शब्दमा कवि तथा गीतकार विप्लब प्रतीक


“मैले तिमीलाई यदि असुन्दर बनाउनु पर्यो भने मेरो एउटा सानो व्यवहारले त्यो काफि हुन्छ । मैले तिमीलाई देवता बनाउँ या तिमीलाई राक्षस बनाउँ त्यो ममा निर्भर हुन्छ, तिमीमा होइन…… ” कवि तथा गीतकार विप्लब प्रतीक ।

विप्लब प्रतीक सम-सामयिक साहित्यकारहरूमा एक शसक्त नाम; करिव तीन दशकको साहित्यिक यात्रामा जुटेको; खटेको र अनवरत लागिरहेको नाम हो । कविकै अनुसार उनले झन्डै दुई सय गीतहरू लेखिसकेका छन । ती मध्ये पच्चीस/तीसवटा जति रेकर्ड पनि भैसकेका छन । उनका कविताहरू पनि युटुब देखि लिएर पत्र-पत्रिका सम्ममा उत्तिकै भेटिन्छन । त्यस बाहेक सन २०१३ मा बिभिन्न व्यक्तिहरूद्वारा अँग्रेजीमा अनुवाद गरिएका उनका कविता सँग्रह प्रकाशित भएको छ; जसको नाम A person kissed by the Moon राखिएको छ । त्यस भन्दा पहिले फेब्रुअरी २००५ मा ‘नहारेको मान्छे’ नामक कविता सँग्रह प्रकाशित भएको थियो|
केवल दुईवटा मात्रै कृति प्रकाशित भएकै कारणले त आजको ‘पुरस्कार-मुखी’ साहित्यिक समाजमा उनको नाम अग्रपँक्तिको कवि तथा गीतकारको रुपमा नछाएको भएपनि आश्चर्य मान्नु नपर्ने थियो होला । तर उनी त्यस्ता कवि र साहित्यकार हुन, जसलाई समकक्षीहरूले मात्रै पक्ष्याउँदैनन, उनका पछाडि आजका युवा जमात पनि लागेका हुन्छन ।

उनकै भनाईमा ‘साहित्यकार’ हुनु सजिलो कुरा होइन । उनले उपरोक्त अभिव्यक्ति सन २०१४ को जुन महिनामा टेक्ससमा भएको एउटा साहित्य गोष्ठीमा प्रस्तूत गरेका थिए । उनले त्यति बेला भनेका थिए, “संसार जब सांसारिक कुरामा रमाइरहेको हुन्छ, साहित्यकार एउटा अँध्यारो कोठामा अरुको लागि उज्यालो खोजिरहेको हुन्छ । विचार र सिध्दान्तहरूलाई विवेकको चाल्नुले छानिरहेको हुन्छ । आफू र आफ्ना रचनाहरू मार्फत ‘विनित’ (यो शब्दलाई उनी ध्यानाकर्षण गराउँदछन) भएर जीवनका नसुल्झिएका प्रश्नहरूको जवाफ खोजिरहेको हुन्छ । महिनौँ रुन्छ ऊ र समाजलाई मुस्कान र खुशीका निँव वर्षाउँछ । वर्षौँ रुन्छ र जीवनलाई उत्सव बनाउने सुत्रहरू समाजलाई टक्र्याउँछ ।”

त्यसै भएर प्रतीकका कविताहरूमा जीवन हुन्छ, प्रेमले छुन्छ, दर्शन छाउँछ, राजनैतिक बिद्रोह देखिन्छ; यथार्थले पिरोल्छ, पकृतिको पीडा बोलिन्छ ।
एउटा कवितामा उनी पूरै दार्शनिक भएर झुलकन्छन त अर्कोमा नीराशा भरिएको झझल्को पनि दिन चुक्तैनन । उनका अभिव्यक्ति केलाउने हो भने उनी भित्र कति धेरै पीडा भरिएको होला ! भन्ने अनुमान लगाउन अगि सर्न मन लाग्छ । उनी भन्छन,”यति पीर परोस मलाई कि, पीर थाकोस म नथाकुँ ।” यसको वावजुद, पूरै विपरित ध्रुवमा गएर झ्यालको चौकोसलाई जीवन्त बनाउँदै कविता कोर्न पछि पर्दैनन् । त्यस्ता आभास दिने केही कविताहरूको सानो झलक यहाँ प्रस्तूत गर्न चाहन्छु ।

