सम्पादकज्यू,
शैक्षिक क्षेत्रमा फैलिएको दुषित चिन्तनकी शिकार भएकी एक छात्राले आत्महत्या गरेको सन्दर्भमा उनैलाई सम्बोधित यो लेख/निबन्ध प्रकाशनयोग्य भए कृपा गर्नुहोला ।
धन्यवाद !
–नन्दलाल आचार्य
प्रिय नानु !
सन् २०१२ को मार्च ८ नारी दिवसको दिन । महिला हकहितका कुरा संसारभर बोलिए । नाना थरीका दृष्टिकोण ल्याइए । कतै असन्तोषको स्वर गुञ्जियो; कतै सन्तोषको श्वास फेरियो । ठूल्ठूला नेतानेतृ र नीति निर्माताहरूले भव्य मञ्चमा भव्य कुराहरू गरे । ती कुराहरू आलिसान महलका मखमली विस्तारामा बसेर कथिएका थिए र चिसो सडकमा सुनाइएका थिए । ती अहङ्कारको गन्ध प्रष्टै आउने ललिपप चटाउने गफ थिए । अँझ अघि बढ्ने हो भने ती जुरुक्कै उचाल्ने र छानामा पुर्याउने अनि एकै चोटि फ्यात्त भुइँमै खसाउने खालका थिए ।
हुन त प्यारी नानु ! तिमी मेरा शब्द सुन्ने छैनौ; पढ्ने छैनौ र मनमा गुन्ने छैनौ । यदाकदा सार्थकता हराएका निरर्थक शब्दहरूको बिस्कुनले भेद गर्ने निशाना बेग्लै पनि हुन्छ । त्यसै कुरालाई मध्यनजर गर्दै घर जलिसकेपछि दमकल ल्याउँदै छु । मन बुझाउने प्रयत्नस्वरूप मन खोल्दै छु । सिकेका सबकहरू फैलाउँदै छु । रुञ्चे मनलाई ‘अब फुकेर पाइला चाल; नचाले तिमीभन्दा ठूलो अर्को अपराधी अर्को कोही हुन्न’ भन्दै छु । तर नानु ! तिमी जे थियौ; तिमीले जे गर्यौ; त्यो ज्यादै कठोर थियो । कसैको जीवनमा त्यसभन्दा कठोर अर्को निर्णय हुन सक्दैन । दुनियाँलाई त्रासदीमा जाक्ने घटना थियो । यसले मान्छेको सोचसमझमा भूकम्प नै ल्याइदियो ।
म अरू सम्झन चाहन्नँ । म रत्तिभर मनमा ल्याउन चाहन्नँ । म पूराका पूरा पाटाहरूलाई एकै पटक बिर्सन चाहन्छु । आफ्नो दिमाखलाई शुद्ध र सादा पार्न चाहन्छु । मैले चाहेर के गर्ने ? मन पनि विचित्रको छ । जसलाई बिर्सौं भन्छु; त्यही अगाडि आइदिन्छ । । त्यही वरपर घुमिदिन्छ । पन्छाउन खोज्यो; असफलता मात्र हात लाग्छ । कतिपय घटना तीता हुँदाहुँदै पनि आँखा रसाइरहने हुँदा रहेछन् । अश्रुधारा बग्न पाए मनमा ठूलो सन्तोष हुने रहेछ । म त्यही सन्तोषका लागि शब्दहरू बटुलेर ओछ्यान लगाउँदै छु । गल्ती नगर्दा पनि अपराधबोधले ग्रसित हुँदै छु ।
नानु ! कहिलेकाहीँ केही नगर्नु पनि अपराध ठहरिँदो रहेछ । तिम्रो अन्तिम अवस्थाको त्यो दृश्य जब अगाडि आइदिन्छ; जब तिमी मेरो मन अगाडि तेर्सिदिन्छ्यौ । आफ्नो ठाउँमा अडिन नसकेर मन भक्कानिन्छ । थाम्न सक्दिनँ । मुस्किलले दबाएर राख्छु तर अश्रुधारा वर्षिन कसैले रोक्न सक्दैन । किनकिन म आफैँ थेगिन सक्दिनँ । मलाई थाहा छैन । मेरो रगतको नाता यस समाजसँग छैन; तिमीसँग पनि छैन । तर, भावनाको विराट नाता पो रहेछ । रगतको नाताभन्दा भावनाको नाता कयौँ गुणा विशाल हुँदो रहेछ । अभावमा पो माया–ममता वर्षंदो रहेछ । यत्तिविघ्न विक्षिप्त मनोदशा हुनुमा पक्कै पनि कुनै जन्ममा तिमी मेरै सहोदर बहिनी थियौ या दिदी थियौ । पक्कै नानु ! नत्र तिमी मेरी छोरी नै थियौ । मेरो मन बोलेको मात्र हो । मन जे बोल्छ, त्यसमा केही सत्य हुन सक्ला तर धेरै असत्य हुन्छ । यो कुरा पक्कै पनि त्यही केही सत्यभित्र पर्नुपर्छ । नत्र मन यसरी किन मडारिन्थ्यो; जल्थ्यो र भुट्भुटिन्थ्यो ।
नानु ! तिम्रो निर्दोष चरित्र सम्झन्छु । सारालाई आफ्नै परिवारजन सम्झने व्यवहार याद गर्छु । तिम्रो त्यो निष्कपट चञ्चलता र शिष्ट चुलबुलेपनको महसुस गर्छु । बिर्सेको भानमा हराउन खोज्छु र पनि सक्दिनँ । म के गरूँ ? भन नानु ! म के गरूँ ? तिम्रो समझनामा छट्पटिएर नबसे के गरूँ ? त्यसैले त वाध्य भएर मनबाट तिमीलाई कागजमा उतार्न लेख्दै छु । तिमी कागजमा उत्रेपछि सदाको लागि बिर्सन सक्छु भन्दै छु । केवल एक पटक लेखेपछि पुन: कहिल्यै नलेख्ने सोचमा उभिएको छु । किनभने अब थप यादगारका क्षणहरू ल्याउन तिमी शिष्ट चञ्चलतासहित हामीकहाँ नआउने पक्का छ । हामीलाई चटक्कै छाडेर नश्वर धर्तीलाई नै बाइबाई गरेपछि बाँकी नै के रह्यो र !
मलाई धिक्कार्न मन लाग्छ । संस्कार नदिईकन संस्कार खोज्ने लाजपचेको समाजलाई थप्पड बजार्ने मन हुन्छ । उपयुक्त समयमा खबरदारी नगरीकन भद्र परिणाम खोज्ने गतिछाडा शैक्षिक नीति र भ्रष्ट प्रशासनको गर्धन समाउने मन हुन्छ । त्यही धिक्कारको पात्रमध्येको एक म पनि हुँ । आफू परोक्ष मुछिएकोमा आफैँलाई धिक्कार छ । अरूलाई होच्याउनुभन्दा आफैँलाई तथानाम गर्न सहज हुँदो रहेछ । यत्तिखेर नानु ! तिम्रो मायालु लवज र निर्दोष आवाजले मलाई झकझकाइरहेछ; व्युझाइरहेछ; बेचैनी थपिरहेछ । कताकता म तिनै शब्दहरू सुनिरहेको छु– ‘सर ! हमर परीक्षाके रिजल्ट भेलै । हम पास भेलियै या नहि ! कनि अहाँके ल्यापटप सँ ताकि दिअ त !’ (‘सर ! मेरो परीक्षाको रिजल्ट भयो । म पास भएँ या भइनँ ! तपाईंको ल्यापटपबाट हेरिदिनुस् त !’)
तिम्रो बोली पटकपटक सुनिरहेको छु । अहिले पनि वरपर गुञ्जिरहेझैं लाग्छ । लाइन थिएन; चार्ज कम थियो । ल्यापटपमा म लेख लेख्दै थिएँ । त्यसैले मैले सहजै भनिदिएको थिएँ– ‘रुकु; अखेन सम्भव नहि अछि । लाइन एतै साँझमे; तखन देखदेबै । साँझमे लाइनके वाद आऊ ।’ (पर्ख; अहिले सम्भव छैन । लाइन साँझमा आउँछ; त्यसपछि हेरिदिन्छु । साँझमा लाइन आएपछि आऊ ।) तिमी हुन्छ भन्दै गयौ । साँझमा आइनौ । किन आइनौ ? कारण मैले खोजिनँ । कसैलाई पनि सोधिन । कतै हेर्यौ होला । मन बुझाएँ । नबुझ्ने कुनै कुरा थिएन । फेरि कहिल्यै आइनौ र अब झन् आउँदिनौ । नआउनु नै थियो त किन ‘हवस्; एबै’ (हुन्छ; आउँछु) भनेकी ! भोलिपल्ट त फागुको दिन, ‘ताकि दिअ’ (हेरिदिनुस्) भन्दै आइछ्यौ भने नेटमा रिजल्ट हेरिदिने विचार थियो ।
फागु–पूर्णिमाको भोलिपल्ट भन्ने दिन नै आज हो । हिजो मस्तले मधेस फागुमा झुम्यो । रौसरङ गर्यो । नाना भाँतीका कामहरू गर्यो । कतै परम्परा धान्यो । कतै विकृति भिœयायो । तर, तिमी के गर्दै थियौ; त्यो म जान्दिनँ । तिम्रो सानो भाइ भने बाल्टिनभरि रङ घोलेर साथीसँग होली खेल्दै थियो । गरिमा पनि सामेल थिई । म र लक्ष्मी रमिते थियौ । तिम्रो ठूलो भाइ चाहिँ कहाँ थियो कुन्नि ? मैले देखिनँ । पक्कै पनि अरूको फागु तिम्रो सराप बनेको हुनुपर्छ । अरूको हाँसो तिम्रो आँसु बनेको हुनुपर्छ ।
आज शुक्रबार, कक्षा–३, ५ र ८ को जिल्ला स्तरीय परीक्षाको तयारी गर्न स्कुल तर्फ लागेँ । परीक्षा त थिएन, प्रवेशपत्र वितरणको काम थियो । विद्यार्थीलाइरहलपहल पढाउने र सोधखोज गर्ने बेला थियो । यता लेखापालहरू रकम असुल्ने र प्रवेशपत्र दिने काममा जुटेका थिए । उता तिमीले भने अर्कै रचना रचिछ्यौ । कस्तो आश्चर्य ! त्यत्ति कोमल हृदयले पनि त्यत्ति कठोर निर्णय गर्न सक्छ र ! अहँ ! म पत्याउन्न । म मेरो अधिकार उपभोग गर्छु; गर्छु ! आँखाले देखेका र कानले सुनेका सबै कुरा सधैँ सत्य हुँदैनन् । एकाध कुरा असत्य पनि हुन्छन् । तिनै एकाध कुरामा यो कुरा पनि परोस्; हात जोड्छु; बिन्ती गर्छु ।
प्यारी नानु ! किनभने मेलै तिम्रो घर नजिकै डेरा थापेको छु । तिमीलाई प्रत्यक्ष–अप्रत्यक्ष रूपले टुकुटुकु हिँड्दादेखिकै चिनेको छु; बुझेको छु । विशेषत: तिम्रा पिता र भाइहरूको नजिक छु । नितान्त नजिक ! शैक्षिक मामलालाई लिएर नितान्त नजिक । फेरि फर्केर आइदिने भए, केवल १५ मिनेट मेरो सामु उभिएर भलाकुसारीमा सामेल हुने भए म सोध्थेँ । धेरै, धेरै कुरा सोध्थेँ । ती कुरा म स्पष्ट जान्दछु । स्पष्ट बुझ्दछु । मैले सोध्ने प्रश्न र तिमीले दिने जवाफ यस्ता–यस्ता हुने थिए ।
प्रश्न : प्यारी नानु ! तिमीले यस्तो त्रासद निर्णय किन लियौ ?
उत्तर : लिने रहर हैन; लिने वाध्यता हो । मुहार देखाउन लाज हुन्छ भने मुहार लुकाउनु नै बेस हो ।
प्रश्न : सफलै सफलको दुनियाँ भए ‘असफल’ किन बनेको त ?
