फरक यति नै छ
त्यो र म मा
त्यो सिर्फ एकचोटी चड्छ बलि
म चड्छु घरि घरि ।
त्यो निर्दोष अञ्जानै चड्छ बलि
तर म,
सधै चड्नुपर्छ जानी जानी
कहिले बाध्यताले चडाउँछ
त
कहिले सामुहिक बलि चडाइन्छ मलाई |
बोकाले त्यो शरीर छाडेर जान्छ
मनुष्यलाई खुसी पारेर,
मुख स्वादिलो पारिदिएर,
छाक टारिदिएर,
चाँड-बाँड भोज-भतेर पर-सारिदिएर ।
तर म,
आफैलाई पाल्न मात्र बलि चड्ने गर्छु
आफ्नै शरीर ढाक्न बलि चड्ने गर्छु
परिवार गुजारा निम्ति बलि चड्ने गर्छु ।
त्यति मात्रै हो र…?
मैले त अरुलाई देखाउनु पर्छ,
आरामदायी जीवन बिताउनु पर्छ,
मिट्ठो मिट्ठो परिकार खानु पर्छ ।
अरुलाई देखाउनकै लागि…
आलिसान महल बनाउनु पर्छ,
दुईपांग्रे देखि चारपांग्रे चड्नु पर्छ,
गुड्ने दखि उड्ने जोड्नु पर्छ ।
जसरी भए पनि
पुस्तौं पुस्तालाई पुग्ने कुस्तौं
कमाएर छोड्नु पर्छ ।
त्यसैले त मैले घरि-घरि बलिचड्नु पर्छ ।
आत्मा सन्तुष्टिको खातिर
यिनै आत्मालाई बार-बार बलि चडाइरहनु पर्छ । ।