उनको दार्शनिक पक्ष झल्काउने कविता ‘काल’मा उनी प्रश्न गर्छनः
“म जन्मिँदा मसँगसँगै जन्मिएको
मेरो साथ जीवनभर हिँडिरहेको
मेरो काल छ मसँग बाँचिरहेको
म गएपछि त्यो कहाँ जान्छ होला
म मरेपछि कठै एक्लिन्छ होला……
यो कस्तो नाता हो दुई बाँधिएको ?
मेरो काल छ मसँग बाँचिरहेको”

उनको ‘चराको ब्यथा’ कविता पनि खुबै चर्चित मध्ये एक हो; जसमा उनी वातावरण बिनासमा कटिबध्द भएका मानव समूहलाई चराको मार्फत ब्यँग्य गर्दै लेख्छनः

“राति हुचीलले तर्साउँछ
दिनमा मान्छेहरूले
यो कस्तो रुप धरे
अचेल मान्छेहरूले ? ……..
अब त धान खान पनि
देश चहार्नु पर्छ
कठै घर रोपेका खेतमा
गरिब मान्छेहरूले । यो कस्तो रुप धरे अचेल मान्छेहरूले ?”
उनी रोमान्टिक कविता लेख्न पनि कम खप्पिस छैनन । उनले थूप्रै प्रेमका गीतहरू पनि लेखेका छन । ती मध्दे एउटा गीत ‘दुई पँक्षी थिए’लाई भारतीय गायिका सुचेता रोयले आवाज समेत दिएकी छिन र त्यो गीत उनको Reminiscence नामक आधुनिक गीत सँग्रहको एल्बममा सार्वजनिक भएको छ ।

ती सबैको वावजुद उनको उक्त कविता प्रेमी हृदयहरूलाई झँकृत बनाउन कनै कसर बाँकी राख्दैन भन्न हिचकिचाउनु पर्दैन । यसको प्रमाण उनको ‘पवन र रेसमी पर्दा’ शीर्षकको कवितामा देख्न पाइन्छ । जुन कविताले कुनै युवा हृदयको प्रणयभाव बोलेको प्रतित हुन्छभन्दा अन्यथा नठहरिएला । उक्त कवितामा कवि प्रणय र प्रेममा यति धेरै बहेका देखिन्छन कि, उनले नीर्जीव काठको चौकोससँग ‘रोमान्स’ प्रदर्शन गर्न भ्याएका छन । उनी सो कवितामा यसरी बग्छनः

“कोठामा छु म, छ एउटा झ्याल……..
र त्यसमा टाँगिएको छ रेसमी रँगीन पर्दा
झ्यालमा झुन्डिएको त्यो पर्दा अहिले वशन्तको वताससँग जिस्किँदैछे
र इत्रिदैँछै मसँग पनि; र सोध्छे, खै तेरो प्रेयसी ?
त्यतिनैखेर संसारभरिको प्रदेश चहारेर आएको हावा वेगले ठोक्किन्छ पर्दासँग
पर्दा हुत्त माथि पुग्छे, झरिदिन्छे र छुन दिन्छे हावालाई
उसले चाहेको कुरामा ऊ ठोक्किन
र बिस्तारै ओर्लिन्छे र छुन पुग्छे झ्यालको चौकोसलाई
चौकोस काउकुति लागेर एउटै डल्लो पर्छ
पर्दा चालै पाउँदिन……
त्यही मौका हावा हुटहुटिन्छ र वतासिन्छ…….
खेल जारिरहला पवन र पर्दाको…….
र मौका छोपेर म पर्दालाई सोध्छु खोइ तेरो हावा ?”

कवि आफूले लेखेका र लेख्ने कविता वारे भन्छन, “जुन बेलामा जे कुराले ‘हिट’ गर्छ त्यो बेला त्यही कुरा लेख्ने हो ।” यस बारेमा अँझै प्रष्ट पार्दै भन्छन, “उसले विभेद सहँदैन । उसले कसैको चित्त दुखाउँदैन । उसले अत्याचारको बिरोध गर्छ । उसले सामन्जस्यको कुरा गर्छ । उसले प्रेमको मात्रै कुरा गर्छ । उसको आफ्नै साम्राज्य हुन्छ । उसको आफ्नै दर्शन हुन्छ । Beyond all the Philosophy उसको आफ्नै Philosophy हुन्छ/हुनुपर्छ ।” ( जुन २०१४ को टेक्ससको साहित्य गोष्ठीमा दिएको उद्गार )
देशको स्थिति देखि नीराश हुँदै उनी आफ्नो कविता ‘श्रापित काल’मा लेख्छनः

“परिवारले काढेको ऋण तिर्न
अब पर्दैन जानु छिमेकीको खोपीमा,
घरकै प्रहरीको सुरक्षा घेराभित्र
कुलीन कहलाइनेहरूको बाहुपाशमा
किचीमिची हुन पाउँछन्
फूलजस्ता कलिला बालाहरूले………
अनिकालमा ज्यान जोगाउन
परदेश पसेको लामो लस्करबाट
केही लाशहरू डिब्बाबन्द
प्रत्येक दिन नबिराइकन फर्किन्छन् स्वदेश ।
बन्द छ न्यायको मार्ग,
मासिँदैछन अँगालो थापेका न्याना बस्तीहरू एक पछि अर्को,
छानीछानी उडाउँदैछ मायाको पूल अराजकताको आँधीले,
निर्धाहरू झन्झन् त्रासको दहमा डुब्दैछन्…….”

गीतकार प्रतीकको शब्दहरूले बिदेशीने नेपालीहरूको पीडा पनि उसै गरी समेटेको छ । त्यसको उदाहरण सन २०००मा तीन वटा बिधामा ‘हिट्स एफएम एवार्ड’बाट सम्मानित हुन सफल गीत, जसलाई दिप श्रेष्ठले गाएका छन, “हररात सपनीमा ऐँठन हुँदा गाउँमा पैह्रो गयो कि?”ले पनि प्रमाणित गर्दछ ।
ती बाहेक उनका थूप्रै गीतहरू विविध विषयलाई लिएर लेखिएको छ ।

साहित्यको साधनालाई आफ्नो जीवनको ध्येय बनाउन लालायित कविको शब्दमा साहित्य र साहित्यकार बिचको सम्बन्ध प्रकृति र पृथ्वीको जस्तै हुनुपर्दछ; या भनौँ प्रकृति र अन्तरिक्षको जस्तै हुनुपर्दछ । उनी भन्छन, “यी दुवैको सम्बन्धमा प्रेम भएन भने, इमानदारी भएन भने, मर्यादा भएन भने, आस्था रहेन भने र जिम्मेवारी बोध भएन भने यो अन्तरिक्ष, यो धर्तीको अस्तित्व रहिरहला ?”
उनी भन्छन, ‘साहित्य’ ‘वाद’ होइन ।
उनी लेखछन,”, मलाई मन छ म भएको कसैलाई थाहै नहोस्
मलाई मन छ म गएको पनि कसैलाई थाहै नहोस्
म चाहन्छु हुन निर्मल पानीको थोपा
जुन थोपाको मात्रै महत्व छैन
म चाहन्छु बन्न शीतल हावाको झोँक्का
जुन झोँक्काको मात्रै मूल्य छैन
मलाई मन छ म भएको कसैलाई थाहै नहोस्
मलाई मन छ म गएको पनि कसैलाई थाहै नहोस् ।
म चाहन्छु हुन यस्तो रुखको पात
जुन पात कसैले देखेको छैन
म चाहन्छु बन्न त्यस्तो प्राचीन कला
जुन आज कसैले सम्झेको छैन
मलाई मन छ म भएको कसैलाई थाहै नहोस्
मलाई मन छ म गएको पनि कसैलाई थाहै नहोस् ।”

त्यति धेरै जीवन र दर्शनका कुरा गर्ने कविका माथि उल्लेखित कविताका हरफहरूलाई ‘नैराश्यता’ मान्ने कि जीवन ?

अन्त्यमा, यो आशाका साथ लेखको बिट मार्न चाहन्छु, उनका कविताहरूको सँग्रह नेपालीमा चाँडै प्रकाशित होओस ! चाहे त्यो कवि आफैँले गरुन या अरु कसैले, ती सबै कविताहरू एकै ठाउँमा सँग्रहित भएमा भोलिका दिनहरूमा नेपाली कविताको पुस्तकहरूमा एउटा गहकीलो कृति थपिने कुरामा दुईमत हुन सक्तैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *