“जब्बरे भोलि तँ स्कुल नजा, सुँगुर समात्नु छ ।”
उसको बाबुको यो बोली उसको टाउकोमा ठुलो बज्रपात झै भयो । एक त उसले भोलि शीलालाई दिनभर हेरी बस्न नपाउने भो । त्यसमाथि सुँगुर भनेपछि शीला तीन हात पर तर्कन्छे, उसको जातले सुँगुर छुन दिँदैन । यस्तोमा जब्बरे र उसका परिवारले दिनभरि लखेटी लखेटी सुँगुर समातेको देखी भने ?
“म सक्दिन सुँगुर समात्न । मेरो पढाई बिग्रन्छ ।”
“तँलाई डाम्ना, बाउलाई मुख फर्काउछस, पढेर के हुन्छ? सुँगुर समात्न पाए महिनाभरलाई मासु हुन्छ ।”
जानैपर्ने जस्तो देखेपछि मलिनो अनुहार लाएर जब्बरे एक छेउ लाग्यो । केही दिन अगाडि मात्र सुँगुरले पार्वतीलाई छुँदाखेरी शीलाले उसलाई समेत छोएकी थिइन । पार्वती त उसकी खास साथी हो । त्यसैबेलामा उसले थाहा पायो कि सुँगुरबाट उसले टाढै रहनु पर्नेछ । तर गाउँमा उसको पुरा परिवारलाई सबैले सुँगुर भनेर बोलाउछन । उसलाई यो पटक्कै मन पर्दैन ।
उसको बाबु भने भन्दै थियो –
“अब यो गाउँमा सुँगुर समात्ने जातका हामी मात्रै त बाँकिरह्यौँ । त्यसमाथि दुई दिन पछि सत्यनारानको पूजा छ, सुँगुर छेउछाउ देखिन हुन्न भनेका छन् पन्डित बाजेले ।”
भोलिपल्ट बिहान भात खाएर उसको पुरा परिवार सुँगुर समात्न निस्किए । एक दुई सुँगुर खानलाई समात्ने अनि बाँकीलाई जँगलतिर लखेट्ने सुर गरे उनीहरूले । दिनभरि त जब्बरेले पनि काम गर्यो, तर स्कुल बिदा भएपछि भने उसलाई शीलाले देख्ने भै भनेर छट्पटी हुन थाल्यो । लुक्न खोज्दा खोज्दै उसको बाबुले उसलाई घिसार्दै सुँगुर समात्न मैदानमा ल्यायो । अब त झन मर्नुभयो उसलाई । पुरा गाउँ अनि स्कुले केटाकेटी सबै मैदान वरिपरि जम्मा भएर रमिता हेर्न थाले । शीला पनि त्यही भीड्मा थिई । केही केटाहरू उसलाई जिस्काउँदै थिए – “सुँगुरले सुँगुर समातेको हेर है”, यस्तै यस्तै भन्दै थिए । ऊ भने लाज र पसिनाले निथ्रुक्क भिजिसकेको थियो । एकपल्ट ऊ सुँगुरलाई लखेट्दै गर्दा नराम्रोसँग लड्यो, सबै गलल गरेर हास्न थाले । उसले शीला तर्फ नजर घुमायो, ऊ पनि हाँसिरहेकी थिई । जब्बरेले नजर झुकायो ।
सुँगुर समातेर त्यसलाई झुन्ड्याउँदै उनीहरू घरतिर लागे । अघि जिस्काउने केटाहरू पनि जिस्काउदै पछि लाग्न थाले । उमेर पुगेकी उसकी दिदीलाई लक्षित गरेर अश्लील ईशारा पनि गर्न थाले । उसले यसो आँखा तरेर हेर्यो उनीहरूलाई । एउटा ठुलो अनि बलिस्ठ केटोले उसलाई रिस गर्दै भन्यो –
“के हेर्छस ? आँखा साँखा फुटाइदिम तेरो सुँगुर ? गाउँमा बस्न मन छैन तँ कुजातलाई ?”
ऊ पनि चुप लागि अघि बढ्न थाल्यो । उनीहरूको जिस्काउने क्रम बढ्दै गयो । उसले घोसेमुन्टो लाएर सोचिरह्यो । उनीहरूको जिस्काई, गाली, शीलाको हाँसो सबै उसका आँखा अघि नाच्न थाले । अनि अचानक जब्बरेले त्यस बलिस्ठलाई बाघले शिकारलाई झम्टे जसरी झम्टियो । बलिस्ठ भुइँमा लड्यो, सबै जना टाढा टाढा लागे । बलिस्ठ उठ्न खोज्दै थियो, जब्बरेले भुइँबाट दुई हातले एउटा ठुलो ढुङ्गा उठाएर उसको टाउकोमा लाग्ने गरी हान्दै करायो – “लौ खा सुँगुर”
मिति : २०७१ भाद्र ९ गते
मराठी कथानक चलचित्र फ्यान्ड्रीमा आधारित
