निकै गर्मी भएकाले एउटा चिसो खाएर केही समयका लागि भए पनि तनको गर्मी मेटाउँनु पर्यो भनेर एउटा चल्तीको किराना पसलमा गएर उभिएँ, मैले सधैंजसो सरसामान खरिद गर्ने गरेको । मजस्ता अरु पनि धेरै मानिसहरू मभन्दा अघि भएकाले केहीबेर मेरो पालो आउँने सम्भावनानै भएन त्यसैले पालो पर्खेर अलि पछिल्तिर उभिन बाध्य हुनपुगें ।
एउटाले पुरुषले भन्यो–‘ए ! भाइ डिडिसि घिउ छ ?’
‘डिडिसि त छैन तर डिडिसिभन्दा राम्रो रामदेव घिउ छ हजुर, राखिदिउँ ?’–पसलेले चाप्लुसिपूर्ण लवजमा भन्यो ।
‘देउन न त एककिलो ।’ पसलेले ग्राहकलाई घिउ दियो। ग्राहक पैसा तिरेर बाटा लाग्यो ।
अर्काले माग गर्यो–‘भाइ मलाई रामदेव आँटा ।’ उसले पनि आँटा पायो र पैसा तिरेर बाटो ततायो ।
अरु पनि ग्राहकले उसै गरी आफूलाई चाहिएका सामाग्री माग्दै गए–
भाइ मलाई रामदेव स्याम्फु ।
नुहाउँने साबुन ।
रामदेव फेसक्रिम ।
बिस्कुट ।
च्यवनप्रास ।
चनाको दाल ।
टुथपेष्ट ।
……………
……………
मान्छे पातलिएपछि बल्ल म पसलेका प्राथमिता पर्न पुगेंछु अनि उसले मलाई सोध्यो–‘तपाईलाई चाहि के दिउँ दाइ ?’ र तुरुन्तै सान्त्वना पनि दिए झैं गर्यो, ‘निकैबेरदेखि उभिएको उभियै हुनु भो ।’
म बोल्न नभ्याई स्कुल पढ्ने स–साना दुइवटी बालिका आए । उनीहरूमध्येकी एउटी बालिकाले माग गरि– ‘अङ्कल मलाई रामदेव पाउँ दिनु न ।’
उसको माग पुरा नहुँदै अर्की बालिकाले माग गरी–‘मलाई त रामदेव फ्यान्टा ।’
जीवन ‘पीडित’ दाहाल
जुरोपानी-४, झापा
हाल: काठमाडौँ |
