विचित्र छ समय
परिर्वतनशील यूग अनि काल…!
भर्खरै एकहुल देउसे आएर गए…
न मादल छ न त खैंजडी
न दौरा-सूरुवाल न त चौबन्दी-चोली
ड्रमसेट र इलेक्ट्रिक गितार
ठूल-ठूला साउण्ड-बक्स थर्काएर गए
कानै खानेगारी।
कुनै कन्सर्टको झझल्को आइ रहेथ्यो
देउसुरे र झिलिमि झिलिमि मात्र बुझियो
त्यो भन्दा धेरै बुझ्ने प्रयास पनि गरिएन!
किनकि,
गीतमा न ताल थियो न लय।
एक युवक उफ्री रहेथ्यो बिच्चमा
भताभुङ्ग कपाल,
जिन्सपेन्ट झरेको,
जिउ सुकेको
टी-सर्ट फूकेको|
ठम्याउनै सकिन,
न त ऊ होशमा थियो न त डोजमा,
न त ऊ नाँच्दै थियो न त आफै भाँचिदै|
स्वीकारर्नै पनि त पर्यो…,
समयको फड्को!
परिर्वतन र आधुनिकताको मेल हो यो|
तर बिडम्बना…
हाम्रो समाजको सबै क्षेत्रलाई
एकनासले छुन सकेन परिर्वतनले
छोयो त केवल विकृति र विसंगतिले|
रुडीबाद अझै गएन…
झाक्री नचाउने,
पशु-बलि चडाउने,
कूरुप र बृद्धाहरुमा बोक्सी देख्ने,
छोरा छोरी मा भेदभाव राख्ने,
मुखमा राम राम बगलीमा छुरा
बोक्नेहरुलाई पूज्ने
र
“कागले कान लग्यो” भन्दिए
कागको पछि पछि लाग्ने।
एकोहोरो,
हामी सारै एकोहोरो…!
एकोहोरो गोरु जस्तो…, पनि भन्न मिलेन यहाँ
किनकि,
गोरु पनि सधाए सधिन्छ र खेत जोतिन्छ
धान उप्जाइन्छ, खाइन्छ र ख्वाइन्छ
तेसैले त,
सधिएर बर्षभरि खेत जोत्ने गोरुहरुको
गुणतिर्न गोवर्धन पूजा गरिन्छ।।
