Skip to content

स्वर्गमा केही कविहरुका गनगन


(केही हास्य कविताका टुक्राहरु)
विष्णु नवीनः
प्रकृति पनि कति पापी
सुन दियो, नुन दियो
घाम दियो जुन दियो
खानी दियो पानी दियो
हरिभक्तेलाई पनि दियो
हामी आमाबाबुलाई नानी दियो
धेरैलाई धेरै थोक दिएर पनि
गरिबलाई अघाउँजी किन माड दिएन
म जस्ता जँड्याहालाई
छाद्ने पाध्ने गरी किन जाँड दिएन ?

हरिभक्त कटुवालः
दुईटा घ्याम्पो अखमबाट
साथै ल्याए जस्तो लाग्छ
ल्याउँदा ल्याउँदै बाटै बिचमा
घैटो चोरे जस्तो लाग्छ ।
स्वर्ग भन्छौ साथीहरु
यो ता नर्कै जस्तो लाग्छ
घाँटी सुकाइ बस्नु भन्दा
उतै फिरौं जस्तो लाग्छ ।

भूपि सेरचनः
पाइँदैन जाँड स्वर्गमा साथी लिएर नआए
बन्दैन स्वर्ग दुई चार घ्याम्पा लिएर नआए ।
जँड्याहा कोही आउँदै पो छ कि आत्तिनु पर्दैन
भुषण बल आएछन् हेर डराउनु पर्दैन ।

लेखनाथः
नेपालीमा हरिभगतको गीत सारै गरुङ्गो
दुर्गाजीकै समीप बसने भावना थ्यो गरुङ्गो
जैले फुट्ला हरिभगतको जाँडको भाल पुङ्गो
तैले मात्रै हरिभगतको तिर्सना लाग्छ टुङ्गो ।
उ खाओस् उही लाओस् सुख सयल वा मोज ऊ गरोस्
ऊ बाँचोस् उही नाचोस् अरु सब मरुन् मोज नगरी
भनी दारा धस्ने अबूझ शठदेखी छक परी
निकै घ्याम्पा धोकी हरिभगत नाच्यो मरी मरी ।

भवानी घिमिरेः
स्वर्ग छ चित्रगुप्त छ
यमराज छ, इन्द्र छ
इन्द्रको मात्र के कुरा भो र मित्रहरु
इन्द्रेको बाबु चन्द्रे पनि यहीं छ
उहाँ भन्दा यहाँ सबै थोक फालाफाल छ
तर साथीहरु हो, जाँडको अनिकाल छ
जाँड नभए पनि अप्सराहरुको मालामाल छ
यहाँ सबै अपरम्पार छ
साथीसाथी यान्ड कम्पनी लिमिटेडको व्यापार छ ।

लक्ष्मीप्रसाद देवकोटाः
जँड्याह हो लौ सुखको म झैं धनी
मिल्दैन यो स्वर्ग भरि कतै पनि
त्यो जाँडको लालस दास छैन म
म ता सधैं तान्छु चुरोटको धुवाँ ।
बाहुन चरी हुँ म त जाँड छुन्न
यो स्वर्गमा आइ बिटुलो म हुन्न
डढे डढून् हात चुरोट तान्छु
जँड्याहको संगत छोडी जान्छु ।

1 thought on “स्वर्गमा केही कविहरुका गनगन”

  1. पहिले कतै पढे-पढे जस्तो
    पहिले कतै पढे-पढे जस्तो लाग्यो । शायद यै मझेरीमा हो कि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *