म मानिसहरु भित्र सम्वेदना खोज्दैछु
खै त्यो कता पुगेछ ?
कता हराएछ ?
कुनै समय थियो,
पल्ला गाउँमा फूकिएको एकोहोरो शँखको ध्वनीले
नजिक वस्तीका मानिसहरुलाई समेत विचलित बनाउँथ्यो !
तर आज त्यो समय आयो,
मानिसहरु लाशको बिस्कुनबाटै हिँड्नु पर्दा पनि
आँखासम्म झिम्क्याउँदैन |
कसैको रोदनले उनीहरुको ओठको हाँसो सुकाउँदैनन,
कसैको पीडाले उनीहरुलाई दुख्दैन,
कसैको दुखले उनीहरुलाई पिरोल्दैन
खै कता पुगेछ त्यो सम्वेदना ?
रगतको रङ्ग त अझै पनि रातै देखिन्छ,
हाड माँसका शरीर त उस्तै देखिन्छन,
तर तातो रहनु पर्ने रगत चिसो भएछ,
चेतनाको ठाउँमा स्वार्थको प्रतिस्थापन भएछ
शरीरका अवयवहरु फलाम र प्लाष्टिकका पुतलामा फेरिएछन |
अनि कसरी भेटियोस त सम्वेदना ?
सम्वेदनालाई मनबाट मात्रै होइन, चेतनाबाटै खेदिएछ,
ती पुतलाहरुलाई परिचालन गर्ने ‘रिमोट कन्ट्रोल’ को भिड लागेछ,
धर्मु, अर्थु, रागु, द्वेषु, लोभु र बदलाको नाममा
ती रिमोटहरुको नामाकरण गरिएछ
त्यसैले मैले कसरी भेट्नु सम्वेदना ?
मेरो खोजाई त ‘सिलिकन भरिएको स्तन’ बाट धित मारेर
दुग्धपान गर्न नपाएको शिशुको जस्तो भएको छ |
ती आमाले शिशुलाई काखमा त लिन्छे
आफ्नो दुग्धले भरिएको स्तन पनि चुसाउँछे
तर त्यसबाट पाउने आनन्द महसुस गर्न सक्तिन,
अनि कता कता ‘मेरो स्तन बिग्रिने हो कि’
भनेर पनि डराउँछे,
विचरा शिशु जो आमाको काखमा निश्चिन्त भएर
दुग्धपान गर्न चाहन्छ
तर डराएकी आमाको भावना आत्मसात् गर्न सक्तैन
उ बोल्न सक्तैन, तर चिच्याएर रुँदै असन्तुष्टि जनाउँछ
आमाको काख र कोख दुबैबाट सन्तुष्ट हुन चाहन्छ
तर, अतृप्त माया र स्नेहको प्यास बाहेक केही पाउँदैन |
मेरो दृश्यपटल पनि त्यस्तै भएको छ,
म हाड माँसले बनेको शरीर त देख्न सक्छु
तर फलाम र प्लाष्टिकका पुतलामा फेरिएका अवयव मात्रै भेट्छु् |
रातो रगत त देख्न सक्छु
तर त्यसमा हुनुपर्ने मानवताको तातोपन महसुस गर्न सक्तिन |
तैपनि त मानिसहरुमा सम्वेदना खोजिरहेछ
अनवरत रुपमा मनका आँखाहरु दौडाइरहेछु
केवल, म पाउँछु लाशको छेउमै बसेर भतेरमा रमाइ रहेका मानिसहरु
अनि फेरि प्रश्न गर्छु, सम्वेदना कता हराएछ ?
खै त्यो कता पुगेछ ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *