प्रज्ञाप्रतिष्ठानका केही अनुभूति

  • by


म प्रज्ञाप्रतिष्ठानमा पुग्दा बालचन्द्र शर्मा त छँदै थिए, सोमनाथ र लेखनाथ, बालकृष्ण सम र सिद्धिचरण, भवानी भिक्षु र माधव घिमिरेजस्ता दिग्गज स्रष्टा थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटा बितिसके पनि पछि सूर्यविक्रम ज्ञवाली र लैनसिंह बाङ्देलको समुपस्थिति रहृयो । यी कतिपय स्रष्टा व्यक्तित्वसँग मेरो सम्बन्ध पारिवारिक जस्तै भयो ।

बालचन्द्र शर्मा ज्ञानका सागर जस्तै लाग्थे । सम्झनाका क्षितिजमा (२०५९) मा मैले लेखिसकेको छु- “अग्लो शरीर, गम्भीर स्वभाव, गहिरो अध्ययन, गुलाफी कुराकानी, निरन्तर साधना र उत्साह दिइरहने बानी बालचन्द्रका प्रमुख विशेषता थिए ।” हुन पनि बालचन्द्र शर्मा ज्ञानका भण्डारजस्तै लाग्थे । अलिअलि लहडी पनि थिए । अग्लो शरीर र खुल्दो व्यक्तित्व थियो उनको । कार्यालय आउँदा-जाँदा उनी प्रायः आˆनै सारमा हिँडेर हातले छाता ओढ्ने गर्थे ।

सोमनाथ सिग्देल होचाहोचा, सफेद, स्निग्ध थिए । उनी एसियामै संस्कृत वाङ्मयका प्रकाण्ड विद्वान् मानिन्थे । उनी देखिन्थे पनि एउटा तपस्वीजस्तै । उनले कोट लगाएको देखिएन । लवेदा-सुरुवाल लगाउँथे बडा मुलायम । कम्मरमा नैनसुतको सेतो पटुका, काँधमा छड्के पारिएको उपर्ना हुन्थ्यो । बोलाइ पनि ध्वनिदार सुसंस्कृत हुन्थ्यो । उनीसँग बसउठ हुने काम पर्दैनथ्यो, विभाग पनि छुट्टै ।

कविशिरोमणि लेखनाथसँग पटक-पटक भेट भइरहन्थ्यो, म उनको घर लैनचौरमा पनि पुगेँ । कार्यालय आउँदा लठ्ठी टेकेर आउँथे लेखनाथ । निधारमा त्रिपुण्डक टीका, हातमा लौरो, लवेदासुरुवालमाथि कोट पैर्‍हिएका लेखनाथ भव्य देखिन्थे । गणबहालमा कतिपल्ट मैले भर्‍याङ ओर्लंदा उनलाई हात समातेर सहयोग गरेको थिएँ । सेता दाह्री भएका ऋषिजस्ता लेखनाथले धन्यवाद दिँदा मलाई आशीर्वाद दिएजस्तो लाग्थ्यो । लेखनाथले हात हल्लाउँदै अगाडिको फाँकी ढिलो र पछाडिको फाँकी झ्वाट्ट पारेर कविता भनेको दृश्य आँखामा आउँछ । मैले उनको ‘वृद्ध कोकिल’ कविता सुनेँ र मनमनै गुनेँ पनि ।

राणाखानदानका बालकृष्ण सम को थिए, कस्ता थिए विभिन्न धारणा पाइन्छन् । मैले सङ्गत गर्न पाएका बालकृष्ण २००७ सालदेखि नै पछाडिको ‘शेर’ काटेर ‘सम’ भइसकेका थिए । मैले तिनैसँग भेटेको थिएँ । मैले भेटेका र अनुभव गरेका सम वास्तवमा सम नै थिए- नम्र र मिलनसार, शिष्ट र शालीन ।

सम आफूलाई लागेका कुरा तार्किकरूपमा व्यक्त गर्थे तर कुनै दिन पनि उनले चर्को स्वरमा बोलेको मैले थाहा पाइनँ । उनको ‘नवरस’ को अभिनयसहितको कवितावाचन असाध्यै घतलाग्दो हुन्थ्यो ।

