Skip to content

हिमालपारि महाकाव्यको शैल्यक्रिया


परिचय
महाकवि फणीन्द्रराज देवकोटाको (वि.सं.२०२५) र मेरो पेशागतरूपमा चिनजान भएको करिब २०–२२ वर्ष भयो होला तर उहाँको र मेरो साहित्यतिरको चिनजान भने उहाँ मनाङको बरिष्ठ कृषिविकास अधिकृतको रूपमा कार्यरत रहँदा कर्मचारी मिलनकेन्द मनाङ्रको साहित्यिक मुखपत्र “तिलिचो” सम्पादन (२०६९–७१) कर्ममा मसँग लेख माग्दामात्र भएको थियो । आज उहाँको महाकाव्य नै हात लागेको छ र त्यसलाई रमाइ रमाइ पढिरहेको छु । फणीन्द्रजीको जन्म गोरखाको लिगलिग, आँपपिपल–२, राउतेपानीमा २०२५ साल असार १५ गते माता लक्ष्मी देवकोटा र पिता नन्दप्रसाद देवकोटाका नवौं सन्तान (चौथो पुत्र)को रूपमा भएको थियो । हाल उहाँ चितवनको प्रेमबस्तीमा बसोबास गर्दै आउनुभएको छ । शैक्षिक योग्यताको हकमा पनि उहाँले एम.एस्सी.(कृषि), एम.ए. आर.डी., पिएच.डी. (ग्रामिण विकास, त्रि. वि. २०६९) हाँसिल गरिसक्नुभएको छ । मनाङ (नियात्रा, २०६९), कश्मीरतिर (यात्रा बृतान्त, २०७०) र हिमालपारि (महाकाव्य, २०७१) गरी साहित्यिक विकृति प्रकाशनमा आएका छन् भने “तिलिचो” (२०६९–७१)को सम्पादक / प्रधान सम्पादकको रूपमा, सम्पादन समेत गरिसक्नुभएको छ ।

उहाँको”मेरो प्यारो गोरखा” (कविता, २०४१) गोरखामा सम्पन्न भएको कविगोष्ठिमा पहिलो पुरस्कृत स्थान प्राप्त गरेको थियो । उहाँका विभिन्न पत्र–पत्रिका तथा जर्नलहरूमा दर्जनौं लेखहरू प्रकाशनमा आएका छन् ।

पुरस्कार र सम्मान
– त्रि.वि. मेरिट छात्रबृत्ति (कृ.प.वि.अ.स.)
– इसिमोठ सोधबृत्ति एवार्ड (२०५७)
– विद्यावारिधि उपाधि (त्रिभूवन विश्वविद्यालय) (२०७०)
– चित्रवन साकोस सम्मान चितवन (२०७०)
– कर्मचारी मिलन केन्द्र (मनाङ) सम्मान (२०७१)

कृतिको संरचना

यो कृति आवरण सहित ३९३ पृष्ठको छ । आवरणको पहिलो पृष्ठमा गाउँ सहितको हिमालको आवरण चित्रले सजिएको छ भने आवरणको पछिल्लो पृष्ठ महाकविको छोटो परिचयको साथै साहित्यकारको अभिव्याक्तिले सजिएको छ । यस कृतिलाई माननीय टेकबहादुर गुरुङले प्रकाशन गर्नुभएको छ । यस कृतिको मूल्य रु २९९/– राखिएको छ । यसकृतिमा भूमिका शुभकामना मन्तव्यहरू, आफ्नै बारेमा र हिमालपारि किन को साथै २७ सर्गमा यस महाकाव्यको सिर्जना भएको छ । यो कृति नित्यान्त यात्रामा आधारित रहेर लेखिएको छ । यसकृतिमा स्थान विशेषका चित्रहरू पनि समावेश गरिएका छन् । चित्र समायोजनले कृतिलाई झनै रम्य तुल्याएको छ । सर्ग एकमा शार्दूलविक्रडित (२५) र शिखरिणी (५) छन्दका ३०श्लोक, सर्ग दुईमा लोकलय (५५), स्रग्विणी (९), भजनलय (९) र स्रग्धरा (१) गरी ७३ श्लोक, सर्ग ३मा मालिनी (४१) र शिखरिणी (१) गरी ४२ श्लोक, सर्ग चारमा मालिनी (१३), शार्दूलबिक्रीडित (१२), स्रग्विणी (७) शिखरिणी (७) र मालिनी (१) गरी ४० श्लोक, सर्ग पाँचमा मन्दाक्रान्ता (९), शार्दूलबिक्रीडित (१६) र मालिनी (१) गरी २६ श्लोक सर्ग छमा शार्दूलबिक्रीडित (९), शालिनी (१८)अनुष्टुप (३), लोकलय (२१) र अवरीकृत (१) गरी (५२) श्लोक, सर्ग सातमा मालिनी (१९) इनद्रबज्रा (११), मालिनी (४), शार्दूलबिक्रीडित (८), शशिवदना (१५), इन्द्रबज्रा (६) स्रग्विणी (१) गरी ६४ श्लोक, सर्ग आठमा शिखरिणी (४), अनुष्टुप (१०), मन्दखाक्रान्ता (१३), शार्दूलबिक्रीडित ( ११), स्रगविणी (३), गरी ४१ श्लोक, सर्ग नौमा शिखरिणी (१९), स्रग्विणी (१०), वंशस्थ (७) र शार्दूलबिक्रीडित (१) गरी ३७ श्लोक, दश सर्गमा शार्दूलबिक्रीडित (९), मालिनी ( ५), वसन्ततिलका (४), मन्दाक्रान्ता (१०), शिखरिणाी (२५) गरी ५३ श्लोक, सर्ग ११मा शिखरिणी (२४), मन्दाक्रान्ता (१८), लोक भाका (२) र शालिनी (१) गरी ४५ श्लोक, सर्ग १२मा मन्दाक्रान्ता (१४), लोकभाका (२), मन्दाक्रान्ता (९), युगल गान (३), शशिबदना (८) र स्रग्विणी (१), सर्ग तेह्रमा लोकब भाका (७), मन्दाक्रान्त (२), शार्दूलबिक्रीडित (१), शिखरिणी (११), मालिनी (३), स्रग्विणी (१) गरी २६श्लोक सर्ग चौधमा माणिमाला (७), शिखरिणी (४), मालिनी (११) शार्दूलबिक्रीडित (१०) भुजङ्गप्रयात (१२), शशिवदना (१४), स्रग्विणी (३) गरी ६१ श्लोक, सर्ग १५मा शार्दूलबिक्रीडित (१७), शशिवदना (२२), इन्द्रवज्रा (७), शार्दूलवित्रीडित (११), चम्पकमाला (१०)गरी ६७ श्लोक, सर्ग १६मा मालिनी (२३), स्रग्विणी (५), शार्दूलबिक्रीडित (४), संयुक्ता (३२), मन्दाक्रान्ता (९) रशालिनी (३) गरी ७६ श्लोक, सर्ग सत्रमा शार्दूलबिक्रीडित (२), शशिवदना (२०), शिखरिणी (१३), भुजङ्गप्रयात (११), र मणिमाला (५) गरी ५१ श्लोक, सर्ग अठार इन्द्रबज्रा (२५), शशिवदना (८), अनुष्टुप (८), स्रग्विणी (१), गरी ४२ श्लोक, उन्नाइस सर्गमा शालिनी (१६) शार्दूलबिक्रीडित (२१), स्वागता (११) शिखरिणी (७), मन्दाक्रान्ता (५), शिखरिणी ( ३), अवरिकृत (१)गरी ६४ श्लोक, सर्ग बीसमा वसन्ततिलका (५), लोकलय (६), शशिवदना (३०), इन्द्रवज्रा (४), शिखरिणी (६), शालिनी (४) गरी ५५ श्लोक, सर्ग एक्काइसमा शार्दूलबिक्रीडित (४५), इन्द्रबज्रा (१८), रथोद्धता (३) गरी, ६६ श्लोक, सर्ग बाइसमा शार्दूलबिक्रीडित (३), अनुष्टुप (२१), मन्दाक्रान्ता (१), शालिनी (५), वसन्ततिलका (९), भजनलय (८), मालिनी (६), स्रग्विणी (१) गरी ५० श्लोक, सर्ग तेइसमा शार्दूलबिक्रीडित (२९), लोकलय (६), इनद्रवज्रा (११) स्रग्विणी (१) गरी ४७ श्लोक, सर्ग चौबीसमा शार्दूलबिक्रीडित (५४), शालिनी (११), तोटक (७), द्रुतविलम्बित (२) गरी ७४ श्लोक, सर्ग पच्चीसमा शार्दूलबिक्रीडित (८०), मन्दाक्रान्ता (७), शिखरिणाी (११), मालिनी (१२), गरी ११० श्लोक, सर्ग २६मा शार्दूलबिक्रीडित (३२), वंशस्थ (२) गरी ३४ श्लोक, सर्ग सत्ताइसमा शार्दूलबिक्रीडित (२५) र लोकलय (१२) गरी ३७ श्लोकले निर्माण भएको छ महाकाव्य । यस महाकाव्यमा परिशिष्ट अन्तरगत केही प्रयुक्त शब्दावली, कृतज्ञता, कृतिकारको चिनारी र प्रकाशकको चिनारी समेत समावेश गरिएको छ ।

महाकाव्यप्रति साहित्यकारका धारणाहरू–

हिमालपारि महाकाव्यको भूमिका तथा शुभ कामनामा प्रदान गरिएका विभिन्न साहित्यकारका अभिव्यक्ति मार्फत यस काव्यको बारेमा छोटो जानकारी लिन सकिन्छ । सर्बप्रथम राष्ट्रकवि माधव घिमिरेको “श्रमजीवी यात्रीको लयात्मक यात्रावृत्तान्त” शीर्षकमा राष्ट्रकविले आफ्नो धारणा यसप्रकार राख्नुभएको छ – “यस पुस्तकमा हिमालक्षेत्रभित्रको कठिनताभित्रको कोमलता र कोमलताभित्रको कठिनतालाई कविले कुशलताको साथ उद्घाटित गरेका छन् (पृष्ठ ज) । बरिष्ठ साहित्यकार तथा राजनेता राजेश्वर देवकोटाको धारणालाई यसरी लिन सकिन्छ –”कविले जीवन र प्रकृतिको गहिरो अध्ययन गर्नुभएको छ, आस्वादन गर्नुभएको छ । उहाँका रचनाबाट पाठकहरू आह्लादित हुन पाउँछन् । ”

बरिष्ठ कवि भुवनहरि सिग्देलले “मैले पनि हिमालपारिको यात्रागरें ” शीर्षकमा लेख्नुहुन्छ– “कविले जीवन र प्रकृतिको गहिरो अध्ययन गर्नुभएको छ, आस्वादन गर्नुभएको छ । उहाँका रचनाबाट पाठकहरू आह्लादित हुन पाउँछन्” (पृष्ठ झ) । भुवनहरि सिग्देलले लेख्नुहुन्छ –”मनाङ र हिमालपारिको समष्टि यो काव्यमा अति मनोहर छ । यो काव्य पढेपछि मलाई नै हिमालपारिको यात्रा गर्न चौ चौ बढेर आएको छ । त्यहाँका फोटाहरू समेत यो काव्यमा देखेपछि ता जो कोहीलाई पनि यो यात्राको कुतकुतीले सताउने छ । पर्यटकीय हिसावले यो काव्य प्रशंसनीय लाग्दछ” (पृष्ठ ढ) । प्रा.डा. नारायणप्रसाद खनालजीले यस महाकाव्यप्रति यस प्रकारको धारणा राख्नुभएको छ–”प्रस्तुत महाकाव्यभित्र ठाउँठाउँमा लक्षणा र व्यञ्जनाको अवस्था सिर्जना हुनुका साथै शृङ्गार, अद्भुत, करुणा र शान्त रसादिक उपस्थितिरहेको छ । खासगरी बुद्धका दार्शनिक तथ्यलाई यिनले अत्यान्त सुझबुझका साथ प्रस्तुत गर्ने यत्न गरेका छन् । त्रिरत्न सिद्धि दर्शन, पञ्चशील सिद्धि दर्शन करुणाकारी र बज्रगुरु मन्त्र एवं बुद्धत्त्व र मानवता वादलाई अत्यान्त नजिकबाट विश्लेषण वर्णन यसमा गरिएको छ” (पृष्ठ न) । प्रकाशक मा. टेकबहादुर गुरुङले लेख्नुहुन्छ – “मनाङ र अन्य उच्च पहाडीस्थलमा राष्ट्रसेवामा सरिक भै स्थलगत अनुभव सँगाल्नुभएका लेखकको मौलिक सिर्जना भएकोले यो निश्चय नै उपयोगी सिद्ध हुनेछ र हिमाली क्षेत्रका लागि यो एक अमूल्य उपहार हो भन्ने लागेको छ” (पृष्ठ छ) । यो महाकाव्यको सिर्जना सम्बन्धमा महाकविको आफ्नै धारणा यसप्रकार छ –”यो दिवङ्गत पिता–पुर्खाको भावारोहण, आमाको प्रेरणा र धर्मपत्नी अम्बिकाको सार्थक सहकार्यको परिणाम हो” (पृष्ठ फ) ।

मेरो जानकारीमा आएका केही महाकाव्यको विवरण–

नेपाली साहित्यमा महाकाव्यको थालनी आदिकवि भानुभक्त आचार्य (१८७१–१९२५)ले रामायण (१९४४) लेखेर गरेको देखिन्छ र रामायण नै नेपाली साहित्यको पहिलो अनुदित महाकाव्य हो भन्ने कुरा प्रमाणित पनि भैसकेको छ तापनि सोध अनुसन्धानका क्रममा उदयानन्द अर्याल (१८१३–१८९३) पृथ्वीन्द्रोदय( १८३०–१८४०तिर रचित तथा २०६८मा प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित भएको देखिन्छ । देवीदत्त पराजुली (१९३०–२०१०)– कविता गुच्छाहार(२००५) यस पछि रेवतीरमण पराजुली (१९३३–१९९८)–विश्वजित लीला (१९६६), बैजनाथ जगन्नाथ सेढाई (१९४६–२००९)–चन्द्रमयूख भूचन्द्रचन्द्रिका (१९७०) । यसपछि २००१सम्म महाकाव्यको लेखनी भएको पाइँदैन । महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६ –२०१६)ले शाकुन्तल (२००२, सुलोचना (२००३), महाराणा प्रताप २००३), प्रमिथस (२०२८) र पृथ्वीराज चौहान (२०४९) गरी पाँचवटा महाकाव्य लेख्नुभयो । सोमनाथ सिद्याल (१९४१–२०२९)– आदर्शराघव (२००५), हरि अरविन्द (२००८)– वैवश्वरा विजय, आर.डी. प्रभास चटौत (१९९६)– प्रभास गीता, लेखनाथ पौड्याल (१९४१–२०२२)– तरुणतपसी (२०१०), गङ्गा गौरी (अपूर्ण) (२०६३) बालकृष्ण सम (१९५८–२०६८)– चिसोचुलो (२०१५), देशनरेश (२०१७), राष्ट्रिय चरित्र (२०१७), कादमबरी (२०४३) गोविन्दप्रसाद भट्टराई (१९६७–२०४३) –पृथ्वीमहेन्द्र (२०१९) भावनता (२०२०), हरिहर शास्त्री (१९८०–२०३४)– उषा विनोद (२०२४), रम्भा २०२५), धरणी, भरतराज मन्थलीय (१९८२–२०५८) – देवयानी (२०३९), श्रुतिरौरभ (२०५८), पीताम्बर भोला (१९८९)– मङ्गल सुषमा (२०२२) शिवासन्तति (२०४२) सारस्वतेय (२०४२) मोदनाथ प्रश्रित (१९९९) मानव (२०२३) देवासुर सङ्ग्राम (२०३०) मोदनाथ शास्त्री (२००२)–भानु (२०२४), गुरुदक्षिणा (२०६२), ज्वलन्त नक्षत्र (२०६०), गणेशमान (०५८), आधुनिक ब्रह्माण्ड पूराण (२०६२) तिलाञ्जली (२०६८), निरविक्रम प्यासी (१९९९)– दवला (२०२४), गुणराज उपाध्याय खनाल (१९७२–२०३१)– श्रीकृष्ण सन्देश (२०२९), भरत मिलन (२०२९), शाह वंश (२०२०), जयदेव पौडेल (१९७४–२०४४)– गोरखा ख्यायिका (२०३३), उमानाथ शास्त्री सिन्धुलीय (१९७८–२०३५)– मकवानीवाला( २०३५), जगदिश सम्शेर राणा (१९८६)– नरसिंह अवतार (२०३७), लक्ष्मण शास्त्री (१९७४–२०४९)– धर्मराज युधिष्ठिर, दुर्गादत्त पौडेल(?)– श्रीस्वर्गद्वारी महाप्रभु चरित्र, गणेशबत्रहादुरखत्री (१९९२) – चमेली चन्द्र (२०३७) श्रीहरि फुयाल(२०१५)– आँसुको सङ्ग्रह (२०३६), कर्मयोगी देवकोटा (२०६४), रामचन्द्र गिरी (सन् १९०५) – समाजदर्पण (२०३९), भरतराज पन्त (१९८६–२०६२)–दोभान (२०४१), मोहन दुखुन (सन्१९४९)– मन्दाकिनी (२०४१, दार्जिलिङ), तुलसीराम कश्यप (१९९५–२०५४)–जन्मभूमि (२०४३, सिक्किम), आमा २०४५, सिक्किम), मन्थन (२०५०, सिक्किम), भोग्यप्रसाद भण्डारी (१९८६–२०५३)– षडानन्द चरित्र (२०४३) पूर्णप्रसाद शर्मा (१९८०–२०४३)–त्रिवेणी (२०४३), वसन्तकुमार शर्मा नेपाल(१९८४) –विप्रलम्भ (२०४४), गौरीशङ्कर उपाध्याय (सन्१९५१)– शङ्कर (२०४४, भुटान), पवनकुमार खनाल (२०१६)– रामदास (२०४५), मा (२०४५), विश्वप्रतिविम्ब (२०४५), स्वदेशी सुमन (२०४८), भानुभक्त पोख्रेल (१९९३)– मृत्युञ्जय (२०४७), जागृतिराग (२०५६), हिमवत्खण्ड (२०६४), चन्द्रप्रसाद ढुङ्गाना (१९७७–२०४९)–भीमयात्रा(२०४७), शैलेन्द्रुप्रकाश नेपाल – जुनु (२०४८), अनामिका (२०५६) डायना (२०६१), रामनाथ शर्मा खनाल (१९६६–२०६३)– पाण्डु (२०४९), प्रजातन्त्रोदय (२०४९), रमेश खकुरेल (१९९९)– सरिता नानी (२०४९), स्रग्धरा ( २०५९), लक्ष्मीप्रसाद पोखरेल (१९७२)– वेनवैन्यवर्णन (२०४९) डा. रामप्रसाद ज्ञावली (२०२४) – औंसीका फूलहरू (२०५३), ऋषिप्रसाद खनाल (२०२०)–आर्यावर्त (२०५१), गोपीकृष्ण अधिकारी–गङ्गा (२०५५), भावना (२०५७), मदनदेव भट्टराई (१९९५)– जीवनस्मृति (२०५२), पूर्णानन्द भट्ट (१९९०)– शान्ति विज्ञान (२०९५३), चन्द्रप्रसाद न्यौपाने (२०२४)– सोल्मू (२०५३), प्रत्याघात (२०५५), सीमाना (२०५८), गौतमबुद्ध (२०५९), सिपाही (२०६१), मान्छेको यात्रा (२०६१), म (२०६२), आकास्मिक (२०६५), चन्द्रयुग (२०६५), प्रा. ठाकुरप्रसाद आचार्य (२००५) –यात्रा (२०६२), इन्दुपन्त (२०१४) –यातना (सचित्र), ओमवीरसिंह बस्न्यात (१९९५) –पासाङ ल्हामु (२०५४), सेवासैनिक झपट (२०५६), पृथ्वी (२०५८), भानुभक्त (२०६१), चक्रपाणी (२०६३), कृष्णप्रसाद आचार्य (१९९१)–निजानन्द दिग्दर्शन (२०५५), भुवनहरि सिग्देल (२०१०)–धरणीधर (२०५५), मेनुका (२०५७), विभूधरा (२०६१), सावित्री सङगम झापा –जीवनधारा (२०५५), पूर्णप्रकाश नेपाल यात्री (१९९१)–वसन्तपल्लव (२०५५), सिंजापतिवाला (२०५७), सिद्धिचरण सञ्चरण (२०६०), उलूपी (२०६५), तारणीप्रसाद कोइराला (१९७९–२०३१)–नैनी (२०५६), नारायणप्रसाद उपाध्याय अर्याल –त्रिजन्मा (२०५६), दुर्गाप्रसाद अधिकारी (२०००) –बालागुरु (२०५६) ऋषिराम न्यौपाने (१९९५)– पुष्पाञ्जली (२०५७), पोषराज पौडेल (२००१) –शहीदगाथा (२०५७), प्रा शिवगोपाल रिसाल(२००१) –पद्मकन्या (२०५७), नरेन्द्र पराशर (२०५७)– गौरीशङ्कर (२०५८) जीवराज पोख्रेल– शिक्षक शिष्य संवाद (२०५८), बुद्धचरित्र (२०५९) नारायणप्रसाद पौडेल (?)– गौरीश्वर (२०५८), , कुलचन्द्र कोइराला (१९७४–२०५८)–भीमसेन थापा (२०५९) गोविन्दप्रसाद घिमिरे (२००७) –प्रेरणा ( २०५७), युगनायक (२०५९) मृत्युचक्र (२०६०), परिचय (सन् १९९८), डिल्लीजङ्ग गुरुङ (१९६१–२०२१, नेपाली तुलसी रामायण( २०५७), प्रा.डा. रमेशचन्द्र अधिकारी (२०११)–पद्म दुर्गा (२०५३), सीतायन खण्ड (१–११) (२०५५–२०६७), भीम बिराग (१९९१–२०६८)–मोहभङ्ग (२०५९), डा. कृष्णप्रसाद आचार्य –केवलमान (२०६०) अन्त्यारम्भ (२०६१), , बुनु लामिछाने (२०३१) –याचना (२०६०), विद्रोही इन्द्रकुमारी (२०६४), माधव वियोगी (२०१८), छन्दशिरोमणि (२०६०), धर्मराज (२०६१) जगदम्बा (२०६२), जुरेृली (२०६३), पुष्पलता (२०६४), नाट्यसम्राट (२०६७), सोमराज अभय कट्टेल (१९९८)– विद्रोही काले (२०६५), महार्चन, खेमनाथ दाहाल (२००९)–योद्धा (२०६०), श्वेतपत्र (२०६७), सदानन्द अभागी (२००३)– तीन युग एक कथा (२०६०), अग्निज्वाला (२०६१), सिंहवाहिनी (२०७२, मझेरी डट कममा प्रकाशन भैसकेको छ), भूषण हुमागाइ– तथागत (२०६१), काशीनाथ न्यौपाने (२००८) –विरजा (२०६२), नारायणप्रसाद गौतम (२०१७)–कुमारगौरब (२०६२), गौरीवल्लभ (२०६३), रमेशचन्द्र (२०६४), भवानीवैभव (प्रकाशोन्मुख), गुन्जमान विश्वकर्मा (२०१९)– विष्णु भगवानको महावाँणी (२०६२), होमनाथ पौडेल (हिमांशु))२००६)–विभूति दर्पण (२०६२) होमनाथ सुवेदी (२००४)–यो समाज, डा.गणेश कुमार पौडेल (२०१०)– सुङ्गुरको महिमा (२०६७), निलकण्ठ भट्टराई (२०१४)– महामानव (२०६३), रामनाथ अधिकारी सँगी( २००६)– श्रीस्वस्थानी (२०६४), मनिराज (२०६५), बलराम (२०६६), छन्दिका घिमिरे ((२०४२) –आदर्श पूष्पा (२०६४) जनार्दनशरण त्रिपाठी ((२००४) –नेपालश्री (२०६४), हरिहर सविता (२०१०)–पुष्पपत्र (२०६५) कलानिधि दाहाल–विभाजित विश्व (२०६५), छन्दमणि त्रिपाठी (०४४)– नयाँ नेपाल (२०६७), नारायणप्रसाद पोखरेल (२०२०)–अमर गाथा (२०६७), भूपेन्द्र सुवेदी ((१९९५)–मङ्गला (२०६७), विष्णु भण्डारी –उत्सर्ग (गद्य)२०६७), ईश्वरी ओझा (१९९६)–अभिभारा (२०६८), नवराज लम्साल ()२०२६)–कर्ण (२०६६), वसन्त बराकोटी ((२००४)–मुक्तिसङ्ग्रह (२०६८) प्रा.डा. वासुदेव त्रिपाठी(१९९०) –लोकलज्जा (२०६८), तनहूँ (२०६९), भिमकुमार श्रेष्ठ –बन्दीपुर (२०६९), रचनाकार, परलोकतन्त्र (२०६९), डा. वेणीमाधव ढकाल (२००५)–रश्मिप्रभास (२०६९), मनिराज जोशी –शैलेश्वरी (२०६७), मोहनप्रसाद खनाल–यात्रा (२०६७), गोपाल अस्क (२०१८) प्रेमान्तर (गजल महाकाव्य (२०६२), कृष्णादेवी –शर्मा श्रेष्ठ (२००९)–क्रान्तिकारी विश्वेश्वर (२०६९) प्रह्लाद प्रधान – खोटाङको डायरी (२०६१) र श्रमजीवी यात्री (२०२५)– हिमालपारी (२०७१) आदि महाकाव्यहरू प्रकाशमा आएका छन् । महाकाव्यको संख्या धेरै नभए पनि उपरोक्त संख्यामात्र महाकाव्य हुन् भनेर किटानी साथ भन्न सकिदैन ।

हिमालपारिभित्र प्रवेश गर्दा –

यो महाकाव्य यात्राकाव्यको रुपमा रचिएको छ । बास्तवमा यो महाकाव्य यात्रको रूपमा लेखिएता पनि यसमा त्यस स्थानमा भएका प्राकृतिक, सांस्कृतिक, सामाजिक, आर्थिक क्षेत्रमा भएका विविध खाले क्रियाकलाप, यस क्षेत्रमा विकासका सम्भाव्यताहरू यात्रीले अन्य विकसित देशमा देखिएका कार्यक्रमहरूलाई प्रयोगमा ल्याउँदा देश विकासमा लम्कने धारणा राखिएका छन् । मलाई लाग्छ यो महाकाव्यले अलगै अस्तित्व कायम गरेको छ । यस काव्यमा सर्गगत सङक्षेपीकरण गर्दा निकै ठूलो हुने भएकोले मूख्य घटनाक्रमलाई केलाउँदै जाने अनुमति चाहन्छु ।

सर्ग एक– यस सर्गमा काव्यको थालनी भएको छ । काव्य मङ्गलाचरणबाट थालनी गरिएको छ । शिखरिणीलाई अनेक नामबाट काव्य निर्माण गर्न सहयोगको लागि आग्रह गरिएको छ । नेपाल स्वर्गतुल्य छ, सुधासाथ बाँचु, सुधा–भाव साँचु आदि राष्ट्रप्र्रतिका धारणाहरू राखिएका छन् ।

सर्ग दुईमा कविले काव्यको पृष्ठभूमिको बारेमा प्रकाश पारेका छन् । नेपाल देश नेपाली भेष, तराई, पहाड हिमाल नदीनाला संस्कृति, देशको माटो आमाप्रतिको माया, आफ्नो जन्मस्थलको विवरण्, पूर्खाले गरेका गौरवशाली कामको विवरण, मातृको त्यागको भारा कसरी तिर्नै, रातीमा सपनामा बाबा आउनु र के गरिस् भन्नु आदि पूर्खा बाबा आमाको प्रेरणाबाट काव्य लेखनको थालनी भएको सन्देश, लिगलिगमा राजा बन्न दौडेर जित्नुपर्ने धारणा र द्रव्यशाहले राज्य हत्याएको कुराहरू यस सर्गले जनाएको छ ।

सर्ग तीनमा कविले आफ्नो जन्मको बारेमा प्रकाश छर्नुभएको छ । नवौं सन्तानको रूपमा उनको जन्म भएको थियो । उनकी आमाले काम गर्दा गर्दै असारको पँध्र गतेको धान रोपाइको व्यस्त समयमा जन्मदाको घटनालाई मातृले भोग्नपरेको कष्टलाई कविले प्रस्तुत गरेका छन् । आफू जन्मेको ठाउँको प्राकृतिक बर्णनको साथै कविले आफ्नो कुलको बर्णन पनि गरेका छन् । आफ्ना सुकुलमा बाबुलाई पारसमणिको संज्ञा दिएको पाइन्छ ।

सर्ग चार– यस सर्गमा कविले भाइ भाइ बीचको प्रेमसँगै सँगै पढ्न जाने वनपाखाको विचरण, नदीको पौडी खेलाई, दशैं तिहारमा पिङ खेलाई, गाह्रो पर्दा साथ दिने धर्तीको आलम्व गर्दै बालकृणालाई समावेश गरेको देखिन्छ । दाजुहरूको पेशाको बारेमा, परिवारमा आइपरेका पीडा, पिताको स्वर्गारोहण, दाजु बितेको र भाउजूले दु:ख पाएका आदि आफ्नै घरभित्रका घटनाहरूलाई समावेश गरेका छन् ।

सर्ग पाँचमा– सेरोफेरोको बर्णनको क्रममा चितवनको बारेमा चितवनको खेतीपाती, प्राकृतिक बर्णन चेपाङको न्वागी, थारुको माघी, त्यौहार, फागु, रत्ने गैंडा हराएको, धु्रवेहात्ती कराएको, नारायणीको सैरको मज्जलिन र यही माटोमा मलजलगरी मर्न पाउने धारणा, सुन्दर चितवन बनाउने परिकल्पना, चितवनको सानदार वन, यहाँका उर्वरक स्थलको बर्णन, आबु खैरेनकिो सुन्दरता, तरकारीको उत्पादन, चेपाङ तथा यस भेगका विविधजातीको बर्णन, गोरखानाथ, कालिका, बक्राङ, वक्रेश्वरी, छिङताङ, मनकामना भगवती, आदिको रम्य बर्णन गर्दै, रेलवे सञ्जालको परिकल्पना समेत प्रस्तुत गरिएको छ ।

सर्ग छ – यस सर्गमा कविले स्रष्टाले समाजको सिर्जना गर्न सवल हुनुपर्छ, लेख्नपर्ने कुराहरू स्रष्टाले लेख्नै पर्छ भन्ने धारणा राखेका छन्–

निर्धक्कैपनले उच्चा शिर गरीस्रष्टा लिऊन् लेखनी
ती स्र्रष्टा कविका तिखा कलम हुन् सञ्चेतनावाहिनी
माटो, देश, समाज शान्ति शिरमा राखुन् सधैं लेखक
लेख्दा द्वेष कदापि कत्ति नलिऊन ! सम्झुन् इमानी हक
(सर्ग छ श्लोक १, पृष्ठ ५५)

यसै सर्गको श्लोक ५को अन्तिम दुई हरफ पनि यहाँ पस्कन मनलाग्यो –

लेख्नैपर्छ समाजका नियतिमा आक्रान्त यी संस्कृति
बढ्दै धेर समाजमा विकृति पो ! के सुध्रलान् सन्तति ?

नेता स्वार्थी, छट्टु, प्रपञ्ची, शिक्षामा पुरानै शैली, विद्यार्थीमा लगनशीलताको कमी, डाक्टरी पढ्न लगानी बढ्ता, पढेमा आम्दानी पनि हुने, धन आर्जन गर्नु पर्छ भन्ने मानवीय प्रवृत्ति, धन साधन हो तर साध्य हैन भन्ने धारणा, सत्यसेवा र निस्वार्थ कर्म नै धर्म हो आदि महत्त्वपूर्ण धारणा पस्कनुको साथै, जनयुद्धमा युवा लागेको र जुन उदेश्य हाँसिलको लागि युद्धमा होमिइयो सो हुन नसकेको, सहिदको चाहना सुनौला विहानी थियो त्यो अपुरो नै रहेको आदि भावनाले सुसज्जित छ यो सर्ग ।

सर्ग सात– यस सर्ग भारतको विविध स्थानहरूको साथै खास गरेर कश्मीरको यात्राबर्णनले सजिएको छ । उच्चपहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (मिहाली आयोजना, नेपाल सरकार, एडिवीको आयोजनामा शैक्षिक भ्रमणको सिलसिलामा कवि जेट विमान चढेर दिल्लीका विभिन्न स्थन इन्डिया गेट, जमुना नदी, लाला किल्ला, त्यहाँका मठ मन्दिर, मस्जिद, गुम्बाहरूको अवलोकन गर्दै काश्मीरको अन्तर्राष्ट्रिय विमानस्थल वडगाममा पुग्दछन् । कश्मिरमा पुगेर श्यामबुर्काले अनुहार छोपेका, मृदुवाणी भएका काश्मीरी परीहरूलाई देख्छन् र तिनका रूप र शारिरिक संरचनाको बर्णन गदै ती परीलाई आग्रह गर्दै लेख्छन् –

गगन धुमिल भो है ! धेर भो खोल घुम्टी
प्रकृति शुलभ हावा खुल्न पाऊन सबै ती
(सर्ग सात, पृष्ठ ७१, श्लोक १९का अन्तिम दुई हरफ)

दललेक तालले श्रीनगरको सान राखेको, तालको क्षेत्रफल २१ वर्ग किलो मीटर रहेको र डुङ्गा मोटरबोट चल्ने, राम्रा बगैंचाले सुसज्जित तालमा गाग्रीबलै, लोकट, बोट र नागिन गरी चारवटा वेसिन रहेकाको बर्ण गर्दै कविले वागमती थुनेमा काठमाण्डौमा पनि राम्रै ताल बन्ने परिकल्पना गर्छन् । कवि शयर गर्दै मामल नदी किनारमा पुग्दछन् र यसको रम्यताको बर्णन गर्दछन् । जेष्टेश्वरा शङ्कराचार्य धाममा नास्तालिकाको वलोकन, र यसलाई बौद्धमार्गीहरूले पास–पाहाट भन्ने जानकारी पाउनु, अमर्नाथको गुप्फा, तोलामुला गाउँमा माता खीर भवानीको दर्शन, मानस्वल पार्कको अवलोक गर्दै मुसलिम, बौद्ध, सिख अनि हिन्दू समाजको मिलन विन्दु काश्मीरलाई ठान्दै, नेपालसँग काश्मीरलाई तुलना गर्दै, काश्मीर यात्रा समाप्त हुन्छ र कवि काठमाण्डौ फर्कन्छन् ।

सर्ग आठ– यस सर्गबाट महाकाव्यको शीर्षक बमोजिम हिमालपारिको प्रसङ्ग सुरु हुन्छ । यस कृतिका नायक (श्रमजीवी यात्री) र उहाँकी नायिका / धर्मपत्नी (अम्वीका)को हिमाली यात्राको रहर हुनगएकोले हिमाल यात्राको तयारीमा जुट्नु, हिमाली पद–यात्राको लागि आवश्यक सामाग्री, गरम कपडा, औषधी, अचार, (खुर्सानी–नून–टिमुर अदुवा, जीरा, धनियाँ), पेयपदार्थ आदि तयार पारेर, भाद्र महिनामा चितौनबाट बस चढेर यात्रा शुरु गरिन्छ । लमजुङ–बेसीसहर, भुजुङ, तमू शैलगाउँ, चाताराबाट जीप चढेर च्याम्चे पुग्नु लाग्दा बाउनडाँडाको दृश्य अवलोकन गर्दै ताघृङ हुँदै, घट्टेखोलाको बास, दोहोरी गीतको श्रवण, स्याँगे, च्याम्चे, शिरिचउर आदिको दृश्य अवलोकन गर्दै, यात्रा अगाडि बढ्दा कविलाई चीनको फुजीयान यात्राको सम्झना आउनु, गोञ्जाइको नक्कली तालको मनोहर दृश्य झझल्को हुनु र त्यस्तै च्याम्चे झर्नाबाट निर्माण गर्न सकिने सम्भावना देखिनु, कृषि, पशुपालन सिँचाइ आदिको विकास गर्न सकिने परिकल्पनाको साथमा चाम्चे पुगेर पोटलाहोटेको बास भएको बर्णन सटीकरूपमा गरिएको छ।

सर्ग नौ –यस सर्गमा सात्तलेको उकाली चढ्नुपर्ने अवस्थामा कविलाई हिमाली चुचुरा चढ्दा पर्न सक्ने साह्रोगाह्रोको कल्पना गर्दै च्याम्चेदेखि तालसम्मको कठोर बाटो भए पनि यात्रीको लर्कोको, निर्झरीको मोहित आवज, नागवेली पथ, प्राकृतिक सौन्दर्यले गर्दा कठिनाइको महसूस नगर्दै अगाडि बढिरहेको समयमा वर्ष तीसकी आष्ट्रियाकी एउटी दु:खमा परेकी क्यारलीन नामक केटीसँग भेट हुनु आदिको बर्णन गरिएको छ ।

सर्ग दश – यस सर्गमा क्यारलीनले भोग्न परेको पीडाको मार्मिक बर्णन गरिएको छ । क्यारलीन विमारी भए पछि उसको प्रेमी अगस्तु र क्यारोलीना समूहबाट अलगिनु, केही दिन च्याम्चे बसेपछि बिमारी सञ्चो लागेको ठानी याात्रामा लाग्दा पुन: क्यारोलीना विमारी परेपछि अगस्तुले क्यारोलिनालाई थोचेमा बस्न लगाई आफू लार्के पुग्ने धारणा राखी अगाडि बढ्छ । सात्तलीमा क्यारोलीनालाई छाडेर तालै बजार, तिल्चे, भिमदाङबेसी, पङकर तलाउ, गोर्खा मनाङ, धर्मशालामाथि लार्के साम्दो पुग्दै प्राकृतिक रसस्वादन पान गर्दै जाँदा अमेरिकी पथिक सोनी अमालीलाई फेलापार्नु, अमालीसँगै प्रेमजालमा फस्नु र क्यारोलिनालाई भुलिदिनु क्यारोलिनाले अगस्त”लाई कुरी बस्नु र विपदमा फस्नु जस्ता पीडादाइ घटनाले सजिएको छ सर्ग ।

सर्ग एघार – यस सर्गमा धारापानी शीर्षकमा मनाङ प्रवेश विन्दुको रूपमा रहेको, ताल, बजार रमणिय दृश्य, घिराङबस्तीको सुन्दरता र संस्कृति, खोत्रो बस्ती, धारापानीको बर्णन, कर्टे झर्ना, नार्चे गाउँ पुलिस चौकी धेराङ ओडार, ढुङ्गेडाँडा, तिल्चे, धोचे, हुँदै दूधखोला बगेका, दोणशाल, ओडारे घिरङ, आदि स्थालको जनजीवन, खेतीपाती, प्राकृतिक सम्पदाको बर्णन गरिएको छ ।

सर्ग बाह्र– यस सर्गमा थोचे–ताचै शीर्षकमा थोचे गाउँको रमणिय दृश्य, कक्षा बाह्रसम्मको अध्ययन, स्वास्थ चौकी, होटेल, खेतीपाती लार्के जाने बाटो फूलबारी जस्तो लाग्ने, तिल्चे गाउँको सुन्दरता, साम्दो–गोर्खा, दूधखोलाको सुरम्य, गुम्वा छोर्तेन, बाटाघाटा को सहजता, विजुली, प्राङ्गारिक खेती व्यवसाय, ताचै मनाङको, न्यानो गाउँ, त्यहाँबाट तिमाङ हिमालको दृश्यको अवलोकन ङैवी डाँडाको नाचै, डोनाल डाँडा, प्रोत डाँडा, दानाक्यू, केचा नासकु, रितु, लउ, रउ मिक्चुका फाँट, तातोपानी घलेको गाउँ आदि स्थानको प्राकृतिक सुन्दरता खेतीपात, पशुपालन वन्यजन्तु आदिको बर्णन गरिएको छ ।

सर्ग तेह्र – चामे गाउँको सामान्य प्रकृति, हिमपात सुरुहुँदाको प्रकृति हिमपातको उत्तराद्र्धको प्रकृतिक, हिमपातपछिको घामलाग्दाको अवस्थाको सुन्दरताको बर्णन गरिएको छ । स्याउबाट बन्ने परिकारहरू र तिनको स्वाद लमजुङआधार क्षेत्रको बर्णको साथै केअरैसिंह जीवनघटनाको थालनी भएको छ यस सर्गमा ।

सर्ग चौध– यस सर्गमा केअरैसिंह थापा तनहूमा जन्मी पढी मनाङमा कृषिका कर्मठ जागिरे, बाबुको गाडी एक्सिडेन्टमा मृत्यु, उनको रक्सी पिउने बानी, उच्च रक्तचाप र मधुमेहका बिमारी, घरमा छोरी र पत्नी माओवादी जनयुद्धको समय, घरमा पत्नी र छोरीलाई बस्न असहज भएकोले घरको जग्गा बेची सहरमा दोकानको प्रवन्ध मिलाएका तर रक्सीको अत्याधिक सेवनले मृत्युवरणा गरेको बर्णंन गरिएको छ ।

सर्ग पन्ध्र –यस सर्गमा नारको यात्राको बर्णन गरिएको छ । नारको यात्रा कोतेबाट थालनी गरिएको र यसमा कोत, नार–मस्र्याङदीको दोभान, कोतेको सानो बजार, नजिकमा चामेचुली, घाँसे मैदान, नार्खोलातट, उष्ण जलासय, तातामूल, धर्मशाला, चेपाङहरूको श्रमशील, नाम्गेलेक, छेंचै, थोङचेकेभ, सुन्दर गुफा, काङला हिमलुङशैल, जडीबुटीहरू पाइने, मेताबेसीको आवलोकन, पुरानो गढी, खम पातलो बस्ती, शिखर नाङला देखिने हिमलुम्वा झलमल, काङ, पिसाङ नारगुम्बा, नारकोतो, काङ्पास, यार्सा बुटीको राजधानी जेठ महिनामा यार्सागुम्बा टिप्न गएकासँग झगडा भएर छयासी सालमा आठ जनाको मृत्यु, आदिको बारेमा बर्णन गरिएको छ ।

सर्ग सोह्र– यसमा आनी मिन्दुलाको जीवनीमा प्रकाश पारिएको छ । तिब्बती सैन आएर नारमा किल्ला जमाएका पहिला खलबल भएको पछि मित्रता बल्झिएको, मदन छिङले नारकी छ्योम डोल्मा बीच प्रेमले हृदय गाँसेको र तिब्बततिर भागेको, तिब्बतैमा नाति नातिनीसम्म जन्मेका, मदन छिङ्ल दोर्जे स्वर्गबास भए पछि डोल्मा क्याङ बेसीमा आएर बस्न थालेको उनका तनय पनि साथै आएको बुहारी तिब्बती आएकी । सुकमित छोरो र नाङ डोलमा छोरीको जन्म भएको । सुकमितका ससुरा बौद्ध ज्ञानी भएका र उनीबाटै सुकमित परिवार सबै बौद्धमार्गी बन्न पुगेका थिए । बुद्धजन र रिम्पोछेको बास पनि त्यहीं हुन थालेको, थियो । नार निवासी नरभुजुङ घलेका छोरा छिरिङ घलेको र सुकमितैकी छोरीको विवाह भएको र यिनबाट मिन्दुधावा छोरीको जन्म भएको । ती बालिका बुद्ध ज्ञानी भइन् र आनी बन्न पुगिन र यिनको नाम भयो मिन्दुला । उनको अक्षराम्भ पनि ॐ मना पद्महूँबाटै सुरु भयो ।उनी आठ वर्षको उमेरमा आनी बन्न मैसुर भारतमा पुगिन् । कठोर नियम पालना गर्दै जाँदा उनी चौध वर्षकी हुन पुगिन् । अबत मिन्दुलामा जीव अर्थ खुलाउने धारणा पलाउँछ पूर्ण जीवनको चाहना हुन्छ । तर कठोर अनुशासनबाट पनि बाहिरिन कठिन पर्दछ । उनको नजर एक लायकसँग जुध्न जान्छ गुरुलाई थाहालाग्छ गुरुले थप्पड लगाउँछन् । कठोर कोठामा राखिएको, आत्महत्याको धारणा पलाउन तर आत्महत्या गर्न हुदैन भन्ने भावना जाग्नु घरको छतबाट तल खस्नु चोट लाग्नु सबै जुटेर उपचार गर्नु, नेपाल घरमा खबर पुग्नु, , घरका मैसुर पुगे, र उनी नेपाल फर्किइन् । घरमा पुग्दा बाबु बिमारी र मृत्यु हुनु दुखद जीवन बिताउन परेको तथ्य सहित कविले संसारमा प्राकृतिक धर्म नै सत्य हो यसलाई भुलेर अकर्म भै रहेको धारणा पस्कँदै यो सर्ग समाप्त हुन्छ ।

सर्ग सत्र– यस सर्गमा क्याङ बेसीबाट यात्रा सुरु हुन्छ । च्याखुपुल तरेर सुन्दर क्याङ फू गाउँ पुरानो, खम्पाबस्तिरहेको ठाउँ, फू खोलाको बगर, सबैभन्दा ठूलो बौद्ध गुम्बा, गुरौचाङमा (गरमपानीको छहरा)आदिको बर्णनको साथै कम्बल बुन्ने काम, यहाँको खेतीपाती र प्राकृतिक सुन्दरताको बर्णनले सजिएको छ सर्ग ।

सर्ग अठार –यस सर्गमा पिसाङ र काङ्लापासको सुन्दरता, त्यस स्थानको मानिस, सीप, कला, सरकारी कर्मचारीद्वारा सञ्चालित शिविर, शिविरले दिएको सहयोबाट खुसी जनता, स्वर्गद्वारी, काङलाको शिरचुम्ने यात्रा, रक्तचाप बढेको, सर्पगन्धा प्रयोग गरेको, काङ–पिसाङ, नारखोला, आधार शिविर पुगेको काङरु पिसाङ, हिमलुङ जुलु, –तिलिच्छोमा सूर्य किरणके झलमल दृश्य अबलोकन गर्दै काङला भञ्ज्याङ पुगी नास्तापानी गरेर आनन्द मनाएको आदि बर्णले सजिएको छ सर्ग ।

सर्ग उन्नाइस – यस सर्गमा कविले ङावललाई मनाङको पेरिस भनी तुलना गरेका छन् । ने गुरु, साङग फूक, (ने गुफा) प्राचिन घले राज्य घ्यारु, पिसाङ गुम्बा, पिसाङ गाउँको सुन्दरता, भ्राताङ बस्तकिो साथै पिसाङ गेटमा आत्महत्या गरेका युवकको समेत बर्णन गरेका छन् ।

सर्ग वीस– यस सर्गमा यार्सागुम्बाको टिपाई, यर्सागुम्बा टिप्दा जनताले पाउने रोजगारी आयआर्जन, यार्सागुम्बा टिप्दा एकयापले काट्ने पुर्जि, बुटी टिप्न मनाङका विविध गाउँमात्र नभै किरौज गोर्खाका युवा समेत जाने, यसै सिलसिलामा गोर्खाकै मिलन र विन्दु( विवाहको तीन मैना मात्र भएको विन्दुमा गर्भ समेत रहेको), पनि यार्सागुम्वा टिप्न गएका । यार्सागुम्बाबाट आएको पैसालाई रक्सी र तासमा पनि प्रयो गरी रित्तै हुने जस्ता कर्मको साथै मिलनले आत्महत्या गरेको र विन्दूले विलाप गरेको मार्मिक चित्रण पनि यसमा अध्ययन गर्न सकिन्छ ।

सर्ग एककाइस –यस सर्गमा भ्राका–मनाङ, टङ्की मनाङ शीर्षक दिएर हुम्डे उपत्याका, सबैभन्दा अग्लो स्थानमा अवस्थित हुम्डे जहाज स्थल, बजार, सेवाकेन्द्र, अफीस, स्कुल, गुम्बा, आदि मनमोहक दृश्यको बर्णन, भ्राका गाउँको सुन्दरता, घरघरमा तज्र्यो, रक्गार्डेन, छाना नभएका घना घरहरू, घरवरिपरि उद्यानमलेरेपी वोधन गुफा, सिंयागु गुफा, कोचो ताल, हरेक तीन वर्षमा मनाइने पाल्तेन पर्व, पोतो गुफा, बौद्धाचार्य मेलारापाको नामबाट मेलारेपी गुफा बनेको केरागोम्बि एक उदण्ड शिकारी भएको, उनी गुफावपिरपरि बसेर हिंसा गर्दथे, गुरुले दीक्षित पारेर हिंसा त्यागेको आदि बर्णन गरेको देखिन्छ ।

सर्ग बाइस– यस सर्गमा कविले बौद्ध दर्शन र मानवता वादको शीर्षकमा त्रिरत्न सिद्धिदर्शन, पञ्चशील सिद्धि दर्शन बौद्धमार्गीका दुई मूलमन्त्र करुणा–सिद्धिगान, बुद्धत्त्व र मानवतावादको बारेमा गहिर।ो अध्ययन गरेको देखिन्छ । त्रिरत्न सिद्धि–दर्शनमा पहिलो रत्न सिद्धि–दर्शन–”बुद्ध म शरण म गच्छामी ! धम्म म शरण म गच्छामि ! सङ्ध म शरण म गच्छामि !!! दोस्रो रत्न सिद्धि दर्शन यस दर्शनमा “ओकाश द्वारत्तयेन ! कतम्सब्ब म अपराध म !! भन्ते खमथश्च : मे ही….!!!”” तेस्रो रत्न सिद्धि दर्शन–”नमो तस्स बुद्ध म ! भगवतो अर्हतो !! नमो तस्मात्सम्बुद्धस्स !!! कविले त्रिरत्नको श्लोक बद्ध व्याख्या गरेका छन् । पञ्चशील सिद्धि–दर्शनमा अहिंसा, अस्तेय(चोरी नगर्नु), ब्रह्मचर्य, सत्य, अपरिग्रह (नशालुबस्तु त्याग) । बौधमार्गीका दुई मूलमन्त्र यसमा प्रथम करुणाकारी मन्त्र :”ॐ मणि पद्मे हुं म ! दोस्रो बज्रगुरु मन्त्र “ॐ आह् हुँ म बज्र गुरु पद्म सिद्धि हुँ म यी दुई मूलमन्त्रको मन्त्र तत्त्व र मर्म–विश्लेषण समेत गर्नुभएको छ ।

सर्ग तेइस– यस सर्गमा कविले खाङसार शीर्षकमा खाङसार गाउँ, खुबै सुन्दर विजुली बत्ती, ढुङ्गाका घरहरू घरका छतमा डीस् टि.भिका जोडेका, खुला शौच निषेध घोषित, एक्याप, कृषिका कार्यालयहरू, गाउँ सचेत रहेको बर्णन गरिएको छ । खाङसारबाट माथि श्रीखर्क गाउँमा पुगिने त्यहाँबाट याक खर्क पुगिने, , थोङ्को बाटो, तिलिचोतिर पगिने मार्गहरू, चारैतिरबाट विविध सुन्दर स्थलहरूको अवलोकन गर्न सकिने, खाङसारको पसुखर्कमा चौरी, लुलु, भेडा आदि चरेका, यहीं नै भौतिक र सात्तिक चिन्तन गरिएको, यहाँका प्राकृतिक सम्पदा, खेतीव्यवसाय आदिका बर्णन गरिएको पाइन्छ ।

सर्ग चौविस – यसमा तिलिचोको भ्रमणको बर्णन गरिएको छ । श्रीखर्कबाट तिलिचो आधारक्षेत्र प्रवेशगर्दा जोखिम मोल्दै हिड्न पर्ने, यही समयमा सिमसिम पानी परेको, भीरको बाटो कालकै मुखमा पुगेको जस्तो भान हुने, यहाँ चितुवाले चौरी बच्चालाई आक्रमण गरेको भयानक डरलाग्दो चित्रण, मोवायल सम्पर्क पनि विच्छेद अवस्था, बडो कष्टसँग होटेलमा पुगेको, होटेलमा इजारायली एलिक होदय, होलेष्टाइनका तीन यात्री फ्रान्सेली, एक, कोयिन र गाइडसँग भेट हुनु र बार्तालाप गर्नु, डाक्टरको सल्लाह अनुसार एस्पिरिन्, जीवनजल, टिमुरको चटनी खाएर गरम साथ सुतेको राती एकबजे व्यूँझिएको सबैजना बढी सुत्न हुन्न भन्ने सुनेकाले सबै उठेको एस्पिरिनले काम नगरेर सिटामोल खाएको, भेडा बाख्रा नाउरहरूको अवलोकन गर्दै, कही कहीं मिहचितुवा देख्दै छत्तीस घुम्तीको उकालो सक्दै तिलिचोको उच्चपठारमा प्रवेश, तराइजस्तो समथर ठाउँ तिलिचो तालको अवलोकन गर्दै कविले जोमसोमदेखि श्रीखर्कसम्म केबुलकारको कल्पना गर्दै पुन श्रीखर्क फर्कनु, र तिलिचा ताल र त्यस क्षेत्रमा देखिएका दृश्यलाई कविले प्रष्टसँग दर्शाएकाले आफूनै त्यहाँ पुगेको अनुभूति गर्न सकिन्छ ।

सर्ग पच्चीस– यस सर्गमा कविले थोराङपासको यात्राको बर्ण गरेका छन् । मनाङको यात्रलाई पूर्णता दिंदै याक खर्कमा देखिने चोरीहरूको अवलोकन गर्दै, गंगा होटेलको मीठो स्वाद चाख्दै, थोराङ खोलाको किनारैकिनार हुँदै, लेदर बस्तीलाई पार गर्दै, बाटोको दृश्यको अवलोकन थोराङ्–ला बेसक्याम्पमा राम्र होटेल र विदेशीलाई बढ्ता चाहना गरेकोले हाइक्याम्पतिर मोडिदै, कुहिरो –हूस्सूसँग भीडदै, वर्षिरहेको हिमको सामना गर्दै, कष्टमय यात्रा, अन्धकारको सामना गर्दै होटेल हाइक्याम्पमा पुगेर बास बसेको, यहाँ गोरा गोरेनीको बीचमा भएको रतिक्रिडा पनि दर्शाइएकोछ, रात वित्यो थोराङ–ला पासतिर लाग्नु थियो मेघको गर्जन हिम फुरफुर गरी झर्नु, यस्तै हिमपातसँग खेल्दै थोराङ पास गरिन्छ ।

सर्ग छब्बीस– मनाङको यात्रा समाप्ति र मुस्ताङ जिल्लाको थालनी, कष्टकर ढुङ्ज्ञान युक्त करालो बाटो ओर्लदै आवास रहित, यात्री पनि नभेटिने, बाटोमा आत्तिदो एउटा जर्मन यात्रु फेला परेको, कष्ट साथ ओराली झर्दै गर्दा मोवाइल बज्न थाल्नु, मुस्ताङका गाउँहरू देखिन थाल्नु, मुक्तेश्वरमा खानाखानु, मुक्तिनाथको मन्दिरमा गएर मुक्तेश्वरको दर्शन गर्नु, एकसय आठ धाराको अवलोकन, खोला मुक्ति भएर कालीसँग कागवेनीमा मिल्दछ । बौद्ध गुम्बाह आदिको अवलोकन गदै जोमसोम बजारमा पुग्नु, जहाजमा चढेर पोखरातिर लाग्नु, जहाजबाट दर्शिएका दृश्यको मनोरम बर्णन गरिएको छ यो सर्गमा ।

सर्ग सत्ताइस–यस सर्गमा गीतबाट भाक्रामनाङ, तिलिचो, थोरङको झल्को आइरहने भनी स्मरण गरिएको, पप्रकृति रूप सिर्जना बिर्सन नसकिने भनी प्राकृति संरचनालाई समेटेर लेखिएको गीत, पोखराका ताल, यातायात सुविधा, माछापालन, फलफूल तरकारी सेती नदी लुकेको कुरा, संस्कृति आदि विविध बर्णन गरिएको छ ।

यसैसर्गमा काव्यको अन्त पनि गरिएको छ । काव्यको थालनी चितवनबाट भएको र समाप्त पनि चितवनमै भएको देखन्छ । काव्य अन्तमा कविले पोखेका धारणा अन्तिम श्लोकलाई अध्ययन गरौं –

लटपटसित आयो काव्य यो छाल यस्तै
हतपतसित लेखें भूल होलान् प्रशस्तै
खटपट छ कि शब्दै चित्त कही दुख्यो कि !
गडबड जति जे छन् माफ मागिरहूँ कि !

काव्यकार श्रमजीवी यात्रीले पस्केको अन्तिम भावनामा मलाई भन्न मन लाग्छ पूर्णताको धारणा अवश्य राख्नुपर्छ, तपाईंको प्रयास पनि त्यतैतिर लम्केको छ । तपाईंको प्रयास प्रशंसनीय छ, अनुकरणीय छ ।

काव्यका केही विशेषताहरू

यो महाकाव्य नितान्त यात्रा विवरणमा आधारित छ तापनि विविधतामा रमाएको र विविधतालाई सजाएको छ । यात्रा र पर्यटकीय हिसावले यो काव्य प्रशंसनीय र अनुकरणीय छ । हरेक स्थानमा दर्शिएका र अनुकरणीय भएका स्थल पशुपंक्षी, ताल, गुफा आदिका तस्विरहरू पनि समावेश गरिएका छन् जस्ले गर्दा काव्यलाई थप आकर्षक गराएको छ । यात्रा गर्दा कविले त्यहाँका ऐतिहासिक, सामाजिक, प्राकृतिक, धार्मिक, आर्थिक, सांस्कृतिक, भौगोलिक, होटेल व्यवसाय, कृषिका विविधबालीको अवस्था, त्यसबाट निर्माण गरिएका विविकध खाद्यबस्तुहरूको बर्णन नदी नाला जडीबुटी आदिलाई समेट्न सफल देखिन्छ । कृषिक्षेत्रको विवरणमा यसकाव्यले विशेष बर्णन गरेर कृषि प्रधान देशको गरिमालाई बढाएको छ । सिङ्गारिक दृश्यहरूको बर्णन पनि प्रष्टरूपमा दर्शिएको छ । जनयुद्धमा सरकार पक्ष र आन्दोलनकारी पक्षले जनतामा गरेको व्यवहारलाई पनि यस काव्यले उदाहरण सहित प्रस्तु गरेको छ । कवि जहाँ पुग्छन् त्यहाँको क्षेत्रलाई विकासमा लाने सम्भावनालाई तुलनात्मक धारणा प्रसतुत गरेका छन् । धर्मको व्याख्या पनि गरेका छन् र बौद्धदर्शनलाई प्रस्तुत गरेका कुराहरू, जो माथि सर्गको बर्णमा पेश गरेको छु र मानवतावादले समेत कृतिको उच्चाइलाई माथि पुर्याएको छ । काव्यले उठाएका विषय बस्तु पर्यटकीय दृष्टिले अति महत्वपूण छन् ।

पात्र चयनमा मूख्य पात्रहरूमा कवि स्वयम र उहाकी सहयात्री अम्बिाका अग्रपंक्तिमा देखिनु भए पनि यस काव्यमा थुप्रै सहायक पात्रको भूमिका उत्तिकै महत्त्वपूर्णरूपमा प्रस्तुत गरिएका छन् ।

काव्यमा मानवीय जनजीवनलाई प्रष्ट्याउने प्रयास भएको छ ।यसमा आनन्दमात्र नभएर दु:खान्त घटनाले पनि क्यारोलिनाको विमारी र प्रेमिले छाडेर भोग्न परेको पीडादाइ अवस्था केयरसिंहको रक्सी सेवनबाट भएको मृत्यु घरका परिवारको विचल्ली, आनी मिन्दुलाको पूर्णजीवनको खोजी गर्दा भोग्न परेको आजीवन अपाङ्गता । राष्ट्र राष्ट्रियता र आमाप्रतिको दायित्वको बोध आदि घटनाहरूको विश्लेषण गरिएको देखिन्छ । भाषागत प्रस्तुतिमा पनि कवि सजग छन् । सरलतामा सरलता र जटिलतालाई सरलतामा लान शब्दावलीको परिशिष्टमा अर्थाइएको छ ।

यस्तो गहन महाकाव्यका महाकविलाई थप महाकाव्य संरचनाको लागि आग्रह गर्दै, सुस्वास्थ र दीर्घायुको कामना गर्दै बिदा चाहन्छु ।

धन्यवाद
२०७२ साल पुस २५ गते, कावासोती न.पा. –७, शान्तिचोक नवलपरासी ।

1 thought on “हिमालपारि महाकाव्यको शैल्यक्रिया”

  1. गुरुकाे अध्ययन सारै
    गुरुकाे अध्ययन सारै महत्वपूर्ण र खोजमुलक रहेकोमा धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *