नफक्रदै झरेका फूलहरू


सुधारेर सुधृन्नन् अब, जानाजान गरेका भुलहरू
सारेर पनि सर्दैनन् कैल्यै, नफक्रदै झरेका फूलहरू

दु:खमा देख्दा कसैलाई यहाँ, शायदै कसैका मन रुन्छन्
होस् गुम्छन् आशाहरू जब, निराशामा परिणत हुन्छन्
हाँस्छ हेरेर झिक्दैन दैव, दु:खमा गडेका सुलहरू

यो एक्लो यात्रा जिन्दगीको, दु:ख पीडा कति हो कति
भेटिन्न त्याहाँ सहारा कुनै, न त भेटिन्छ नै सहानुभूति
जीर्णोद्वारको केही काम छैन, बाढीमा परेका पुलहरू

कुमालेको चक्र झैँ जीवन, जहाँ सुख-दु:ख आउँछ जान्छ
बाँचुन्जेल बस् तेरो र मेरो, यहाँ मर्दा कस्ले के नै पो लान्छ
हिउँदमा प्राय: सुक्ने गर्छन्, वर्षामा फुटेका मुलहरू

सुधारेर सुधृन्नन् अब, जानाजान गरेका भुलहरू
सारेर पनि सर्दैनन् कैल्यै, नफक्रदै झरेका फूलहरू
पुस्कल पौडेल (—प्रतिक)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *