Skip to content


सरलभाव अभाव कतै नहोस्
तरलभाव बहाव सधैँ बहोस्
विकल-बाल भनेर कृपा गर
प्रकृति हे, कविमा कविता भर… !

सकल सत्य सुधामय छल्कियोस्
रसिकको मन नै अनि पल्कियोस्
विगत-आगतमा सविता भर
प्रकृति हे, कविमा कविता भर… !

सदनका, मनका र समाजका
गगनका, वन-का-ननका कथा
विमलता जल-ताल-लता छर
प्रकृति हे, कविमा कविता भर… !

कमल-को-मलता कविमा भर
हृदयमा झरनामयता झर
नजरमा मधु-सागर नै भर
प्रकृति हे, कविमा कविता भर… !

नरेन्द्र पराशर
http://narendraparasar.blogspot.co.uk/2013/01/blog-post_8845.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *