1.
दशै मान्नु,तिहार मान्नु,मलाई सम्झिएर
मन खासै न-दुखाउनु, मलाई सम्झिएर
हिन्दुहरूको दशै,तिहार, महान चाड हो
नवमी दिन मार हान्नु, मलाई सम्झिएर
टिका लगाई निधारमा ,मिठो चिल्लो खाएस्
मिठै उसले खायो ठान्नु, मलाई सम्झिएर
केहि किनी लाउनु आमा, छु पैसा पठाएको
फरिया, चोलि राम्रा छान्नु, मलाई सम्झिएर
ए साथिहरू हो! लिङ्गे पिङ लगाई खेल्न
बाबियो बाटि लठ्ठा तान्नु, मलाई सम्झिएर।।
2.
आयो पथ्थर सिसालाई उपहार, कस्तो अनौठो कुरा।
उस्तै पथ्थर देखाउछ व्यबहार, कस्तो अनौठो कुरा।
जस्तो जसको छ गुण ऊस्तै देखाउछ स्वभाव पनि,
चाहे त्यो होस उपहार या प्रहार, कस्तो अनौठो कुरा।
गर्छ बहुतै स्वागत सीसा उसको उपहारै यो ठानि,
तर बन्छ आफ्नै चर्किने आधार, कस्तो अनौठो कुरा।
जस्ले बनायो जुन रितले त्यसलाई गर्छ काम तेहि।
हुन्न पथ्थर देव गर्छ त्यो संहार, कस्तो अनौठो कुरा।
3.
उठेका छन हातमा ठेला, काम गर्दा खेरि
सबै बाट भएको छु हेला, काम गर्दा खेरि
काम साचे आफ्नो भन्छन खान साचे अरू
खै हो कसले पो साथ देला, काम गर्दा खेरि
ढुङ्गो खाउकि माटो खाउ हुन्छ भोक लागी
किन चाहियो स्वादिष्ट केला, काम गर्दा खेरि
दुध,दहि,घ्यु,मिठो अल्छेहरूकै पेटमा पर्छ
खानु छ सधै तितो करेला, काम गर्दा खेरि
नुहाउने फुर्सद हुन्न, चटारो उस्तै हुन्छ
खानै खान नि हुने अबेला, काम गर्दा खेरि
