अमेरिका आएको दश वर्ष बितिसकेछ, एकछिन घोरिएँ, मनमा लागेका खसखसलाई यो स्तभ्ममार्फत तपाई पाठकहरुसमक्ष प्रस्तुत गर्ने कुरा सोच्न लागें । “आ-मरिखा”(अमेरिका) आएर के के उपलब्धी गरिछु त ? भनेर सोचेँ । ब्यक्तिगत जीवनकै कुरो गर्ने हो भने लड्दै-पड्दै भएपनि कस्तै बिषम परिस्थितिमा पनि हारेको छैन, कसैसँग हात थापेर खाएको छैन, आफ्नो स्वाभिमान बेचेको छैन ! त्यो भन्दा ठूलो उपलब्धी अरु के हुन सक्थ्यो होला र ?
तर ती कुराहरुले सार्वजनीक जीवनमा त्यति महत्व राख्दैनन, त्यसैले त्यतातिर नजाउँ ।
यहाँ उठाउन लागेको बिषयले भने “आ-मरिखा” मा गरेर खाने, मरेर खाने सबैको जीवनलाई कतै न कतै छोएकै हुन्छ; त्यो हो गाडी चलाएर हिँड्ने कुरो !
हुनत, त्यो पनि कसैलाई हरेक दिन बिहान बेलुकी खाना खाएकै जस्तो सजीलो होला ! तर यो पँक्तिकारको लागि भने साह्रै नै जटिल हुन्थ्यो, हुन्छ र अझै पनि भैरहेकै छ ।
त्यसो त सायद तपाईहरुमध्ये कसैको शुरुका दिनमा गाडी चलाउँदाका अनुभव मसँग पनि मिल्छन् कि मलाई मात्र यस्तो होला भनेर मेरा अनुभव तपाईहरुसँग पस्किन लागेकी छु ।
यो तथ्यलाई एकै बाक्यमा ब्यक्त गर्नुपर्दा, यो पंक्तिकारको लागि गाडी चलाउनु भनेको “अनमेल विवाहामा फसेका दम्पत्तीको जीवन जस्तो हो, जसलाई विविध कारणबश सँगै जीवन बिताउनु पार्ने बाध्यता पनि परेको छ, तर एउटै कोठामा पस्ने बित्तिकै सासै पनि गनाइहाल्छ ।
गाडिसंगको यो सम्बन्ध मरिखाने देशमा आएर मात्र सुरु भएको होइन, यसको प्रसँग झन्डै सोह्र-सत्र बर्ष अगाडी देखिनै सुरु भएको थियो । त्यतिबेलैमा घरमा गाडी थियो, अनी चलाउने चालक पनि; त्यसैले एकदिन सोचियो, किन त्यो सुबिधाको सदुपयोग गर्दै गाडी नसिक्ने ! त्यो “सिक्नु” मा आवश्यकता होइन, चाहना लुकेको थियो; तत्कालीन समयमा यदाकदा मात्र महिलाहरु गाडी चलाएर हिँड्ने हुँदा सिकिहालौँ न भन्ने लहडमा सिक्न थालियो । सिकाउने मान्छे कमका थिएनन, त्यो बेलामा पैँसठ्ठी बर्षका रामेश्वर दाइ (जात चाँही कहिल्यै सोधिएन,नेवार जातिका थिए; धोविधारामा बस्दथिए)लाई सन्तोष पन्तको “उमेर पैंसठ्ठी” को नायकको बानि बेहोराले छोइसकेको थियो । उनी यति बिस्तारै गाडी चलाउँथे कि, अली लम्किएर वा दौडिएर हिँड्ने मान्छे त उनले चलाएको गाडी भन्दा पहिल्यै गन्तब्यमा पुगिसक्थ्यो होला ! त्यतिले नपुगेर, कसैले उनलाई उछिन्यो भने, सुन्नै नसक्ने गरि फोहोरी शब्दको बर्षा गर्न पनि छुटाउंदैन थिए । तर जे भए पनि, उनी त्यो ब्यक्ति थिए, जसले तेन्जिङ्ग शेर्पा र सर एड्मन्ड हिल्यारीले सगरमाथा चढेर फर्किएपछी जाउलाखेल सुरु भएको नगर परिक्रमा कार्यक्रममा उनिहरु चढेको जीप चलाएका थिए रे ! जतिबेला, यो पंक्तिकार जन्मनु त के कुरा बाबु-आमाको विवाह नै पनि भएको थिएन ! यो सबै वृतान्त बर्णन गर्नुको कारण, रामेश्वर दाइ त्यति अनुभवी चालक थिए भन्ने प्रमाण पेश गर्नु नै हो ।
रामेश्वर दाइलाई गुरु थापेर गाडी चलाउन सिक्ने काम सुरु भयो, हरेक दिन बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ लटमा गाडी सिक्न जान थालियो, त्यहाँ गाडी सिक्ने थूप्रै मानिसहरु देखिन्थे । अलिक दिन त्यसरी सिकेपछि मन हौसियो, “अब त आइहाल्यो नी !” भन्ने सोचले दवाव दिन थाल्यो । आफूलाई त पार्किङ्ग लटमा धेरै फन्का लगाईसकेको गौरव थियो, किन सक्दिन त भन्ने ! तर त्यो काँचो गाडी चालकलाई(आफैँलाई भन्न खोजेको) के थाहा, गाडी चलाउन सिक्दा खाली स्टेरींङ्ग घुमाएर मात्र हुन्न, सैद्धान्तिक ज्ञान र गाडी चलाउन प्रयोग गरिने पार्ट-पुर्जाहरुको नाम, काम बारे पनि जानकारी लिनु पर्छ भनेर !
अनी एक दिन बिहान, सोही पार्किङ्ग लटको दुई फन्का लगाएपछी, रामेश्वर दाइलाई प्रश्न ठड्याएँ,”म अब सडकमा लैजान सक्छु, लैजाउँ है ?” उनले जवाफ दिए,”सक्नुहुन्छ भने लैजानुस !”
त्यसैले निकालेँ पार्किङ्ग लटबाट गाडी सडकतिर, अर्थात, अन्तर्राष्ट्रिय बिमानस्थलको भावना अगाडी झर्ना भएको साइडमा; गाडीले त्यहाँको भुँई छुन पनि पाएको थिएन, अर्को तिरबाट हुँईकिदै आएको गाडिमा आँखा पर्यो । अनी त के चाहियो र ! स्टेरिङ्ग समातेका हातहरु लगलग काँप्न थाले ! गाडी हल्लिन थाल्यो ! यो देखेर संगैको प्यासेन्जर सिटमा बसेका रामेश्वर दाइ कराउन थाले,”थिच्नुस् ! थिच्नुस् भनेको !!!!!” तर यो पंक्तिकारलाई थाहा भएन के थिच्नुस् भनेको हो भन्ने, त्यसैले झन झन आत्तिएर एक्सिलटर(यहाँको ग्यास भने जस्तै) जोड जोडले थिँचे । अनी त के चाहियो र ! गाडी सडकमा गुड्नुको सट्टा एकैपटक झर्नाको छेउको घाँसतिर बढ्यो; त्यसपछि बल्ल, रामेश्वर दाइले स्टेरिङ्ग समाते र गाडीको स्टार्ट बन्द गरे ! धन्न गाडीले त्यो झर्नाको लागि बनाईएको इँटाको बनोटलाई नै चाँही हान्न भ्याएन ! तर त्यो स्थान घेरेको काँडेतार र काठका तीन-चार लठ्ठाहरु भने लडे । यत्तिकैमा प्रहरी आईहाल्यो, प्रहरी देख्ने बित्तिकै रामेश्वर दाइ पर गएर तमासे भएर उभिए । प्रहरीले उसको सा’प (डिएसपि) कहाँ लिएर गयो, साथमा छोरो (आठ/नौ बर्षको हुँदो हो, जहाँ पनि सकेसम्म सँगै हुन्थ्यो) लुरु लुरु पछि लाग्यो । सा’पले नाम/काम सोधे, अब देखि पार्किङ्ग लटमा आएर गाडी नसिक्ने उपदेश दिए; अनी भने,”हेर्नुस, गाडी सिक्दा यस्तै हुन्छ, मैले पनि यस्तै गरेको छु । मेरो सम्पत्ती भएको भए म तपाइँलाई यसै छाडिदिन्थेँ तर एरोड्रमको सम्पत्ती पर्यो, जति लाग्छ तिरिदिनुस् है !” उनको त्यस्तो दयावान कुरो नमान्ने त प्रश्नै उठेन । उनैले ती प्रहरीलाई आदेश दिए,”ए, उँहालाई एरोड्रम अफिसरकहाँ लैजा !”
प्रहरीले अगी लगाउँदै एरोड्रम अधिकृतकहाँ पुर्याए । ती अधिकृतलाई प्रहरीले सबै कुरा भने, त्यसको लगत्तै यो पन्क्तिकारले आफ्नो सफाई पेश गर्दै भनेँ, “जे हुनु त भैगयो, यसको लागि माफि चाहन्छु तर अहिले मैले पैसा लिएर आएको छैन, कति लाग्छ, घर गएर ल्याएर तिर्छु ।” हुन पनि, गाडी सिक्न गएको, बानेश्वरबाट बिमानस्थल टाढा पनि थिएन र एक पैसा बोकेको पनि थिएन । सबै कुरा सुनिसकेपछि, ती अधिकृतले नाम सोधे, नाम बताउने बित्तिकै अर्को प्रश्न गरे,”त्यो पुनर्जागरणमा लेख्ने(पुनर्जागरण साप्ताहिक) तपाँई नै हो ? म त तपाँईको लेखहरु मन पराएर पढ्ने गर्छु नी !” ओहो, अलिकति भएपनि आत्तिएको मनलाई शान्ति मिल्यो ! अन्त्यमा, उनले भने, “कार्यालय खुले पछि, के कति लाग्छ, हामी तपाँईलाई खबर गरौँला अहिले जानुभए हुन्छ ।”
त्यति उधुम मचाएपछि, घर फर्किएँ, गाडी त केही दिनको लागि कारखानामा पठाउनु पर्ने भैहाल्यो तर जति जति सोच्यो, उती उती यो मनले हंश छाड्दै गयो, “यदी त्यो बेला कुनै मान्छेलाई धक्का दिएर उसको प्राण गएको भए !!! आफू त बीस बर्ष जेल जानुपर्थ्यो, पर्थ्यो ! ती नाबालक छोराछोरीको के गती हुन्थ्यो होला ?? जति जति त्यो सोच्दै गयो, उती उती हातखुट्टा काम्न थाले । छोटकरीमा भन्नुपर्दा “पोष्ट ट्रम्याटिक असर” ले ठूलै भूमिका खेल्यो । त्यसपछि, गाडी सिक्ने चाहना बन्द !
पहिलो चरणमा दूर्घटनामा पुगेर पटाक्षेप भएको गाडी सिकाईको यात्रा फेरि एक दिन एक आफन्तको “राम्ररी सिकाईदिने” प्रस्तावका साथ शुरु भयो । दोश्रो चरणमा करीव पन्ध्र दिन जति बिहान बिहानै काठमाडौंको चक्रपथको फन्को लागाईँदै थियो; अकस्मात केही कारणवश अकस्मात टुँग्याउनु पर्यो । त्यसपछि त कहील्यै “गाडी चलाउन सिक्ने” कौतुहल्ता पनि भएन; उत्सुकता पनि जागेन ।
तर अनायासै, जीवनले छत्तिसको आंकडा लियो; अत्तो न पत्तोसंग “आ-मरिखा”मा बसाँई सर्ने निर्णय गरियो । आउने एक महिना अगाडिसम्म पनि त्यस्तो कुनै सोच बनेको थिएन; बिक्रम सम्वत २०५७ चैत्र चार गते बाईस दिनसम्म रोल्पा, रुकुम र जाजरकोटको बाईस दिने यात्रा टुँग्याएर काठमाडौं ओर्लिएको मानिस चैत्र मसान्तको दिन “आ-मरिखा” मा गरी-खान होस या मरि-खान होस, उडियो । नेपालमा जतिसुकै गरिखान सकेँ भनेर धक्कु लगाए पनि, अर्काको देशमा न खाना मिठो न पानी स्वादीलो ! न भाषा मिल्दो न भेष ! तर के गर्ने ? उपाय त केही थिएन ! छोरीले आँटे पछि आँट्यो ! अरु सबै कुरामा त समन्वय र सम्झौता गर्दै गईयो तर गाडी चलाउने हिम्मत भने जुटेन ! झन्डै दुई बर्षसम्म गाडीको लागि छोरीमै निर्भर भएर समय गुजारियो । तर परिस्थितीलाई त्यो पनि सैह्य भएन; छोरीको अप्रत्याशित क्यानडा बसाँई सराई पछि त “मर्ता, क्या न कर्ता !” भने झैँ गाडी चलाउन नसिकी नहुने नै भयो । किनकि, जहाँ यो पँक्तिकारले डेरा जमाएको छ, त्यहाँ सार्वजनिक यातायातका साधन नदारत नै छन; एक ग्यालन दुध किन्न पनि कम्तिमा दश मिनेट त हिँड्नै पर्छ । त्यसमाथि जुन र जुलाईको समयमा त यो ठाउँलाई सूर्य नारायणले यति धेरै माया गर्छन कि, चुलोमा भात पकाउन मन लागेन भने चामल भिजाएर बाहिर घाममा राखिदियो भने भात पाक्छ । त्यस्तो ठाउँमा हिँडेर कहिँ जाउँला या आउँला भन्ने त सोच्नै पर्दैन ।
त्यसैले गाडी चलाउन सिक्ने तेश्रो चरणको यात्रा अपरिहार्य आबश्यकताले शुरु गरायो । यात्रा कस्तो थियो भनेर एक बाक्यमा भन्नुपर्दा बुढो सुगालाई “गोपिकृष्ण, कहो !” भन्न सिकाए जस्तै थियो । दश दिनसम्म घन्टाको तीस डलर तिरेर दिनको दुई घन्टा गाडी चलाउन सिकेपछि, लाईसेन्सको लागि परिक्षा दिन गईयो, अनी लाटोको खुट्टा झुक्किएर बाठोमा परेछ भन्ने नेपाली उखान झैँ परीक्षामा पास भइयो र लाइसेन्स पाइयो । तर गाडी चलाउन सक्छु भन्ने आत्मविश्वास….? नास्ती…!!
लाइसेन्स लिएको एक महिना जति पछि, बहिनीले एउटा गाडी ल्याइदिइन; अब त साँच्चै चलाएर हिँड्नै पर्ने भयो ! गाडी नहुँदासम्म त गाडी छैन भन्ने बहानामा तर्किन पाइन्थ्यो ! अब त त्यो पनि पाइएन !
गाडी लिएर सडकमा निस्क्यो,गाडीको गति त चिप्लेकिराको जस्तै हुन्थ्यो हुन्थ्यो; अगाडिबाट गाडी आएको देख्यो की, स्टेरिँग समातेको हातहरु काम्न थालिहाथ्यो । गाडी चलाउँदाको डरले एकोहोरिएको दिमाग अर्धचेतन या अचेतन मनस्थितीमै पनि “अब त्यो गाडीले मेरो गाडीलाई छुने हो कि ?” भन्ने सोचमा दौडिहाल्थ्यो ! आँखाहरुले देखेकै छन, गाडी अर्को लेनमा त्यो पनि बिपरित दिशामा गुडिरहेछ; तर पनि अवचेतन मष्तिष्क मान्न तयारै हुंदैनथ्यो ।
आफू बसेको सानो शहरमा चालीस माईल भन्दा बढीको बेगमा गाडी चलाउँदै, चलाउँदिन थिएं; यस्तैमा एक दिन डाउन टाउन जानु पर्ने आबश्यक कार्य आईपर्यो । त्यहाँ जान फ्री-वे लिएर जानुपर्ने, त्यहाँको स्पिड लिमिट ६५ देखि ७५ को गतिमा छ; त्यसमा पनि देब्रे या बिचकै लेनमा पनि मानिसहरु ८०/९० को स्पिडमा यत्तिकै चलाउंछन । साइड लाइट नै नदिई कुदाउँदै लेन बदल्छन । यो सबै कुरा सम्झि सम्झि दुई दिनदेखि यति धेरै मानसिक दवाव परिराखेको थियो की के बयान गरौँ ! त्यो देखेर छोराले, आफू पनि साथ गैदिने प्रस्ताव राख्यो । तर छोराको स्कुल छुटाउन मन लागेन, अनी उसलाई, “भैगो बाबु, म बिस्तारै गएर आउंछु । ” भन्ने जवाफ दिएं । छोरालाई पनि थाहा थियो, प्यासेन्जर साइडमा कोही साथमा छ भने, अलिकति हिम्मत आउँछ भनेर !
भोलिपल्ट, अरु दिन भन्दा पनि छिट्टै उठेर आफूलाई मानसिक रुपले तयार पारेँ; पुरानो गाडी थियो, गाडीको हुड खोलेर इन्जिनको तेल र पानी चेक गरेँ, कत्ति नै अनूभवी चालक जसरि ! सबै कुरा ठीक पारेर पुग्नु पार्ने समय भन्दा निक्कै अगाडी बाटो लागेँ, समयमै पुग्ने कोशिशमा !
फिडरबाट फ्री वे छिर्न, ओभरहेड ब्रिजमा उकालो लागेर ओह्रालो झर्नु पर्थ्यो, उकालो लागिसकेकी मात्रै थिएँ अगाडीको हुड खुलेर, विन्ड्शिल्ड त पूरै छेकिदियो ! हे, भगवान! इन्जिनको तेल र पानी चेक गर्न खोलेको हुड राम्ररी लागेकै रहेनछ ! हात खुट्टा पुरै गलिहाले !
अगाडी त पूरै छेकीइहाल्यो ! गाडी ओरालोमा झर्दै थियो । सोचेँ, साईडमा सोल्जरमा लेगेर रोक्छु अनी ओर्लिएर बन्द गर्छु; धरमराउँदै ब्रेक लगाएर गाडी साईड तिर लगेँ । पछाडिको गाडीले झन्डै नहानेको ! रियर भिउ मिररमा हेरेँ, मान्छे जाति रहेछ हातले “जा” भनेर ईशारा गर्यो । साईडमा लागेर झ्याप्प ब्रेक हानेपछि ओर्लनु पनि परेन, ओरालोमा झर्दै गरेको गाडीको हुड आफैँ ठूलो आवाज निकालेर बन्द भयो । एउटा आपतबाट बचियो !
यात्राको शुरुआत त त्यस्तो थियो ! बल्ल बल्ल पुग्नुपर्ने स्थानमा पुगियो, त्यो पनि नहराईकन होईन । फर्किएर आउँदा, बसेको ठाउँ पुग्न पांच मिनेट जति बाँकी थियो, बाहिरिने लेन(एक्जिट लेन्) मा जानुपर्ने थियो, रियर भिउ मिररको साथै साइड मिररमा पनि हेरेर लेन बदल्ने भएको, एउटा अठार पाङ्ग्रे ट्रकको आधी जति भागसँगै गाडी घर….र…र….र… गरेर घिस्रिन पुग्यो ! अब के गर्नु ? सोल्जरमा रोकेँ, त्यो ट्रकले पनि रोक्यो, त्यसको चालक ओर्लिएर कराउन थाल्यो,”अघिदेखि तिमी हल्लाएर गाडी चलाईरहेकी छौ ! के गरेर त्यसरी गाडी चलाएको ? के भएको छ तिमिलाई ?(उसको मतलव मैले मादक पदार्थ सेवन गरेर गाडी चलाएको हो कि ? भन्ने थियो)” आदि आदि प्रश्न गर्न थाल्यो, अनी गाडीको इन्सुरेन्स, चालक प्रमाण-पत्र सबै माग्यो, देखाएँ । तर ऊसलाई आफूले गल्ति गरेको भन्ने भान पार्न नदीइ उल्टै कड्किँदै भनेँ,”मेरो होइन तिम्रै गल्ति थियो !, मैले त ठिकै चलाएकी थिएँ !” केही बेरको वादविवादपछि त्यहाँबाट उम्किएँ तर गाडी भने एक छेउ देखि अर्को छेउसम्म सबै घस्रिएको थियो; लायाबिलिटी बाहेकको इन्सुरेन्स थिएन, गाडी बन्ने त कुरै भएन !
फेरि बहिनीकै कृपाले अर्को गाडीको ब्यबस्था भयो, लिन जान पार्ने अस्टिन, टेक्सस; बसेको स्थान, अम्बल, टेक्सस ! माया गर्ने एक परिवारले त्यहांसम्म पुर्याईदिएको मात्रै होइन, फर्कँदा उनिहरुको गाडीलाई पिछा गर्दै गाडी चलाउनेसम्मको मद्दत गर्न तत्पर भए । तर आफूभित्रको विश्वाश भने यति डगमगाएको थियो की के भन्नु ! तर सबैको उपदेश, कडा आदेश, अनी गाडीको आबश्यकताले चलाएर ल्याउनै पार्ने बाध्यता खडा गर्यो । गाडीको बारेमा के बयान गर्नु ? झन्डै चार बर्ष देखि नचलाईकन ग्यारेजमा थन्क्याएर राखिएको १९८४ को ईम्पाला, पहिले पहिले सिनेमाहरुमा मात्रै देखेको जस्तो गाडी चलाएर तीन घन्टा आधाको बाटो ल्याउन पार्ने भयो । भित्र भित्रै मुटुले ठाउँ छाडिसकेको थियो, तर गाली खाईने डरले चूप चाप बसें । त्यहि पनि बहिनीले उनको “ट्रिपल-ए” को कार्डको सुबिधाबाट आधा बाटो तानेरै पुर्याउने ब्यबस्था गरिदिइन् र आधा बाटो मात्रै चलाउन पार्ने भयो । त्यो आधा बाटो चलाउन पनि अगाडी गाडिमा बसेका परिवारले सेल फोनमा “अब यो लेनमा बस्नु” “अब यसो गर्नु” भन्दै, प्यासेन्जर साइडमा बसेको छोरालाई खबर गर्दथे, त्यसरी भर्खर खुट्टा टेकेर हिँड्न सिकाएको बच्चालाई डोर्याएर हिँड्न सिकाएझैँ गरि गाडी ल्याई पुर्याईयो । त्यसको लागि अरुलाई लाग्ने भन्दा झन्डै दोब्बर बढी समय लाग्यो, दुई लेन भएको बाटोमा पछाडि आईरहेका गाडी चालकहरु ढीलो गाडी चलाई भनेर अर्को लेनमा गएर आँखा तर्दै गाडी हुँईक्याउँदथिए । के गर्नु त अब मुटु नै नभए पछि ? गाडी चलाउँदा ल्हाशा जान कूतीको बाटो भन्ने उखान झैँ हराउने त कती हो कति ! अनी गाडी चलाउँदा घट्ने र घटेका घटनाहरु लेख्न थाल्यो भने त ठेली नै बन्ला !
गाडी चलाउने शिलशिलामा धेरैपटक यता ठोक्काउने र उता ठोक्काउने, गाडी स्टार्ट नै भैरहेको हालतमा गाडीको ढोका लक गर्ने, पार्क गर्न लाग्दा ठोक्ने आदी आदी त मामुली नै भएका थिए; तर दुई बर्ष अगाडी जीरो माईलको नयाँ गाडी किनेर ल्याएको दुई महिना पनि नबित्दै आफ्नै घरको ग्यारेजमा पार्क गर्न लाग्दा ब्रेक थिचेँ भनेर सक्दो जोड लगाउँदै ग्यास थिचेर आफ्नै घरभित्रको ग्यारेज र डाईनिङ्ग रुम छुट्याउने भित्ता ढलाएको अनुभव भने कहिल्यै बिर्सिन नसक्ने छ ! त्यसैले सारांशमा भन्नुपर्दा गाडी चलाउने “प्रयाश” अझै पनि “प्रयाश” नै भएर रहेको छ । तर यसको मतलव, यो होइनकी यताउति गर्न र काममा आउन जान पनि अरुको मद्दत लिइन्छ; जे भए पनि प्रयाश गरी खाइएकै छ ! यो भन्दा ठूलो सफलता केलाई मानौँ ?
तर अझै पनि फ्री वेमा गाडी चलाउन पर्यो भने मुटुको गति बढ्न थाल्छ, आफूले गाडी चलाउंदा त भयो भयो, अर्काको गाडिमा प्यासेन्जर सिटमा बसेर पनि गाली खान्छु । एक पटक एक जनासंग गाडिमा थिएं, उनले स्टप साइनमा रोकेपछि, मेरो टाउको दायाँ-बाँयाबाट गाडी आएका छन कि, छैनन भनेर घुम्न थालेछन, मतलव यो दिमागमा गाडी चलाउने भने पछि कति धेरै दवाव पर्दोरहेछ भन्ने उदाहरण मात्रै हो; गाडी एउटाले चलाएको छ, स्टप साईनको ध्यान मेरो अवचेतन माष्तिष्कले राखिरहेछ ! यस्तै यस्तै कारणले ती मित्रबाट धेरै पटक गाली पनि खाएकी छु; हरेक पटक जस्तो गाडी चढ्दा मेरो गतिविधि देखेर उनी भन्ने गर्छन,” अर्को पटक देखि आँखामा पट्टी बाँधेर पछाडि सिटमा बस्ने गर्नु !” तर यो मैले जानेर गरेको होइन, मेरो गाडिफोबियाको करामत हो, “प्रयाश” त गरेकै छु, त्यो भन्दा बढी अरु के नै गर्न सक्छु र ?
