सागर लामो समयपछि घरमा आएको थियो । आधिरातसम्म कुराकानीमा बितेकोले घाम माथिसम्म आई सक्दा पनि निद्रा खुलेको थिएन । चराहरूको चिर्वीर आवाजले ऊ व्यूँझिन्छ । आङ तान्दै ऊ झ्यालको पर्दा हटाई बाहिर चारैतिर दृष्टि दौडाउँछ । बिहानी सूर्यको किरणमा डाँडा काँडा नवदुलही झैं सिंगारिएका थिए । वातावरण एकदम शान्त थियो । तैपनि किन हो कि उसलाई उराठ लागिरहेको थियो । जब सागरको दृष्टि सरिताको घरमा पर्छ: तब उसको मनभित्र अनौठो आँधी चल्न थाल्छ । मानौं, यो धर्ती नै तहशनहस भएको छ । अतितका लाखौं तिता मिठा यादहरू समुद्रको छाल झैं आउँने जाने क्रम चल्न थाल्यो । एक्कासि मुटुको धड्कन तेज हुन्छ । भित्रभित्रै असैह्रय पीडा अनि छट्पटी । आज वर्षौंपछि एक धोकेवाज निष्ठूरीको यादले किन सताउँन थाल्यो उसको घर देख्ने बित्तिकै? ऊ आफैलाई थाहा थिएन । तर त्यहाँको वातावरणले सागरलाई सरितासँग बिताएका अतितका प्रत्येक पलभित्र डुब्न बाध्य बनायो ।
सागर र सरिताको घर नजिकै थियो । उनीहरू एकै उमेरका थिए । सानै देखि उनीहरूको दिनचार्य भनेकैसँगै खेल्नु, झगडा गर्नु, होहल्ला, उपद्रो गर्नु थियो । उनीहरू यति मिल्थे कि अरुलाई त्यो वालसुलभ मायाको डाहा नै लाग्थ्यो । केही समयपछि उनीहरू स्कुल पनि एकैचोटी भर्ना भए । आजभोलि गर्दै समयले निक्कै लामो फड्को मारिसकेको थियो । पढाईमा दुवैजना जेहेन्दार थिए । स्कुलमा उनीहरूको जोडीलाई उदाहरणको रुपमा लिइन्थ्यो । उनीहरू बिस्तारै जवानीको खुड्किलो चढिरहेका थिए तर पनि उनीहरूमा त्यही वालापनको जस्तै तँतँ, मम गरी झगडा हाँसो ठट्टा गरिरहन्थे । उनीहरूको माया पनि अनौठो थियो । माया गर्दा झगडा गर्थे र झगडा गर्दा पनि माया गरे झैं लाग्थ्यो । छुट्टीको समयमा सँगसँगै घाँस दाउरा, मेलापात, गाई बाख्रा चराउँन जान्थे । थाहै नपाई उनीहरूको एस.एल.सि.को परिक्षा पनि नजिक आयो । कडा मेहेनेत गरेर परिक्षा दिए ।
परिक्षाको नतिजा नआएसम्म पढाईको कुनै टेन्सन थिएन । यो फुर्सदको समयमा उनीहरूले एकअर्कालाई अँझै नजिकबाट नियाल्ने अवसर पाए । उनीहरूले बालसुलभ अन्जान प्रेमभन्दा एक कदम अगाडि बढेर जवानीको प्रेममा प्रवेश गरिसकेका थिए । उनीहरूमा बिचमा अनौठो आकर्षण बढेको थियो । हुन पनि सरिताको रुप लोभ लाग्दो नै थियो । कालो लामो केश, ठुला ठुला आँखा, लाम्चो अनुहार, मन्द मुस्कान अनि बगैंचामा भर्खर फक्रिएको सुन्दर फूल झै यौवनका निशानीहरू । भगवानले सयौं वर्षको परिश्रम गरी सृजना गरेकी सुन्दर परी झैं । सागर पनि हष्ट पुष्ठ खाई लाग्दो युवक थियो ।
अब उनीहरूलाई गाईबस्तु चराउँन जाँदा एकअर्काको काखमा सिरानी बनाई माया प्रीतिको कुरा गर्दा रात परेको पनि पत्तो हुँदैन थियो । उनीहरू भविष्यका मिठा मिठा सपना सजाउँथे र युगौं युग अलग नहुने कसम खान्थे । उनीहरूमा क्षेणिक वासना कहिल्यै पलाएन । थियो त निस्वार्थ पवित्र आत्मा-आत्माको प्रेम । उनीहरूको प्रेम देखेर गाउँघरमा कुरा काट्ने र प्रसंशा गर्ने दुवै थरिको कमि थिएन । तर उनीहरूको परिवारलाई त्यस्तो कुनै आपत्ति थिएन । किनकि उनीहरू बाल्यकाल देखिका साथी, यदि प्रेम नै भएको भएपनि विवाह गरिदिन तयार थिए । त्यसैले सागर र सरितालाई उनीहरूको प्रेम सफल हुनेमा धृड विश्वास थियो । तर आवेशमा आएर विवाहभन्दा अगाडि सामाजिक मूल्य मान्यतालाई तोड्नु हुन्न भन्नेमा सचेत थिए ।
केही महिनाको प्रतिक्षा पछि एस.एल.सि.को नतिजा आयो । दुवैजना प्रथम श्रेणीमा पास भएछन् । खुशीले पागल भएर एक अर्कालाई अंकमाल गरी चुम्न थाले । दुवैको शरिरमा करेन्ट लागेझैं अनुभव भयो । जीवनमा पहिलो पटक यस्तो अनुभव भएको थियो । आवेशमा वरिपरिका सहपाठीहरू छन् भन्ने पनि यादै गरेनन् । सहपाठीहरूको हाँसोले झसङ्ग हुन्छन् र के गरौं कसो गरौं रातो न पिरो भए लाजले । सागरले हत्तपत्त सरिताको हात समातेर त्यहाँबाट दुवैजना भीडभन्दा बाहिर निस्केर घरतर्फ दौडिए ।
सागर एकोहोरो भएर अतितको महासागरमा पौडिरहेको थियो । उसलाई आफ्नै आँखाको किनारासम्म आँसुरुपी छालहरू उर्लेको पत्तो थिएन । सागर अगाडिको धटनाहरू सोच्दै थियो: सागर र सरिताको विवाहको कुरा छिनिसकेको थियो । उनीहरू पनि खुशी थिए तर उनीहरू तत्कालै विवाह गरी हाल्ने पक्षमा थिएनन् । किनकि, सरितालाई अँझै उच्चशिक्षा हासिल गर्ने र सागरलाई आफ्नो खुट्टामा उभिएपछि मात्र विवाह गर्ने चाहना थियो । सो कुरा उनीहरूले परिवार सामु राखे । छोरा छोरीको इच्छा पुरा गर्ने चाहना हरेक बाबु आमालाई हुन्छ । तर गाउँका साधारण परिवारले शहरमा पढाउँनको लागि खर्च धान्न सम्भव थिएन । के गर्ने भन्ने रणभुल्लमा थिए सबैजना । तर दैवले तँ चिता म पुराउँछु भन्छन् रे त्यस्तै भयो । सागर नेपाली सेनामा भर्ना भयो । तालिम काठमाण्डौको छाउनी ब्यारेकमा हुने भयो । तालिम सुरु हुनुभन्दा अगाडि ४ दिन छुट्टी पाएको थियो । त्यही बेलमा फर्किंदा सरितालाई पनि साथमा लिएर आयो । भोटाहिटीमा एउटा सानो कोठा भाडामा लियो अनि सरितालाई त्रिचन्द्र कलेजमा भर्ना गरिदियो । सागरको तालिम सुरु भयो । सागर र सरिताको उद्धेश्य पुरा हुने दिशातर्फ लम्किरहेको थियो । उनीहरू ज्यादै खुशी थिए । सागरले सेनाको जागिरबाट आएको पैसा सबै सरिताको लागि खर्च गरिरहेको थियो । हुन त काठ्माण्डौको महंगीमा त्यति थोरै तलब पर्याप्त थिएन । तर पनि उनीहरूमा भविष्यको मिठो सपना र आपसमा न्यानो माया थियो । एक दुई छाक भोकै बसे पनि संतुष्ट थिए । यसैगरी एक वर्ष बित्यो । सरिताले आई.ए.सि. प्रथम वर्षको परिक्षा प्रथम श्रेणी मै पास गरिन । दुवैजनामा खुशीको सीमा थिएन ।
तालिम पछि सागरलाई पोखरामा खटाईयो । काठ्माण्डौमा नै मिलाउँने प्रयास नगरेको होइन तर असफल भयो । यसरी अचनाक आईपरेको समस्याले दुवैजना हतास हुन्छन् । देशको सेवा गर्ने कसम खाएपछि खटाएको ठाउँमा नजाने हो भने नोकरीबाट नै हातधुनु पर्ने बाध्यता एकातिर थियो भने अर्कोतिर सरितासँग छुट्टिनु पर्ने बाध्यता…! सरिताको पढाई र दुवैको भविष्य पनि यसैसँग जोडिएको थियो ।
तालिम पुरा भएपछि सागरको सरुवा पोखरामा भएको पत्र पाउँछ । यसरी अचनाक आई परेको समस्याले दुवैजना हतास हुन्छन् । के गरौं के नगरौं सोच्न सक्दैन सागरले । देशको सेवा गर्ने कसम खाएपछि खटाएको ठाउँमा नजाने हो भने जागिरबाट हातधुनु पर्ने मात्र होइन सैनिक नियम अनुसार कार्वाही हुन सक्थ्यो । सरिताको पढाई दुवैको भविष्य र बाल्यकालदेखि एकपल पनि छुट्टिएर टाढा नबसेका कसरी यति टाढा बस्ने? रुँदा-रुँदै छर्लङ्गै रात काटे । अन्त्यमा, सागरले यसलाई सफलताको शिखरमा पुग्ने एक कठोर परिक्षा ठानी पोखरा जाने निर्णय गर्यो । सागरलाई पनि मन त कहाँ थियो र आफ्नी प्राणभन्दा प्यारी सरितालाई एक्लै छाडेर जाने? सागर प्लिज! मलाई एक्लै छाडेर त्यति टाढा नजानुहोस् । बरु अरु कुनै काम गरेर हामी दुवै यतै पढौंला-सरिताले गहभरि आँसु पार्दै भनिन् । तर सागरले धैर्यतापूर्वक सरितालाई सम्झाउँन थाल्यो । धत! पगली, यसरी रुँने हो! के म सधैँको लागि तिमीलाई छोडेर जान लागेको हुँ र? मेरो माया तिमीलाई छाडेर जान्छु र तिम्रो माया म लिएर जान्छु । शरिर मात्र टाढा भएर के भयो र? हृदयभित्र हामी हरपल साथ रहने छौं । फेरि म प्रत्येक हप्ता फोन गर्छु अनि महिनाको एक पटक जसरी भएपनि तिमीलाई भेट्न आउँछु-सागरले सम्झायो । बल्ल सरिताले सहमतिको टाउको हल्लाइन ।
सरिता र सागरलाई छुट्टिन मुस्किल भइरहेको थियो । एकअर्कालाई अंगालेर रोइरहेका थिए । बसको हरणले उनीहरूलाई चाँडै बिछोड हुन संकेत दिए झैं लाग्थ्यो । सागर बसमा चढ्यो । सरिता बाहिर डाको छोडेर रुँदै थिइन । बिस्तारै बस आफ्नो गन्तव्यतिर अगाडि बढ्छ । आँखाले भ्याइन्जेल दुवैले एकअर्कालाई हेरिरहे ।
पोखरा पुगेर ब्यारेकमा हाजिर हुन्छ । सरिताको यादले हरपल सताइरहेता पनि हप्तामा एकचोटीभन्दा बढी कुरा गर्न सम्भव नै थिएन । धेरै कुराहरू पत्र मार्फत पनि आदान प्रदान हुन्थ्यो । बाचा अनुसार हरेक महिनाको पहिलो हप्ता सरितालाई भेट्न काठ्माण्डौ जान्थ्यो र एक महिनासम्मको बिछोडमा तड्पिएको आत्मामा मल्हम लगाएर खर्च छाडी फर्किन्थ्यो । सरितालाई भेट्न हरेक हप्ता आउँन चाहन्थ्यो तर सैनिकको सीमित तलब त्यसको लागि पर्याप्त थिएन ।
‘बगेको खोला र समय कहिल्यै फर्किंदैन’ भनेझैं- सागर पोखरा सरुवा भएको पनि एकवर्ष नाघिसकेछ । सधैँ झैं सरितालाई खर्च दिन सागर काठ्माण्डौ आयो । त्यसबेला साथीबाट थाहा पायो, सरिता दोस्रो वर्षको परिक्षमा फेल भइन भनेर । उसलाई अच्म्म लाग्यो! सागरलाई विश्वास थियो कि स्कुल जीवनदेखि सधैँ प्रथम हुँदै आएकी सरिता फेल हुँदिनन् भनेर । तर सरिताकै मुखबाट सुनेपछि विश्वास नगरेर सुखै पाएन । त्यसपछि उसको चारैतिर शंकाको कालो बादल मडारिन थाल्यो । हुन त पहिले देखि थोरै शंका नलागेको होइन । सरिताको दिनप्रतिदिनको बदलिंदो व्यबहार, रमझम र बढ्दो फेशन प्रतिको आकर्षण अनि कोठामा आवश्यक्ताभन्दा बढी उपलब्ध बिलासिताका सामानहरू-जुन उसले किन्ने हैसियत राख्दैन थियो । तर सागरलाई उनी माथि पूर्ण विश्वास थियो गलत काम गर्दिनन् भनेर । त्यसैले त्यस्तो शंकालाई कहिल्यै प्रकट हुन दिएन । पहिले झैं माया र सहयोग गरिरह्यो ।
मान्छेको मन त हो कति बेला कतातिर मोडिन्छ थाहा हुँदैन । उनीमा पनि त्यस्तै भयो । काठ्माण्डौमा बढ्दै गएको फेशन, क्याम्पसका सहपाठीहरूको धाक रवाफ, अर्काको नक्कल गर्नु पर्ने लहड, सरिताको सौन्दर्य, उनीहरू झैं खर्च गर्न पैसाको अभाव र मार्गदर्शन दिने व्यक्तिको अभाव, त्यसमा उनी एक्लै हुँदाको स्वतन्त्रता, शायद सागरको लागि त्यही दुर्भाग्य भयो । सरितामा असीमित महत्वाकांक्षाहरू सगरमाथा झैं चुलिंदै गए । जब कहीं महत्वकांक्षाको पहाड खडा हुन्छ भने त्यसैको नजिक धाँजा फाट्टिन्छ र बिस्तारै सम्बन्धको बिचमा बिशाल खाडल पनि बन्छ । हो, त्यही सरिताको महत्वकांक्षाको कारण उनीहरूको प्रेमको बिचमा बिशाल खाडल बनिसकेछ । सागर पोखरा गएपछि सरिताको बिस्तारै खराब युवायुवतीहरू संगत बढ्दै गयो । र उनी लागुपदार्थको कुलतमा समेत फसिन । त्यो कुरा सागरले थाहा पाउँदा धेरै ढिला भइसकेको थियो । त्यो कुराले सागरलाई ठुलो चोट पर्यो ।
त्यसपछि सरितालाई सम्झाउँने प्रयास नगरेको होइन । तर उनी सम्झिनु, सुधारिनुको बदला सागरलाई ठुलो अवरोधको रुपमा लिन थालिन । सधैँ तिरस्कार र घृणा गर्न थालिन । सागरको धन सम्पत्ति, माया प्राण जे भने पनि उनी थिइन । कयौं चोटी बिगतका दिनहरू सम्झाउँदै हाम्रो उद्धेश्य के थियो? सम्झाउँने प्रयास गर्यो । तर सरिताको लागि सागर केही थिएन । घृणाको भावमा यतिसम्म भनिन् कि ‘अब तिम्रो त्यो दुई छाक खानलाई नपुग्ने पैसाको आशामा बस्नु छैन मलाई । तिमीले गरेको सहयोगलाई कुनै ठुलो उपकार नठान । एकएक पैसा फिर्ता गरिदिन्छु । तर अब मसँग विवाह गर्ने सपना नदेख’ ।
त्यो बेला सागरको मुटु छिया छिया भयो । धुरुधुरु रुन मन लाग्यो । परेलीको डिलमा आएको आँसुलाई भित्रै दबाएर भन्यो-‘सरिता! तिमीलाई मैले प्राणभन्दा प्यारो ठानें । तिम्रै लागि मेहेनेत गरें । कहाँ गए ती बाल्यकाल देखिको प्रेम?सँगै मिलि गरेका भविष्यको योजना, ती डाँडा काँडा बनपाखा देउराली साँक्षी राखिसँगै मर्नेसँगै बाँच्ने भनी खाएका कसम बिर्स्यौ? कम से कम एक पटक बिगतलाई त सम्झ!’-सागरको गला अबरुद्ध भयो । उनी पत्थर झैं भइसकेकी थिइन । ती कुनै अनूनय बिनय सुन्न तयार भइनन् ।
सागर पागल झैं भइसकेको थियो । उसलाई बाँच्ने इच्छा मरिसकेता पनि अन्तिम उपाय स्वरुप घरमा बाबा आमा र सरिताको बाबा आमालाई फोन गरेर विवाह गर्ने तयारी गर्नु यस आशामा भन्यो कि-विवाह गर्न घर जाउँभन्दा कतै मन फर्कि हाल्छ कि? पुन:एक पटक सरितालाई अनुरोध गर्यो-‘सरिता अब अति भई सक्यो । यसभन्दा ज्यादा पीडा म सहन सक्दिन । जे हुनु भयो । त्यसलाई भुलेर अँझै हामी नयाँ संसार बसाउँन सक्छौं । त्यसैले घरमा विवाहको तयारी भई सक्यो । हिंड आजै घर जाऔं’ ।
सागरको विवाह भन्ने शब्द सुन्न साथ उनी कड्किन थालिन-‘मैले कति पटक भनिसकें तिमीसँग विवाह गर्न सक्दिन भनेर?’ अँझै भन्दैछु-‘अब मलाई भुलि देऊ ।’ तिमी बाहेक म अरु कसैसँग विवाह गर्न सक्दिन । तिमी मेरो प्रेम मात्र नभएर बाँच्ने आधार मुटुको धड्कन हौ । मेरो के गल्ती भयो र तिमी मलाई यसरी घृणा गर्दैछौ?सागरको प्रश्न सकिन नपाउँदै सरिता चिच्याउँन लागिन-‘यो प्रेम, माया प्रीति, बाचा कसम सबै बकवास हुन । अहिलेको जमानामा सुखले बाँच्नको लागि सम्पत्ति चाहिन्छ सम्पत्ति । जुन तिमीसँग छैन । तिमीसँग त्यस्तो अरु मलाई दिन लायक चिज नै के छ र?’ सरिताले कति सहजै भनेकी थिइन यी शब्दहरू । सरिता तिमी त्यसो नभन! सम्पत्तिले मात्र मानिस कहिल्यै सुखसँग बाँच्न सक्दैन । मेरो अगाध मायालाई सम्पत्तिसँग कहिल्यै तुलना नगर! के पहिले हामी त्यति थोरै पैसाले पनि सुखी थिएनौं त?-सरिताको पाउ समाउँदै सागरले बिन्ती गर्यो । सम्पत्तिको मोहमा सरिताको बुद्धिको सबै ढोका बन्द भइसकेका थिए ।
सागरको कुरै नसुनि अगाडि भन्दै गइन-‘म एक करोडपतिको छोरा राजेशसँग प्रेम गर्छु र अब उसैसँग विवाह पनि गर्दैछु ।’ सागरलाई पीडा असैह्य हुँदै गयो । उनी अँझै सागरलाई भन्दै गइन-‘हाम्रो प्रेमको निशानी राजेशको सन्तान मेरो पेटमा हुर्किंदैछ । अब म चाँडै आमा बन्दैछु ।’ यो वाक्य सुन्न साथ सागरको चारैतिर अन्धकार छायो । संसारै उल्टो भए झैं लाग्यो र मुढा लडेझैं बेहोस भएर जमिनमा लड्यो । त्यसपछि के भयो उसलाई केही थाहा भएन ।
सोच्दा-सोच्दै सागरको गला सुकिसकेको थियो । आँखाबाट आँसु रोकिने कुरै थिएन । सुँक्क सुँक्क गर्दै बेञ्चमा आएर बस्छ । एक गिलास पानी पिई ध्यान अन्तै मोड्ने प्रयास गर्छ तर लाखौं प्रयासको बाब्जुद पनि मन स्थिर हुँदैन । पुन: त्यही अतितका घटनाहरू क्रमश: आँखा अगाडि चलचित्र झैं एकपछि अर्को आउँन थाल्छन् । बेहोस भएर ढलेपछि कसैले अस्पताल पुराई दिएछन् ।
तिनदिन पछि उसको होस खुलेको थियो रे! तर उसले मानसिक सन्तुलन गुमाइसकेको थियो । हरपल सरिताको नाम लिएर कहिले हाँस्ने, कहिले रुँने, मुखमा आएको जति बोल्नु, जसलाई देखे पनि मेरो सरितालाई खोस्ने तैं होइनस्? भनेर कुट्नु, भाग्नु, मर्न जान्छु भनेर दौडनु उसको दिनचार्य भएको थियो ।
सागर बेहोस हुने बित्तिकै बेपत्ता भएकी सरिता कहिल्यै फर्केर के कस्तो भयो हाल खबर बुझ्न आइनन् । सागर पागल भएपछि आफ्नो बाटोको अबरोध हटेको ठानिन् शायद!
बुबा आमा गाउँबाट आएर सागरलाई सैनिक अस्पतालमा भर्ना गरी उपचार गराइरहेका थिए । डाक्टरहरूले पनि सम्भव भएसम्म राम्रो उपचार गरिरहेको भएता पनि स्वास्थ्यमा सुधार आउँनु सकिरहेको थिएन । एक वर्षपछि बल्ल सागरको स्वास्थ्यमा पूर्णरुपले सुधार आयो । सम्पूर्ण परिवार खुशी थिए ।
सामान्य हालतमा आएपछि पुन: सरिताको बारेमा जान्न चाह्यो सागरले । घरपरिवार र साथीहरूबाट सरिताको बारेमा यस्तो जानकारी पायो । सागर पागल भएपछि राजेश र सरिताले अदालतमा गएर कोर्ट म्यारिज गरेछन् । राजेशका परिवारले दुवैजना लागुपदार्थको दुर्व्यसानी भएको थाहा पाएपछि सुधारको प्रयास गरे । तर सुधारिनुको बदला घरभित्रै लागुपदार्थ सेवन गर्न थालेपछि घरबाट निकाली दिए । त्यही झोंकमा राजेशले अंश मुद्दा हाल्यो र उसको अंश पायो पनि । तर त्यसमा थप्ने कोही नभएपछि कतिदिनलाई पुग्थ्यो र? केही समयपछि सरिताले एक छोरी जन्माएपछि सरिताको बानीमा केही सुधार आएको तर राजेशको हालत झन खराब हुँदै गएको छ भन्ने जानकारी पायो । त्यसले झनै चोट पुरायो । उसलाई काठमाण्डौमा सरितासँग जोडिएका हरचिज घोच्ने काँडा जस्तो लाग्न थाल्यो । रातदिन जहाँ गएपनि उही धोकेबाज निष्ठुरीको सम्झनाले सताएपछि निष्ठुरीसँग नजोडिएको ठाउँ दिपायल सरुवा मागेर गयो ।
दिपायल पुगेपछि पनि भौगोलिक दुरीले केही फरक परेन । त्यहाँ पनि धेरै दिनसम्म तड्पिरह्यो । तैपनि निष्ठुरीको याद नआवोस भन्नको लागि हरेक समय आफूलाई ब्यस्त राख्न थाल्यो । त्यसपछि सागरको उद्धेश्य नै परिवर्तन भयो । सरितासँग बिताएको क्षेणलाई जिन्दगीको यात्रामा घटेको एक अविस्मरणीय दु:खद दुर्घटनाको रुपमा स्वीकार गरी पुन: त्यस्तो दुर्घटना हुँनै नदिने अठोट गर्यो ।
बिस्तारै आफ्नो कर्तव्यमा समर्पित हुँदै गयो । अब त ऊ माया प्रेम भन्ने शब्द देखि नै घृणा गर्ने भइसकेको थियो । प्रत्येक नारीलाई अविश्वासको दृष्टिले हेर्थ्यो । त्यसै गरी अनेकौं आरोह-अवरोह र कठोर परिस्थितिको सामाना गर्दै चार वर्ष दिपायलमा बितायो । तलब बापत पाएको थोरै पैसा संकलन गरी आर्थिक अवस्था बलियो बनाइसकेको थियो र शान्ति सेनाको लागि छनौट पनि भएको थियो । चार वर्षसम्म सागर कहिल्यै घर गएन । जान मन लागे पनि निष्ठुरीको यादभन्दा टाढा भाग्ने सोचाइमा कहिल्यै जान सकेको थिएन । तर बल्ल बल्ल मनलाई बलियो बनाएर यसपटक घरमा पुगेको थियो ।
सागरको अप्रत्यासित आगमनलाई सम्पूर्ण परिवारले उत्साहपूर्वक स्वागत गर्छन् । परिवारमा खुशीको सीमा थिएन । सागरलाई पनि लामो समयपछि परिवारिक सुखको अनुभूति भएको थियो । यसरी नै अतित देखि बर्तमानसम्मको सोचाइमा चुर्लुम्मै डुबिरहेको थियो । सागरको एकोहोरोपनालाई भङ्ग गर्दै त्यस्तै पाँच वर्षकी बालिका आएर भनिन्-‘अंकल तपाईलाई हजुरबाले बोलाउँनु भएको छ’ । हतार हतार आफूलाई सम्हाल्दै तिमी को हौ? भनी सोध्यो सागरले । ती बालिकाले छोटो उत्तर दिइन-‘मेरो नाम सम्झना हो ।’ तपाई किन रुँनु भएको? बालसुलभ प्रश्न गरिहालिन सम्झनाले । होइन, होइन, त्यसै आँखामा धुलो परेर हो भन्नु पनि गलाले साथ दिइरहेको थिएन सागरको । सम्झना अँझै बोलिरहिन-‘होइन, तपाई झुठ बोल्दै हुनुहुन्छ । मम्मीले भन्नुभएको मनमा चोट नपरि आँसु आउँदैन रे । तपाईलाई पनि पक्कै मनमा चोट लागेको हुनुपर्छ ।’ सम्झनाको कुराले सागर अक्क न वक्क भयो र सोध्यो ‘तिम्रो मम्मीको नाम के हो थाहा छ?’ ‘किन थाहा नहुनु? मेरो मम्मीको नाम ‘सरिता’ हो’-सम्झनाले भनिन् । सरिताको नाम सुन्नसाथ झसंङ्ग भयो सागर । भर्खरैसम्म उसैको यादमा डुबेको सागरले उत्सुक्तापूर्वक सोध्यो-‘मम्मी कहाँ छन्?’ सम्झनाको छोटो उत्तर-‘घरैमा हुनुहुन्छ’ । केही क्षेणपछि आउँछु तिमी जाऊ भनी सम्झनालाई पठायो सागरले ।
सागरको मनभित्र कौतुहल जाग्यो-कसरी सरिता यहाँ आई पुगिन? उसको हाल के कस्तो होला? आदि ईत्यादी…..! त्यसपछि सागरले आफ्नै भाइ सुमनबाट सरिताको बारेमा जानकारी लियो । एक पटक त ऊ बिह्वल नै भयो । भाइ सुमन भन्दै थियो-‘राजेशलाई अदालतले आमा बाबुसँग अंश दिलाई दियो । तर ‘उल्फाको धन फेपुको सराद’ भने झैं करोडौं रुपैया हातमा परेपछि राजेश मोजमस्तिमा झुम्न थाल्यो । कमाउँने र थप्ने कोही नभएपछि खर्च मात्रै गर्दा कतिदिनलाई पुग्थ्यो र? सरिता बच्चा पाएपछि केही सुधृए पनि उनको सौंदर्यमा कमि आएको थियो । त्यसैले राजेशले अरु केटीहरूसँग लाग्न थाल्यो । त्यति मात्र होइन एक युवतीलाई श्रीमतीको रुपमा भित्र्यायो । जसको कारण घरमा सधैँको कलह, अत्याधिक खर्चको कारण भएको सम्पत्ति पनि सकियो । राजेशसँग अब केही बाँकी थिएन । लागुपदार्थ किन्न पैसा नपाएर सडक सडक भौंतारिन्थ्यो । यसै क्रममा एकदिन प्रहरीले समात्यो । प्रहरी हिरासतमा पिउँन नपाएर उसको हालत झन खराब भयो । प्रहरी हिरासतमा नै उसले आत्माहत्या गरेछ । यस्तो अप्रत्यासित घटनाले सरिता माथि झनै ठुलो बज्रपात भयो । बिहान बेलुकी हातमुख जोर्न पनि कठिन भयो । छोरी सानै भएकोले केही काम गर्न पनि सम्भब थिएन । अब कहाँ जाने? सासू ससुराको घरको ढोका उनीहरूको लागि पहिले नै बन्द भइसकेको थियो । बाँच्ने कुनै सहारा नभएपछि बाध्य भएर छोरी सम्झनालाई लिएर माईतिमा बसेकि हुन ।’ भाइ सुमनबाट यति कुराको जानकारी पाएपछि दुखी मन लिएर सरिताको घरतर्फ लाग्यो ।
सागर त्यहाँ पुग्दा दुब्ली पातली, अति कमजोर, सेतो कपडा लगाएर आँगन बढार्दै थिइन सरिता । सागर पुग्ने बित्तिकै एकोहोरिएर हेर्न थालिन सरिता । आँखाबाट अविरल आँसु बगाउँन थालिन । सरिताको त्यस्तो दयनीय स्थिति धेरै मर्माहत भयो तर त्यो परिस्थितिमा के गर्न सक्थ्यो र? सागरले । उसको अगाडि प्रेमिका सरिता होइन धोकेवाज सरिता जो उभिएकी थिइन । आज सागरको अगाडि त्यो सरिता थिइन-जसले आफ्नै प्राणभन्दा ज्यादा माया गर्ने हृदयको राजालाई लात हानेर परायसँग भागेकी थिइन । सागर जीवन र मृत्युसँग संघर्ष गरिरहँदा सरिता विवाहको मण्डपमा थिइन । जब सागर कठोर संघर्ष पछि सफल भएको थियो भने सरिता आफ्नै कर्मको फल भोग्दै थिइन । त्यसबेला आफ्नो अगाडि त्यसरी आँसु झार्नुको कुनै औचित्य देखेन सागरले । सागरको मुखबाट न त सान्त्वनाका एक शब्द निस्के न घृणाकै । सरिताको बाबा भित्रैदेखि कराउँदै निस्किनु भयो-‘के हेरेर बसेकि छे सरिता? सागर बाबुलाई सुकुल लगाई दे । हत्त न पत्त सारीको सप्कोले आँसु पुछ्दै पिंढीमा गुन्द्री ओछ्याइन सरिताले । साधारण औपचारिक कुराकानी पछि दुख सुखको निक्कै कुराकानी भए सरिताका बाबा र सागरको । सरिता थाहा नपाउँने गरी सबै कुराहरू सुनिरहेकी थिइन । साँझ पर्न लागिसकेकोले बिदा मागेर घरतर्फ लाग्यो सागर । सरिता लाचार अनुहार लिएर बाटोमा पर्खिरहेकी थिइन । केही भन्न वा केही आस्वासनको आशा गरे झैं । तर समयले निक्कै लामो फड्को मारिसकेको थियो । सरिता जीवनको अर्कै गोरेटोमा थिइन भने सागर लाखौं बाधा अड्चन पार गरेर निक्कै टाढा पुगिसकेको थियो । उनीहरू पहिले एउटै नदी थिए तर आज दुई किनारामा बिभाजन भएका थिए । सामुन्ने भएता पनि दुई किनाराको कहिल्यै मिलन हुन्न । सागरको मुखबाट अप्रत्यासित रुपमा यो शब्द निस्क्यो-‘माफ गर सरिता! मैले अतित कि मेरी सरितालाई कहिल्यै भुल्न सक्दिन र बर्तमान कि सरितालाई स्वीकार्न पनि सक्दिन । त्यसैले मैले आजीवन विवाह नगर्ने निर्णय गरेकोछु ।’ सरिताले केवल एकोहोरो भएर हेरि मात्र रहिन केही बोलिनन् । सागर आफ्नो घरतर्फ लाग्यो ।
घरमा पुगेपछि खाना खान मन पनि लागेन । जब ओछ्यानमा पल्टिन्छ-सागरको मनभित्र आँधीहुरी चल्न थाल्यो । उसको मनभित्रका बदलाको भावना तातोको नजिक रहेको बरफ झैं क्रमश: पग्लिन थाल्यो । सरिताको दयनीय अवस्था देखेर मनभित्र मायाको मुनाहरू टुसाउँन थाले । आखिर उनी नै मेरी प्राण हुन । उसैको लागि त्यति पीडा सहें । अब सरिता पनि पछुताइसकेकी छन् । उसको गल्तीको सजाय भोगी सकिन । अब जे सुकै भएपनि सरिताको सबै गल्ती माफ गरी भोलि नै उसलाई आफ्नो बनाउँछु भन्ने निर्णय गरी निदायो सागर ।
बिहान मिरमिरे उज्यालो पनि भएको थिएन । गाउँमा मच्चिएको कोफाहलले सागरको निद्रा खुल्छ । के रहेछ भनी मानिसको भीडतर्फ दौडिन्छ । त्यहाँ पुग्दा छाँगाबाट खसेझैं हुन्छ सागर । सपना हो पा बिपना छुट्याउँनु मुस्किल भयो उसलाई । सरिता सलको पासो लगाएर झुण्डिएकिरहिछन् रुखमा! जुन रुखको छहारीमा बसेर सागर र सरिता घण्टौं माया पिरतीका कुरा गर्थे । त्यही रुखमा आफ्नो प्राण त्यागिन । सागर डाको छाडेर रुन थाल्यो । प्रहरी आएर लाश झार्यो । खानतलासी पछि रुखको फेदमा दुईवटा पत्र फेला पर्यो । एउटामा आफूखुशी आत्माहत्या गरेको हुँ कसैलाई दोष नदिनु भनेर प्रहरीको नाममा लेखेकी थिइन भने अर्को सागरलाई सम्बोधन गरी लेखेकी थिइन:
प्रिय सागर!
असिम माया र सुखी जीवनको कामना!
यति लेख्ने अधिकार पनि म अभागीनी, पापिनीलाई छैन । तर पनि मर्नुभन्दा अगाडि मेरो अन्तिम इच्छा तपाईलाई राखिरहेछु । तपाईले जसरी हुन्छ विवाह गरेर नयाँ जीवन सुरु गर्नु होला । आफ्नै कु-बुद्धिको कारण तपाई जस्तो देवतालाई धोका दिएँ । सक्नुहुन्छ भने त्यसको लागि माफी दिनु होला । म आजसम्म तपाईकै एक दर्शन पाउँनको लागि बाँचिरहेको थिएँ । आज त्यो इच्छा पुरा भयो । अब मलाई कसैले रोक्न सक्दैन । मैले आफ्नो गल्तीको सजाय पाउँनै पर्छ । यो जन्ममा तपाईकी हुन सकिन । अर्को जन्ममा तपाईकै हुन पाऊँ भनेर नर्कलोकमा तपस्या गर्नेछु । स्वर्गलोकमा जाने त मैले कर्म नै गरेकी छैन । फेरि भन्छु! तपाईले नयाँ जीवन सुरु गरेर मेरो अन्तिम इच्छा पुरा गरिदिनु हुनेछ भन्ने आशा छ । बिदा…. बिदा …. बिदा…!
उही धोकेवाज अभागीनी सरिता….!
पत्र पढी सक्ने बित्तिकै सरिताको लाशलाई अंगालो हालेर डाको छोडी रुन थाल्यो । त्यहाँ जम्मा भएका कसैको पनिआँखा ओभानो थिएनन् । सागरको जिन्दगीको हाँसो खुशीहरू पटक पटक यसरी नै खण्डहरमा परिणत भए र हुँदैछन् ।
समाप्त… ।
२०५३ साल /लगनखेल
