एक)
दिन गन्दै ढलेको जिन्दगी यो
यसो भन्दै चलेको जिन्दगी यो
खै कसलाई पो गुनासो गरूँ,
पीरै पीरले गलेको जिन्दगी यो
दुई)
बाँधेको मेरो मन, फूकायौ किन
अहिले आएर मन, दुखायौ किन
सपनाको घर सजाए थे मैले नि,
उल्टै मेरै शिर, झूकायौ किन
तीन)
फाटेको एक्लो यो मन सिउछु जसो तसो
बिषनै छ अमृत सरी पिउछु जसो तसो
माया थियो आशा थियो सव सपना भएछ,
छोडिहालेऊ अब एक्लै जिउछु जसो तसो
चार)
टाढा त कहिल्यै कतै हुनै, दिन्न तिमीलाई
मलाई सजिलै त भुल्नै, दिन्न तिमीलाई
मनसँग त नजिक छु, उसो टाढा भए पनि,
अर्को दिलमा सहजै फुल्नै, दिन्न तिमीलाई
पाँच)
तिम्रो तस्वीर हर शहरमा देख्छु म
तिमीलाई अक्सर हर रहरमा देख्छु म
एकान्तमै टोलाएर बसे पनि यहाँ सधैं,
तिम्रो मुहार हर प्रहरमा देख्छु म