सम जहिले पनि स्नेहपूर्ण व्यवहार गर्थे । प्रज्ञाप्रतिष्ठानमा कहिलेकाहीँ आफैं हाम्रो कोठासम्म पनि आउँथे । भेट हुँदा उनले ‘यहाँलाई सन्चै छ ?’ भनेको र गोष्ठीमा कविता पढेपछि ‘राम्रो लाग्यो’ भनेको वाक्य अहिले पनि सम्झनामा आइरहन्छ । समको मैले जीवनी पनि र संस्मरण पनि लेखिसकेको छु । मैले ‘राम्रो रचनाः मीठो नेपाली’ मा उद्धृत गर्नका निम्ति समसँग उनको कवितासम्बन्धी धारणा पाउन आग्रह गरेको थिएँ । उनले भोलिपल्टै आफ्ना सुन्दर कलात्मक लिपिमा लेखेर दिए । मूल प्रति हरायो तापनि ‘राम्रो रचनाः मीठो नेपाली’ माबाहेक अन्यत्र छैन जस्तो लाग्छ – ‘सार्थक शब्द नै ब्रहृम हो, ब्रहृम जान्ने ब्राहृमण हो । सार्थक शब्दसमूह पत्र हो, जुन पत्रमा (ताडपत्र वा कागतपत्रमा) लेखिन्छ, ती झाङ्गएिका पत्रमा पुष्प नै कविता हो, कविताको समूह काव्य हो ।’

मैले महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिहरूमा सबभन्दा पहिले ‘मुनामदन’ पढेको हुँ । फुटकर कविता ‘शारदा’ मा हेरेझैं लाग्छ । २००८ सालतिर ‘नेपाली पद्यसङ्ग्रह’ मा सङ्कलित ‘यात्री’ र ‘मार्ग’ चाख लागेर धेरैपल्ट पढेको हुँ । उनलाई देखेको चाहिँ २००७ सालमा यट्खा बहालमा हो । प्रजातन्त्रप्राप्ति पछि एउटा सभा भएको थियो । लेखनाथ पौडेल पनि थिए । उनले सभामा कविता सुनाए । देवकोटाले पनि केही बोलेर कविता नै सुनाएका थिए क्यारे । घिउ रङ्गको गलबन्दी लगाएका देवकोटा भव्य देखिन्थे । बोल्न पाएको चाहिँ २०१० सालमा हो ।

नेपाली शिक्षा परिषद्ले २०१० साल वैशाख महिनातिर तीन दिने कविसम्मेलन गरेको थियो । सम्मेलनमा ठूलठूला कवि-साहित्यकार थिए । त्यसै बेला मैले पनि कविता सुनाएपछि देवकोटाले हात समातेर पिठ्युँमा थपथपाएका हुन् । पछि २०१२ सालतिर हामी देवकोटाकै घर मैतीदेवी पुग्यौँ । डिल्लीबजारको पीपलबोटबाट उत्तर-पूर्व लागेपछि उनको घरमा पुग्यौँ । हामीले एक-दुइटा कविता सुनायौँ । उनले प्रयासको सह्रनी गरे- कत्रो महानता सके गिलास पुगेन, हामीले कचौरामा चिया पनि खायौँ । महाकवि देवकोटासँग प्रज्ञाप्रतिष्ठानमा सँगै देखभेट गर्न पाइएन । सम्झना मात्र आइरहृयो ।

भवानी भिक्षुसँग प्रज्ञाप्रतिष्ठानमा रहँदादेखि पछिसम्मै सङ्गत भइरहृयो । भिक्षुलाई मैले दुई रूपमा चिनेको छु- एउटा शुद्ध साहित्यिक व्यक्तित्व जो मानवीय अन्तर्पीडा बोकेर साधनारत भइरहने स्रष्टा हो । अर्कोचाहिँ यस्तो मनुष्यचरित्र जो काम र व्यवहारमा कुशल छ तर छिट्टै च्याँठिन्छ, झोकिन्छ र कहिलेकाहीँ डाहा र छुल्याइँ पनि गर्छ । अनि फेरि स्वाभाविक र सामान्य अवस्थामा आएपछि उसको हृदय एउटा बालकको जस्तै करुण र आर्द्र हुन थाल्छ । भिक्षुसँगको सम्पर्कका क्रममा यस्ता केही रमाइला प्रसङ्ग पनि छन् ।

भिक्षुको मानवीय हृदय संवेदनशील थियो । त्यसैले स-साना कुरामा पनि चिन्तित हुन्थे उनी तर तत्काल भूल पनि स्वीकार गर्थे । त्यो हृदयमा मैले यस्तो आलोक पनि देखेको छु जुन विशुद्ध छ, मार्मिक छ र हृदयस्पर्शी छ । एकचोटि उनीसँग भारतको यात्रामा रेलमा बसेको बेला कोही सज्जनले सोधेका थिए- “आपका पेसा ?”

भिक्षुले जवाफ दिँदै भने- “अपना पेसा क्या कहूँ मैँ हृदयव्यथाको बटोरकर बाँट्ता हूँ ।”

“मतलब आप लेखक हैँ……. ?”

“जी हाँ, मै कलमका ही धन्दा करता हूँ ।”

“आपका जात …….?”

“अरे भाइ लेखकका कोही जात नहीँ होता है । वह सबके साथ पहुँचनेका प्रयास करता है और सब उसमेँ आ जाते हैँ ।”

सुग्घर-सफाइमा ध्यान दिने, सिनित्त भएर बस्न चाहने भिक्षुको पहिलेदेखिको स्वभाव । स्वाद र सुगन्धमा रमाउने उनी पाककलामा पनि निपुण थिए । उनी प्रायः भन्दथे- “आज रसदार मासु बनाउने, आज कोˆता बनाउने । अरे ऐसा बनेगा, खाने के बाद ही पता चलेगा ।”

बनाउँदा-बनाउँदै निकै समय जान्थ्यो । कहिले त पर्खंदापर्खंदै भोकले तिलमिल पाथ्र्यो । भिक्षुकहाँ बनेका खानेकुरा कतिपल्ट चाख्ने र खाने मौका मैले पाएको छु । साँच्चै स्वादिलो, जिभ्रोमै झुन्डिने हुन्थ्यो ।

भिक्षुको लेख्ने, पढ्ने, घुम्ने नियमजस्तै थियो । उनी पुस्तक-पत्रिका बेलुका पनि पढ्थे, तर लेख्नचाहिँ प्रायः बिहान मात्र लेख्थे । त्यसपछि दिनभरि गफगाफ, घुमघाम र कामकुरामा बित्थ्यो । घतलाग्दा कुरा भए उनी खिलखिलाउँथे, नत्र एकसुरमा बस्थे, हिँड्थे । सोच्नुपर्दा चाहिँ चुरोट सल्काएर दाहिने आँखा चिम्लने उनको बानी थियो । भिक्षु राजनीतिक व्यक्तित्वमा महात्मा गान्धी, जवाहरलाल नेहरू र साहित्यिक व्यक्तित्वमा शरद्चन्द्रलाई विशेष श्रद्धा गर्थे । उनको बैठकमा यी तीनै जनाको फोटो सजाइएको हुन्थ्यो, अरूले पनि देखेको हुनुपर्छ ।

सिद्धिचरण श्रेष्ठ थिए- बाहिरबाट हेर्दा सोझा, भित्रका भने निकै सुझबुझ भएका र बाठा पनि । काठमाडौँको एउटा मुख्य भेगको बसाइ, विभिन्न मानिससँगको सम्पर्क- उनीसँग मेरै पनि चालीसौँ वर्ष सम्पर्क भयो । कतिपल्ट त उनी केही डराएजस्ता र हराएजस्ता लाग्थे । उनी साँच्चै उनकै ‘मेरो प्रतिबिम्ब’ कविताजस्तै थिए ।

सिद्धिचरणमा गजबको गुण थियो । कहिलेकाहीँ सन्चो नभएर कार्यालय पुग्न सकिएन भने उनी भेट्न र हेर्न घरमै आइपुग्थे । उनी हाम्रो बासमा आउँदा कोठाबाट आकाश देखियो भने “लौ राम्रो रहेछ” भन्थे । उनी भित्रैदेखि माया गर्थे र कामकुरामा सघाउँदा कृतज्ञता पनि जनाउँथे । उनीसँग पछिसम्मै सँगसँगै रहने अवसर पर्‍यो । ओम्बहालमा पुगेर काम गरेको समेत सम्झना भइरहन्छ ।

माधव घिमिरेलाई धेरै अघिदेखि चिनेको हुँ । उनी कमला, मिलनसार र गहिरो सोच भएका छन् । उनीसँग परिचय त पहिले नै भएको हो । अझ पछि कविता-योजनामा गएपछि उनीसँग धेरै समय सँगै भइयो । त्यसै बेलादेखि अहिलेसम्म उनीसँगको व्यवहार मीठो छ । माया गर्थे, गर्दै छन् । कवितालाई शब्द र भावको सन्तुलनका रूपमा हेरेर पारख गर्ने उनको बानी छ ।

मेरो क्षमता र लगन हेरेर माधव घिमिरे प्रसन्न थिए । उनले नै हो मलाई प्रज्ञा-प्रतिष्ठानको बैठकमा राखी कविताको सहायक सम्पादकमा लगेको । त्यतिखेर त्यो पद निर्देशकसरहको थियो भन्दा हुन्छ । कवि घिमिरेसँग प्रज्ञाप्रतिष्ठानको कमलादीस्थित कार्यालयमा मात्र होइन, उनको लैनचौरस्थित घर जहाँबाट बालाजु, नागार्जुन देखिने बैठक कोठामा पनि धेरैपल्ट बसउठ भएको छ ।

यज्ञराज जोशी पनि मलाई माया गर्थे । समाज र सनातन बुझेका सज्जन थिए उनी । मैले कविता लेखेको देखेर उनी खुसी हुन्थे, एकाध सुन्थे पनि र सर्‍हाना पनि गर्थे ।

पछि सूर्यविक्रम ज्ञवाली र लैनसिंह बाङ्देल प्रज्ञाप्रतिष्ठानमा आए । यी दुवैको व्यवहार स्नेहशील थियो । ज्ञवाली एक्लै र पैदल पनि ठमठमाउँदै हिँड्थे । उनी मिलनसार थिए, स्पष्ट थिए र चित्तले खाएका कुरा छिट्टै सकार्थे । कार्यालय आउँदा खुरुखुरु आउँथे, काम गर्थे र काम सकिएपछि उठेर जान्थे । बोलाइ उनको लेग्रोदार र स्नेहपूर्ण थियो ।

वाङ्देलसँग अलिपछि भेट भएको हो । उनी पनि शालीन रहेछन् । उनी कला विभागमा थिए । मेरो ‘राम्रो रचना ः मीठो नेपाली’ को पहिलो संस्करणको आवरण उनकै सौजन्यमा तयार भएको हो । बिस्तारै बोल्ने र तीक्ष्ण दृष्टिका थिए उनी । बाटामा देखे पनि मोटर रोकेर बोलाउँथे । मैले यी दुवैको संस्मरण लेखेको छु- सम्झनाका क्षितिजमा -२०५९) मा सङ्कलित छ ।

प्रज्ञाप्रतिष्ठानका गद्य साहित्य विभागबाट पद्य साहित्य विभाग कविता योजनामा गएँ । गद्य साहित्य विभागका आयोजक थिए भवानी भिक्षु । पद्य साहित्य विभागका चाहिँ सिद्धिचरण थिए । असाध्यै मन पराउने हुँदा सिद्धिचरणले मलाई आˆनो विभागमा ताने । पद्य विभागमा सरेपछि कविता-योजना तथा ‘कविता’ पत्रिकामा आरम्भदेखि काम गरिरहेको थिएँ । पहिले हर्षनारायण धौभडेल र त्यसपछि वैकुण्ठप्रसाद लाकौल सहायक सम्पादक पदमा थिए । यता सिद्धिचरण गोलाप्रथाबाट हटेर माधव घिमिरे आए विभागमा । वैकुण्ठप्रसादले पनि छाडेपछि २०२० सालको हिउँददेखि म सहायक सम्पादक भएको हुँ । कविताको अङ्क स्तरीय र काव्यविशेषाङ्क निकाल्ने प्रयास भइरहृयो । तिनमा मेरो पनि नाम टाँकियो- सहायक सम्पादक कृष्णप्रसाद पराजुली ‘साहित्यरत्न’ ।

‘कविता-योजना’ अन्तर्गत कविता-उत्सवको पनि प्रारम्भ भयो । राजाबाट हरेक नयाँ वर्ष लाग्दाका दिन विषय दिने र कविहरूले त्यस विषयमा कविता लेख्ने अनि कविता उत्सवको कार्यक्रम असार ९ गते गर्ने गरियो । जापानमा पनि यस्तो चलन रहेछ । कवि सिद्धिचरणले यस विचारको आरम्भ गरेका थिए । पहिलो वर्षको विषय राजाबाट ‘नैतिकता’ प्राप्त भयो, अर्को वर्ष ‘इमानदारी र देशभक्ति’ । फसिकेबमा डेरा गरी बसेको थिएँ । कविता उत्सवमा निकै कविता आए । प्रारम्भमा कविता दुई सय शब्दसम्ममा लेख्नुपर्ने थियो । सिद्धिचरणले शब्द बढी भए भनेर राजदरबारमा फेरि लेखी पठाएपछि एक सय पच्चीस शब्द मात्र कायम हुने गर्‍यो । कविताको विषय दिइँदा त्यस विषयमाथि विभिन्न कविका आ-आˆना अभिव्यक्ति आउँथे कवितामा । पछि बहुदलीय व्यवस्था आएपछि २०४७ सालदेखि पहिले चलेको विषय दिने परम्परा हट्यो ।

कविता योजनामार्फत ‘कविता’ पत्रिका र कविता-उत्सवको काममा लागिरहेँ । ‘कविता’ छाप्ता पहिले हाते कम्पोजमा खिइएका अक्षर पनि पर्थे । माधव घिमिरेको प्रयासमा कविता गोरखापत्र छापाखानामा मोनो कास्टरमा छापिने भयो, राम्रो देखियो । कविताका अङ्कमा मेरो पनि नाम रहिसकेकै थियो । कविताका कुनै-कुनै अङ्क निकाल्न त रातभरि भनेजसो खटिरहनुपर्‍यो । तैपनि मनमा कत्ति दुःख थिएन । कवि-लेखकका पत्र आइरहन्थे । उनीहरू धेरैजसो भेटघाट गर्न पनि आउँथे । नेपालभित्रका मात्र होइन, नेपाल बाहिरका कवि-लेखकसँग पनि पत्राचार, भेटघाट भइरहन्थ्यो ।

गद्य साहित्य विभागअन्तर्गत सम्पर्क समिति खोल्ने र चलाउने क्रम चलिरहन्थ्यो । गद्य साहित्य विभागबाट पद्य साहित्य विभागमा गए पनि त्यसबाट म टाढा चाहिँ थिइनँ । २०२३-२४ सालतिरै काठमाडौँमा नेपाली साहित्यकार सम्पर्क समितिको नयाँ गठन र स्थापना भयो । परिषद्मा ३० जना र कार्यकारिणीमा १७ जना साहित्यकार सम्मिलित थिए । त्यसमा म पनि परिषद्मा थिएँ र कार्यकारी सदस्य पनि थिएँ । सम्पर्क समितिद्वारा खास काम वा उपलब्धि हुन नपाउँदै त्यो अभियान बिलाएर गयो ।

कविता योजनाको लोकसाहित्य विशेषज्ञमा गोविन्द भट्ट र मपछिको सहायकमा उनकी श्रीमती इन्दिरा भट्टको नियुक्ति भयो । मेरा निम्ति सुझबुझ भएका गोविन्द भट्टसँगको सङ्गत मीठो रहृयो । इन्दिराले छाडेपछि त्यो ठाउँमा घनश्याम कँडेल आएका थिए । पछि कविता योजनाको अवधि नै सकियो । हामीहरू यताउति पर्‍यौँ र आ-आफ्नै किसिमले छरियौँ ।

कविता योजनाअन्तर्गत नै गोपालप्रसाद वाग्ले, मुकुन्दराज वैद्य, चन्द्रवदना घिमिरे, उत्तमराज श्रेष्ठ थिए । त्यसैताक मेरा ‘पूर्व एक नम्बर’, ‘राम्रो रचना ः मीठो नेपाली’, ‘नेपाली व्यावहारिक व्याकरण’ पुस्तक छापिएका हुन् । तिनका कतिपय अंशलाई उत्तमले टाइप गर्न र अरूहरूले सार्न सहयोग पुर्‍याएका थिए ।

प्रज्ञाप्रतिष्ठानमा बस्ने अवधि टुङ्गइिसकेको रहेछ । त्रिवषर्ीय कविता-योजनाको म्याद २०२४ साल साउन ३२ गते पूरा हुने र भदौ १ गतेदेखि खाली रहने पद्य साहित्य विभागका आयोजक माधवप्रसाद घिमिरेको २०२४।४।३० को पत्रानुसार ३२ गते पाँच बजेसम्म आफूसँग भएका कागतपत्र बुझाउनु थियो । साउन ३२ गतेका दिन साहित्य विभागका सहायक सचिव गङ्गानाथ न्यौपानेलाई आफूसँग भएका कविता योजना र कवितासम्बन्धी फाइलहरू थान १५ बुझाइदिएँ र एक किसिमले केही रित्तो-रित्तो, केही सन्चो-सन्चोको मनस्थिति लिएर म फर्किएँ । २०२५ सालमा ‘मुटुको व्यथा’ कविता उत्सवमा पुरस्कृत भएपछि झन्डै वर्ष दिन पुग्न लाग्दा मात्र पुरस्कार थाप्न प्रतिष्ठान पुगेँ । बालकृष्ण समका हातबाट अर्पण गरिएको पुरस्कार लिएर फर्कें । मैले सरस्वतीको मन्दिर ठानेको प्रज्ञाप्रतिष्ठान पनि गरिमामय भइरहन सकेन । अहिले त प्राणबिनाको शरीरजस्तै भइसकेको छ त्यो ।

मधुपर्क पुष, २०६५

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *