सेप्टेम्बर ११ को त्यो त्रासदी

बिहानीको झिस्मिसेमै न्युयोर्क स्थित विश्व प्रसिध्द ट्वीन टावर मध्धेको साउथ टावरमा रहेको आफ्नो कार्यालय फिड्युसियरी ट्रस्ट हिँडेको एक पति आफ्नी पत्नीलाई सदाझैँ आफ्नो कार्यालयबाट फोन गर्छन; त्यति बेला बिहानको साढे आठ बजेको हुन्छ |

उनिहरु बीच सामान्य भलाकुसारी हुन्छ; एक अर्कालाई ’आई लभ यु!” भनेर फोन राखछन | उनकी पत्नीका अनुसार उनिहरुले करीव दश मिनेट फोनमा कुरा गरेका हुन्छन; त्यसको लगत्तै जस्तो बिहानको आठ बजेर छयालीस मिनेट जाँदा सेप्टेम्बर एघार, २००१, मँगलबारको दिन विश्वलाई नै हल्लाउने घटना घट्छ |

अमेरिकन एयरलाइन्सको फ्लाइट नम्बर एघारले त्यहि विश्व प्रसिध्द ट्वीन टावरको नर्थ टावरलाई लागेर ठोक्छ | त्यसको चार मिनेट पछि पत्नीले फेरि आफ्नो श्रीमानको फोन सुन्छिन; उनका श्रीमान भन्दै हुन्छन, ”स्वीट्स, आइ एम ओके, डन्ट वरि, आइ एम ओके !” आफ्नी छोरिलाई लिएर स्पिच थेरापिष्टले दिएको समयमा त्यहाँ पुग्ने तरखरमा लागेकी पत्नीलाई आफ्नो पतिको कार्यालय रहेको भवनमा के भैइरहेको छ भन्ने कुरोको पत्तै भएको हुँदैन | त्यसपछि, पतिले टेलिभिजन खोल्न भन्छन, अनी मात्रै ती पत्नीले थाहा पाउंछिन कि, त्यो दिनले कति ठूलो दु:ख,पिडा र भयाबहता बोकेर ल्याएको रहेछ भनेर ! त्यसदिन बिधवा बनेका हजारौँ महिलाहरु मध्धेकी एक साहसी महिला क्रिस्टेन ब्रेइटवाइजरले आफ्नो पुस्तक ’वेक-अप कल,द पोलिटिकल एजुकेसन अफ अ ९/११ विडो’ मा यसरी आफ्नो कथा बताएकी छन | स्मरणीय छ, क्रिस्टेन ब्रेट्वाइजर, ती चार साहशी महीला मध्ये एक हुन जसको अनवरत लडाँईले ९/११ कमिसनको गठन गर्न बुश प्रशासन वाध्य भएको थियो | उनिहरु चार जनालाई तत्कालीन संचार माध्यमले ’द जरसी गर्ल’(उनीहरु न्यु जर्सिका बासिन्दा थिए)को नाम दिएका थिए |
क्रिस्टेनलाई टेलिभिजन खोल्न भनेर फोन राखेको उनको पति रोन काम गर्ने साउथ टावरमा नौ बजेर तीन मिनेट जाँदा अमेरिकन एयरलाइन्सको फ्लाइट एक सय पचहत्तरले साउथ टावरको अठहत्तरौँ तलादेखि चौरासियौँ तलासम्मको बिचमा गएर हान्छ; जेटमा भएको दश हजार ग्यालन पेट्रोलको असरले आगोको ज्वाला चारैतिर फैलिन्छ | त्यसपछि रोन र क्रिस्टेनको कुनै संपर्क हुँदैन | पतिलाई फोनमा संपर्क गर्ने कोशिश सँग सँगै क्रिस्टेनले साउथ टावरको छेउबाटै आगोको ठूलो गोला बर्षेको देख्छिन र टेलिभिजनको स्क्रिनमा आफ्ना हातका औँला टाँसेर साउथ टावरको तला गन्न थाल्छिन | तर त्यो दिनको दूर्भाग्य, बिहानको नौ बजेर उनान्साठ्ठी मिनेट जाँदा साउथ टावर ध्वस्त भैसकेको दृष्य सीएनएनको पर्दामा सबैले देख्न सक्तथे ! क्रिस्टेनले मात्रै होईन, त्यो दिन अमेरिकावासी धेरैले ती ह्रिदयबिदारक दृष्यहरु टेलिभिजनको पर्दामा नाङ्गा आँखाले हेरिरहेका थिए; जुन तथ्यलाई चलचित्रमा देखाएको भए पनि यस्तो पनि हुन्छ होला र? भनेर टिप्पणी गरिन्थ्यो होला तर त्यस घडिमा बिश्वकै बिकशित र प्रसिध्द शहर न्युयोर्कमा शताब्दिकै भयावह घटना घटिरहेको थियो | त्यसबाट पुगेको मानशिक असरलाई मष्तिषकले आत्मसात गर्न नपाउँदै फेरि अर्को खबर आउंछ, नौ बजेर अठ्तीस मिनेट जाँदा अमेरिकन एयरलाइन्सकै फ्लाइट नम्बर सतहत्तरली अमेरिकी सैनिक कार्यालय पेन्टागनमा हानिसकेको हुन्छ | भयाबह घटनाको श्रृंखला अझै सकिएको थिएन; युनाईटेड एयरलाइन्सको नेवार्क इन्टरनेसनलबाट स्यान्फ्रान्ससिसको उडेको फ्लाइट ९३ अपहरण हुन्छ र भाग्यले गर्दा त्यसमा उडिरहेका यात्रुहरुले अपहरणकारीहरुलाई उनिहरुको गन्तब्यमा पुगन दिँदैनन | भनिन्छ, त्यो प्लेनलाई अमेरिकाको राजधानी वासिंङटन डीसी पुर्‍याउने या ह्वाईट हाउसतिर लैजाने योजना थियो तर त्यस भित्र रहेका चार जना साहसी यात्रुहरुको कारणले त्यो उडान पेन्सिल्भिनियाको सानो शहर स्याङ्ग्सभिलमा गएर खरानिमा परिणत हुन्छ; त्यस भित्र यात्रा गरिरहेका अठतीस जना यात्रु,पाँच जना फ्लाइट एटेन्डेन्ट र दुई पाइलटको अस्तित्व केवल जलेर बाँकिरहेको खरानी मात्र हुन्छ | तर त्यो उडानका यात्रुहरुले देखाएको बहादुरी ईतिहासमा सदा कायम रहनेछ |

यसरी एक पछि अर्को गर्दै धमाधम अमेरिकी भूमीमै, अमेरिकन एयरलाइन्सहरुकै साहारा लिएर अमेरिकनहरुलाई नै हमलाको तारो बनाईएको घटनाको साक्षी पूरा विश्व समूदाय बनिरहेको हुन्छ | मानवताको यो भन्दा ठूलो उपहास अरु के हुन सक्थ्यो होला !
बिना कुनै अपराधमा कसैका छोराछोरि, कसैका बाबु आमा, कसैका पति पत्नी गुमेका थिए; सोच्नु र समझनुको बीचको दूरी नै तय नगर्दै मानव मष्तिष्कमा भूँईचालो गैरहेको थियो | मानिसहरु ट्विन टावरको एक सय एकदेखि लिएर एक सय पाँच तलामाथिबाट हाम्फालिरहेका देखिन्थे, मानौँ त्यहाँ मानवको रुपमा चराहरु उडिरहेछन ! युएसए टुडेका अनुसार कम्तिमा पनि दुई सय मानिसहरु ट्विन टावरबाट हाम्फालेर मरे | तिनीहरु मध्ये धेरै नर्थ टावरका थिए, किनकि, सबैभन्दा पहिले बिमानले त्यसैलाई हानेको थियो | केवल एक दर्जन जति मात्र साउथ टावरका भएको अनुमान गरिएको छ | सम्बन्धित पक्षका अनुसार त्यसरी हाम्फाल्नेहरुलाई जमीनमा पुगेर बज्रिन केवल दश सेकन्ड मात्र लागेको थियो, ती मध्ये कोहि जोडी बाँधिएर, कोही समूहमा र कोही एक्लै हाम्फालेका थिए |

त्यस दिन त्यहाँ कार्यालय हुनेहरुले एक्लो कम्पनीको मात्रै करीव सात सय ब्यक्तिहरु गुमाएको तथ्यहरु समाचारमा आएको थियो | त्यसमध्ये क्यान्टर फिट्जरल्यान्ड कम्पनी पनि एक थियो जले छ सय अठहत्तर कर्मचारी र कम्पनिका मालिकले थूप्रै नातेदार एकै पटक मृत्‍युको मुखमा पुगेको औडाही अनुभव सँगालेको अनुभव आँशु बगाउंदै सिएनएनको ल्यारी किङ्ग लाइभमा बताएका थिए |
त्यहाँ मृत्‍युहुने आफन्तहरुले उनिहरुका प्रियजनको शरिरका अँशहरु पनि किस्तामा पाएका थिए | क्रिस्टेन ब्रेटवाइजरकै भनाईमा, उनले उनको पतिको देब्रे हात फेला पारेको खबर मध्य अक्टोबरतिर एक दिन रातीको साढे नौ बजे आफ्नो घरको ढोकामा पुलिस आएर जानकारी दिएपछी थाहा पाएकी थिइन भने दाहिने हातको घटनाको तीन बर्ष पछि फेला परेको खबर पाएकी थीइन | मानवताको यो भन्दा क्रुर कार्य साँच्चै क्षम्य छ त ? राजनीति र शक्ति र सत्ताको विश्व राजनीतिको खेलमा अनाहक नै एकै दिन अट्ठाईस सय तेइस जना मारिएको त्यो दु:खद घटनामा परेका मध्ये करिव एक हजार जनाको त कुनै अस्तित्व नै भेट्टाउन सकिएको छैन | उनिहरुका परिवारले त्यो क्षणलाई कसरी आत्मसात गरिरहेका होलान ! अनी त्यो क्षणलाई बिर्सिएर जीवन कसरी अगाडी बढाईरहेका होलान !
न्युयोर्क शहरको लोअर म्यानह्याटनमा गर्वका साथ उभिएको दुईवटा भवन जसलाई ”ट्विन टावर” को नामले चीनीन्थ्यो,सन १९७३ को अप्रिल चारदेखि खोलिएको थियो | त्यस समयमा ती भवनहरु बिश्वको सबै भन्दा अग्लो भवन मध्धेमा गनिन्थ्यो | एक सय दश तलाका उक्त भवनको सबै भन्दा माथी रहेको डेकमा गएर पुरै न्युयोर्क शहर, स्ट्याचु अफ लिबर्टी सबै तिर दृष्यावलोकन गर्न सकिन्थ्यो | यो पँक्तिकारले पनि दुई पटक त्यहाँ माथी पुगेर साहाराको दृष्यावलोकन गर्ने अबसर पाएको थिएँ | अब त ती कुराहरु कथा र कहानिमा मात्रै सीमित हुने भए र भवनको अस्तित्व पनि क्यामेराले कैद गरेका द्रिश्यहरुमा मात्रै हेर्न पाइने भयो |

त्यो दिन, त्यस स्थानमा अनाहकमै ज्यान गुमाउने अधिकाँश अमेरिकी परिवारहरुका साथै बिश्वका धेरै मानिसहरुले प्रत्यक्ष रुपमा कल्पना नै नगरिएको दृष्य र घटनाको घटना स्थलमा मात्रै होईन टेलिभिजन मार्फत पनि साक्षि हुनुपर्ने बाध्यतालाई अँगिकार गरे | ती मध्ये यो पँक्तिकार पनि एक थियो | जुन बेला पहिलो प्लेनले टावरमा हिर्काएको थियो, त्यस क्षण काम बिशेषले यो पँक्तिकार अम्बल, टेक्ससस्थित बैँक अफ अमेरिका पुगेको थिएँ | त्यहाँ पुग्दा बैँकका कर्मचारीहरु टेलिभिजनमा टाँसिएर बसेका थिए; कसैलाई पनि तत्काल थाहा थिएन त्यो पूर्वनियोजित बिध्वँस मचाउने घटना थियो भनेर | तर केही घन्टा पछि नै फेडरल एभिएसन एड्मिनिस्ट्रसनले सबै बिमानहरुलाई उड्नमा रोक लगायो | त्यो दिन छ हजार पाँच सय उडानका करडौँ यात्रुहरु अलपत्र परेका थिए | कतिपय ब्यापारिक निकायहरु धमाधम बन्द गरिए; यो पँक्तिकार पनि छोरा पढ्ने स्कुलमा गएर उसलाई घर ल्याएपछी पूरै दिन टेलिभिजनमा आँखा टाँसेर बसेकी थिएँ | त्यसपछिका धेरै समयसम्म मुस्लिम भन्ने बित्तिकै अर्कै दृष्टिकोणले हेर्न थालियो | त्यहि निहुँमा कतिपय ब्यक्तिको हत्या पनि भयो | कतिपय समुदाय र समाजमा आप्रवासीहरुले घ्रीणा र अबिश्वासको पनि सामना गर्नु पर्‍यो |

आज त्यो कालो दिनको घटना घटेको तेह्र बर्ष बितेको छ; मानिसहरु केही ब्यक्तिको कुत्सित श्वार्थले घटाएको घटनालाई लिएर पुरै समुदायलाई आरोपित बनाउन हुन्न भन्ने निष्कर्षमा पुगेका छन | शायद, यसैको फलस्वरुप गत बर्ष मात्रै बीस हजार अमेरिकनहरुले धर्म परिवर्तन गरेर ईस्लाम बनेको खबर पढ्न पाईएको छ | समुदायले त्यसदिनको घटनाबाट सबैभन्दा खराब स्थितिको मुकावला गर्दै त्यसबाट सक्दो असल कुरा निकालौँ भन्ने सन्देश प्रवाह गरेको छ | आज त्यही सन्दर्भको सम्झनामा एकता, बिश्वास, समझदारीको आशा राखदै मृत आत्माहरुको शान्तिको कामना !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *