Skip to content

कुरुक्षेत्रमा पराशर


युद्ध टार्नका लागि
सम्पूर्ण कुटनैतिक प्रयासहरू
विफल भएपछि
पराशरले धृतराष्ट्रलाई भने-
‘राजन्, आँखा खोलिबक्स्योस्…..!’
दुर्योधन र दुसाशनलाई भने-
‘राजकुमार, युद्ध हो, हार्नुहुन्छ कि ?’
शकुनीलाई भने-
‘अतिथि राजकुमार, तपाई केही दिन मौन बसिदिनुहोस्…’
तर पराशरले
कठोर जवाफ पाए
‘मुनिवर, तपाई आफ्नो सन्यास सपार्नुहोस्
राजनीतिमा चासो नदिनुहोस्….!’

शान्तिको अजस्र कामना गर्दै
पराशरले युधिष्ठिरछेउ पुगेर भने-
‘अजातशत्रु हे धर्मराज,
बरु जुवाकै खालमा जानुहोस्
युद्ध-मैदानमा नजानुहोस्…!’

अर्जुनलाई भने
‘हे विशालबाहु,
तिमीले जिते वा हारे पनि
कुनै हालतमा स्वर्ग पाउन्नौ…’

तर पराशरले जवाफ पाए
‘हे ऋषिश्रिङ्ग पराशर,
यो न्याय-अन्यायको यक्ष-प्रश्न हो
तपाई शान्त रहनुहोस्…!’

अन्तिममा,
बलियो आशा लिएर पराशर
श्रीक्रिष्णकहाँ पुगेर भने
‘हे केशव,
यो महाविनास कुनै लीला गरेर टारिदिनुहोस्…..’
अनि
भगवान् श्रीक्रिष्णले मुसुमुसु हाँसेर भने-
‘हे महर्षि पराशर,
परिस्थिति मेरो काबुभन्दा
बाहिर गैसकेको छ…!’

अवाक्… !
महाध्वंसको छर्लङ्ग परिणाम देखेर
निकै बेरसम्म टोल्हाइरहे पराशर
कसरी रोकिनु सर्वद्रष्टाका आँखाबाट
कोमल आँशुहरू
कुरुक्षेत्रमा रगतका फाल्सा….
वीर र
विद्वानका लाश हेर्नुभन्दा
कालीगण्डकीमा पानीका फोका हेर्नु उत्तम…
अनि हान्निए पराशर
सीधै उत्तरतिर…..!!!

: नरेन्द्र पराशर

Leave a Reply

Your email address will not be published. Required fields are marked *