ भाद्र १
विलियम समरसेट मघमको कथा The Ant and the Grasshopper को नेपाली अनुवाद
अनुवादकर्ताः एकदेव अधिकारी
