Skip to content

म सूर्य होईन, चन्द्र चाहन्छु


मानिसहरूको नजरमा तिमी ‘चन्द्रमा’ भएकै कारण स्त्री लिँगमा दरिन्छौ
तर म भने तिमीलाई विपरित ‘लिँग’ कै साथी ठान्न चाहन्छु ।

हरेक दिन झिसमिसेमा घरबाट निस्कँदा, सधैँ तिमी मेरो साथ हुन्छौ,
जब तिमीलाई पूर्ण-चन्द्रको रुपमा देख्छु, मन खुसीले भरपूर हुन्छ
लाग्छ, त्यस दिन तिमीमा कुनै नीराशा र दुःखले घर बसाएको छैन ।

मलाई तिम्रो त्यो रुप टपक्क टिपेर आफ्नो निधारमा टासौँ टासौँ लाग्छ।

ताकि, तिम्रो त्यो आभा मेरो मुहारमा छरियोस!
जब अर्ध-चन्द्र हुन्छौ, कुनै पीडाले असहाय भए झैँ महसुस हुन्छ ।

कहिले तिमी बादल भित्रै लुकेका हुन्छौ,
सायद, जीवनका बाधा र व्यवधानबाट टाढा हुन खोजिरहेछौ ।

कहिले चन्द्रविम्ब भित्रै अनेक आकृति बनाएर मलाई पनि भ्रममा पारिदिन्छौ ।
तर मलाई तिमीसँग गुनासो छैन,
मैले तिमीलाई जुनसुकै रुपमा पनि स्वीकारेकी छु,
माया गरेकी छु ।

मित्रताको नाममा कुन्तीलाई ‘कुमारी आमा’ बनाइदिने
सूर्यको जस्तो कुत्सित नियत, म तिमीमा देख्तिन ।

त्यसैले होला,तिमीसँगको मित्रतामा म रमाउँछु ।

रातको नीरव अन्धकारमा प्रकाश बनेर
तिमी मेरो शयनकक्षमा चिहाउन आईपुग्दा पनि मलाई तिमीसित भयाकुल हुनु पर्दैन,
जब तिमी आफ्नो प्रकाशको स्पर्शले मेरा केशराशि खेलाउँछौ,
म चूपचाप, बन्द नयनले तिमीमै पूर्ण समर्पित भैरहेकी हुन्छु ।

मनमनै सोचिरहन्छु, तिमी कति शीतल छौ!
सायद, मेरो मनको भाकालाई तिमीले बुझेका छौ!
तिम्रो मधुर मुस्कान सहितको मुहार मलाई निहारिरहेको हुन्छ,
म तिम्रो उपस्थितिको माधुर्य पान गरिरहेकी हुन्छु।

म विश्वासका साथ भन्न सक्छु, म तिमीलाई प्रेम गर्छु,
त्यसैले म सूर्य होइन, चन्द्र चाहन्छु।
म तिम्रो साथ चाहन्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *