ठ्याक्कै पाँच महिनादेखि बाको बोली नै फुटेन । बासँग हाम्रो दोहोरो कुराकानी हुन सकेन । मुटुको धडकन चल्नु बाहेक शरीरको कुनै पनि अंग सक्रिय भएन । बाको यो हालतले एक वर्ष देखि नियमित महिनामा तीन– चार पटक पोखराबाट गाउँ पुग्नु पर्थ्यो मलाई । तन पोखरामा भए पनि बाको हालतले गर्दा मन सधै गाउँमै डुल्थ्यो ।
एक्ली आमालाई बाको स्यारसुसार गर्नु कम्ती मुस्किल थिएन । बिरामी बाको हेरचाह आमाले पाँच वर्षदेखि गर्नुभयो । होसले हो या केल्ले बाले संसार छाडनु दस दिन अघि दाइ र मेरो नाम लिएर एक/एक पटक बोलाउनु भएको रहेछ । अनि आमाले डाकेर त्यसपछि म दाजुसँग घर पुगे ।
दोहोरो कुराकानी नभए पनि आखिर बाको अन्तिम बोली नै त्यहिरहेछ । लामो समय देखि बिछ्यौनामा थला परेर कष्टकर जीवन व्यतित गर्नु भएका बाले त्यसरी हाम्रो नाम लिएपछि दाइसँग गाउँ पुगे । गाउँ पुगेको चार दिन पछि अर्थात जेठ १८ गते बाले ७५ वर्षको उमेरमा संधैका लागि आँखा चिम्लनु भयो । संधै जसो घर जाँदा बाको हालत उस्तै देखिन्थयो । यस पटक जाँदा भने बाको हालत अरु धेरै बिग्रिसकेको थियो । एक महिना देखि बाको मुखमा अन्न पर्न छाड्यो । बाको अन्न निल्ने क्षमता नै क्षीण बन्यो ।
मुख नै खोल्न छाडनु भएको थियो । आमाले जर्बरजस्ती मुख फट्याएर दुधसम्म पिलाउनु हुन्थयो । बाका सबै अंग अस्थिर भइसकेका थिए । मुत्युको अन्तिम अवस्थामा बेडमा सुताउनु हुन्न भन्ने मान्यता अनुसार बालाई दाइ र म मिलेर तुलसी मोठ नजिकैको धनसारमा निकाल्यौ । अन्तिम अवस्था भएकाले दिदीबहिनी र नजिकका आफन्त सबैलाई बोलाईयो । घरमा बाका सबै सन्तानको जमघट भयो । सबैले चम्चाले पानी पिलाए बालाई ।
प्राण जाने बेला कसैलाई सजिलो त कसैलाई निकै गाहे हुने रहेछ । लामो समय देखि मुख बाँधिरहने बाले संसार छाडनु अघि मुख खोल्नुभयो । आ गरेको मुखमा मैले एक चम्चा पानी हालिदिए । बाको मुखले घुटुक्क पारेर पानी निल्यो । पानी निले लगत्तै बिस्तारै खुट्टा तन्काएर बाले प्राण त्याग गर्नुभयो । जीवनमा पहिलो पटक मुत्यु शैयामा छट्पटाएर प्राण त्याग गरेको पहिलो साक्षी आफ्नै बाको बने । प्राण त्याग्दै गरेको दृश्य योभन्दा अघि कसैको देखेको थिइन । प्राण त्याग गर्दाको क्षण ज्यादै कष्टदायी हुने रहेछ । आखिर नचाहदा नचाहदै बाले हामीलाई छाडेर जानु भया सधैका लागि । बिगत सम्झदै छाती पिटेर धैरै रोए । अहिले पनि बाकको याद आउँदा परेली रुझेको हुन्छ ।
०००
उसै त सुनसास गाउँ कामको माचो र मेलापातको बेला थियो । बालाई गुमाउदाको पीडा एकातिर छदै थियो अर्कोतिर मलामी जुट्ने हो कि हैन भन्ने चिन्ता । गाउँमा पुरुषको संख्या कम भएकाले महिलालाई मलामी जान अनिवार्य बनाइएको थियो । यस अघि गाउँमा कोही बित्दा मलामी जाने संख्या न्यून भएपछि महिलाहरूलाई पनि मलामी जाने नियम बसालियो । तर बाको मरणको बेला गाउँमा खानेपानी बिजुलीको विषयमा बैठकमा गाउँलेको ठुलो जमघट थियो । संयोग त्यस्तै भएछ । त्यो हूल बाको शब यात्रामा सहभागी भयो । महिलाहरू पनि मलामी बने । आवादी पातलिएर गाउँ सुनसार बनिरहेका बेला बाको मलामीमा बाक्लो उपस्थिति देखियो । पाँच घण्टाभन्दा बढी पैदल हिडाएर दुलेगौडास्थित सेती नदीमा दाहसंस्कार गरिन्थयो सुरुका दिनमा । तर लामो बाटो र असुविधा महसुस गरेर गाउँलेले गाउ नजिकैको गम्डेखोलामा दाहसंस्कार गर्ने नियम बसाले । गाउँबाट एक घण्टाको पैदल यात्रा गरेर घाटसम्म पुग्न सकिन्छ । खाली खुट्टा काडा र तातो ढुङ्गा छिचोल्दै बाको शब बोकेर घाट पुगे म पनि । सकीनसकी महिलाहरू पनि मलामी बनेर घाटसम्म पुगे । गाउँमा मान्छेको पातलो बसोबासले शब बोकेर घाटसम्म पुग्ने मलामी नहुने हुन कि भन्ने चिन्ता हरायो । तर सबै परिवार जमघट भएको अवस्था र गाउँमा शहरबजारबाट युवाहरू पनि आएको बेला बाको निधन भएकाले मलामीको अभाव झेल्नु परेन ।
००००
कोरा अर्थात क्रिया बस्दा भने धेरै समस्या झेल्नु पर्यो । लामो समयको खडेरीले जेठ सुरु हुदै मूल फुटने पधेरामा पानी पलाएन । घर देखि आधा घण्टाको आईजाईको दुरीमा थलो निर्माण्ँ गर्नु परेको थियो । जहाँ पधेरोको सुविधा थियो । मलामी जादा जुन उपस्थिति थियो त्यसपछि गाउँमा मान्छेहरू पातलिदै गए । उसै त सुनसान गाउँ सहरबाट आएकाहरू फर्किए पछि झन सुनसान बन्यो । अलिअलि भएका पनि खेतबारीको काममा व्यस्त भए । रातमा क्रियापुत्री कुर्नु पर्ने मान्यता रहदै आए पनि कुरुवा मान्छे नै भएनन् । दिनहुँ बालाई पिण्ड दिन निर्माण गरिएको थलोमा डालो बोकेर जाने आफन्त दाजुभाइ नै भेटिएनन् ।
बाबुआमा भएकाले डालो बोकेर जान नहुने रहेछ । बाबु वा आमा नभएकाले डालो बोक्ुन पर्ने मान्यता रहेछ । थलो जाने बेला भएपछि डालो बोक्ने मान्छे नपाएर खोज्दै हिडनु पर्यो । पण्डित सबै आए पनि डालो बोक्ने नभएर सधै अडकिन्थ्यो काम ।
दस दिनसम्म थलोमा पिण्ड दिदै पूजा गर्नुपर्थ्यो । डालोमा सबै सरसमान बोकेर जानु पर्थ्यो । भाउजूहरूले गाउ डुलेर डालो बोक्ने खोजेर मुस्किलले ल्याउनु हुन्थयो । गाउँमा कोही नभएपछि खेतमा काम गर्न गएका नजिकका नातेदार ईश्वरी पौडेललाई काम थाती राखेर समेत ल्याउनु परेको थियो । कोही नपाएर ८२ वर्ष पुगेका ठुलो बालाई घण्टौ हिडाएर डालो बोकाएर लानु पर्यो । मुस्किलले डालो बोकेर हिडनु भएका ठुलो बा झण्डै खोलाको डन्डुरमा खस्नु भएन । जेनतेन यस्तै समस्या झेल्दै दस दिनको थलोको काम पुरा भयो ।
०००
तेहै दिनको दिन पनि सबै बन्दोबस्ती मिलाउन झन्झट भयो । जनशक्तिको अभावले कामको तालमेल मिल्न सकेन । गाउँमा मर्दापर्दा जनशक्ति नहुदा यतिसम्म समस्या हुने रहेछ भन्न कुराको प्रत्यक्ष भोगी बने । यस्तो समस्या यहाँ मात्र हैन हरेक गाउँमा होला । पुरुषको संख्या कम भएर हरेक काममा महिलाहरू नै अग्रसर देखिए । भाडाकुडा संकलन देखि सबै काममा महिला नै अघि बढे । गाउँका अगुवा डिल्लीराम भट्टराई भन्दै थिए–‘यस्तै हो भने केही वर्ष पनि मलामी जाने र मर्दा सहयोग गर्ने मान्छे नै गाउँमा मान्छे नै हुदैन भन्ने चिन्ता लागेको छ ।’ तेहै दिनको चोखिने दिनमा आमालाई विधवालाई लगाउने कपडा लगाउन लगाईयो । राता सारो रातो चुरामा सजिने आमाको यो पहिरन देखेर मन थाम्न सकिन । आमाले हुक्क छाडदै आँसु बगाउनु भयो । केही क्षण वातावरण स्तब्ध बन्यो । पाँच वर्ष देखि रोगी बाको स्यारसुसार गरेर बसेकी आमा संधैका लागि एक्लो बन्नुभयो । आफनो खुट्टामा उभिन सक्षम बनाउने बाको अभाव झल्दै र सुनसान घरमा एक्ली आमालाई छाडेर अमिलो मन बनाउदै कर्म थलो पोखरा फर्किदा घरको यादले सताइरहन्छ ।
