१) यात्रा हो जिन्दगी साथी, भन्ज्याङ बेसी पहाडको
दृश्य प्रेमिल संसार, मात्रै, नेत्र मुहारको ।
हिड्दा लाग्छ कतै बाटो, ग्राविल छ कतै–कतै
सीमा बन्धनको बाधा, बाँधिएको जता–ततै
(अनुष्टुप्)
हो मैले धेरै पहिलेबाट लेख्दै आएकी छु । जीवन एक यात्रा हो । यात्रा धेरै किसिमले गर्न सकिन्छ । समयको सीमामा बाँधेर हेर्दा यात्रा एक दिन, एक हप्ता, एक महिना र योभन्दा बढी समय दिएर पनि गर्न सकिन्छ । खान बस्नको सुविधा असुविधालाई लिएर दु:ख सु:खसँग तुलना गर्न सकिन्छ । साथीहरू बीचको रमाइलो र नरमाइलो क्षणसँग यात्रा मनोरञ्जन पूर्ण बनाउन सकिन्छ । त्यसै गरी धेरै महत्वपूर्ण धार्मिक, शैक्षिक, व्यवसायिक, औद्योगिक, व्यापारिक, ऐतिहासिक र राजनैतिक भ्रमणसँग जीवनको लक्ष्य र आत्म निर्भरतालाई समेत तुलना गर्न नसकिने होइन । यसरी हेर्दा कुनै उद्देश्य राखेर निर्धारित समय भित्र एक्लै अथवा समूहमा कुनै निश्चित ठाउँको अवलोकन गर्नु नै भ्रमण अथवा यात्रा हो ।
मलाई पनि यस्ता धेरै यात्रामा सहभागी हुने अवसर मिलेको छ । म साहित्यमा रुचि राख्छु र सामाजिक संघ संस्थामा काम गर्छु । त्यसैले यस पाली नवप्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेड देवचुली–१५, नवलपरासीबाट नेपालको सुदुरपश्चिम भ्रमण गर्ने अवसर जुटेको हो । म कुनै पनि भ्रमणमा जाँदा मेरो साहित्यिक मन र विषयवस्तु साथमा लगेकै हुन्छु । यस पाली मैले मेरा दुईटा कृति १ “क्रान्तिकारी विश्वेश्वर महाकाव्य र २ जूनमा चुहेको त्रास” (बहरबद्ध गजल संग्रह) बोकेकै थिए । वि.सं. २०७१ फागुन ५ गते महाशिवरात्रिको बिहान ६:३५ बजे महिला दशजना र पुरुष २६ जना गरी हामी जम्मा ३६ जनाको टीम रिजर्भ गाडीमा चढेर कावासोती तर्फ लागेका थियौं । बिहानको सुन्दर समय कावासोतीको जंगलमा चर्दै गरेका वन कुखुराको हुल हेर्दै हामी अगाडि बढ्यौं । नवलपरासी जिल्लाको सदरमुकाम परासी हुँदै हामी ८:४० बजे ‘जन उत्थान बचत तथा ऋण सहकारी संस्था लि.’ कोटीहवा माधवलिया–४, रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पुगेका थियौं । परिचय कार्यक्रमसँगै संस्थाको अवलोकन गरी ११:३०मा मनकामना होटल एण्ड रेष्टुरेन्ट कोटीहवामा स्वादिलो खाना खाएर हामी ग. १ ख. ४७६४ नं. को हाम्रो आफ्नै बसमा चढेर बुटवलतर्फ फर्क्यौं । सालझण्डी, पिप्परा, गोरुशिङ्गे, चन्द्रौटा र शिवगढी हुँदै बेलुकाको ४:२० बजे हामी बाँके राष्ट्रिय निकुञ्जमा प्रवेश गरेका थियौं । हामी कोहल्पुर पुग्दा ६:१० बजेको थियो । यहाँ हामीले “महिला समाज सेवा बचत तथा ऋण सहकारी संस्था नेपालको” अवलोकन गरेका थियौं । यो संस्थाकी अध्यक्ष मीना सिग्देलको भनाइ अनुसार यो संस्था नितान्त महिलाले मात्र संचालन गरेको पाईयो र हर्ष प्रकट पनि गरियो । आफ्नै २ तले भवनमा संचालन यो संस्था हेरेर हामीलाई लाग्यो महिलाले पनि केही गर्न सक्छन् । त्यो दिनको हाम्रो बास कस्तुरी रेष्टुरेण्टमा भयो । बेलुकाको खाना दाल रोटी खाएर ११ बजे आराम गरेपछि बिहान ५:०० बजे मात्र विउँझ्यौं । ७:३० बजे कोहल्पुरबाट कर्नाली पुल तरेर लम्की हुँदै धनगढी तर्फ लाग्यौं । पश्चिमी नेपालको जीवन अवलोकन गर्दै पशुपति शर्माको गीत घन्काउँदै हाम्रो बसमा चालक केशव टन्डनले अगाडि बढाइरहेका थिए । नेपालीहरूका दयनीय सुकुम्बासी झुप्राहरू देख्ना मन दुख्नसम्म दुख्यो तर उपाय नै के थियो र । यो क्षेत्रमा हेर्दा नेपालमा किसानहरूको अवस्थामा सुधार नभएको कुरा प्रकटीकरण भएको थियो ।
बर्दिया राष्ट्रिय निकुञ्जमा लेखेका निम्न कोटेशन पढेर खुसी प्रकट गर्यौं । कोटेशनहरू थिए:– “नेपालको धन हरियो वन” “जहाँ जंगल त्यहाँ मंगल” आदि । विविध जातका वृक्षहरू अवलोकन गर्दै ८:३० बजे भुरी गाउँ हुँदै अम्बासा पनि पुग्यौं । रामदाश थारु स्मृति प्रवेशद्वार भएर हामी फेरि दक्षिण लाग्यौं । यसरी हामी यही दिनको बिहान ठिक नौं बजे बर्दियाको ठाकुरद्वार गेट हुँदै फिर्ता भयौं । १० बजे हामी ५०० मीटर लामो एउटा पिलरमा निर्मित कर्णालीको पुल अवलोकन गर्दै ११:४५ बजे कैलालीको सिद्धबाबा गेष्ट हाउस चिसापानीमा स्वादिलो माछा भात खाएर लम्की लाग्यौं । अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लि., लम्की कैलालीमा कार्यरत व्यवस्थापक खगेन्द्र धमलाको आयोजनामा राखिएको स्वागत कार्यक्रममा भाग लिएर उपयुक्त जानकारी लिएपश्चात् मैले आफ्ना कृतिहरू उनलाई उपहार दिएकी थिए ।
“किसान बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था”, लम्कीको अर्को महत्वपूर्ण वित्तीय संस्थाको अवलोकन गरी व्यवस्थापक डम्मरु बहादुर शाह र अध्यक्ष खडानन्द सापकोटासित बिदा भएर हामीले ३:३० बजे लम्की छोडी महेन्द्रनगर तर्फ उन्मुख भयौं । २५६५ हेक्टर जमिनमा फैलिएको घोडाघोडी ताल कैलालीमा अवलोकन गरी प्रशस्त तस्विरहरू क्यामरामा कैद गरेर ४:३० बजे हामी अन्तरिया तर्फ लम्क्यौं । जैविक विविधताले पूर्ण यो ताल विविधताकै नमूना लाग्यो । त्यो क्षण मलाई एउटा कविता फुर्यो:–
टौवा परालका साना, छाना झिगंटीका कति
पाडो, बाच्छो, र बाख्रो नै, रहेछ पूर्ण सम्पत्ति
नौला मान्छे भए मान्छे, लुक्छन् रे भित्र–भित्र ती
दुख्यो नि मन यो साह्रै, देखी गरिब चित्र ती
तर प्रकृतिको खानी, मेरो नेपाल देश यो
धनाढ्य तनको साह्रै, गर्विलो परिवेस यो ।
झरना ताल छन् धेरै, गुफा हिमाल सुन्दर
डाँफे मुनाल औं चौरी, मयुर मृगको घर ।
(अनुष्टुप्)
झण्डै १:१५मा अत्तरीया वसन्तपुर हुँदै बेलुका ७:०० बजे महेन्द्रनगरको होटल गंगोत्रीमा बास बस्न पुगेका थियौं । “देखाउने खसी खाने फर्सी” भन्ने उखान यो होटलले चरितार्थ गरायो । खान, बस्न सुविधा पाइएन । लौ जे होस् आज फागुन ७ गते २०७१ थियो । ५ बजे उठेर नित्यकर्म गरी तातो पानी र चिया पिएपश्चात् हाम्रो यात्रा अगाडि बढ्यो कञ्चनपुर जिल्लाको चाँदनी दोधारा अवलोकन तर्फ । करिब ८:०० बजे महाकाली पुल तरेर चाँदनी दोधारा पुगेका थियौं ।
(चाँदनी दोधारा)
विना जलको महाकाली नदी बगरमा उदासिएको देखेर पुलबाट नदी हेर्दै खिन्न भयौं । यो लामो पुल त केवल महाकालीमा बाढी आउँदालाई मात्र पो रहेछ । हाम्रो जीउँदो महाकाली त वनबासाबाटै भारतले भगाएको रहेछ । लाग्यो नक्कली र निर्जीव महाकाली मात्र हामीसँग रहेछ ।
(महाकाली पुल)
यसरी बिहान १०:३० बजे हामी बनबासा बाँधको अवलोकन गर्दै थियौं । ३४ ढोका र ३६ खम्बामा निर्मित यो पुल मन खिन्न बनाएर हेर्यौं । १०:४५ बजे चौकी जीमुवा कञ्चनपुर हुँदै हाम्रो बस भीमदत्त पन्त नगरपालिका तर्फ उन्मुख भयो ।
शहीद भीमदत्त पन्त
वि.सं. १९८३मा जन्मेका प्रजातन्त्रवादी किसान नेता वि.सं. २०१० साल १० महिना (माघ) १० गते, जसको निर्मम हत्या गरिएको थियो । यिनको वि.सं. २०५७ साल र्कािर्तक २३ गते निर्मित शालीकमा श्रद्धाञ्जलीका दुई–दुई थोपा आँसु चढाएर दिनको ठिक १२ बजे हामी टनकपुर बाँधमा पुगेका थियौं । यहाँ पुगेपछि पनि मलाई २÷४ श्लोक कविता लेख्न मन लाग्यो यसरी:–
महाकाली पुगेपश्चात् टनकपुरमा गयौं
नीति भारतको देखी हामी त छक्क पो भयौं ।
महाकाली नदी हाम्रो, लगेका भारतैतिर
हेर्दा यो दृश्य नै कस्को नहोला मन अस्थिर ।
नेपाली जलको देन, विद्युत भारतमा गयो
आफ्नै स्वदेशको माटो सुख्खा जर्जर पो भयो ।
धमिरा, कमिला हिड्छन् नेपाली नहरै भरी
नीति भारतको कस्तो अन्याय अनि मन्परी ।
बाठो भारतले नेता फकायो घुस–पेसमा
नेता मूर्ख बनी हाम्रो, छर्यो बीष स्वदेशमा ।
त्यसैले गण्डकी कोशी महाकाली सबै गए
हाम्रो सम्पत्तिले सारा सम्पन्न भारती भए ।
अब १:२० बजे दिउँसो स्थानीय “लामा होटलमा” खाना खाएर अत्तरीया तर्फ उन्मुख भएका थियौं । यसरी ५:३० बजे हामी चिसापानी आइपुगेका थियौं । बर्दिया बन्यजन्तु निकुञ्जमा स्वच्छ विचरण गरिहरेका हरिण, मृग, मयुर र कालिज जस्ता जनावर अनि पंक्षीहरूको अवलोकन गर्दै बबई भ्याली पार गरेर रातिको ठिक १०:०० बजे हामी लमई फर्किसकेका थियौं । अनि रातिको १२:०० बजे बुटवल तर्फ लागेका थियौं । यसरी नौ जिल्ला र ५ अञ्चलको हाम्रो यात्रा सम्पन्न भएको थियो । यसपाली वित्तीय संस्थाहरूको अवलोकनसँगै साहित्यिक खेतीको गोडमेल गरेको अनुभव मैले गरेकी छु । यस्तै अवसरलाई भनिन्छ होला “एक पन्थ दो काज” “एउटा मट्याङग्राले दुईटा चरा मार्नू”। अनि यो उखानलाई यसरीभन्दा कसो होला ? “बाटो एउटा काम दुईटा” ।
हवस् त धन्यवाद १
कृष्णादेवी शर्मा
अध्यक्ष
विश्वनारी नेपाली साहित्य समाज
लुम्बिनी अञ्चल
देवचुली–१५, नवलपरासी
