नेपाल अामा सास्टाङ दण्डवत!
फोनमा हिजै कुरा त भाको हो तिम्रा धेरै कुरा स्पट बुझ्न सकिन कुरा गर्दा गर्दै तिम्रो बिजुलीप्रसाद छोरो सुत्यो कि दूरसंचारप्रसाद, “यो फोन नम्बरमा फोन गर्न निशेध गरिएको छ” भनी लाइन काटियो । तिमी निरास हौली भनेर यो चिट्ठी लेख्दै छु । हुलाकी छोराले नहराई हडताल नगरी बेलैमा पुर्याइदेला भन्ने आसा राखेको छु ।
तिमी भन्न खोज्दै थियौ क्यारे, अंग अंगमा पिडा छ । कतै पोलेको कतै काटेको घाऊ शरीर भरी छ रे, के गर्दछ्यौ । त म टाढा छु, तन मन पल पलमा तिमी नै माथि छ । तैपनि त्यसको के अर्थ लाग्दछ र ? मैले आसुँ पुछ्न नखोजेको होइन । तिम्रो बाँकी क्रान्तिकारी सन्तानले “ए छाड् हामी गर्छौं सेवा” भनी मलाई धकेले । अहिले तिनीहरू तिम्रो आस्तिव नै नमान्ने भाका छन रे तिम्रो जन्मदिन पनि नमनाउने भनी एकमत भएका छन रे ? तिम्रो पुर्खाले बनाएको पात्रो पनि फ्याकेर उधारोमा कताको हो नयाँ पात्रो लेराउने रे । तिमीलाई टुक्रा टुक्रा पारी आफ्नो आफ्नो नाममा लेखाउने सल्लाह गर्दै छन रे । तिम्रै छोराहरू लाखौं-लाख छिमेकीलाई तिम्रै सन्तान हुन भनी तिम्रो नामको नागरिकता पनि दिएरे । ती नव सन्तान आफ्नै चेलीबेटीको आस्मितामाथि अत्याचार गर्दै छन रे । गौरकी तिम्री छोरी रुँदै थिई । ती सन्तान अझै बन्दुक र भाला बोकी तिमीसित के के माग्दै छन रे ।
“बडो माया गर्ने भाको मलाई छोडी सात समुद्रपारि पुगिस तेरा सन्तान लिएर” भन्दी हौली तिमी । तिम्रा कुरा पनि ठिक्कै हो । मेरा पनि कुरा सुन आमा । जसरी झरना बग्द्छ अबिरल माथिबाट मुनी, त्यसै गरी माया पनि बग्दो रैछ माथिबाट मुनी । तिम्रा माया ममा मेरो माया सन्तानमा । माया साँच्चिकै झरना जस्तै एकोहोरो हुँदो रैछ । हा हा तिमी मलाई फटाहा गफाडी मोरा भन्दी हौली के गर्छ्यौ त तिम्रा सन्तान दक्षिण एसियाकै गफाडी नम्बर एकमा गनिंदा रहेछन । यस्तै बिधीको नियम रैछ, म पनि बाँधिएँ के गर्छ्यौ रोएर तिमी? मलाई थाहा छ तिम्रो रिन तिर्नु छ । कहिले काही पठाइदेको आङ ढाक्ने लत्ता र घर खर्च पनि खोसी लगे भन्छ्यौ । आमा तिमी अब कहिले ठीक हुन्छ्यौ ? कहिले तदुरुस्त हुन्छ्यौ ? कहिले बन्द गर्लान भाइ-भाइले काट्ने मार्ने काम ? कहिले रोकिएला तिम्रो आँखाको आसुँ बग्ने क्रम ? तिम्रो काँखमा उफ्रने क्रान्ति पुत्रहरूले तिम्रो घाऊ निको पार्लान् ? तिनलाई सम्झाउन खोजे आमा घाटी नै मर्काइदिउँ भन्छन । तिम्रो नाममा हजार अरबको रिन लिएका छन खोइ तिम्रो आङ खाली नै छ । मन त झनै फाटेको छ रे ।
यो चिट्ठी त लेखे तर बुझ्छ्यौ कि ? कसैले पड्दे सिधै अर्थ लगै देला कि उल्टो मलाई थाहा छैन । के त तिम्रो आँखा धमिलो त्यस माथि पनि बिजुलीप्रसादको १४ घण्टाको सुताइ, कुन बेला कस्ले पढिदेला यो चिट्ठी ? अस्ति कता हो सुरु गर्या रे भोलिपल्ट मेसिन बिगर्यो रे तिमीलाई नयाँ बनाउछु भन्दै छन । कतै तिम्रो नाम नै फेरिदिने त होइनन् भन्ने चिन्ता लगेको छ आमा । कहिलेकाहीं तिमीलाई भेटन आउँदा छिमेकीलाई सोध्नु पर्ने हो कि, “मेरो आमा कता बस्नुहुन्छ हँ ?” भनी ।
बुढा सन्तानले त गरेनन् गरेनन् लक्का पठ्हाहरूले पनि तिम्रो मल्हमपट्टी गर्न जानेनन् । तिमीले जानी जानी यस्ता झगडालु सन्तान जन्माएकी त पक्कै होइनौ । कुन वल्ला घरे पल्ला घरे छिमेकीले तिम्रा सन्तानको दिमागमा केको धुलो हालिदिए कुन्नि! शान्त कहिलेकाहीं हुँदैनन् । के आपसमा लड्या लडै छन । तिमी नै भन त, म त्यहाँ आएर के गरूँ ? तिम्रो वरिपरि बसेर सेवा गर्छु भन्ने अरु भाइको कुरा सुन्छु, कुट्ने घर नै भत्काइ देको खबर सुन्छु । मैले यहाँबाट नै सबै खबर पाको छु तोडफोडका फोटा हेर्या छु । गरी खाऊ भनी दयालु छिमेकीले बनाइदेको कल कारखाना पनि नयाँ बनाउने रे भनी तोड्फोद र बन्द भैराखेका छन रे । खै आमा, साउने झरी जस्तो तिम्रो आसुँ कहिले कस्ले पुछने हो ? तिमीलाई सताउने छिमेकी आज तिम्रो सेवा गर्छु भनी तिम्रा सन्तानलाई फकाउँदै पो छ रे ? तिम्रो सेवा गर्छु भनी बसेका दुई चार सन्तान पनि एक आपसमा लडेर शिथिल् भैसके । मायाको स्वाङ् पार्ने धुरन्धरहरू तिम्रो काँख छोडी टाढा टाढा भागी सकेका छन । तिमीले भन्न सक्दछ्यौ गोहीको आसुँ नझार मोरा भनेर तर के गर्नु तिमीलाई नसम्झी बस्न पनि त सक्दिन । जिउदो छऊन्जेल कम्से कम चिन्ता सम्मन त गर्छु ? भुलेको त छैन नि ?
फेरि तिमी सोच्दि हौली म भने यहाँ मस्तीमा छु । त्यस्तो छैन आमा । त्यहाँ तिमीलाई जस्तै यहाँ मलाई पनि मन दुखेको छ । त्यहाँबाट सुख खोज्न अाइपुगेका सन्तानको त्यहाँको तुशले छोड्न सकेको छैन । एउटा भन्छ मेरो झन्डा बोक, आर्को भन्छ मेरो झन्डा बोक । म भन्छु हामी एउटै आमाका सन्तान हौ तिम्रै नामको मात्र झन्डा बोकुँ । उनीहरू मलाई नचिने झै गर्छन् । बेला बेल्लामा छुट्टा छुट्टै भोज गर्दछन । मलाई कसैले बोलाउदैनन् । म पनि नेपाल आमा कै सन्तान हुँ नि! मलाई चिन्दैनौ? भन्छु । सबै त्यसै भन्दछन्, “तैले किन हाम्रो झन्डा बोकिनस्?” तिम्रो सन्तानलाई यो के भा’को आमा, जहाँ पुगे पनि बिबाद मात्रै गर्दछन । म त एक्लो बृहस्पति भा’को छु कसैको झन्डा नबोक्दा तिनका आँखाको कसिङ्गर पो भा’को छु । तिम्रो मातृत्वले नतानेको होइन तिम्रो पीडा नबुझेको होइन । स्वाभिमानी बन्नु भन्ने तिम्रो आशीर्वाद बिर्सेंको पनि छैन । त्यही स्वाभिमानले कता कता मलाई छुचो पनि बनाएको छ । सबै कुरो बुझेर पनि स्वार्थी बनी बाँचेको छु मुगलानमा । नमरी बाँचे कालले साँचे तिमीलाई मल्हम पटी गर्न म आउँला एक दिन ।
आजलाई बिदा पाउँ
तिम्रो अभागी मुगलाने छोरो
