Skip to content


मेरो पसिनाले
विदेशी भूमिलाई भिजाएर
मेरो प्यारो लिम्बुवानलाई
मैले मरुभूमि बनाएको छुइन ।

तर पनि
मेरो अभावमा
बाँझिएको लिम्बुवानमा
हुर्किएका उत्तिस घारीहरू
सप्रिएका अलैंची बारीहरू
मलाई खोजिरहेका छन् ।

मुकुम्लुङ्ले मलाई कहाँ छ भनेर
फक्ताङ्लुङलाई सधैँ सोधिरहन्छे
फक्ताङ्लुङले पनि
मलाई एक टकले हेर्दै
खोजी नै रहेको छ
तर देखिरहेको छैन
तावामाले
मेरो पाईलाको डोबहरू
पछ्याउँदै – पछ्याउँदै
सप्तकोशीसम्म पुगी
तर पनि मलाई भेटिनन्
हावाले पनि मलाई
कहाँ पो खोजेन र !

खोज्नुसम्म खोज्यो
गुराँस फुल्ने बनपाखामा खोज्यो
अम्लिसो र चियाबारीमा खोज्यो
लिम्बुवानको हिमाल पहाड हुँदै
बेंसी फाँटहरूमा खोज्यो
कुनाकन्दरा सबै – सबैतिर खोज्यो
तरपनि मलाई भेटेन
यसरी नै खोज्नेहरूले मलाई खोजिरहेका छन्
सोध्नेहरूले मलाई सोधिरहेका छन्
मेरो खोजीमा कोही पनि थाकेका छैनन्
किनभने
म बिना मेरो लिम्बुवान अधुरो छ
मेरो अभावले लिम्बुवान अपुरो छ
मैले मेरो लिम्बुवान मैले नै बनाउनु पर्छ
विदेशीहरूले मेरो लिम्बुवान बनाइदिने छैनन्
तर किन म
मेरो लिम्बुवानको
भष्मेहरू फाँड़न छोडेर
विदेशीको घुर्यानहरू खोस्रिरहेको छु?

मैले बुझेर पनि
विदेशी मरुभूमिमा
सपनाको भारीहरू बिसाउँदै
जति नै सकारात्मक
जति नै विकासवादी
सिद्दान्तहरूको कुरा गरे पनि
म बिना मेरो लिम्बुवान अधुरो हुन्छ
मेरो अभावले लिम्बुवान अपुरो हुन्छ
त्यसैले
अब मैले सीमाना पारीबाट
जय लिम्बुवान लेखेर मात्र हुँदैन
जय लिम्बुवान भनेर मात्र हुँदैन
मेरो लिम्बुवानको भविष्यको निम्ति
लिम्बुवानको माटोमा बसेर
सिर्जनाको फूलहरू फुलाउँनु पर्छ
लिम्बुवानको बाटोमा हिडेर
अनुकरणीय पाइलाको डोबहरू छोड्नु पर्छ ।

फलस्वरुप:
लिम्बुवानको माटोमा
लिम्बुवान रहेसम्म
लिम्बुवानी सुगन्ध छरेर
थरीथरी फूलहरू फुलिरहुन्
लिम्बुवानको बाटोमा
लिम्बुवान रहेसम्म
लिम्बुवानलाई माया गर्ने
लिम्बुवानी यात्रीहरू
एकजुट भएर
निरन्तर – निरन्तर
हिडिरहुन्
जय लिम्बुवान !

चाँगे – ५, नेसुम
ताप्लेजुङ
हाल: सिङ्गापुर

2 thoughts on “जय लिम्बुवान !”

  1. सि‌हापुरमा बसे पनि
    सि‌हापुरमा बसे पनि ताप्लेजुङ्काे माया अझे रहेछ । निकै पो खुसी लाग्याे है लुङा ।

  2. जहाँ पुगे पनि आफू जन्मेको
    जहाँ पुगे पनि आफू जन्मेको माटोको माया औधी हुँदो रहेछ हेम लुङ्वा,दाइ!

Leave a Reply to hangpal Cancel reply

Your email address will not be published. Required fields are marked *