परदेशबाट प्यारी


आकांक्षाहरू असंख्य तारा गनेर
बग्रेल्ती किरिटी भएका छन् महत्वकान्क्षाहरू
आकाशगंगाको सेतो धर्सामा
टलकिन्छन टिलिक्क टिलिक्क भएर
हे प्यारी !
समुद्रपारि प्रशान्त टेकेर

सुमेरु पर्वत शृंखलाहरू हत्केलामा उमारिरहेछु
गन्तव्यका पाइलाहरूमा
कर्कलाको पातका मोतीहरू टिप्दै छु
जिन्दगीका भाग्यहरू
रंगीन पन्जा ओढेर प्यारी!
औंशीमा चन्द्रमा खोज्दैछु

कालो आकाशमा
यो नूनिलो माथिबाट
वेदनाहरू साटेर निद्रासँग
प्रत्येक रातहरू जाग्राममा
टन्टलापुरमा म बत्ती खोज्दै छु
उज्यालो खोज्दै छु प्यारी
हे प्यारी उज्यालो खोज्दैछु !

बाले खोकेको दबाइको पैसा बाँकी नै छ
आमाले किनेको त्यो न्यानो सिरक किस्तामा तिर्दैछु
तिमीले सोचेको पुगेन होला
कति कुरा देखेर पनि
आफ्नै सम्झनु पर्छ
एक्लै भएर पनि हे संगी ! सधैं साथ् सम्झनु पर्छ
विश्वासको सिंगो सगरमाथा तिमीलाई सुम्पेर
बाध्यताको नाम्लो थाप्लोमा बोकेर
पहाड मधेश गर्दैछु यहा पनि प्यारी
कतै चुक बनेर अँध्यारोमा नघोप्टियोस /त्यो विश्वासको भर्सेली

मझेरीमा फेरी भेटौला
मीठा कुरा गरौला
यो बगरमा देश गोड़ेर
बेचेर यी बैंशका तागतहरू
प्यारी इच्छाहरू तिमीलाई नासो दिएर
हाँसो हराएको यो बस्तीमा खुसी खोज्दै छु
यो बगरमा उमेर बेचेर सपना उमार्दै छु
यो बगरमा आफु खर्चेर रगतसँग
कनीकुथी डलर साट्दै छु !!

First published : 2014-11-04 05:15:52 +0545

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *