Skip to content

हाइकुमा अर्को पाइला


मूलत: हाइकु जापानी परम्परागत काव्यसाहित्यबाट भित्रिएको विधा हो । नेपालीको सन्दर्भमा हाइकु २०१९ सालमा लेख्न थालिएको मानिन्छ । यो तीन हरफको संरचनामा हुन्छ । सटिक, सघन र रसिलोपन हाइकुका भावगत विशेषता हो । संरचनाका हिसाबले हाइकु १७ अक्षरमा पूरा गरिनु पर्ने हुन्छ । पाँच, सात, पाँच वर्णका शब्दहरूको मात्रामा तालमेल मिलाएर तीन हरफमा यसलाई पूरा गरिन्छ । यो पूर्ण अभिव्यक्ति दिने एक छुट्टै र स्वतन्त्र विधाका रुपमा स्थापित छ । दृश्य, विम्ब र चित्रात्मक संकेत नै हाइकु हो । आधा शताब्दी पार गर्दैगर्दा नेपाली साहित्यमा हाइकुको विशिष्ट महत्व छ । आजसम्म हाइकुसम्बन्धी थुप्रै सोधपत्रहरू तयार भएका छन् । कृतिहरू प्रकाशित भएका छन् । हाइकु लेख्नेहरूको दर्बिलो उपस्थिति छ ।

हाइकु लेखनको प्रारम्भिककालमा अभि सुवेदी, क्षेत्रप्रताप अधिकारी, रामदयाल राँकेश, पद्मलाल देवकोटा, रत्न समशेर थापा आदिले नेपाली हाइकुको अगुवाई गरेका थिए। पुष्कर लोहनी यौनवादी हाइकु लेखनीमा चिनिन्छन । नेपाल साहित्यमा हाइकुलाई शंकर लामिछानेले भित्र्याएका हुन् ।

हाइकु लेखनको पाटो अरुजत्तिकै लोकप्रिय नभए पनि यो विधामा पनि कलमहरू चलिरहेकै छन् । प्रभावकारिता कम छ । तर, लेख्नेहरू लेखिरहेकै छन् । हाइकु लेखनमा पूर्वले फराकिलो ठाउँ ओगटेको छ। कृति प्रकाशनको हिसाबले पनि यो दाबी गर्न सकिने ठाउँ छ। पूर्वबाट मिश्र वैजयन्ती, गोविन्द विकल, धनकुटे कान्छा, केशव आचार्य, इरान राई, तिला लेकाली, उमेन्द्र नेम्बाङ ‘विरही’ लगायत २५भन्दा बढी सष्टाहरूको लहर छ। यही लहरमा मिसिन आएका छन्, युवा हाङपाल आङबुहाङ। उनको नयाँ कृति ‘च्याब्रुङको आवाज’ (हाइकु) प्रकाशित भएको छ। कृतिमा समकालीन चरित्रका तीन सय छ हाइकु संगृहित छन् । फुटकर रुपमा हाङपाल आङबुहाङ गजल, कविता, गीत, हाइकु लेखिरहेका थिए, पहिल्यैदेखि । यतिबेला उनले संग्रहकै रुपमा हाइकुहरूलाई प्रकाशनमा ल्याएका छन्, यो उज्यालो कर्म हो। यो सिर्जनाहरूको अन्तिम दस्तावेजिकरण पनि हो। हाइकु पातलो गरी लेखिंदै गरेको अवस्थामा उनको यो आगमनले विशेष महत्व राख्नेछ।

हाङपाल आङबुहाङ विदेश बस्छन् । लामो समयदेखि उनको कर्मथलो उतै हो। तर, देशको सीमाबाहिर रहँदा पनि उनी देशलाई नबिर्सी बाँच्छन्। देशप्रेम छातीभरी टाँगेर रचना कर्ममा समर्पित हुन्छन् । उनका हाइकुहरू पढ्दा लागिरहन्छ, उनी जहाँ पुगे पनि यो देशको अलिकति सपना, अलिकति दु:ख, अलिकति पहिचानसँगै लिएर हिंड्छन् । वास्तवमा यौटा सर्जकको देशप्रतिको प्रेम र सम्मान पनि यही नै हो। हाइकु लेखनका विशेषता र परिधिलाई हेर्दा हाङपालका हाइकुहरूमा विविधता पाइन्छ । थोरै शव्दमा धेरै कुरा भन्नुपर्ने हाइकु लेखनमा उनको कौशल अनुभव गर्न पाइन्छ । आम पाठकका रुपमा उनका हाइकुहरू पढ्दै गर्दा फरक अनुभूति गर्न सकिन्छ । तीन हरफे हाइकुमा पनि जीवनको लयलाई भेट्न सकिन्छ । समाजलाई नयाँ ढंगले हेर्न र बुझ्न सकिन्छ । देशका सग्ला तस्वीर पढ्न सकिन्छ । सूक्ष्म संरचनाका हाइकुहरूमा यी कुराहरू भेटिंदा यौटा राम्रो हाइकु आफैंमा उपन्यास पनि हुन सक्छ भन्ने मतमा पुगिन्छ ।

हाइकुहरूमा सरल अभिव्यक्ति छ । विषयवस्तुले विविधता बोकेका छन् । कलात्मक र सुन्दर अभिव्यक्ति दिन सक्ने आङबुहाङले हाइकुमर्फत् मानवीय जीवनसम्म पुग्ने कोसिस गरेका छन् । समकालीन समाजका परिदृश्यहरू खिचेका छन् । समाज र मानवीय जीवनका थुप्रै पक्षहरूलाई सिर्जनामार्फत् भेट्नु उनको रचनात्मक सफलता हो। उनका हाइकुहरू समाजका प्रतिनीधिमुलक अभिव्यक्तिका रुपमा आएका छन् । प्रेम र जीवनप्रति उनको दोहोरो सम्बोधन छ । कतै विरह पोख्छन् । कतै आसा बटुल्ने काम पनि गर्छन् । विकृत राजनीति, भ्रष्टाचार, बढ्दो अमानवीयता, आशा-निराशा, देशप्रेम आदि उनका हाइकुका साझा विषय बनेका छन् । मानवीय संवेदना, दु:खका अनुभूतिबाट सिर्जित हाइकुहरू सुन्दर लाग्छन् । प्रकृतिप्रतिको उनको प्रेम अथाह छ । ग्रामीण जनजीवनसँग पनि उनको राम्रै संगत छ । सहरिया दिनचर्या पनि उनले भोगेका छन् । डायस्पोरी जीवनशैलीसँग उनी नजीकबाट भिजेका छन् ।

१.

आधा चन्द्रमा
चुहुने छानोबाट
मलाई हेर्छ

२.

हावामा उड्ने
सिमलको भुवामा
आशाको दाना

३.

संझना आयो
नेपाली हावापानी
माटोको गन्ध

हाइकु काव्यिक विधा हो । यसमा काव्यिक उपस्थिति हुन्छ । एक हिसाबले हेर्दा हाइकु छोटो कविता नै हो, अक्षर संरचना छुट्याइदिंदा । यहाँ हाङपालका हाइकुहरूमा पनि काव्यिक प्रभाव, शिल्पी र संयोजन भेट्टाइन्छ । उनका हाइकुहरूमा पसेको काव्यिक चेतना कृतिको सबल पक्ष हो । कतिपय हाइकहरू पढ्दा कविता नै पढे जस्तो अनुभूति हुन्छ । यसले रचनाको वजन बढाउन मद्दत पुर्‍याएका छन् । सरल, सहज र प्रभावपूर्ण अभिव्यक्ति उनका हाइकुहरूको खास विशेषता हो । विम्ब, प्रतिक र मिथकहरूको प्रयोगमा उनले पर्याप्त ध्यान नदिए पनि कोसिस सराहनीय छ । उज्यालो पक्ष के हो भने उनका हाइकुहरूमा आञ्चलिक मिथकहरू खासगरी किरात समुदाय, पहिचानका मिथकहरूको प्रयोग सुन्दर ढंगले भएको छ । यसका लागि पनि नेपाली साहित्यले उनलाई सम्झिने छ ।

अधिकतम हाइकुहरू पठनका हिसाबले उम्दा छन् । यद्यपि, केही-केहीमा खाली ठाउँ छ । भाषाको समस्याले कृतिमा कहीं न कहीं कालो धब्बा लगाएकै छ । कतिपय हाइकुहरूमा अक्षर विचलन पाइन्छ । कृतिको अर्को कमजोरी पक्ष के हो भने लेखकले हाइकुमा विचार निर्माण गर्दागर्दै कलाको सौन्दर्य थप्न सकेका छैनन् । अर्थात, हाइकुहरूमा कलामाथि विचार हाबी छ । त्यसले सिर्जनाको खास सौन्दर्यलाई थिचेको छ ।

हाङपाल आङबुहाङको सुरुवाती सिर्जनाकर्मले सम्भावनाको नयाँ क्षितिज उघारेको छ, सर्जक स्वयंका लागि । स्रष्टा यो सिर्जनाकर्ममा थप प्रतिबद्ध भएर अरु मेहनत गर्दै अघि बढ्ने हो भने उनको सिर्जनाको बाटो थप बलियो हुनेमा शंका छैन ।

(यो मेरो आफ्नै लेख होइन । प्रवीण बानियाँले मेरो हाइकु संग्रहमा समिक्षा गरिदिनु भएको नागरिक समाचारमा प्रकाशित लेख हो।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *