रामुको भान्छाकोठामा खानाको थाल सजाएर राखिएको थियो । खाना तातो थियो । त्यसैले रामु भान्छाघरमै बसेर केहीबेर पत्रिका पढिरहेको थियो । थालमा रोटी, तरकारी, भात, सलाद, अचार, दूध, दहीलगायतका परिकार थिए । अचानक थालमाथि कचौरामा राखिएको तरकारीको रोटीलाई भन्यो, यदि म भइन भने तिमीलाई कसैले खान मनपराउने छैनन् ।
रोटीलाई तरकारीको कुरा मनपरेन । ‘तिमी नहुँदा दूध, दही, अचारले पनि काम चलाउँछन् । तिमीले धाक लगाउनु पर्दैन ।’ रोटीले रिसाएर तरकारीलाई जवाफ फर्कायो ।
रोटीको जवाफ भुईंमा नपुग्दै तरकारीले भन्यो, मेरो अभावमा मानिसहरूले भिटामिन नै पाउँदैनन् । त्यसैले अन्य परिकारको तुलनामा मेरो खोजी बढी हुने गर्छ । मेरो बजारभाउ सित्तैँँमा अकासिएका होइन ।
रोटी र तरकारी बीच चर्काचर्की भइरहेको थियो । भात र दाल मिलेर दुबैलाई सम्झाउने प्रयास गरिरहेका थिए तर त्यो प्रयास सफल हुन सकेन । केही नलागेपछि भात र दाल थाकेर चुपचाप बसे ।
दाल र भात चुप लागेको देखेर कचौरामा रहेको दहीले भन्यो, यदि तिमीहरू अनुमति दिन्छौ भने एउटा कुरा गर्छु ।
‘भन, तिमीलाई नाई’ भन्ने कुरै छैन । तिमी पनि हाम्रै परिवारका सदस्य हौ । हामी जत्तिकै तिमीलाई पनि अधिकार छ ।’ भात र दालले एकै स्वरमा भने ।
राम्रो सल्लाह भए हामी पनि मान्नेछौँ, विवाद गरिरहेका रोटी र तरकारीले पनि सहमति जनाए । ‘रिस को सबको शत्रु रिसले सब नासिने …..भन्ने कविताले भने झैँ रिस गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।’ दहीले भन्यो ।
दहीको कुरा अचार दूध र सलादलाई पनि मनपर्यो । कुनामा टुप्लुक्क बसेको सलादले अगाडि सर्दै भन्यो । हामी सबै भात, दाल, रोटी, तरकारी, दूध, दही, अचार र सलाद सबै भाइबहिनीजस्तै हौँ । एउटै थालका सदस्य हौँ । एकअर्काबिना कसैको अस्तित्व छैन ।
सलादको कुरा सुनेपछि सबै शान्त भएर बसे । सलादको कुरा सकिएपछि अचार पनि चुप रहन सकेन । उसले अगाडि भन्यो, हामी सबै मिलेपछि मात्र सन्तुलित भोजन तयार हुन्छ । एकको अभावमा खाना स्वादिष्ट, पौष्टिक र स्वस्थकर हुँदैन । त्यसैले सबैको आ-आˆनो महìव छ । अचारको कुरामा दाल र भातले पनि सहमति जनाए । अचारको कुरामा सबै सकारात्मक देखिए । अचारको कुरा सुनेपछि रोटी र तरकारीले आफ्नो गल्तीबारे क्षमा मागे । ‘हामीबाट गल्ती भयो । हामीहरूले एकआपसमाा लड्नु हुँदैन । अबदेखि हामी मिलेर बस्नेछौँ । उनीहरूले भने ।
मुना मासिक
पुस २०६५
