आशाहरू बटुलेर
अधेरीमा ज्योतिहरू खोज्यौँ
कुण्ठा र निराशा पन्छाए
मरुभूमिमा जलकुवाहरू खन्यौँ ।
तर अनायास
मनको घाउ चस्केपछि
मुटुमा भक्कानो फुट्यो ।
र, खुई आँखाबाट कोसी बगेपछि
थाहा भो,एक्लो वृहस्पति झूटो बन्यो ।
गाईजात्राका नौटङ्गी र नौरङ्गीजस्तै
मुकुण्डो लगाएका लाखेहरू
झ्याली पिटेपछि
मादल ठोकपछि
जाने पनि नजाने पनि
नाच्नुपर्ने रहेछ
जहाँ नाचको नौटङ्गी र नौरङ्गी रबाफ
त्यतै लागेपछि पो
पाइँदो रहेछ
गणेश पूजनको पहिलो भाग
पौरखी हातहरू बजारेर
स्वाभिमानी मन थामेका थियौँ ।
नैतिकवान विचाहरू बोकेर
आस्थाका शीर ठड्याएका थियौँ ।
बिस्तारै सडक उठेर
सत्ताको सगरमाथा चढेपछि
द्रव्यको खोलाले बगायो सिद्धान्त
र, लक्ष्मीको सन्दुकभित्र
नैतिकता कैद भएपछि
आल्लादित छन्
मतिभ्रष्ट नारायणहरू
विन्द्राको सतित्व लुटेपछि ।

-तीनथाना, काठमाडौँ

मधुपर्क पुष, २०६५

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *