Skip to content

देवघाटमा पराशर


पवित्र देवघाटधामको काखमा
कालीगण्डकी किनारमा
सानो कुटीभित्र
ध्यानमा लीन छन् पराशर ऋषि……!

अम्रितमय जलको जीवनरूपी भावधारामा
केन्द्रीय नाद- ‘ॐ’

परिधिमा कल्लोल ‘शब्द’ लिएर
प्यारी कालीगण्डकी
अनाहत नाद सुसाउँछिन्
र त्यही अनुप म अन्तरनादमा
निरन्तर बहन्छन् पराशर ऋषि……!

छेवैमा ‘मत्स्यगन्धा’ डुङ्गा चलाउँछे
पवित्र गङ्गामा जीवनका रहर भिजाउँछे
आफनै मनभित्र
छिर्केमिर्के सपनाको वर्षा गराएर
प्रेमपूर्वक आफैँ भिज्छे
बैँसको उत्ताल तरङ्गले
हृदयमा अज्ञात काउकुतीको
भुमरी उब्जाउँछे

बाढीको भुमरी छल्दै
वारिपारी गरिरहन्छे…
मत्स्यगन्धाभित्र सत्यवती र सत्यवतिभित्र मत्स्यगन्धा
एकैपटक छर्लङ्ग देख्छन् पराशर ऋषि…….!

सम्बुद्ध…..
ब्रह्मनिष्ठ…..
आनन्दमण्डित….
एकान्तको शातील्य प्राप्त
वाह वाह !! बूढा पराशर ऋषि……!

उनलाई भेट्न
स्वर्गबाट देउताहरू आउँछन्
हरिद्वारबाट जोगीहरू आउँछन्
कताकताबाट
वणिकहरू र नारदमुनि आउँछन्
अनि सबैलाई केही न केही दिन्छ्न्
जस्तो कि
“असतोमा सद्गमय….”
“सहनाववतु सहनौ भुनक्तु….”
“ईशावास्य म ईद म सर्वम्…..”
तर
मत्स्यगन्धालाई
कालिंदासको कला दिन्छन्
“अनाघ्रात म पुष्प म किसलयमलून म कररुहै:……..”
उपनिषदको प्राचीन भ्याक्यु म क्लिनरले
पराधुनिकताको मैलो कार्पेट
छातीभित्रै सफा गर्छन्
कालीगण्डकी किनारमा
पवित्र देवघाट धाममा
र भन्छन्
“तिम्रो जय होस्……!!!’

:नरेन्द्र पराशर

http://narendraparasar.blogspot.co.uk/2013/01/blog-post_4803.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *