हामी यी भूगोलहरूमा,
यी देशहरूमा पुगेका छौ,
जस्ले आफूलाई शक्तिशाली ठान्छन्
र छन् पनि ।
हामीलाई नोकरी चाहिएको छ,
जहाँ नोकरी प्रशस्त छन्
र दिन्छन पनि ।
शहर सफा गर्ने नोकरी,
सीमाना रक्षा गर्ने नोकरी,
५२ डिग्री सेल्सियसको तातो बालुवा माथि,
माइनस २० डिग्री सेल्सियसको फ्रोजन भित्र,
नोकरी छन्,
गल्ली भित्रका गेट बाहिर,
चौकीदारीका नोकरी छन्
अनि कति वेश्यालयमा,
कति बधशालामा,
र कति चिहानघरसम्म नोकरी छन्।।
अँझै कति छन्
आणविक भट्टीमा नोकरी छन्
जहाँ मिसाइल बन्छन्, वम बन्छन्।
हामीलाई थाहा छैन
ती वमहरू किन बनाइन्छ,
कहाँ पड्काउन बनाइन्छ,
तर हामीलाई नोकरी पाइन्छ।।
चुरोट, खैनी नखाएर,नपिएर
के नै फरक पर्छ र हामीलाई
यी आणविक रसायनले
मुटु कलेजोसम्म असर गर्छ,
सानो विकिरणले पनि
क्यान्सर निम्त्याई दिन्छ,
त्यसैले होला
हामीलाई कारख़ानामा
प्रशस्त नोकरी पाइन्छ
त्यसैले उता रेमिट्यान्स भित्राइन्छ।।
राती सुतेका हामी
विहान नउठ्नुमा पनि कारण छन्
मौसमले च्यालेन्ज गर्दिन्छ जिन्दगीमाथि,
सोलुबाट कुवेत र अरेवीया पुग्नु परेपछि
तराईबाट ओस्लो र रसिया पुग्नु परेपछि।
जीवनमा यी एकजोर पैंतलाले
यती विघ्न धर्ती चाहार्नुको पछाडि
मेरो सरकारले नजन्मिदै
थाप्लोमा रिन बोकाईदीयको साइनो छ।
र मैले देश सम्झिरहुनुमा
आफु त्यही माटोमा जन्मीयको साइनो छ।।
फर्कीन त मन छ
यी आँखाले त्यो भूमि पल-पल खोज्छन्
तर फेरि
बाका मक्किएका हड्डीले
बाच्नलाई थोरै वल खोज्छन्
आमाका फुटेका पैतालाले एकजोर
चप्पल खोज्छन्
त्यसैले म बेचिएको छु, म गालिएको छु
आरनमा पगालिने
कवाडी फलामको जस्तै सस्तो मूल्यमा
ब्याजको स्याजसम्म तिर्नुपर्ने ऋण बोकेर।।
मान्छे जस्तै काम गर्ने रोबोट देखेर
म तिनछक पर्छु
अनि गाउँका ढिकी र जातो सम्झिन्छु,
हरेकदिन म नोकरी जादाँ चढेको रेल
फ्लाईओभर माथि दगुर्दा,
कर्णालीका तुइन सम्झिन्छु।
आखिर सम्झिनु रहेछ जिन्दगी।।
