सँगै कलेज पढेको साथीसँग आज लामो च्याट भयो कुरै कुरामा उस्ले “ओए तैले थाहा पाइस ‘साईको’ले त पोहोर साखा अधिकृतमा नाम निकालेकी थिई अहिले त सहायक CDO भई नि” भन्यो म सरासरी ‘फ्लयास ब्याक’मा गएँ !

फिका पर्पल कुर्था सलवार र उस्तै कलरको नजानिदो लिपिस्टिक लगाएकी उनी आज सामान्यभन्दा राम्री देखिएकी थिइन ! मेकअपमा उती वास्ता नगर्ने उनी आज थोरै नोस्टाल्जिक देखिन्थिन ! हामी शहिद दिबस को अवसरमा धनकुटाको छिन्ताङमा रहेको सहिद पार्कमा आयोजित बिशेस कार्यक्रम को लागि हिडेका थियौ !
आपसमा चुट्किला सुनाएर सँगिनीहरू घरी घरी हाँसोका फोहरा फ्याक्थे तर उनको हाँसोमा कतै अट्टाहास हुदैनथ्यो ! फिस्स रहस्यात्मक हाँसो हास्नु उनको विशेषता थियो ! मानिस यति भावुक भएको पटक्क नसुहाउने रहेछ ! अँझ विशेष केटीहरू !!

अब कुरा के लुकाउनु ? एकजमानामा म उनलाई अौधी मन पराउथेँ ! र एक पटक प्रस्ताव नगरेको पनि हैन । उस्तै फिस्स हाँसो साथ ”सोचौला” भन्ने उत्तरले मलाई ३ महिना जति पर्खाइसकेको थियो ! घरी घरी म आफैलाई प्रश्न गर्थे उनलाई कति दिन दिनु पर्ने हो सोच्ने समय ??

दिन बित्दै जाँदा म उनलाई वास्ता गर्न छोडेको थिएँ सबैले ‘साईको’ भनेर उनलाई जिस्क्याउथे ! र मलाई पनि बिस्तारै उनी अलि साईको नै हुन कि झै लाग्न थालेको थियो ! यस बिचमा कति गोष्टी भए कति कार्यक्रमहरू भए कति प्राक्टिकल क्लासहरू भए तर हामी नबोलेको लामै समय भैसकेको थियो ! तर उनलाई देख्दा अनौठो तरँग भने पैदा हुन्थ्यो मनमा !!

उनका कोही साथी थिएनन् किनकि उनको अनौठो व्यवहार कसैले मन पराउदैनथे ! प्रबिणता प्रमाणपत्र तह को रिजल्ट आउदा मैले सर्सर्ती सबैका नाम हेरेको थिएँ ! धेरै जना मध्ये उनको नाम पनि थिएन लिष्टमा ! तर जब स्नातक दोस्रो वर्षका विद्यार्थीले प्रथम वर्षकाहरूलाई स्वागत काार्यक्रम राखे मभन्दा अगाडिको डेक्समा उनलाई देखेर म तीन छक्क परको थिएँ ! खासमा के भएको रहेछ भने रिजल्ट सुचना पार्टीमा टाँस्ने साथ कुनै फेल भएको विद्यार्थीले रिसले एक पेज रिजल्ट चाहि च्यातेर फालेको रहेछ ! त्यसैले मैले उनको नाम नभेटेको रहेछु ! एक बर्स बित्नै लाग्दा नि हाम्रो बिचमा कुनै औपचारिक कुरा कानी हुदैनथ्यो र भेट घाट हुदा बोल्न नै बन्द भएको पनि थिएन !

आज सहिद दिबस क्याम्पसका अधिकाँस विद्यार्थी कार्यक्रम छ भन्दै छिन्ताङ जाने भए ! म पनि म जस्तै हाउडे दुई चार जना लिएर जान भनेर हिडेँ !बाटै देखी उनलाई देख्दैथेँ बोलाउन वा जिस्क्याउन खोज्दैथेँ ! उनको सादगी र सालिनताले छेड छाड गरेर बोल्ने हिम्मत पनि दिदैनथ्यो ! फेरि पनि मैले आज नजिस्क्याई नछोड्ने अठोट लिएर उनी छेउ गएँ ! उनीलाई हिड्न निकै अफ्टेरो भएको जस्तो गर्दै बिस्तारै पाईला चाल्दैथिइन ! र सारै निरास पनि देखिन्थिन ! मैले सोधे ”के भयो आष्मा १ घण्टा हिड्दै थकाई लाग्यो कि के हो ?” उनले ‘हैन’ मात्र भनिन साायद पन्छिन चाहान्थिन म देखि ! फेरि सोधे अनि के भयो त ? पुलुक्क हेरीन मात्र बोलिनन् ! मेैले कर गरेँ ‘भन न ‘?

”तिमीलाई भनेर के फाईदा ” अब मलाई झन अचम्म लाग्यो के भएको भनेर !

भन कि भन भन्दै मैले उनको हात समााएँ ! मेरा साथीहरू अलि पछाडि थिए हेरेर गलल हाँस्न थाले ! उनी झन रिसले मेरो हात झट्कार्दै छाडिदेऊ मलाई भन्न लागिन ! तर मेरो कुनै गलत नियत भने थिएन ! म जान्न मात्र खोजिरहेको थिएँ कि उनलाई भएको के हो उनी भुई मै बसिन ! म पनिसँगै बसेँ ! ढुङ्गो बोल्ला उनी बोल्दिनन् !
साथीहरू चाहि ” ओए छोड्दे छोड्दे दाल गल्दैन ” भनेर जिस्क्याउदैथेँ ।

साथीहरू अलि तल पुगेपछि ‘भनिन के चाहिएर बस्नुभएको तपाई जानु नि साथीहरू सँग??

‘ तिमी किन यति निरास छौ ? भन न त अनि जान्छु ‘

”तिमीलाई भनेर के फाईदा” ?

‘ के थाहा बा म सहयोग गर्न सक्छु कि ”

भन्छन नि दुख बाँडे आधा सुख बाँडे डबल ‘
आदर्ष पनि छाँटिहालेँ मौकामा !

करिब दुइसय साथीमा सबै अगाडि भैसकेका थिए र हामी हिलेबाट करिब डेढ घण्टा जति हिडेका थियौ !! म पनि कहिल्यै नगएको छिन्ताङ, पहिले जानेहरू आधा हुनै लाग्यो बाटो भन्थे ।

मैले आष्मालाई अन्तिम पटक सोधेँ ! यदि तिमीलाई केही अफ्टेरो छ र मैले सहयोग गर्न सक्छु भने भन नत्र सबै साथीहरू गइसके जौँ ? !!!!

बल्ल मुख खोलिन !

ए भगवान!! विश्व कहाँबाट कहाँ पुगिसक्यो ! जाबो मिन्स भएको कुरा भन्नलाई यति भूमिका बाध्नु पर्ने ?? फेरि स्नातक तह कि विद्यार्थी ?? म छक्क परेँ शिक्षित मानिशहरू को त ताल यस्तो छ अनि नेपालमा छाउपडी छ भनेर के अनौठो मान्नु !! ??

मिन्स हुदा पेट दुख्दो रहेछ अनि ब्लिडिङ पनि धेरै हुदो रहेछ उनको ! कति गार्हो भै रहेको होला भनेर मैले कल्पना पनि गर्न सकिन ! यदि पहिले नै भनेको भए फर्किंदा पनि हुन्थ्यो ! उनी रुदै भन्न थालिन मेरो साथी नै को छ र ?? सबले मलाई साईको भन्छन ” आदि आदि !!!!!

बस्दै गर्न भनेर नजिकै को राई बाजे को घरमा गँए ! घरमा अधबैसे बाजे हुनुहुदो रहेछ बाजेलाइसँगै आएको साथी बिरामी भएको सुनाएँ ! गाउका मानिश सहरका जस्ता टर्रा हुदैनन हतार हतार लिएर आउन भन्नुभयो ! धेरै ब्लिडिङ भएकोले हिड्न झन गार्हो भएको थियो ! मैले बाजेलाई भने ! ‘खासमा कुनै ठुलो समस्या हैन उनलाई अचानक रजस्वला भएर समस्या भएको हो र उनीसँग फेर्ने छुट्टै कपडा पनि नभएकाले समस्या भएको हो’ बाजेकी छोरिरहिछन १०मा पढ्ने सुक्र बार भएकाले उनी आइसकेकी थिइन स्कुलबाट ! जनजातीहरू यो विषयमा त्यति लजाउदैनन क्षेत्री बाहुनभन्दा अलि उदार समाज छ यो विषयमा जनजातीहरूको !
उनलाई भनेपछि सबै व्यवस्था उनले गरी दिइन !

उता साथीहरूले १ घण्टा को बाटो छोडेर गइसकेका थिए ! हामी उनीहरूलाई भेट्ने अवस्थामा थिएनौ ! हामी नजाने निर्णयमा पुग्यौ ! भोलि पल्ट बिहान फर्किने कार्यक्रम थियो साथीहरूको ! हामी पनिसँगै फर्कने बिचार गरेर आज त्यही बस्ने निर्णयमा पुग्यौ !

घर कि नानीले अदुवा हालेको चिया पिलाइन ! चिया पिउदै आस्मालाई मैले उनको बारेमा बताउन भने !
उनी पाँचथर (गा बि स बिर्सिएँ) किरहिछन मलाई पहिले उनको बारेमा खासै जानकारी थिएन ! राम्रो परिवारिक अवस्था रहेछ ! बाबु गाबिस सचिव रहेछन ! घर चलाउन खासै समस्या रहेनछ ! ऐस आराम को जिन्दगी नभए पनि केही को कमि हुन दिनु भएको थिएन रे उनको बुबाले ! अचानक उनको परिवारमा बज्र पात भएछ ! “छुट्टीमा घरमा आउनु भएको बुवालाई माओवादीका एक जथ्था आएर घरकै आँगनमा कुदाइ कुदाइ काटेर मारे !” “अईया अईया म निर्दोस छु भन्दै बुबा आगनमा ढल्नुभयो ”

यो घटना सुनाइरहँदा उनी डाको छोडेर रुदैथिन र पथ्थर झै मुटु भएको म छोरो मान्छे पनि सँगसँगै रुदैथेँ !!
आखिर मानीशलाई जिन्दगीले कहाँ देखि कहाँसम्म पयर्याउछ ! एउटा कहालीलाग्दो त्यो रक्त पातले कति दर्द दिइरहेछ बिचरी आष्मालाई ???? म नतमस्तक भएँ बोली अबरुद्ध भयो !

हामी भोलि पल्ट साथीहरूसँगै फर्कियौ बाटोमा साथीहरू जिस्क्याउन तम्सिदैथे ! मेरो निकै मिल्ने साथीलाई मैले नराम्ररी झपारेपछि सबै चुप भए । मुखा मुख गरेर मात्र जिस्क्याए अगाडि आएर भनेन् जस्ले हामीलाई खासै फरक पारेन !

त्यो दिन देखी हामी असल साथी भयौँ ! कसैले उनलाई साईको भन्न पनि छोडे किनकि म तिनीहरूलाई गाली गर्थेँ !!

आज उनको सफलता देखेर मलाई औधी खुसी लागेको छ ! म समयसँगै बिदेशी को गुलाम भए पनि तिमी एउटा जिल्ला चलाउने पदमा पुगेकी छ्यौ भन्ने सुन्दा म गद् गद् भएको छु । जस्ले तिम्रो बुबा को हत्या गरे उनीहरूलाई कार्बाही गर्न त सकिदैन किनकि उनीहरूद्वारा नै शासित छ हाम्रो देश । तर बुबाले देखाएको बाटोमा सधैँ हिडिरहनु सत्य को अवश्य जित हुनेछ !

तिम्रो साथी
तोयानाथ पौडेल
सँखुवासभा –
हाल -मरुभुमुको छाती बाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *