Skip to content

मान्छे पनि काले त्यति राम्रो थिइन-दुर्गालाल श्रेष्ठ

  • by


भनिन्छ, काठमाडौँको नेवार समुदायमा हप्तै र महिनैपिच्छे एक न एक चाडपर्व पर्छ । ती पर्वहरूको सांस्कृतिक महìव पनि छ । त्यही पर्वमध्येको गाईजात्रा, इन्द्रजात्राको बेला टोल-टोलका डबलीहरूमा नाटक मञ्चन हुन्थे । इन्द्रजात्राकै बेला हुनुपर्छ, डबलीकै लागि २००४ सालतिर बाङ्गेमुढाका बालकहरूले ‘सत्तलसिंह’ नाटकको ‘रिहर्लसल’ गरिरहेका थिए । नाटक ‘रिहर्लसल’ गरिरहेकाहरू दुर्गालालका टोलछिमेकी दौँतरीहरू थिए । सत्तलसिंह नाटकको नायिका हुनुहुन्थ्यो अहिलेका वरिष्ठ गायक प्रेमध्वज प्रधान । नाटकको रिहर्लसल हेर्न साथीहरूसहित पुग्नुभएको थियो दुर्गालाल । झ्याल, ढोका सबै थुनेर पाटीको भित्री कोठामा ‘रिहर्लसल’ भइरहेको थियो । भित्र केही देखिन्न थियो तर झ्याल, ढोकाको चेपबाट भित्रको केही आवाज भने सुन्न सकिन्थ्यो । त्यही पनि ठेलमठेल गरेर दुर्गालालले ताल घुसार्ने ढोकाको प्वालबाट भित्र अँध्यारो कोठा चियाए तर भित्रबाट निर्दयी कसैले ढोकाको प्वालबाट चोर औँलाले बेस्सरी घोचिदियो । चोर औँलाले आँखा घोचेपछि के चाहियो र ? दुर्गालाल नराम्ररी रन्थनिए । धन्न आँखामा कुनै गहिरो चोट लागेन । त्यो क्षण सम्झनुहुन्छ दुर्गालाल- “घोच्यो आँखा, दुख्यो मुटु ।”

वरिपरि सम्मान र पुस्तक सजाइएको सानो, न्यानो कोठामा हामी दुई गफिइरहेका थियौँ । बुढ्यौली उमेरमा विगतका सम्झनाका झनिामसिना पोयाहरू उधिन्ने प्रयत्नमा हुनुहुन्थ्यो । बाहिर सडकमा सवारीसाधनको चर्को हर्नलाई छिचोल्दै लोकगीतको मीठो धून बजिरहेको थियो । “अँ, पख्नुस् है” विस्तारै थेगिँदै दुर्गालाल उठ्नुभयो र दुई कप चियाको अर्डर गर्नुभयो । “अँ हामी के कुरा गर्दै थियौँ”, फेरि सम्झँदै “ए, चार सालको कुरा ।” दुर्गालाल फेरि तिरस्कार दिने उही चोर औँलातिर पुग्नुभयो ।

आफ्नै साथीबाट अपमान, तिरस्कार र चोर औँलाको प्रहार पाएपछि न्हैकन्तलटोलका बालकहरू आफूहरू पनि त्यस्तो नाटक गर्नसक्ने र गरेरै छाड्ने निर्णयमा पुगे । त्यसको सम्पूर्ण जिम्मेवारी घाइते दुर्गालालकै थाप्लोमा हाले साथीहरूले । दुर्गालालले नाटक लेख्नुभयो- ‘प्रेम जीवन अन्धकार’ । नाटकमा गीत पनि लेख्नुभयो, अभिनय पनि गर्नुभयो उहाँले । सङ्गीत भर्नुभयो-हुतराज शर्माले । अनि सुरु भयो दुर्गालालको अभिनय र लेखन यात्रा । ६१ वर्षे लेखन यात्राको समीक्षा गर्दै दुर्गालाल भन्नुहुन्छ- “मेरो लेखनको प्रेरणा भन्नुस्- त्यो चोर औँला हो । त्यो चोर औँलाप्रति आभारी छु ।”

त्यसपछि सालिन्दा नाटक लेखन र मञ्चन गर्न थाल्नुभयो उहाँले । त्यो क्रम २०१३/०१४ सालसम्म जारी रह्यो । त्यसपछि उहाँ लेखनतिर अलि केन्दि्रत हुन थाल्नुभयो । र, जीवनका अनुभवबाट यो पनि सिक्नुभयो- “एउटा अपमानलाई धैर्यपूर्वक पाल्न जान्यो भने अमूल्य वरदान हुँदोरहेछ ।” सारेगम…को ‘स’ पनि आउँदैन थियो उहाँलाई । तर हिन्दी गीतका मेलोडी यताउता गरेर भए पनि थुप्रै नाटकका गीतमा लय हाल्नुभयो । थुप्रै नाटक लेखन, निर्देशन र अभिनय गर्दा पनि ‘हिरो’ बन्ने रहर कहिल्यै भएन रे उहाँलाई । भन्नुहुन्छ- “मान्छे पनि काले त्यति राम्रो थिइँन । अरूले मन नपराएका भूमिकामा नै रमाउँथेँ ।”

असन र बाङ्गेमुढाको बीचतिर न्हैकन्तलटोलमा चाःबहालमा बुद्धविहार छ । त्यहाँभित्रको एउटा चोकमा पाँच घर थिए । ती घरमध्ये सबैभन्दा होचो घरको पहिलो तलामा विक्रम सम्वत् १९९२ सालमा जन्मनुभएका दुर्गालाल आर्थिक रूपमा गरिब भए पनि दुःखी हुनुहुन्थेन । किनकि आमाको वात्सल्यले त्यो अनुभूति दुर्गालालमा हुन पाएन । तैपनि समाजमा भने गरिब भएकै कारणले उहाँ अपमानित हुनुपथ्र्यो । प्रसङ्ग २००४ सालतिरको हो । प्रारम्भिक शिक्षा आप\mनै टोलमा अध्ययनपछि कक्षा पाँचमा अध्ययनका लागि पद्मोदय हाइस्कुलमा पुग्नुभयो । गरिब भएकै कारणले साथीहरू दुर्गालालसँग बोल्न रुचाउँदैन थिए । सँगै बस्न नचाहेर टाढै बस्न चाहन्थे । प्रायः टालेका सुरुवाल र जुत्ता चप्पलको अनुहार नदेखेका गोडामा दुर्गालाललाई विद्यालयमा पाएपछि साथीहरूले के गन्थे । कक्षा कोठाको अगाडिको सिट त उहाँका लागि कल्पना मात्रै थिए । तर विद्यालयमा गाना गाउँदा निर्धक्क र ठूलो स्वरमा मिठासपूर्ण गाउने अनि छापा अक्षर लेख्ने दुर्गालालको क्षमता देखेर भने शिक्षकहरू खुबै प्रभावित थिए । पढाइमा पनि दुर्गालाल राम्रैमा गनिनुहुन्थ्यो । उहाँ स्मरण गर्नुहुन्छ- “मेरो हस्तलिखित बोकेर माथिल्ला कक्षाका विद्यार्थीहरूलाई गुरुहरूले देखाउनुहुन्थ्यो, यी यस्तो पो अक्षर लेख्नुपर्छ भनेर ।” त्यसपछि आफूप्रति साथीहरूले हेर्ने दृष्टिकोणमा केही परिवर्तन आएको दुर्गालालको सम्झनामा छ ।

साहित्यकार चित्तधर हृदय, सिद्धिचरण श्रेष्ठको साहित्यिक प्रभाव आफूमा परेको बताउने दुर्गालालको मात्रिक, वाणिक छन्दमा थुप्रै कविता, गीत छन् । “मलाई छन्द धेरै आउँदैन”, दुर्गालाल भन्नुहुन्छ-“सबैभन्दा पि्रय छन्द त लोक छन्द -लय) हो । लोकलयलाई जातीय छन्द भन्न रुचाउँछु । त्यो छन्द आप\mनैजस्तो लाग्छ ।” पद्मोदयबाटै एसएलसी उत्तीर्णपछि क्याम्पस भर्ना हुनुभयो तर साहित्य, सांस्कृतिक झमेलातिर लागेपछि उहाँले क्याम्पसको परीक्षा नै छाड्नुभयो । भन्नुहुन्छ- “पढ्नुपर्ने कुरालाई गम्भीरताका साथ लिइन ।” साहित्यकारभन्दा पनि भाषिक आन्दोलनको सिपाहीभन्दा गर्व गर्नुहुने दुर्गालालले नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को रूपमा घोषणा गर्नुपर्ने मागसहितको आन्दोलनका लागि पनि मङ्गलाचरण गीत लेख्नुभएको थियो-

झीगु खः नेपाल सम्वत्

धैगु राष्ट्रिय भावना

झी नुगः दुने झल्ल खय्मा

न्हू दँ या शुभकामना

कन्या मन्दिरमा २३ वर्ष बालबालिकालाई पढाउने क्रममा आफैले धेरै सिकेर आएको अनुभव उहाँमा छ । बालबालिकासँगको त्यही सङ्गतकै प्रतिफल बालसाहित्यमा कलम चलाउन सकेको अनुभव उहाँको छ । कन्या मन्दिरका तत्कालीन प्रधानाध्यापक केदारनाथ न्यौपानेको सहयोगलाई पनि उहाँ बारम्बार सम्झनुहुन्छ ।

टेक्सासमा बस्ने नातिको विवाहका लागि दुई महिनाअघि अमेरिका पुग्नुभएका दुर्गालाल १२ दिन मात्र भयो नेपाल फर्केको । कोलोराडो, वासिङटन डीसी, टेक्सासलगायत सहरमा भएका साहित्यिक जमघट र भेटघाटमा थुप्रै सम्मान र प्रशंसा बटुल्न पुगेका दुर्गालाल केही दिन छोराले किनेको प\mल्याट कुरुवा बन्न पुग्नुभयो । दिक्क लाग्दा ती दिनहरूमा आठ हरफका ७० भन्दा बढी कविता कोर्नुभयो । त्यही पनि करिब हप्ता दिनमा । टेक्सासको हरियालीले उहाँलाई भुतुक्कै पार्‍यो, लोभ्याउनु लोभ्यायो । ‘कवितामा टेक्सास’ कविता सङ्ग्रहलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रकाशनको जिम्मेवारी लिएको छ । एउटा कविता सङ्ग्रह निकाल्न पुग्ने सङ्ख्यामा नेपाल भाषामा पनि कविता लेख्नुभयो, टेक्सास बसाइँमा । “धेरै गीत लेखियो तर फूलको आँखामा फूलै संसार…गीतले मात्रै चर्चा पाउनु भनेको के हो ? मैले बुझ्न सकेको छैन”, अमेरिका भ्रमणपछि यही द्विविधा लिएर र्फकनुभयो दुर्गालाल । अमेरिकामा जति जमघट र भेटघाटमा पुग्नुभयो फूलको आँखामा…गीत बजेको र त्यसकै मात्र चर्चा पाउनुभयो, उहाँले । “ऊ यहीँनेर त हो, आनी छोइङ र न्हृयु बज्राचार्य बसेर धुन सुनाएको अनि म यहीँ बसेर त्यो गीत लेखेको”, म बसेकोतिर औँला तेस्र्याउँदै बुद्धको पेन्टिङ मुन्तिर बस्नुुभएको उहाँले गीत सिर्जनाको प्रसङ्ग कोट्याउन पुग्नुभयो । न्हृयु बज्राचार्यले गितारमा धुन सुनाएपछि छ मिनेट पनि लागेन रे, त्यो गीत फुर्न-फूलको आँखामा फूलै संसार… । द्वन्द्वकालमा जन्मेको त्यो गीतले चर्चाको शिखर चुम्यो, जुन अद्यावधि छ । त्यसपछि आनीले नेपाल भाषा, बालगीतसमेत गरी दुर्गालालकै शब्दमा पाँच वटा एल्बम प्रकाशित गरिसक्नुभएको छ ।

धेरै वर्ष भयो न्हैकन्तलटोलबाट दुर्गालाल थँबहीको क्वाः पुखुमा सर्नुभएको । केशरमहल वरपर स्याल कराउँथ्यो रे, क्वाः पुखुमा उहाँ सर्दा । थँबही आजभोलि ठमेलमा अनुदित भएको छ । विदेशीहरूले ह्याल्मोलाई हेलम्बूमा अनुवाद गरे, त्यसैगरी थँबहीलाई ठमेल । “यो खस भाषिक साम्राज्यको सानो उदाहरण हो”, केही उच्च स्वरमा दुर्गालालले भन्नुभयो- “भाषिक साम्राज्य किन ? भाषिक एवं सांस्कृतिक बहुलताले फस्टाउने अवसर पाएन भने नेपाल कसरी नयाँ नेपाल हुन्छ ?”

दुर्गालालको जिन्दगी छन्द र लयमा सक्रिय छ । दुर्गालालको गीत र कविता मात्र हैन, भाषणमा पनि लय, ताल र सुर हुन्छ भन्नेहरूको कमी पनि छैन । तर उहाँको अनुभवमा आप\mनै जीवन लयबद्ध छैन । धेरै ठाउँमा लय भङ्ग भएका छन् । योजनाविहीन जीवन । भन्नुहुन्छ- “हिँडिरहेको छु तर लयबद्ध छैन । ताल र सुर, छन्दमा मेरो जीवन छैन ।”

दुर्गालालको लेखनको कुनै सूचीबद्ध समय छैन । जेसुकै घटना, समाचारले दिमागमा चलचल पैदा गर्नसक्छ । केही लेख्न दिमागमा भाव उम्लिरहेको हुन्छ । लेख्न कलम उठाउनु हुन्छ दुर्गालाल । तर छापा अक्षर लेख्ने त्यही हात थरथराउन थाल्छ अनि त्यसै थला पर्छन् सिर्जनाको त्यो सुनकोसी । तैपनि मान्दैन दुर्गालाल मन । किरिमिरी अक्षर कोर्न पुग्छन्, अगाडि जेजस्तो अवस्थामा जुन कागज पाइन्छ । त्यही त भो पुस १ गते, जब पत्रपत्रिकामा अमेरिकी राष्ट्रपति बुसमाथि इराकी पत्रकार मुन्तर अल-जैदीले जुत्ता प्रहार गरेको समाचार प्रकाशित भयो । समाचारले दुर्गालालमा उद्वेलन पैदा गरिदियो अनि त्यही पत्रिकामा कविता कोर्न पुग्नुभयो- छैन, इराक मरेको छैन…। पत्रिकामा किरिमिरी कोरिएको कविता देखाउँदै भन्नुभयो, उहाँले- “भाव फुरेपछि म बग्छु, जस्तोसुकै अप्ठेरा किन नहुन् ।”

सुत्ने र उठ्ने कुनै निश्चित समय छैन उहाँको । नरम र न्यानो ओच्छ्यानमा सुत्यो तर निद्रा पटक्कै पर्दैन । आजकाल उहाँमा निद्रा कम पर्न थालेको छ । थकाइलाग्दा झन् निद्रा पर्दैन । काँचो आँखा लिएर ‘मर्निङ वाक’ मा निस्कनुहुन्छ उहाँ । उमेर हुँदा त स्वयम्भूको उकाली चहार्नुहुन्थ्यो । अहिले त्यो त्यति सहज छैन । असन, इन्द्रचोकको सेरोफेरो नै काफी छ । ‘मर्निङ वाक’ मा असन पुग्दा सडक पेटीमा प्लास्टिक, बोरा, कुकुरको साथमा मस्त निद्रामा भेटिन्छन् सडक बालकहरू । आहा Û कस्तो मिठो निद्रा । दुर्गालाललाई गजबको आरिस लाग्छ- “यसैगरी म पनि निदाउन पाए ?” अनि मनभरी यस्तो सोच्दै घर र्फकनुहुन्छ दुर्गालाल “निद्रा जसले पाउँछ ऊ ज्यादै धनी र भाग्यमानी हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *