यौटा लामो दूरीमा चल्ने बस सडकबाट निकै तल खोलामा खसेर दूर्घटनाग्रस्त भयो । बसका सबै यात्रीहरुको मृत्यु भएको खबर फैलियो । टिकट काट्नेहरुको नाम जाँचेर हेर्दा देशका एकजना लगनशील लेखक पनि त्यो दूर्घटनामा परेको खबर खुल्यो ।

तुरुन्तै सबैतिर सोकसभाहरु आयोजना भए । पत्र-पत्रिकामा उनका बारेमा प्रशंसाले भरिएका लेखहरु छापिए । उनले गर्दै रहेको साहित्य सेवाको सबैतिरबाट प्रशंसा गरियो र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको घोषणा गरियो ।

यौटा सामाजिक संस्थाले स्वर्गीय लेखकको सम्मानको लागी उनको यौटा सालिक बनाउने कुरा उठायो । अर्को यौटा निर्णायक मण्डलले उनलाई मरणोपरान्त विशेष पुरस्कार दिने निर्णय सुनायो । विभिन्न पत्र पत्रिकाहरुमा पहिले पन्छाईएका उनका लेख रचनाहरु नामको अगाडि ‘स्व’ लेखेर धमाधम छापिन थाले ।

त्यत्तीकैमा एकदिन मृत घोषित लेखक जिउँदै घर फर्के। दूर्घटनाग्रस्त बस हिड्ने समयमा ‘बस स्टप’ पुग्न नभ्याएकोले बस छुटी आफू बचेको कुरा उनले सार्बजनिक गराए ।

त्यसको तुरुन्तै शालिक बनाउन अग्रसर संस्थाले ‘जिउँदै व्यक्तिको शालिक बनाउन हुँदैन’ भनेर शालिक बनाउने योजना रद्द गर्‍यो । पुरस्कार दिन तम्सने निर्णायक मण्डलले पनि अर्कै स्वर्गीय प्रतिभालाई पुरस्कार दियो । उनका लेख रचनाहरु पत्रिकामा छपाउन सम्पादकहरु पुन: अन्कनाउन थाले ।

यसरी मृत्युको खबरले प्रसिद्ध भएका लेखकको चर्चा बिस्तारै हराउँदै गयो र उनको जिउँदो अस्तित्व फेरी भिडमै बिलायो ।

http://dacharya.blogspot.com/2008/12/blog-post_09.html

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

3 thoughts on “अघटित यथार्थ”

  1. नेपाली समाज र सन्स्कृतिको
    नेपाली समाज र सन्स्कृतिको तिक्तता पूर्ण वास्तविकताको दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *