उमङ्ग-मनको चञ्चल मुसकान
पर्छ दमनमा किन ?
लाल रँङको पावन-पल्लव
मर्छ जगतमा किन ?
स्वतन्त्रताको पङ्ख उडेको
आकाश-मनको पारावार
छेउछाउमै शिकारी बस्छन्
मृग-नयन ती चङ्ख पार् !
वसन्तका ती पुष्प-लताको
सपनालाई झर्न न दे
जतिखेर ब्यूँझिस् त्यही बिहानी
जागृतिलाई मर्न न दे !
शीतका थोपा टल्किन पाऊन्
जीवन-ज्योति जगमग होस्
फूलहरूको खुल्ला बास्ना
स्वतन्त्रताले मगमग होस् !
उड्न खोज्ने प्यारो पन्छी
आतङ्कित वा भयभित नहोस्
कापुरुषका नपुङ्षकताको
छेउछाउमा भीँड नहोस्!
उठ् उठ् पन्छी ‘निर्भयता’को
स्वर टिपेर गर्जिने गर्
किच्चकवादी कौरवहरूको
मर्मस्थलमा बज्रिने गर् !
विद्रोहभावको बाढी आइज
आँधी बोला चेतनको
धर्ती होस् तँ खास भने
धक्का दे भू-कम्पको !
कुना पसेर नरो नरो !
कुना पसेर नरो नरो !
:नरेन्द्र पराशर
http://narendraparasar.blogspot.co.uk/2013/01/blog-post_37.html
