बुद्ध एउटा गाउँमा वास बस्न आइरहेका थिए । उक्त गाउँमा एउटा गरीव शुध्रले बुद्ध आएका थाहा पाएर विहान झिसमिसेमै बुद्धलाई खोज्न आए र बुद्धलाई देख्ने वित्तिक्कै आफ्नो छाप्रोमा खाना खान बोलाए । शुध्रले बुद्धलाई उक्त गाउँमा आएका देख्ने वित्तिक्कै निमन्त्रणा गरेका थिए ता कि अरु सम्पन्नहरूले बोलाउँदा अलि ढिलो भएपछि पनि बुद्ध उतै जालान् भनेर बुद्धलाई पछ्याइरहे । बुद्धले उक्त गरिब शुध्रलाई “तपाईंकहाँ जसरी पनि भोलि आउँछु” भनेर वचन दिए । बुद्धलाई त्यहाँका वासिन्दाहरूले देख्ने वित्तिक्कै धेरैले भोलिको खानाका लागि निमन्त्रणा दिए । बुद्धले त्यो दिन उपवास छ भनेर सबैलाई बताइदिए ।
भोलिपल्ट बुद्ध उक्त शुध्रको छाप्रोमा गए । शुध्रलाई विश्वासै लागेको थिएन कि बुद्ध आउलान् भनेर किनकि धेरैधेरै धनीहरूले उसकै अगाडि निमन्त्रणा दिएर गएका थिए । तर बुद्धले उक्त शुध्रकहाँ नै जाने प्रण गरिसकेका थिए अनि त्यहीँ गए । शुध्रलाई आफ्नो गरिबी देखेर लाज लाग्यो तर बुद्धलाई उक्त ठाउँ महलभन्दा राम्रो भएको बताए । अनि शुध्रले आफूकहाँ भएको रुखो रोटी पातमा राखे तर शब्जीका लागि उसले केही दिन सक्ला जस्तो लागेन । अनि फोहोर ठाउँमा कुकुरमुत्ता वर्षादको समयमा फलिरहेको जुन उसले सधैँ शब्जीको रुपमा खान्थ्यो त्यसैलाई खुवाउने विचारले झाडीमा खोज्न थाल्यो । खोज्दा–खोज्दा उसलाई जहाँको कुकुरमुत्ता पनि विषालुजस्तो लाग्यो किनकि उसले त्यस्ता विषालु कुकुरमुत्ताको सामना कैयौँ पटक गरिसकेको थियो । खोज्दा–खोज्दा राम्रा–राम्रा कुकुरमुत्ताको शब्जी तयार गरी बुद्धलाई रुखो रोटीसँगै खानलाई दिए । बुद्धले त्यो शब्जी खानलाग्दा एकदम कठोर थियो, एकदम विषालुजस्तो मुखमै हाल्न नहुने थियो तर बुद्धले उक्त खाना नखाएमा उक्त शुध्रलाई झन् फेरि दुःख दिनुपर्ने हुन्छ भनी मीठो–मीठो मानीकन खाए अनि “म एकदम आनन्दित भएको छु” भने ।
बुद्धले त्यसलाई अमृतसमान मानेर बडो आनन्दित भएर खाए र आशीर्वाद दिएर त्यहाँबाट फर्के । जब उक्त शुध्रले त्यो कुकुरमुत्ता अलिकति चाखेर हेरे तब त ऊ ढल्नै लागेका थिए । सो कुकुरमुत्ता सारै विषालु थियो । शुध्र दौडेर छाती पिटेर रुन लागे । बुद्धसँग माफी माग्न गए “मैले के पाप गरेँ बुद्धलाई त मैले विष दिएँ ”भने तर बुद्धले “खाना एकदम स्वादिलो भएको र यसलाई मैले सकारात्मक रुपमा लिएकाले यदि म मरी नै हाले पनि तिमी ठूलो बुद्धको अनुयायी हुनेछौ किनकि सबैभन्दा पहिले आमाले मलाई दूध खुवाएर गुण लाउनु भयो त्यस्तै तिमीले अन्तिम पटक यति मीठो खाना खुवाएर गुण लगायौ ” भने । बुद्धका शिष्यहरूले उक्त शुध्रलाई कठोर सजाय दिनमा जोड दिए तर बुद्धले “आखिर यो शरीर नश्वर छ त्यसैले यिनले अपराध गरेर मलाई मारेकै भए पनि यिनलाई पाप लाग्दैन किनकि यिनले जति दुःखले खाना अरु कसैले पनि मलाई आजसम्म खुवाएको छैन । यिनको श्रद्धा नै ठूलो छ । हजारौँ वर्षमा म जस्तो मानिस जन्मन्छ त्यस्तै पहिलो र आखिरि खाना खुवाउने शौभाग्य जो कोहीलाई प्राप्त हुँदैन त्यसैले यी दुई शौभाग्यशाली हुन्” भने । यसरी बुद्धले सबैलाई सम्झाउन सफल भए ।
बुद्धले प्राण त्याग्दा धेरैले बुद्धले पीडामा प्राण त्याग्नु पर्यो भनेर आलोचना गरे तर त्यो उनीहरूको तर्फबाट मात्र थियो बुद्धको तर्फबाट थिएन । यदि तपाईंले जस्तोसुकै परिस्थितिलाई पनि सकारात्मक रुपमा लिएमा दुःखले दुःख दिन सक्दैन । जस्तोसुकै परिस्थितिमा पनि सुख हुन्छ । बुद्धले सबै नकारात्मकतालाई मिथ्ष बनाइदिए ।
२०७१ मङ्सिर १३ शनिवार
कुलेश्वर, काठमाडौंँ
Bijusubedi@gmail.com
www.bijusubedibijay.blogspot.com