उत्तर : शब्द ‘असफल’ बन्यो; त्यो त्यसको काम हो । म सफल हुन सकिनँ; असफल हुन मानिनँ । असफलतालाई जीवन हो भन्ने ठानिनँ ।
प्रश्न : यस घडीसम्मको सफलतालाई जीवन ठान्नेले आजको असफलतालाई पनि जीवनको एक अंशका रूपमा लिन सक्नुपर्थ्यो; हैन र ?
उत्तर : म हिजोसम्म असफल भएकै थिइन । असफल कुन चरीको नाम हो; त्यो मलाई थाहा थिएन । मलाई त यत्ति थाहा छ– यो जगत् असफलहरूको होइन । यहाँ सफलहरूले मात्र हाँस्न पाउँछन् । असफलहरूलाई रुन समेत सख्त मनाही छ । यस मनाहीलाई मैले तोड्न सकिनँ । भनूँ न जित्न सकिनँ । हार्न रुचाइनँ । जित्नकै लागि जीवनलाई पछारेँ र मुक्तिको श्वास फेर्ने निर्णय गरेँ ।
प्रश्न : के तिमी अब सफल भएकै हौ त ?
उत्तर : सफल ! म सफल छु । मैले सानैदेखि जे सिकेँ, मेरो मनभित्र जेले वास गर्यो, त्यसले मलाई कठोर तवरले सफल बन्नुपर्छ भनिरहेको छ । म सफल बाहिर जीवन देख्दिनँ ।
प्रश्न : जसको मन शुद्ध छ, जसको कार्यशैली निर्दोष विचारधाराद्वारा निर्देशित छ, त्यसले सफलता प्राप्तिको बाटो पनि स्वच्छ तवरले रोज्दछ । तिमी पनि त्यही बाटामा हिँड्यौ । तर, आजकल दायाँबायाँतिर ढल्केर हिँड्नेहरू मात्र सफल छन् । तिमीजस्तो सोझो राजमार्गमा हिँड्नेहरू चाहिँ भड्खारामा जाकिएका छन् । हैन र; नानु !
उत्तर : सर, अरू के भन्छन्; ठिक भन्छन् या बेठिक भन्छन् ? वर्तमान कस्तो छ; कहाँ खतरा छ; कसरी हिँड्नुपर्छ ? ती सबैको ज्ञान मलाई कुनै पुस्तकले दिएन । कुनै गुरु–गुरुआमाले दिएनन् । केवल जित्नुपर्ने विचार दिए । केवल शिर ठाडो पार्ने गौरव आर्जनको कुरा सिकाए । दु:खको पीडा सहन कसैले सिकाएन । मैले सिकेकै कुरा गरेकी हुँ । शिर निहुर्याउनुभन्दा उच्च नै पारिराख्नु बेस ठानेँ ।
नानु ! तिम्रो विवशतालाई म के उपमा दिऊँ ? तिमीले रोजेको बाटोलाई म कसरी ठिक ठहर्याऊँ ? तिमीले यस पाखण्डी समाजका पूरातन विचारधाराहरूका लागि चुनौती थपिदियौ । मलाई धर्मसङ्कटमा पारिदियौ । किनकि म पनि एउटा शिक्षक नामको जन्तु हुँ । मान्छेलाई मान्छे हुनबाट बञ्चित पार्ने र पशु हुन प्रोत्साहित गर्ने शिक्षणसंस्थाले पालेपोसेको बलीको बोको हुँ । कतिखेर कस्तो काम गर्नुपर्छ; त्यो संस्थाको हितमा विवेक दबाएर गर्नुपर्छ । सबैथोक मिलाउँदा शिक्षाशास्त्री कहलाएको र रावणराजका महाराजको आज्ञाकारी सेनापति हुँ । तिम्रो विवश कहानी सुनेर र बुझेर गुन्न सकिरहेको छैन । को, कहाँ, किन चुक्यो भन्न सकिरहेको छैन ! तिम्रो अन्तरवार्तामा अघोषित रूपमा औल्याइएको प्रश्नले जवाफ के पाउँछ; दुनियाँ कसरी ठिक मार्गमा आउँछ; त्यसलाई मैले आज ठम्याउनुपर्छ । नितान्त वैयक्तिक पाराले ! नितान्त कोठे सोचले !
तर, जे भन नानु ! म विश्वस्त छैन । म कदापि सहमत छैन । तिमी मेरै डेरा अगाडि फर्याकफुरुक गर्दै हिँडिरहेको देखिरहेझैँ लाग्छ । तिम्रा कलिला भाइहरूको निर्मल मुहार आँसुले रुझेको म कल्पना गर्न सक्दिनँ । तिनीहरू सधैँ मेरै डेरा अघि मन फुकाएर क्रिकेट खेल्थे । सामान्य होहल्ला गर्थे । चुलबुल गर्थे । म उनीहरूकै शिक्षक र पनि ‘मलाई बाधा पुग्ने गरी होहल्ला नगर’ भन्न सक्दिनथेँ । बरू बालचञ्चलताको असली दर्शक बनेर हेरिरहन्थेँ । अर्को आनन्द त्यसबेला थपिन्थ्यो जब त्यस खेलमा मेरी पुत्री गरिमा पनि सामेल हुन्थी । ऊ खेल खेल्न त जान्दिनथी तर होहल्ला थप्न मद्दत पुर्याउँथी । मलाई अर्कै तबरले आनन्द आए पनि क्याम्पसमा भट्याउने खुराक जुटाउने काममा बाधा परिरहेको हुन्थ्यो । मेरा डेरा–मालिक रामसुरत देव पनि बाल्यलीला हेरेर मुस्कुराइरहनुहुन्थ्यो ।
नानु ! तिमी घरबाटै नियाल्दै गर्थ्यौ क्यारे ! भाइहरूले वाधा पारेको ठानेर तिमी आउँथ्यौ र भन्थ्यौ– ‘बौवासभ ! हल्ला नहि कर । सरके लिखपढमे बाधा पडै छै । चुपचाप खेलाह न ! अपनाके आनन्द लैला दोसरेके दु:ख पहुचैना निक बात नहि अछि ।’ (भाइहरू ! हल्ला नगर । सरलाई लेखपढमा बाधा पर्छ । चुपचाप खेल न ! आफूले आनन्द लिन अर्कालाई दु:ख पुर्याउनु ठिक कुरा होइन ।)
नानु ! अब भन ! तिमीमा कत्रो मनकारी लक्षण थियो । तिमीमा संसार हँसाउने र खुशी तुल्याउने तागत थियो । तिम्रो बोली र व्यवहार सुनेर र पाएर सबै मख्ख हुन्थे । मलाई लाग्दैन– तिमीबाट कोही प्रताडित छ; कसैले मन दुखाएको छ । भो, अब म तिमीसँग धेरै कुरा गर्ने पक्षमा छैन । तिमीले हिँडेको र पक्रेको बाटोबाटै आजको समाज, शिक्षा नीति अनि शैक्षिक प्रशासनको गालामा थप्पड हान्न अग्रसर हुँदै छु ।
मलाई थाहा छ– यही किच्चक समाज, यही भ्रष्ट शैक्षिक नीति र यही अराजक शैक्षिक प्रशासनले तिम्रो जीवन लियो । म ठोकेर भन्छु । म यसमा शतप्रतिशत ग्यारेन्टी दिन्छु । तिम्रो जीवन लीला खोस्ने समाज, नीति र प्रशासन हो । यसभित्रै सबै कुरा लुकेको छ ।
नानु ! तिमीलाई त पूरापूरी थाहा छ । म तिम्रा साथीसंगीहरू र सरोकारवाला पक्षका लागि लेख्दै छु । यी शब्दहरू जोडजाड पारिरहँदा मेरो मुटुमा खुन उम्लेको छ । शरीरका रौँ ठाडा–ठाडा भएका छन् । अपराधबोधले मनको एक कुना अँध्यारो छ । ‘कपट र जाली कुरा लेख–लेख’ भन्दै छ । तर, धरोधर्म सत्य बक्ने कोशिस गर्दै छु । म रिठ्ठो नबिराईकन तिम्रो विवश कहानी तिमी मार्फत दुनियाँलाई सुनाउँदै छु ।
त्यसको भाषा त म जान्दिनँ तर यस पापिष्ठ शिक्षा नीतिले भन्छ– ‘धन आर्जन गर । प्रतिस्पर्धामा लाग । अरूलाई उछिन र मोज गर । अरूलाई जित्नु नै तिम्रो लक्ष्य हो । सिद्धान्त घोक । जति घोक्यौ, त्यत्ति नै सफल हुन्छौ । जो होस् र जे होस्, ठूलालाई मान, सानालाई माया गर । जगत्मा नितान्त गौरवशाली व्यक्ति बन । तिमी ठूलाबडा नै बन । लक्ष्मीप्रसाद नै बन । सेक्सपियर नै होऊ । आइन्सटाइन, न्यूटन, म्याडम क्युरी नै हुनुपर्छ । तिमीले राम, जिसस, मोहम्मद, बुद्ध, शिवजी नै बन्नुपर्छ । तिमी यसो बन; त्यसो बन तर तिमी जस्ता छौ, त्यस्ता चाहिँ बन्दै नबन ।’ नानु ! यसरी मान्छेलाई अहङ्कारी बन्न सहयोग गरेको छ । महत्त्वाकाङ्क्षी बनाएको छ । आफ्नो स्तर भुलेर यमपुरीमा महल ठड्याउने विचार सम्प्रेषण गरिदिएको छ । दिमाखमा भुस भरिदिएको छ । आफ्नो वैयक्तिक पहिचान माटोमा मिलाई अरूकै अनुकरण गरेर मख्ख र मस्त हुन वाध्य पारेको छ ।
अर्कातिर शैक्षिक प्रशासन पनि ‘कागजमा जस्तो छ, त्यस्तै गर्छु’ भन्छ । तर, व्यवहारमा भने राजनीतिको कुरूप खेल दोहोर्याइरहन्छ । विद्यालय व्यवस्थापन समितिको निर्वाचनको नाममा, शिक्षक–अभिभावक संघ, शिक्षक/कर्मचारी नियुक्ति वा बर्खास्ती प्रकरण जताततै राजनीति गर्छ । पैसाले र पैसाका लागि जे जस्तो गर्न पनि पछि पर्दैन । क्षमताको कदर छैन तर पैसाको कदर छ । धाकधक्कु र सोर्सफोर्सको बोलवाला छ । बिना राजनैतिक आडभरोसा शैक्षिक जगत्लाई कलङ्कित पार्ने हिम्मत कसैको हुन्न । कुनै कथित शिक्षाशास्त्रीको हिम्मत पुग्दैन ।
शिक्षक पढाइरहन्छन्; विद्यार्थी सुनिरहन्छन् । आफू के पढाउँदै छु, शिक्षकलाई थाहा छैन । आफूहरू के सुन्दै छौँ– विद्यार्थीहरूलाई अत्तोपत्तो छैन । शिक्षकहरू तलबभत्ता पाउन र पचाउन स्कुल धाइरहेछन्; आफ्ना अभिभावकको मन राख्न विद्यार्थीहरू कक्षामा जम्मा भइरहेछन् । शैक्षिक संस्थामा शिक्षक र विद्यार्थीहरू शैक्षिक गन्तव्य बमोजिम हिँडिरहेछन् वा छैनन् भन्ने कुराका बारेमा विद्यालय संस्थापक/अध्यक्षहरू बेखबर छन् । कारण, सरकारीलाई राजनीति गर्न र निजीलाई धन हसुर्न पाए भइगयो नि ! किन नयाँ सोचका साथ अघि बढ्नका लागि टाउको दुखाउनु ! किन असल शिक्षक चाहियो; किन शिक्षकलाई वैज्ञानिक तालिम चाहियो ? माथिल्लो शैक्षिक प्रशासन आफैं नशामा लठ्ठ छ; उसको करेसाबारी फाँडिने हैन क्यारे । यता विचारा राजाहरू मरून् कि विचरी रानीहरू झुण्डिऊन्; उसलाई के मतलब !
नत्र शिक्षकहरू तालिम प्राप्त हुन्थे; दैनिक पाठयोजनाका साथ विविध शैक्षिक सामग्री लिएर कक्षामा भित्रन्थे । कोणकोणबाट विश्लेषण गर्दै र विद्यार्थी केन्द्रित रहँदै शिक्षण गर्थे । एउटा गन्तव्य पक्रन्थे । विद्यार्थीलाई त्यही गन्तव्यमा नपुर्याईकन छाड्दैनथे । विद्यार्थीहरू पनि आ–आफ्नो दिशा र दशाका बारेमा ख्याल गर्थे । आफूलाई तन; मनले त्यसतर्फ एकत्रित गर्थे । भूतबाट धेरथोर शिक्षा लिन्थे तर ध्यान वर्तमानमा एकत्रित गर्थे । अभिभावक पनि आफ्ना नानीहरूको रखबारी गर्थे । अनुकूल शैक्षिक वातावरण सिर्जनामा महत्त्वपूर्ण भूमिका खेल्थे ।
तर, नानु ! के गर्नु ! शैक्षिक प्रशासन आफैँ बाङ्गो–टिङ्गो मात्र छैन; कैंटे पनि छ । राजनैतिक छहारीमा रहेर कलङ्कित काम गर्ने पुरस्कृत हुन्छ । नीति, कर्तव्य र दायित्वबमोजिम कार्यसम्पादन गर्ने चाहिँ राजनैतिक बर्चस्वका अभावमा ओझेलमा पर्छ । गुरु राजनीति गर्छन् र विद्यार्थीलाई राजनीति सिकाउँछन् । गुरु अहङ्कारी छन् र अहङ्कारीकै खेल प्रदर्शन गर्छन् । समाज अन्धो छ; कपटी छ; जाली छ; स्वार्थी छ । बलेको आगो मात्र ताप्छ । टमटमे घोडाझैं एकोहोरो मात्र देख्छ; एकोहोरो नियाल्छ र आजका विद्यार्थीहरूको जीवनलाई एउटै कोणबाट मात्र अवलोकन गर्न खोज्छ । फलस्वरूप तीव्र असन्तुष्टि देखापर्छ । आक्रोश पैदा हुन्छ । समाजको हेपाहा र चेपाहा प्रवृति एवं असम्भव सपनाहरूको महत्त्वाकाङ्क्षी महलले थिचिएर र मिचिएर आजका युवाहरू/विद्यार्थीहरू जीवनलीला समाप्त गर्न उद्यत हुन्छन् । कतिपय हिनताबोधी भएर जिउन बाध्य छन् । कोही हिंस्रक बाटो अपनाएर नामलाई बदनाम गरिरहेका छन् ।
अँ त नानु ! तिमीमा भने हिनताबोधी भावना पनि जन्मेनछ । हिंस्रक विचार पनि उम्रेनछ । मन कठोर बनाएर तिमीलाई गिज्याउने समाजको मुख बन्द हुने गरी जवाफ फर्काइनछ्यौ । तिम्रो मायालु स्वभावले अर्को कुनै बाटो रोज्न सकेनछ । फलस्वरूप तिमीले एउटा सानो गुम्छाको सहारा लियौ । घरको दलिन रोज्यौ । भाइहरू क्रिकेट खेल्न मेरो कोठा नजिक आएको मौका छोप्यौ । आमा काममा व्यस्त भएको मौका पार्यौ । बुबा जागिरकै सिलसिलामा घरबाहिर गएको अवसर भेट्टायौ । त्यो निर्दोष गला गम्छीको एक फेरले कस्यौ; अर्को फेर दलिनमा बाँध्यौ र आमाबाबु, दाजुभाइ, इष्टमित्र केही नभनी हाम्फाल्यौ । आमा पनि भन्न पाइनौ । कठै ! सुशील विचारले निर्मल हृदयको सोझो राजमार्ग रोज्यौ ।
फागुमा साथीसंगीले लगाइदिएको रङ शरीरभरि छँदै थियो । जीवनभरका लागि सिउँदो रंगाइदिने दिन पनि लगभग तोकिनै लागेको थियो । भन; नानु ! यो तिमीले के गर्यौ ? कस्तो विपत्मा पार्यौ ? यसको जिम्मेवारी कसले कति–कति लिने हो ? कसले कति–कतिपश्चात्ताप गर्ने हो ? कसले कति–कति पाठ सिक्ने हो ? समय त्यसैको प्रतीक्षामा छ ।
अन्तमा नानु ! तिमीले लगाइदिएको मेहेदी मेरी गरिमाको हातमा जस्ताको तस्तै छ । त्यसको मुहारमा तिम्रै हाँसो, तिम्रै सुन्दरता, तिम्रै शिष्ट चञ्चलता देखिरहेछु । मेरा कानले घरिघरि तिम्रो नम्र, कोकिल स्वर सुनिरहेझैँ लाग्छ । तर, मेरी छोरी तिम्रो अकल्पनीय देहवसानप्रति बेखबर छे । सानै छे तैपनि धेरै कुरा बुझ्छे । महतारी लक्ष्मीले उसलाई भ्रममा राखेकी छे । ए लक्ष्मी ! त्यसो नगर्भन्दा ‘ऊ रुन्छे; नानुलाई नै खोज्छे; म उसका मुहारमा दु:खका काला वादल मडारिएको देख्न चाहन्नँ; आफू जतिसुकै दु:खी भए पनि उसलाई विषाद्मा पार्न चाहन्नँ’ भन्छे । भन नानु ! म कसो गरूँ ? डाको छोडेर रुने मन हुन्छ; सक्दिन । समाजका तगाराहरूले रोक्छन्; छेक्छन् । मात्र लेखिरहूँ; लेखिरहूँ; विगत कोट्याइरहूँ; सत्य संसारलाई देखाइरहूँ भन्ने लाग्छ ।
लौ त नानु ! जति लेखे पनि सकिन्न । यिनै शब्दहरूबाट तिमीलाई सम्झदै र तिम्रो परलोकी आत्माले शान्ति पाओस् भनी परमात्मा समक्ष प्रार्थना गर्दछु । आइन्दा यी कानले, यो दिमाखले र यस जीवनले यस्ता घटना सुन्न नपरोस्; देख्न नपरोस् र भोग्न त पर्दै नपरोस् भन्दै पत्रान्त गर्दछु ! तिमीलाई हार्दिक श्रद्धाञ्जली !! शोकसन्तप्त तिम्रा परिवारजनमा हार्दिक समवेदना !!!
नन्दलाल आचार्य

नेपालको शैक्षिक नीतिलाई
नेपालको शैक्षिक नीतिलाई जोडदार थप्पड । धन्यबाद छ नन्दलाल अाचार्य सर तपाईलाई ।
thanks so much
dhanyabad…sir
n. l. acharya
बेलुका चार बजेको छ । कङ्कालिनी मन्दिरमा एक्कासी भीड बढेको छ । दर्शनार्थीहरूमा उमङ्ग कम निरासपन बढी छ । सबै पाॅच बजेको पर्खाइमा छन् ।
एक स्थानीय नेताको मोवाइलको आवाजमा सबैको ध्यान खिचियो ।
“गाडीको मत छोडो । हडताल अनिश्चित हुआ है ।” आवाजको प्रत्युत्तरमा भीडले आन्दोलनको समर्थनमा नारा लगायो ।
पाॅच बज्नासाथ प्रहरी कमाण्डर आए । हडताल समाप्तीको सम्झना दिलाए । उल्टै नेताले हडताल लम्बिएको सुनाए ।
“अहिले एक पटकलाई गाडी जान दिनुस् ।अनिश्चित होला भन्ने थाह नभएर तीन सय गाडी यहाँ थुप्रिएका छन् ।” कमाण्डरले मुख खोले ।
भीडबाट अघि सर्दै नेता चिच्याए-“इस वातको हमे लेनादेना नही है ।”
नेताको अस्विकृतिले कमाण्डर आक्रोसित भए । र; भने- “जनअधिकारका लागि जनताकै अमनचयन खोस्नु कत्तिको जायज छ ?”
नेता नाजवाफ भई फोन लगाउन थाले ।