अबको मेरो धर्म

  • by

म शिकारको खोजीमा चारचौरास भौतारिरहेको थिएँ । त्यत्तिकैमा मेरा आँखासामु एक गर्भिणी मृग देखापर्यो । ऊ बच्चा जन्माउन ठिक्क तयार अवस्थामा थियो । बच्चाको दश प्रतिशत अङ्ग बाहिर देखापरिरहेको थियो ।

+++

मुख निठ्याउँदै झम्टनै लागेको बखत मेरा हातगोडा ठतक्क घले । बढिसकेका पञ्जा लत्रक्क पारेँ । मेरो भयङ्कर रूप थाहा पाएर ऊ आत्तिएर जोडतोडलै दौडदै सडक किनारामा पुगेको थियो । ऊ सडक पार गर्ने दाउमा थियो । यसरी दौडदा बच्चाले पचास प्रतिशत अङ्ग बाहिर निकालिसकेको थियो । शिकारका लागि हैन हेर्नका लागि म उसको पछि लागेको थिएँ । अँझ उसको स्याहार अरू कोही आए त्यसैलाई आफ्नो क्षुधा मेट्ने माध्यम बनाउनै झिनो आशा मनमा छँदै थियो ।

+++

हेर्दोहेर्दै सडक पार गर्ने क्रममा बीचमै पुग्न लाग्दा पूर्णरूपेण स्वस्थ बच्चा बाहिरियो । त्यसका दायाँबायाँ दुवैतिर निष्फिक्री यातायातका साधन दगुरिरहेका थिए । उसका टाउका माथि मृगको बच्चा चोर्ने दाउमा पञ्जा फैलाएको विशाल कायाको चिल आकाशमा मडारिइरहेको थियो । अबुझ बच्चा जथाभावी गोडा चाल्दै थियो । कसैले ठक्कर दिएर चटनी बनाउला कि भन्ने ठुलो त्राहीमाम थियो । अनायासै मेरो पञ्जा बच्चो स्याहार्न पुगेछन् । मृगले सुइकुच्चा ठोकिसकेको थियो । रफ्तारमा एकतमासले दौडेका सारा साधन यत्रवत् रूपमा फ्रिज भएका थिए ।

+++

शुरुमा त बच्चो मबाट उम्कन खोज्यो । मैले नै दिइनँ । बिस्तारै अघि बढेँ र बढाएँ । अब यसलाई आफ्ना डमरुसँगै हुर्काउने कि जङ्गलमै छाडिदिने ? मनमा कुरो खेल्दै थियो ।
यसकी आमासँगै यो सुखी हुन्छ उसैकासामु पुर्याएर छाडिदिनु बेस रहन्छ भन्ने निष्कर्षमा पुग्नै लाग्दा सामुन्नेमा रगतको आहाल देखापर्यो ।

+++

बच्चालाई पारि तारेपछि यसो फर्केर आहालतिर हेरेको त खै केले छोएर हो मेरा आँखाको बाँध पनि एक्कासि फुटेर छताछुल्ल भइरह्यो । किनभने नजिकै उही आमा मृग उत्तानो टाङ लगाइरहेको थियो ।

  • कामना आचार्य
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *