बुद्धिमान मानिसले अरूका अनुभवबाट सिक्छ । अब यो पुस्तक पढ्ने जोकसैलाई विजय कुमारका जीवनबाट सिकेर आफ्नो जीवनलाई सार्थक बनाउने अवसर मिल्नेछ। आफूलाई प्रगतिपथमा लगाउन चाहने प्रत्येक मध्यम वर्गीय मानिसको भगीरथ प्रयत्नको एउटा भरपर्दो दस्तावेज हो यो ।
……….विजय कुमारको पुस्तकलाई आत्मसात गर्नेले यतिका अनुभव गर्न प्रौढावस्थामा प्रवेश गर्नै पर्दैन। युवावस्थामै आफूलाई चिनेर व्यवहार गर्न सक्छन्। अतः यो युवाहरूका निम्ति एउटा पथप्रदर्शक हो। अत्यधिक मदिरासेवन धेरै व्यक्तिका जीवन बर्बाद भएका छन्। तिनले अब केही गर्नै पर्दैन। बजार जाने, विजय कुमारको किताब किन्ने, पढ्ने र मसक्क उनले जस्तै आँट गरेर अघि बढ्ने। बाँकी जीवन फेरि सुखसँग बित्नेछ ।- सेतोपाटी डट कममा पत्रकार गुणराज लुइँटेल ’किन पढ्नुपर्छ विजयकुमारको खुसी’ शीर्षकमा
मैले पनि एकथान खुशी बोकेर हिँडेपछि त्यसलाई सुम्सुम्याएँ। मानौं मभित्रको खुशीको एउटा पुलिन्दा यसमा छ। म जतिसक्दो चाँडो यसलाई पढ्न चाहन्थेँ। दुई दिनमै सिध्याएँ पनि। यो यस्तो पुस्तक हो जसलाई तपाईंले पढ्न थालेपछि बिसाउन मन लाग्दैन। प्रत्येक वाक्य अर्थपूर्ण छन्। र, उत्सुकताले निरन्तर पाठकलाई तानिरहन्छ। बरु यी पंक्तिहरू लेख्न मैले ढिलो गरिरहेको छु। कारण, म सकेसम्म मानिसहरूलाई प्रभाव पर्ने गरी यो किताबको बारेमा बताउन चाहन्छु। मेरो आग्रह छ सबैले यो जीवनोपयोगी पुस्तक पढून्। सेतोपाटी डट कममा पत्रकार गुणराज लुइँटेलको ’किन पढ्नुपर्छ विजयकुमारको खुसी’ शीर्षकमा ’खुसी’ पुस्तकको समिक्षा पढेपछि यो सम्पूर्ण रोगको अचूक दवा नै रहेछ जस्तो भान भएको थियो । र ढीलो चाँडो हात पर्यो, पढेर सिध्द्याइयो पनि ।
जुन पुस्तकको चर्चा केही ’आफन्त- पत्रकार’ हरुको जमातले समिक्षा मार्फत सगरमाथाको शिरमा पुर्याउने उद्देश्यले गरेको थियो, त्यो पुस्तकको पानाहरु पल्टाउँदा कतै कतै त आफ्नै शिर सरमले झुकाउनु पर्ने जस्तो महसुस भयो् | हुनत, पुस्तकको समीक्षा बारेमा धेरै पुरुष समिक्षकहरुले फूलबुट्टा भरिसक्नुभएको छ | त्यस्तो किताबलाई बुझ्न नसक्नुमा आफ्नै बौध्दिक स्तर कम होला ? तर त्यसको वावजुद महिलाका बारेमा प्रयोग गरिएका बाक्यहरु, सेक्सका कुरा बारे चर्चा गर्दा बिना प्रसँग नाम उल्लेख गरिएका महिला ब्यक्तित्वहरु, उनीहरुको लागि प्रयोग गरिएका अनादरयुक्त शब्दहरु देख्दा सो पुस्तक पत्रकारिता जगतमा २७ बर्ष बिताएका एक प्रौढ र जिम्मेवार स्थापित ब्यक्तिले नै लेखेका हुन भनेर आफैँसँग प्रश्न गर्न समेत पछि परिएन ।
उदाहरणको लागि, उनले पुस्तकमा कुनैबेलाका एकदमै लोकप्रिय नेता तथा औसत नेपालीले सर्वमान्यको रुपमा स्थापित गरेका कृष्ण प्रसाद भट्टराईको बारेमा लेखेका एउटा भनाई यहाँ उध्दृत गर्न चाहन्छु्- उनले कृष्ण प्रसाद भट्टराईको बारेमा धेरै सकारात्मक कुराहरु लेखेका छन । तर सेक्स बारे कुराकानी गर्दा भट्टराईले भनेको भनेर उनी लेख्छन, ’हेर्नुस बाबु, जवानीमा धेरै मोज गरियो तर आजभोलि खाटबाट उठ्न पनि सहारा चाहिन्छ । जो मानिस खुदै खडा हुन सक्तैन, उसको(यति अभद्र बाक्यको जरुरत कति पर्दछ होला) कसरी खडा होला ? यति पनि सोच्न नसक्ने पत्रकार छन् समाज छ | (पृष्ठ २१७) भट्टराईले यसो भने या भनेनन् भनेर सोध्न उनी जीवित छैनन् । यदि भनेकै भए पनि अनौपचारिक रुपमा भएको कुराकानीलाई सार्वजनिक गरेर अर्काको चरित्र हत्या गर्न हुने कि नहुने ? उक्त बाक्य पढे पछि किसुनजीको मान गरिएको हो कि, अपममान ? यो पँक्तिकारको दिमागले खोट्याउन सकेन ।
महिलाका बारेमा त जहाँ जे मन लाग्यो त्यही जोडिएको छ | आफू यौनको कुरामा आशक्त नभएको भनेर धेरै स्थानमा उल्लेख गर्ने ब्यक्तिको आन्तरिक स्वभाव भने कुनै महिला देख्ने बित्तिकै पहिलो नजर ती महिलाको शरीर नियाल्न मै ब्यस्त रहने रहेछ, त्यसका त बग्रेल्ती उदाहरण पाइन्छन | पहिलो उदाहरण, उनी मसौटमा हुँदा उनको हाकिमसँग बसेर रक्सी पिउने, अश्लील गफमा रमाइलो मान्ने गर्थे रे | तर त्यसै सन्दर्भमा हाकिमकी श्रीमतीको शरीर नियालेर बसेका रहेछन | त्यसैले त बिना प्रसँग उनी हाकिमकी श्रीमतीको बारेमा लेख्छन,चौपट्टाको जँगलमा भेटिएकी सोझी र छरिती। काठमाडौँ आएपछि चतुर र मोटी भइन | अभिनेता राजेश हमालका नजरमा समेत ’सेक्सी महिला नेतृ दरिइन’ (पृष्ठ २७)
अर्की महिला नेत्री सुजाता कोइरालाको शरीर माथि पनि उनको नजरले अवलोकन गर्न भ्याएको रहेछ | त्यो पनि विना जुन सन्दर्भमा लेखिएको छ, त्यसको कुनै औचित्य देखिँदैन | उनको छोरीको पहिलो जन्मदिनमा आएका पाहुनाहरुको फेहरिस्त दिँदै उनी सुजाताको प्रसँग यसरी जोड्छन-मङ्गला भाउजु, गणेशमानजी र किसुनजी आएको सम्झन्छु् | जर्मनीबाट भर्खरै आएकी सुजाता कोइराला ती दिनमा बडो स्लिम र स्मार्ट देखिन्थिन | (पृष्ठ ३०२)
महिलाका बारेमा लेखिएका अन्य बाक्यहरु,रातो गाउनभित्र ब्रा नलगाई मस्त हल्लिएर हिँड्ने विदेशी भक्तिनीको चक्षुस्वाद लिन मलाई धेरै कुर्न परेन | (पृष्ठ २९४)
छिः मोरी कस्ती उत्ताउली भन्दै रिमोट थिचेर च्यानल चेन्ज गर्नु अगाडि नै उसका गौरीशङ्कर मनभित्र पसिसकेका हुन्छन् । प्लाष्टिक सर्जनले नजाने के के कोचेर छातीका उभारलाई त्यत्रो बडेमान बनाएको छ, थाहा नपाउँदै मानिस उत्तेजित भइसक्छ (पृष्ठ १८५) ।
सञ्चार क्षेत्रमा लागेकी एक महिलालाई नियमित शारीरिक सेवा दिने एक उद्दयोगपति धाकयुक्त हाँसोसाथ भन्थे-नेपालका गहन समस्याबारे बोल्दा मैयाँको पोज टेलिभिजनको पर्दामा कस्तो सिरियस देखिन्छ है ! तर मैले त्यसलाई जुनजुन आसनमा देख्छु, त्यसको तिमीहरु कल्पना पनि गर्न सक्दैनौ ।
आसनवाली मैयाबारे बताएको केही सातापछि मेरो धनाढ्य मित्रले नयाँ खबर ल्यायो- ’त्यो छे नि, एनजिओवाली, सेमिनारहरुमा बडा सिरियसली बोल्नेवाली, हो त्यसलाई भकुन्डो सङ्घको एक जनाले क्या मच्चाएर-मच्चाएर खितखित गराएर हसाउँन सक्छ भकुन्डोवालसँग एकान्त हुँदा त्यो सिरियस मैया क्या खितिखित खितिखिति । यती भनेर उ भद्दा हाँसो हाँस्यो’ (पृष्ठ १७४)
उनी आफू यौनप्रति खासै आशक्त नभएको बताउँछन तर यस्तो लेख्छन, त्यति खुसी त म ती बर्डहरुमा पनि भइनँ जब म सुन्दरतम महिलाहरुसँग अभिसारमा मस्त थिएँ । (पृष्ठ ३१६)
समाजमा स्थापित ब्यक्तित्वले लेखेका यस्ता बाक्यहरु, त्यो पनि दोश्रो, तेश्रो श्रोतले भनेको भनेर किताबमा उल्लेख भएको देख्दा उल्लेख गर्ने ब्यक्तिको बौध्दिक स्तर माथि दया भरिएर आएको मात्रै होइन, आफ्नै शिर निहुरीयो ।
तर अर्को नेपालकी एक चर्चित महिलाले किताब राम्रो भएकोले पढ्नु पर्ने सल्लाह दिएको कतै देख्दा अचम्म पनि लाग्यो | र यदि महिलाका बारेमा ’रे’ का भरमा भनिएका यस्ता त्यस्ता कुराहरुको बिरोध गर्नुको साटो त्यस्ता कुराहरुलाई नै प्रश्रय दिइन्छ भने के को महिला हक र हितको लागि जीवन समर्पण गरेको छु भनेर गुड्डी हाँक्नु ? के बिदेश या स्वदेशमा हुने भाषण, सेमिनार र कन्फरेन्समा ’महिला अधिकार’ को बारेमा बोल्नु मात्रै ’महिला अधिकार’ हो ?
त्यस्ता कुराहरुको फेहरिस्त उतार्ने हो भने पत्रिकाको पाना नै भरिन्छ । यो बिषयलाई यहाँ छाड्न चाहन्छु् । अर्को प्रसङ्ग पैसाको छ – नेपालका ठूला गनिने सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको केही बर्षमै कसरी भब्य महल ठडिने, गाडि र अन्य सम्पत्ति जोडिने गर्दो रहेछ भन्ने कुराको उदाहरण पनि उक्त पुस्तकमा पाइन्छ ।
किताबमा लेखकले उल्लेख गरे अनुसार उनले राधेश्याम सर्राफसँग अमेरिकामा क्याफे खोल्न एक लाख डलर माग्दा, सर्राफले एकै बचनमा हुन्छ भनेका थिए रे ! (भला, उनले आफ्नो योजनालाई कार्यान्वयन गर्ने बिचार त्यागेकोले लिएनछन) ।
नीर शाहले माग्दै नमागी विवाहको खर्चको लागि एक लाख रुपैँया दिएका थिए रे । (त्यो केही बर्ष पछि तिरे रे ।) उपेन्द्र महतोले लेखकले किताब लेख्छु, एक बर्षको घर खर्च चलाउन मद्दत गरु भनेर माग्दा यत्तिकै उनको एक बर्षको घर खर्च चलाई दिएका रे ! अरु कोसँग पनि बीस हजार रुपैयाँ मागेको रे, पछि तिर्न जाँदा लिएनन रे ।
अँ, बिनोद चौधरीसँग एक लाख रुपैयाँ माग्दा नदिएकोमा चाँहि धेरै गुनासो रहेछ । आफ्नो विवाह खर्च नभएर पैसा माग्न जाँदा चौधरीले दिन्नु पनि भनेका रहेनछन्, केवल, के को लागि कति खर्च लाग्छ भनेर हिसाब निकाल्न खोजेका रहेछन । तर त्यत्तिकैमा लेखकलाई चित्त नबुझेर ’मन दुखाइ’ हिँडेका रहेछन । त्यो कुरालाई उनले एक ठाउँमा यसो भनेका छन, अहिले फर्किएर हेर्दा प्रष्ट देख्छु, दोष विनोदको थिइन, दोष उसका प्रति मेरा अतिसयोक्तिपूर्ण आशंकाहरुको थियो । आफ्नो मूर्खता देख्ने बित्तिकै विनोद चौधरीका प्रति मेरो मनमा कुनै मैलो बाँकी रहेन (पृष्ठ १४१) तर सोही प्रसँगमा लगत्तै लेखको कलम चल्छ, समयले घाउ पुर्दै जाँदोरहेछ तर खत बाँकी नै रहन्छ ।
पैसाको बारेमा गरिएका उपरोक्त बर्णनहरुले दुईवटा प्रश्न जन्माउँछ पहिलो, स्थापित सञ्चार माध्यममा काम गर्ने पत्रकारहरुले जोसँग, जेको लागि पनि पैसा माग्न सक्ने रहेछन त ?
अर्को प्रश्न, आफूलाई खुबै स्वाभिमानी भन्न रुचाउने पत्रकारले पनि पैसा मागेर जीविका चलाउने कार्यलाई स्वाभिमान कै दर्जा भित्र राख्ने रहेछ ?
पुस्तकमा भएका विवादास्पद कुराहरु त कति छन कति । किताबबारे पाठकले सत्यता, पेशागत ब्यालेन्स, लेखकले तत्कालीन समयलाई कसरी प्रतिनिधित्व गरेका छन भन्ने कुराको मूल्याङ्कन, शब्दहरुको चयन, बाक्य निर्माण कला, लेखकले दिन खोजेको सन्देश, मूल्य मान्यता आदि खोज्नु कुनै नौलो कुरो होइन ।
तर उनले पुस्तकमा वर्णन गरेका धेरै कुराहरुको सत्य तथ्यको निर्क्यौल गर्ने माध्यम वा श्रोत के त ? उनले जे भन्यो पाठकले त्यसैलाई आँखा चिम्लेर पत्याउनु पर्ने ?
जस्तै, दोश्रो जनआन्दोलनको दबाब बढ्दै गएपछि राजाले किसुनजीलाई प्रधानमन्त्री बनाउन खोज्दा लेखकले किसुनजीलाई फोन गरेर यसो भने रे, ’आजसम्म मैले तपाईंलाई कुनै राजनीतिक सल्लाह दिइन,आज धृष्टता गर्न चाहन्छु् । यो बखत प्रधानमन्त्री पद खानुभयो भने तपाईंको इतिहासमा धब्बा लाग्नेछ’ । बरु राजालाई पनि सम्झाउनुस, होइन भने नो, नो एन्ड नो टु द पोष्ट अफ पिएम ।
आई गट योर प्वाइन्ट, विजय बाबु ।
राजा बीरेन्द्र, रानी ऐश्वर्य, ज्ञानेन्द्र, नेताहरु को को हो को कोलाई सल्लाह दिएको र सबैले सल्लाह माग्ने गरेका कुरा त च्याप्टर नै पिच्छे छन् भन्दा पनि फरक नपर्ला । त्यस बाहेक शक्तिशाली देशका राजदूतहरुसँगको निकटतम सम्बन्ध, वन टु वन डिनर पार्टी, उनीहरुसँग हुने गरेका राजनीतिक सल्लाह, उनीहरुलाई दिने गरेका उपदेश आदि पढ्दै जाँदा पाठकले उनी देशका एक शक्तिशाली व्यक्तित्व रहेछन भनेर राम्रै भ्रमको सृजना गर्न सक्षम भएका छन तर अर्कोतर्फ, किनकी, उनकै भनाईमा, उनी ज्यादै सक्षम ब्यक्तित्व त्यसैले कान्तिपुरले पनि उनलाई स्टाटस सिम्बलको रुपमा राखेको भनेर विनोद ज्ञवालीको भनाई भन्दै राखेका छन । जस्तो, तिमीजस्तो सञ्चारकर्मीलाई कैलाशले स्टाटस सिम्बलका निम्ति पनि हाउसभित्र राखिरहेको हुन्छ तिमीजस्ता पत्रकार आफूसित हुनु भनेको बगैँचाको साइज ठूलो गराउनु हो (पृष्ठ १९३) ।
समकालीन पत्रकारहरुको बारेमा उनको दम्भ यसरी पोखिन्छ, झुटो विनम्रताको आवरण छाडेर भन्ने हो भने मैले आफ्ना परिचित समकालीनहरुमा कुनै यस्तो पत्रकार देखिनँ जसको मलाई ईर्ष्या गर्नुपरोस् । न टेलिभिजनमा न त छापामा कोही राम्रो लेख्थे, तर मानिसका रुपमा असल थिएनन् । कोही असल थिए तर राम्रो लेख्दैनथे त्यसैले इर्ष्या लागेन तर यहाँनिर उनले के बिर्सिएछन भने उनको पत्रकारिताको सुरुआत योग्यताले नभइ मामाको साथीको सहयोगले सुरु भएको थियोर पछि पनि पटक पटक नेपाल टेलिभिजनमा कार्यक्रम प्रसारण गर्न दरवारका तत्कालीन हस्तीहरु तारा बहादुर थापा, चिरन थापा, पशुपतिभक्त महर्जन आदिको सहारा लिएका थिए । यसै सिलसिलामा बिक्रम सम्वत २०४६ सालको जन-आन्दोलनको घोषणा हुने दिन कसरी उनी दरवारको सोर्स लगाएर नेपाल टेलिभिजनका समाचार प्रमुख दुर्गानाथ शर्मालाई उछिनेर त्यो दिन दरवार पुगे भन्ने कुराहरु फरक-फरक प्रसँगमा किताब मै उल्लेख छ ।
पुस्तकमा कति सत्य तथ्य भरिएका छन भन्ने कुरा त जस-जसका बारेमा लेखिएका छन उनीहरुलाई नै थाहा होला तर हामी सबैलाई थाहा भएको कुरो नारायण गोपालको मृत्यु २०४७ सालमै भएको हो। तर २०४८ साल मंसिरमा भएको उनकोको विवाह भोजमा ”नारान दाइ र पेमला भाउजू त छुट्ने कुरै भएन” भनेर स्वर्गीय ब्यक्तिलाई समेत ब्युँताइदिएका छन ।
त्यस्तै आफूले गरेका राम्रा कामहरुको फेहरिस्त बताउँदै गर्दा कतिपय ठाउँमा धोती फुस्किएको पनि थाहा पाउँदैनन् ।
उनी रिम्पोचेको सहयोगले आफूमा रहेको अभिमानु हराएको, आफ्नो स्वभाव बदलिएको भनेर पानै पिच्छै बयान गर्छन अनि ’जाँदा-जाँदै’ शीर्षकमा लेख्छन, पाण्डुलिपि पढेपछि अजित बरालका एक-दुई कमेन्ट सुन्दा उनको टाउको फोरिदिउँ जस्तै रिस उठेको थियो । कति तारिफ गरौँ नपढी नहुने ’अचूक दवा’को रुपमा बजारमा आएको किताब को ?
तर एउटा ’एलिट’ले आफ्नो घमण्डको बखान गर्न लेखेको पुस्तक त्यस्तै वर्गका अन्य सदस्यहरुको लागि पनि बहु-उपयोगी हुने हुँदा यस्को प्रसंशा र प्रबर्ध्दन हुनु स्वभाविक नै होला । तर जो कोही आफूलाई महिला हक र हितको लागि कार्यरत छु वा उनीहरुको लागि लड्छु भन्ने दावी गर्छ उहाँहरुले महिलाका बारेमा लेखिएका अपमानजनक कुराहरुको बिरोध जनाउनु हुनेछ होला भन्ने आशा गर्दछु ।
