Skip to content

सानीको सपना


स्कुलबाट आउन पाएकै थिइन, सानी आमाका काखमा लुट्पुटिई ।

खातीजीको घर यो नातिनीले उज्यालो पारिदिएकी थिई । कति बेला स्कुलबाट फर्केली भनेर उसका हजुरबुबा र हजुरआमा पर्खिएर बसेका हुन्थे । सधैंझैं स्कुलबाट फर्किएपछि सोझै आमाको काखमा आएर लुट्पुटिने गरेकी थिई आज पनि उसले त्यसै गरी ।

“आमा म पनि हजुरलाई आमा नभनेर मम्मी नै भन्छु है ।” उसले काखमा बस्तै सोधी ।

“किन मम्मी भन्नु पर्यो बाबा ?” आमाले सोधिन् । अनि भनिन्—“मलाई त आमा भनेकै राम्रो लाग्छ, पर्दैन, मम्मी भन्नु ।”

“सबैले आमा बुबा नभनेर मम्मी र ड्याडी भन्छन् । मलाई चैं आमा र बुबा भन्न लगाउनुहुन्छ । मेरा चैं मम्मी ड्याडी खोइ त ?” यो उसकी आमाका लागि निकै गम्भीर प्रश्न थियो । आमा अवाक् भइन् ।

किन आमा र बुबा नै भन्न लगाइयो भन्नेबारे उनका दिमाग भरि कुरा खेल्न थाले । विदेश गएको बेलाको स्मृति उनका मनभरि भयो । विदेशमा पुगेको बेला खातीजीकी धर्मपत्नीले अघाउँजीसँग आफ्नो घरको जस्तो खाना खान पनि पाएकी थिइनन् । विदेशी खाना र विदेशी लवजमा त्यही बेलादेखि उनलाई वाक्वाकी लागेको थियो । आफ्नो रुचिको र नेपाली परिकारको खाना एक पेट अघाउँजी खान पनि नपाइने त्यो मुलुकमा बेकारमा आएँछु भनेजस्तो भएको थियो । बल्लबल्ल नेपाल फर्किएर उनले धौ फुकाएर पेटभरि खाना खाएकी थिइन् । त्यसै बेलादेखि उनले आफ्नो मौलिक खाना, नेपाली लवज र नेपाली पोसाकको रहस्य थाहा पाएकी थिइन् । यसैले उनले मम्मी ड्याडी शब्दबाट आफ्नी छोरीनानीहरूलाई अलग्गै राखेकी थिइन् । आजसम्म पनि उनका छोराछोरी उनलाई र उनका पतिलाई आमा बुवा भन्ने गर्छन् । मम्मी ड्याडीको संस्कृति सिकेकै छैनन् । अब उनी नातिनीमा पनि त्यही बानी सिकाउने काम गर्दैछिन् । तर आज उनलाई केही पछुतो भएको छ । समाजमा अछुतो रहेर बस्न सकिँदो रहेनछ भन्ने उनले बोध गरेकी छिन् ।

“किन बुबा ? हाम्रोमा मम्मी ड्याडी भन्नु हुँदैन ?” सोधी खातीजीलाई ।

उनी झन् अवाक् भए । के उत्तर दिउन् । उनलाई त्यो बालिकालाई बुझाउ सक्ने हविगत नै नभएको जस्तो बोध भयो । तैपनि उनी केही सोचेझैं ध्यानमग्न भए । उनले सम्झे—आफ्नै गाउँको कुरा । नाकभरि सिँगानका लुँडा पुछिदिन र नुहाइधुआइ गरेर स्वस्थ र सफा बनाइदिन, सफा सुघ्घर राख्नसम्म नजान्ने आमाहरूलाई बालकहरूबाट मम्मी भनाउनु परिरहेको दृश्य उनका स्मृतिमा आयो । आफ्ना छोराछोरीलाई काखमा लिएर मायाको एक तुर्को बगाउन पनि नसक्ने तर ड्याडी भनाउनमा खुब स्वाद मान्ने बाबुहरूको सम्झना भयो । अनि अस्ति मात्र गाउँघरमा गएको बेलाको अर्को दृश्य सम्झिए— एउटा फोहोरी बालकले उसकी आमालाई सोध्दै थियो—“आची आयो मम्मी ? काँ गरुँ ?”
उसकी मम्मी भने भन्दै थिई—“तिहीं आलीमा बसेर हग् न ।”

अनि उनका मनमा अँझै कुरा खेले—मम्मी भन्न सिकाउनेले छोराछोरीको खानपान, सरसफाइ र स्वास्थ्यमा पनि ख्याल गर्नुपर्ने हो । तिनको स्वास्थ्यमा कुनै ख्याल छैन, खानपान र विधिव्यवहारमा कुनै ख्याल छैन तर मम्मी भनाउनु पर्ने ! तिनको शिक्षामा कुनै ख्याल छैन, तर ड्याडी भनाएरै आनन्द मान्ने ! एकातिर आलीमा दिसा गराउनु छ अर्कातिर मम्मी भनाउनु छ । दिसा धोएपछि हात साबुन पानीले धुनुपर्छ भन्ने बोध छैन, तर मम्मी र ड्याडी भनाउन भने हिरिक्क ! मम्मी भनाउनेले ता आफू र आफ्ना बालबच्चालाई चर्पीसम्ममा दिसा गरेको र गराएको दृश्य देख्न पाए पनि त हुन्थ्यो । किन यो तालमेल नभएको होला ?

“हुन्छ आमा मैले मम्मी भन्नु ?” सोधी आमासँग फेरि ।

“सोध् न बुबालाई ?” खातीजीकी धर्मपत्नीले उत्तर दिइन् र पन्छाइन् बालिकालाई ।

“हुन्छ बुबा मैले पनि आमालाई मम्मी भन्नु ?” अनि घोरिएका खातीजीले चिउँडो सोझ्याउँदै सानीले सोधी फेरि ।

“हुन्छ बा हुन्छ !” उनले पनि भने । तर उनको मनमा भित्र कताकता बिझाइरह्यो ।

आमाचाहिँले अँधेरो अनुहार लाइन् । दुवैले परस्परमा हेराहेर मात्र गरिरहे । बालिका खुशी हुँदै भित्रतिर दगुरी ।

1 thought on “सानीको सपना”

  1. कुरा एकदम खाँटी गर्नुभो । हुन
    कुरा एकदम खाँटी गर्नुभो । हुन त यो सन्देश निबन्ध लेखेर पनि दिन सकिन्थ्यो, तर त्योभन्दा बढी प्रभावकारी यो कथाबाट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *