Skip to content


जति जति अँध्यारो हुँदै जान्छ,
उति उति उज्याली हुँदै आउँछिन्
आहा ! मेरी श्रीमती !

उसै उसै फर्याक् फुरूक् गर्छिन्
घरि भित्र त घरि बाहिर गर्छिन्
न कचकच
न गनगन
‘क्वान-यिन’ ध्यानमा लट्ठ भएर
त्यसै त्यसै फुरुङ्ग पर्छिन्
जति जति अँध्यारो हुँदै जान्छ
उति उति उज्याली हुँदै आउँछिन्
आहा ! मेरी श्रीमती !!

जून हेर्दै गरेको देख्छु
लुगा फेर्दै गरेको पनि देख्छु
कहिले साग केलाउँदै गरेको देख्छु
चरालाई चारो दिँदै गरेको देख्छु
बेलाबेला ऐनाअगाडि पनि देख्छु
तर देख्दिँनँ: प्रशाधनको कुनै आग्रह
जति जति अँध्यारो हुँदै जान्छ
उति उति उज्याली हुँदै आउँछिन्
आहा ! मेरी श्रीमती !

न योले भन्छिन्
न त्यो दे भन्छिन्
नखाने कुरो नखानू भन्छिन्
दङगा-फसादमा नजानु भन्छिन्
जे भन्छिन् ठीकै भन्छिन्
‘आशुतोष’ बार्‍ह वर्षको भै सक्दा पनि
जस्ताकी तस्तै देखिन्छिन्,
सुनाखरी र गुराँश परै रहून्
तर छेउमै रहून् मेरी श्रीमती !

जति जति अँध्यारो हुँदै जान्छ
उति उति उज्याली हुँदै आउँछिन्
कृष्णकी मीराजस्ती
आहा ! मेरी श्रीमती
आहा ! मेरी श्रीमती…..!!!

: नरेन्द्र पराशर

1 thought on “मेरी श्रीमती”

  1. वाह, वाह । कविता हुनु त यस्तो
    वाह, वाह । कविता हुनु त यस्तो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *