Skip to content

यो कथा मेरो आफ्नै खलोको कथा हो



( आन्दोलनमा हराएकाहरूको सम्झनामा – आमाको वेदना )
अक्षरहरू टेकेर पन्नाको धर्तीमा
कलम कोर्दैछु डोवहरूको
अन्न्यायाका खाटाहरूले पिरोल्छ
मेटिएन त्यो तृष्णा न्यायको

अँझै भोक पस्कदै छु
मायाँ त निर्जीव भै सक्यो
खोइ किन हो मायाँ भएत आउनु पर्ने हो
रुँदा आँशु आउदैन आजकल
निस्पट्ट अन्धकारहरुमा
चुकुल खोलेर आग्लो उघारें
फर्किएन खोइ फर्किएन

यो कथा बिरहको हो यो कथा मुटुको हो
यो कथा मेरो आफ्नै माटोको हो
यो कथा मेरो आफ्नै बारीको हो
विचार नमिलेर रगत फाटेको कथा हो
यो कथा मेरो आफ्नै खलोको कथा हो
बा हराउदा छोरो खोज्न गएको कथा हो
छोरो हराउदा बा खोज्न गएको कथा हो
यो शुन्यताको कथा हो

बिचारको खेतीमा तर्क नभएर
तरबार रेटिएको कथा हो
मान्छेको मान्छेसँग यातना र बन्दुक बोलेको कथा हो
खोइ त आभास ऊ भएको नभएको
लाम्टाहरू सुकेर आँशु सगै
अब क्षितिज मात्र देखिन्छ
आँगन आकाश शुन्य भो
पर्खिएर हेरें
म अलमल्ल भएँ
अब त मेरो आँशु सुकी सक्यो
अब त मेरो विस्वास मरी सक्यो

इन्क्लावमा उठेका हातहरू
पडक्क भाँचिए
कलमहरू थिए पन्ना भर्ने ती पनि मासिए
चौबन्दी नै कस्न नपाइ कति अबलाहरू नासिए
घरमा सल्लाह हुदै थियो अर्को साल
गुन्यु चोलो दिने भनेर

मान्छे राक्षस भयो
त्यहाँ पनि भनियो बिचार मिलेन
बिन्ती छ अब कतै हुन्छ भने
कसैको छोरो नहराओस
बाबु कसैको परदेश नलागोस्
अबलाको चित्कार कसैको स्वाद नबनोस
रुँदा आँशु आउदैन आजकल
रगत धेरै बगी सक्यो !!
—————–
( आन्दोलनमा हराएकाहरूको सम्झनामा )

प्रथम पटक प्रकाशित – 2014-11-28 06:52:33 +0545

Leave a Reply

Your email address will not be published. Required fields are marked *